Party School of Communist Party of China (CPC)
 

चिनियाँ कम्युनिष्ट पार्टीले चार वर्षसम्म अवरुद्ध रहेको पुस्तक क्लब सत्रहरु पुनर्जीवित गरेको छ । पहिलो सत्रमा विभिन्न कम्पनीका प्रतिष्ठित मुख्य कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । टेन्सेन्टका पोनी मा हुआतङ एक प्रमुख वक्ता रहेका थिए ।

नीजि कम्पनीका उद्यमीहरुलाई पार्टी स्कुल अर्थात चिनियाँ शासन प्रतिष्ठानमा प्रवचन दिनका लागि आमन्त्रण गरिएको यो पहिलो पटक हो । कार्यक्रमको सुरुवाती चरणमा पोनी माले डिसेम्बर ७ का दिन चिनियाँ राष्ट्रपतिले आफ्नो कम्पनीमा भ्रमण गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो ब्यापार संचालनको अनुभवका साथै “सुधार तथा खुलापन, मूल आकांक्षा र उद्देश्य” शिर्षक अन्तर्गत महत्त्वपूर्ण मन्तब्य दिनुभएको थियो ।

प्रतिष्ठानका पब्लिक ब्यवस्थापनका प्रोफेसर चु लिचियाले कार्यक्रमको उच्च प्रशंसा गर्दै कार्यक्रम “बिरलै आयोजना हुन आएको तर द्विपक्षीय संचारका लागि महत्त्वपूर्ण मञ्च रहेको” जनाए । उनका अनुसार यस प्रकारको कार्यक्रमले नीजि कम्पनीहरुमा आत्मविश्वास प्रवाह गर्दै ब्यवस्थापकीय सुधार ल्याउनुका साथै पार्टी पदाधिकारीहरुलाई समेत नीजि अर्थतन्त्र र उद्यमीका समस्या र चुनौती बुझ्न लाभदायी हुनसक्ने बताए ।

प्रश्नोत्तर सत्रमा पोनी माले पार्टीलाई अझ मजबुद बनाउनका लागि इन्टरनेट कार्यालयहरुमा सिद्धान्त अध्ययन गर्नुका साथै सोही अनुरुप सामाजिक गतिविधिलाई संचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा दई सय भन्दा बढी विद्यार्थीका साथमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभागका उपनेता लियाङ यानसुन, प्रशिक्षण प्रतिष्ठानका दुई उपाध्यक्ष हे यितिङ, वाङ तोङचिङको समेत सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष वाङ तोङचिङले चालिस वर्षको सुधार तथा खुलापन नीतिको महत्त्वपूर्ण उपलब्धि भनेको नीजि अर्थतन्त्रको विकास रहेको बताए । अर्का उपाध्यक्ष हे यितिङका अनुसार पोनी मा, ज्याक मा जस्ता हस्तीहरु सुधार तथा खुलापनले जन्माएका हस्तीहरु हुन् र यस्तै हस्तीहरुको सुची बिस्तार हुँदै जाने बताए ।

प्रतिष्ठानले हरेक सत्रमा राजनीति, अर्थतन्त्र, संस्कृति र पार्टी निर्माणका विविध महत्त्वपूर्ण विषयहरुमा प्रवचन दिन प्राज्ञहरुलाई आमन्त्रण गर्ने र प्रश्नोत्तर शैलीमा कार्यक्रम संचालन गर्ने बताएको छ ।

नीजि कम्पनीहरु चीनको आन्तरिक राजश्वको पचास प्रतिशत स्रोत, कुल गाह्रस्थ उत्पादनको साठी प्रतिशत र असी प्रतिशत रोजगारीको स्रोत रहँदै आएको छ । यिनै महत्त्वलाई बुझेर चिनियाँ राष्ट्रपति सि चिनफिङले गत नोभेम्बर १ तारिखमा बृहत जनसभा भवनमा नीजि उद्यमीहरुसँगको एक कार्यक्रममा सहभागिता जनाउँदै गैरसरकारी कम्पनीहरुलाई बढावा दिनुका साथै उनीहरुका लागि फराकिलो मञ्च बनाउने बताउनुभएको थियो ।

(यो सामग्री चीनको ग्लोबल टाइम्सबाट लिइएको हो । अनुवादकः मेल्सम ओझा)