Dr Govinda KC
 

डा. केसी,

केवल स्वास्थ्यको कुराबाट माथि उठ र सम्पूर्ण सामाजिक समस्याका विरुध्द लड्न कम्मर कस । अनसनको यो तरिका पनि दिक्दार लाग्दो भयो, संघर्षको रुप फेर बड्डा !

तिमीले जसलाई गाली गर्दैछौ, ती गाली गर्न पनि लायक छैनन् । सक्ने हो भने टाउको तल र खुट्टा माथि पारेर सिधै नालीमा हाल्न लायक छन् । त्यसैले तिमीले छुच्चा गाली गर्यौ भन्ने मेरो कुरै होइन । गाली गर्न मिल्ने शव्दकोषका सबै शव्द निखारे पनि र अझ लाजभाँड समेत थपे पनि यिनीहरूलाई छुँदैन । किनकि यी बातका हैन, लातका भूत हुन् ।

Balram Timalsina Biplab
लेखक

तिमीले गाली गर्ने तथाकथित कम्युनिष्ट र तिमीलाई उचाल्ने काङ्ग्रेस दुवै भ्रष्ट नालायक र पतित हुन् । तिमीले भनेजस्तो मात्र गरेर यो देशको रोग निको हुदैन। तिमी त डाक्टर मान्छे । जसरी क्यान्सरको अन्तिम तहमा पुगेको बिरामीलाई डाक्टरले घर गएर मिठो मसिनो खानु भनेर भन्छन्, त्यस्तै यो राज्यव्यवस्था मृत्युको अन्तिम अवस्थामा छ । क्यान्सरले अन्तिम पारेको बिरामीलाई केमोथेरापीले काम नगरेजस्तै तिमीले प्रेस्क्राइब गरेको पद्धतिले यो देशको रोग बीसको उन्नाइस पनि हुँदैन ।

डा. केसी,

तिमी त सरकारी डाक्टर पनि । तिमीले सरकारी जागिर खाएर आफ्नो दरवन्दीको काम छोडेर अनसन बसेको धेरैलाई पाच्य पनि भएको छैन । पाच्य नहुनु स्वभाविक पनि हो ।

डा. केसी,

तिमीलाई यति धेरै राजनीति गर्न मन छ भने यौटा पार्टी खोल बड्डा ! पार्टी खोल्न पाइन्छ, राजनीति गर्न पाइन्छ। तिमी हरेक सरकारको पालामा अनशन बसेर हेर्यौ । अन्तिम अन्तिममा सबैले सहमति गरे तर कार्यान्वयन गरेनन् । अब त बुझ्नुपर्ने हो नि बड्डा ! यसरी यौटा डाक्टरले भोक हडताल गरेर यो देशका भ्रष्ट तथा पतित शासकहरूलाई ठाँगाले छुँदैन ।

यो दशमा अड्डा अड्डामा भ्रष्टाचार छ । अझ भनौँ, देश जनताबाट निर्वाचित मानिसहरूले होइन भ्रष्टाचारीहरूले चलाएका छन। अनि यो देशको हालत क्यान्सरग्रस्त बिरामीकोजस्तो भएको स्वास्थ्य क्षेत्रको कारणले मात्र होइन । बरु सिङ्गै राज्य संयन्त्र भ्रष्ट, घुसखोर जनतामाराहरूले चलाएर हो । यो व्यवस्था आफै भ्रष्ट छ भने त्यसमा सुधार नै हुँदैन । सुधार गरे पनि त्यो सुधारिएको भ्रष्ट व्यवस्था बन्छ।

डा.  केसी,

राजनीतिले खनेको खाडल पुर्न पनि राजनीति नै चाहिन्छ । ‘फलामले फलाम काट्छ’ भनेजस्तै खराब राजनीतिलाई तह लाउने पनि राजनीतिले नै हो । ‘पोलिटिक्स इज डर्टी गेम’ भन्नेहरू प्रायः चालु व्यवस्थाका मतियार हुनुले पनि यही पुष्टि गर्छ ।

डा. केसी, 

भो, भोक हडताल छोड  ! इमान र आँट छ भने एउटा राजनीतिक पार्टी खोल र सडकमा आऊ । सिङ्गै व्यवस्थालाई जरो-किलो लगाएर नालीमा मिल्काउने प्रण गर । हैन, समग्र व्यवस्था बदल्ने कुरा नगरेर यही ल्याङल्याङ दोहोर्‍याउने मात्र हो भने मैले भन्नैपर्ने हुन्छ, “तिमी पनि यही नालीका कीरा हौ !” ।