चीनको एक चर्चित भिडियो साइटले छिट्टै “द लिडर” नामक एनिमिटेड भिडियो मार्फत शताब्दी पुरुष कार्ल मार्क्सको जीवनकथा प्रशारण गर्ने भएको छ । बिलिबिलि नामक भिडियो साइटका अनुसार उक्त एनिमेटेड श्रृङखलाले मार्क्स र उनकी श्रीमती जेनीबीचको भेटघाट र प्रेम सम्बन्ध, मार्क्स र एङगेल्स बीचको घनिष्ठ मित्रता इत्यादि विषय समेटेको छ ।
उक्त भिडियो सन् २०१९ को जनवरी महिनामा प्रशारण हुने भएको छ । भिडियोको ट्रेलर लाखौँ दर्शकले हेरिसकेको जनाइएको छ ।
ट्रेलरमा अदम्य भावनाका साथ आफ्नो विश्वासका लागि अत्यधिक प्रयास गरेको देखाइएको छ । मार्क्स र जेनी दुई जना फरक पृष्ठभूमिमा हुर्किए पनि उनीहरुको विवाहलाई दुई आत्माका अत्यन्त राम्रो मेल भएको दृश्यमा देखाइएको छ । यसका साथै, मार्क्स र एङ्गेल्सको मित्रता र सहकार्य एक अद्वित्तीय गठबन्धन हो, जसले निरन्तर क्रान्तिलाई प्रेरणा दिन सफल भएको सत्यतामा आधारित कथा निर्माण गरिएको छ ।
चीनमा मार्क्सको द्विशतवार्षिकी भब्यतापूर्वक मनाउने क्रम जारिरहेकै बेला यस प्रकारको एनिमेट कार्यक्रम आउनुलाई उच्च सम्मानको रुपमा लिइएको छ । अमेरिकास्थित बेलर विश्वविद्यालयबाट स्नातक तह सम्पन्न गरेका २३ वर्षिय झाङ तोङ भन्छन्, “नवयुवाहरु विगतमा आफ्नो पाठ्यक्रममा चित्रित लामो दाह्रिवाल मार्क्सलाई युवावस्थाको मार्क्सलाई हेर्न ब्यग्र प्रतिक्षारत छौँ ।”
उक्त भिडियो वावायु नामक नीजि स्टुडियोले तयार गरेको हो । स्टुडियोका अध्यक्ष पान बिन भन्दछन्, “मुलधारका मुल्य मान्यतामा आधारित रहेर बनाइने भिडियोले बजार गुमाउँछ भन्ने हामीलाई लाग्दैन । चीनको बजार ठुलो रहेको छ र सबै प्रकारका भिडियो चल्नेछन् जबसम्म तिनले राम्रो कथा भनिरहनेछन् ।”
ट्रेलरका लागि हेर्नुहोस्ः
(यो सामग्री ग्लोबल टाइम्सबाट लिइएको हो । अनुवादकः मेल्सम ओझा)