नेपालमा माओवादी पार्टीले जनयुद्ध सुरु गरेको २३ वर्ष पुरा भएर आज २४ वर्षमा प्रवेश गरेको छ । जनयुद्ध सुरु गर्ने बेलामा यसले लिएका नीति, बाँडेका सपना र यसका तत्कालिन दस्तावेजहरुसँग अहिले माओवादी पार्टी सरकारमा सहभागी भइरहँदा, सरकारको नेतृत्व गरिरहँदा गरेका काम कारबाही र पार्टीको कार्यक्रमसँग तुलना हुने गरेको छ, प्रश्न गर्ने गरिएको छ ।
सर्वहारावर्गको अधिनायकत्त्व सहितको समाजवादी सत्ता स्थापना गर्ने स्पष्ट घोषित लक्ष्यसाथ जनयुद्ध सुरु भएको जगजाहेर छ । जसको प्राप्तिका लागि गरिने संघर्षको एक मात्र स्वरुप सशस्त्र जनयुद्ध नै हो भनेर सारा मुक्तिकामी नेपालीलाई यसमा गोलबन्द गरिएको थियो । शान्तिपूर्ण आन्दोलनबाट मात्रै राज्यसत्ता परिवर्तन सम्भव छैन भनेर सशस्त्र युद्धको अप्रिय तथा कहालिलाग्दो बाटो रोजिएको थियो । यसमा नेपाली जनताको आगाध विश्वास, प्रेम र सबैखाले सहयोग रह्यो ।
धनी र गरिब, हुनेखाने र हुँदाखाने, शासक र जनताबीच धेरै ठूलो खाडल थियो । त्यो खाडल पुर्नका लागि हामीसँगका योजना भनेपछि, ती योजना जनयुद्धबाट मात्रै सम्भव छ भनेपछि त्यसलाई विश्वास गरेर हज्जारौँ युवाहरु जनयुद्धमा ज्यान माया मारेर होमिएका थिए । निश्चित राजनीतिक उद्देश्य प्राप्तिका लागि समाजका सचेत युवालाई मृत्युसँग लुकामारी खेल्न उद्धेलित बनाउन सक्ने मालेमावाद र यसका नेताहरुमा एकखाले चामत्कारिक क्षमता भएको विश्वास गरिन्थ्यो ।
नेपालमा सामाजिक क्रान्तिको आवश्यकता खडेरिमा सुकेको झुलो जस्तो यति धेरै परिपक्व भइसकेको थियो कि त्यसमा आगोको सामान्य झिल्कोले झुलोलाई जाज्वल्यमान बनाएजस्तो एउटा विश्वासिलो नेतृत्वदायी संगठनको आह्वान मात्रले सबै गोलबन्द भए । अन्ततः यही आन्दोलनका कारण राजतन्त्रका हिमायती र राजतन्त्रको हार भयो । नेपालका लागि एउटा युगको अन्त्य भएर अर्को युगको सूर्योदय भयो । अहिले नेपालको यो परिवर्तित राजनीतिक सामाजिक परिवेशलाई सबैले हर्सोल्लासका साथ स्वीकार गरेका छन् ।
शान्तिप्रकृयामा आएपछि जनयुद्धको सुरुवाती चरणमा र जनयुद्धताका लिएको लक्ष्य, र उद्देश्य, जनतामा बाँडेको सपना छाडेको आरोप लाग्ने गरेको छ । जुन समाजवादी क्रान्तिको सपना देखाएर जनताका छोराछोरीलाई युद्धमा ज्यान फाल्न प्रेरित गरियो, त्यो क्रान्तिलाई पुँजीवादी सुधारात्मक संरचनामा लगेर किन विसर्जन गरियो भनेर प्रश्न गर्ने गरिएको छ ।
जनयुद्धको न्युनतम् कार्यक्रम जनवादी सत्ता स्थापना गर्ने थियो, जसमा जनताको निर्णय सर्वोपरी हुन्छ । जनताको जनवादी अधिनायकत्त्व हुनेछ भनिएको थियो । सम्पूर्ण राज्यसत्ता कब्जा नगरेसम्म पुँजीवादी सुधारका कामले मात्रै समाज रुपान्तरण हुन नसक्ने र जनताको मुक्ति नहुने भनेर दीर्घकालिन सशस्त्र जनयुद्धमार्फत सत्ताकब्जा गरेपछि स्थापना गरिने जनताको सत्ताले मात्रै जनताको सम्पूर्ण मुक्ति र विकास सम्भव हुनेछ भनिएको थियो । समाजको असन्तुलित आर्थिक उत्पादन र उत्पादन सम्बन्धका कारण विकासले गति नलिएको भन्दै सबैभन्दा पहिला उत्पादक शक्तिको विकास र यसै अनुसारको उत्पादन सम्बन्ध निर्माण गरिने छ भनिएको थियो । जहाँ वितरण प्रणालीलाई जनपक्षीय बनाइनेछ भनिएको छ । यस्ता जनपक्षीय थुप्रै कार्यक्रमहरु जनयुद्धताका माओवादीका दस्तावेज र भाषणहरुमा हुन्थे ।
फौजीबलद्वारा सत्ता कब्जा गर्नेे विधिबाट नभए पनि संयुक्त मोर्चाको जनआन्दोलनको विधिबाट पुँजीवादी क्रन्ति सम्पन्न भएको छ । आमूल परिवर्तन सहितको जनवादी क्रान्ति नभए पनि सामन्तवादी सामाजिक संरचना अन्त्य भई पुँजीवादी संरचनाको आधारभूत कार्यभार पुरा भएको छ । राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । माओवादी जनयुद्धले व्यक्त गरेका सबै नाराहरु नसमेटे पनि मौजुदा स्थितिबाट समाजलाई विल्कुल फरक स्थानमा पुर्याइदिएको छ । राजनीतिक सत्तामा जनताको प्रत्यक्ष सहभागितालाई यसले ग्यारेन्टी गरेको छ । जनताले चुनेर पठाएका प्रतिनिधिले जनताका लागि काम गर्ने, आफूलाई आवश्यक पर्ने संविधान नेपाली जनता आफैले निर्माण गर्नसक्ने अवस्था प्राप्त भयो । यो उपलब्धीमा जनयुद्धको ९९% योगदान रहेको छ । यसमा अन्य दलहरुको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यो सत्यलाई सबैले स्वीकार्न जरुरी छ ।
माओवादीले जनयुद्धका बेला जनताका घरदैलोमा गरिएका वाचाहरु किन पुरा गरेन ? घोषित लक्ष्यमा नपुगी किन सम्झौतामा युद्धलाई अन्त्य गरियो ? के यो अत्मासमर्पण होइन ? यसरी पुँजीवादी सुधारवादी बाटोमा जानु थियो भने किन जनयुद्ध भन्दै १७ हजार मानिस मारियो ? किन हज्जारौँ घाइते, बेपत्ता र बेघरवार बनाइयो ? जनतालाई किन गुमराहमा राखियो ? भनेर प्रश्न पनि गर्ने गरिएको छ ।
अर्कोतिर, सम्झौतामा आएर युद्धलाई अवतरण गरेको माओवादीका कारण नेपालमा कम्युनिष्ट पार्टी शक्तिशाली भइरहेको नजिकबाट देखिरहेको साम्राज्यवादले यसलाई कसरी कमजोर बनाउन सकिन्छ, कसरी कम्युनिष्ट पार्टीलाई दक्षिण एसियाको रणनीतिक महत्त्वको देश नेपालबाट विस्थापित गरेर कांग्रेस वा यस्तै कुनै कठपुतली दललाई बलियो बनाउन सकिएला भनेर योजना बनाउन थालेका छन् । यसका लागि उनीहरु पैसामा बिक्ने केही भिआइपी लोभिपापीहरुलाई प्रयोग गरिरहेका छन् । मिडियाका मालिकदेखि विभिन्न आवरणका मानिसलाई मानवाधिकारकर्मी र नागरिक समाजका नाममा जनयुद्ध, यसका उपलब्धी र नेताहरुमाथि धावा बोल्न लगाइरहेका छन् । जनयुद्धमा मानवाधिकारको उल्लंघन भएको भन्दै माओवादीका नेताहरुमाथि विभिन्न मुद्दा लगाउने प्रपञ्च गरिरहेका छन् ।
यत्रो जनयुद्ध गरेर खै के ग¥यो माओवादीले ? ल्यायो त जनताको शासन ? ल्यायो त समाजवाद ? दुइचार जना माओवादी नेता आफू मन्त्री बन्न र धनी बन्न मात्रै जनयुद्ध गरेका थिए । १७ हजार मान्छे मारेका थिए । नेपाली जनताले के पाए ? जनयुद्ध लडेका तल्लो तहका कार्यकर्ता र जनसेनाले के पाए ? भन्दै जनता, नेतृत्वसँग असन्तुष्ट केही कार्यकर्ता र जनमुक्ति सेनाका पूर्व सदस्यहरुलाई एकै पटक भड्काउने काम पनि यही मानवाधिकारवादी र नागरिक समाज नामक विदेशी डलरका खेतालाहरुले गरिरहेका छन् । माओवादीका केही कार्यकर्ता, जनता र पूर्व जनसेनाहरु यसमा विश्वास गर्न वाध्य भएका छन् । किन कि माओवादीका नेताहरु र पूर्व कमाण्डरहरुको स्वाभाव र जीवनशैली यसको कारण बन्यो । पार्टीको कार्यक्रम जनता र कार्यकर्ताले अपेक्षा गरेमुताविक बनेन । कदाचित बने पनि कार्यन्वयन भएन । यसो हुनुका केही आयमहरु छन् ।
युद्धबाटै सम्पूर्ण सत्ता कब्जा गर्न नसकेपछि संसदीय राजनीतिमा आएको माओवादी संसदीय राजनीतिमा अपेक्षाकृत सफल हुन सकेन । संसदीय राजनीतिमा साम, दाम, दण्ड, भेद अपनाउनु पर्छ भन्ने पुरानो मन्त्रलाई जबरजस्ती अपनाउन थाल्यो । सरकार बनाउने र भत्काउने संसदीय खेलमा खुल्ला रुपले सहभागी बन्यो । पार्टीमा टिकिरहन गुट चाहिन्छ, गुट बनाउन पैसा चाहिन्छ भन्ने मनोविज्ञानको सिकार भयोे । चुनावमा पैसाको खोलो जसले बगाउन सक्छ, उसैले मात्रै चुनाव जित्न सक्छ भनेर कांग्रेसले बसाएको थितिको पनि माओवादीका नेताहरुले अन्धानुकरण गरे । उनीहरु जसरी पनि पैसा केन्द्रिकृत गर्ने बाटो खोज्न थाले । यसले उनीहरुको संगत पैसा भएका राम्रा–नराम्रा सबै मानिससँग भयो । खराब मानिसहरुको संसर्गले उनीहरुमा जनताको पक्षमा नहुने काम गर्ने बाटोमा पनि यदाकदा अग्रसर बनाएको देखिन्छ । हिजो जनबिरोधी भनेर दुत्कारिएका मानिसहरुसँगको नियमित उठबसका कारण नेतामा जनता र कार्यकर्तालाई हेर्ने दृष्टिकोण नै जनयुद्धपूर्वका राजामहाराजाको जस्तो हुन थाल्यो । कतिपय नेताको त जीवनशैली पनि राजामहाराजाको जस्तो देखिन थाल्यो । जस्तोसुकै काम गरेर भए पनि पैसा नकमाउने कार्यकर्ता पार्टी, परिवार र समाजमा निरिह बन्नु पर्ने अवस्था बन्यो । यसले जनता र कार्यकर्तामा एकैसाथ बिकराल निराशा जन्मायो । अनि जनताले प्रश्न गर्न थाले । खै त हिजो भनिएका कुरा माओवादी आफू सत्तामा पुगेपछि त सबै भूलेछ । उही पुरानै सत्ताअभ्यासमा चुर्लूम्म डुबेको छ । यत्रो युद्ध गरेर बेकारमा जनतालाई दुख दिए, जनताका छोराछोरी मारे । घाइते, अपाङ्ग बनाए । बिचल्ली बनाए । भनेर गुनासोका पहाड बनाउन थाले । जनता र कार्यकर्ताको गुनासो यो कोणबाट जायज नै देखिन्छ ।
यी समस्याको एकमुष्ठ कारण भनेको मूल नेतृत्वमा भएको आत्मविश्वासको कमी नै हो । परिवर्तित राजनीतिक परिस्थितिलाई समाउन सकिन्छ कि सकिदैन भन्ने चिन्ता नै हो । परिवर्तित परिस्थितिमा राजनीतिमा टिकीरहन जसरी पनि शक्तिमा रहिरहनुपर्छ, शक्तिमा रहिरहन पैसा चाहिन्छ, पद चाहिन्छ र त्यसका लागि जस्तो भए पनि पैसा भएको मान्छेलाई छेउछाउमा राख्नु पर्छ भन्ने मनोविज्ञान सबैभन्दा घातक रुपमा देखियो । पार्टीभित्र व्यवस्थित संगठनात्मक प्रणाली र बलियो आन्तरपार्टी लोकतन्त्रको निर्माण हुन सकेन । सिस्टममा चलेको पार्टीका कार्यकर्ताले नै सबैलाई नेतृत्वमा विकास हुन र टिकाउन सक्छन् भन्ने सत्यमा विश्वास पैदा हुन सकेन । माथिदेखि तलसम्म, स्तरअनुसारका सबै नेताहरुमा आफ्नो पदीय हैसियत चीरकालसम्म कसरी कायम राख्ने भन्ने चिन्ताले पार्टीलाई एकपछि अर्को अकर्मण्ड्यतामा फसाउदै लग्यो । जसको स्वभाविक परिणति पटक पटक पार्टीले विभाजन भोग्नु प¥यो । एमालेसँग पार्टी एकता गर्ने बेलाको सांगाठानिक संरचनाको कुरा गर्ने हो त भने माओवादी पार्टी लगभग विघटनको अवस्थामा पुगेको स्पष्ट हुन्छ । केन्द्रीय समिति, पोलिटव्यूरो र स्थायी समितिको आकार र संरचना हेर्दा यस्तो पनि पार्टी हुन्छ ? भनेर ताजुब मान्ने अवस्था रहेको जगजाहेरै छ । माओवादी पृष्ठभूमिका नेताहरुले आगामि दिनमा पनि आफ्नो चरित्र र व्यवहारलाई धरै जनपक्षीय बनाउनु पर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ । यसो नगरे कमसेकम पूर्वएमाले पृष्ठभूमिका नेताहरुको सम्मुखमा उनीहरु निरिह बन्ने निश्चित छ ।
यसको मतलब, के माओवादी जनयुद्धबाट केही उपलब्धी नै भएन त ? यसो होइन । आज नेपालमा जे जति राजनीतिक उपलब्धी हासिल भएका छन्, त्यसमा लगभग माओवादीकै मूल योगदान रहेको छ । यदि माओवादी जनयुद्ध नभएको भए सायद, राजा विरेन्द्रको वंशनास हुने थिएन । राजतन्त्रप्रति जनताको मोहभंग हुने थिएन । संसद विघटन हुने थिएन । २०४७ सालको संविधान निलम्वनमा पर्ने थिएन । यसको मतलब तत्कालिन संसदवादी दलहरु कुनै पनि हालतमा राजतन्त्रबिरुद्ध गणतन्त्रको आन्दोलनमा आउने सवालै आउदैन थियो । किन कि संवैधानिक राजतन्त्रलाई नै उनीहरु संसारको सबैभन्दा उत्कृष्ट व्यवस्था बताइरहेका थिए । माओवादीलाई जसरी पनि सिध्याउनुपर्छ, सेना परिचालन गरेर, आतंककारी घोषणा गर्नुपर्छ र राष्ट्रिय राजनीतिको नेतृत्वमा कदापि ल्याउनु हुदैन भन्नेमा दृढसंकल्पित थिए । यसको मतलब सातदलको आन्दोलन कल्पनाबाहिरको विषय हुने निश्चित थियो । नेपालको राजनीतिक विकास र परिवर्तनले यो कोर्ष देख्न पाउने थिएन । माओवादी जनयुद्धका कारण नै दरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको उदय, संसद विघटन र सातदलीयमोर्चाको आन्दोलन गर्ने वातावरण बन्यो । त्यसलाई परिस्थितिले माओवादीसँग सहकार्य नगरिनहुने अवस्था सिर्जना गरिदियो । १२ बुंदे सम्झौता भयो र आन्दोलन चर्कियो । व्यवस्था परिवर्तन भयो । फलस्वरुप अहिले केकस्ता उपलब्धी हासिल भए, जगजाहेर छ । जे जति उपलब्धी हात लागेको छ, त्यो धेरै पार्टीहरुले कमसेकम २०५२ सालमा जनयुद्ध सुरु गर्दा ताका सोच्न पनि अपराध ठान्दथे । यो पनि सबैलाई थाहा भएकै विषय हो । यसकारण उपलब्धी नभएको भन्न मिल्दैन, धरै ठूलो उपलब्धी भएको छ र त्यो सबै जनयुद्धकै प्रतिफल हो । यति भनिरहँदा अन्य दलहरुले गरेको शान्तिपूर्ण आन्दोलनलाई अपहेलना गर्न खोजेको भने पक्कै पनि होइन । माओवादीसँगको सहकार्यमा सातदलले २०६२÷६३ मा गरेको जनआन्दोलनको ऐतिहासिक महत्व इतिहासमा कसैले नकार्न सक्दैन । खालि जनयुद्धको महत्वलाई प्रष्ट्याउन बल गरिएकोसम्म हो ।
माओवादी पार्टी राजनीतिक परिवर्तनपछि देशको आर्थिक विकास र सरकार सञ्चालनको मोर्चामा फेल भइरहँदा के नेतृत्वपंक्ति मात्रै यसको भागिदार हो त ? अवस्य पनि होइन । यसमा केन्द्रीय समितिभन्दा तल रहेका नेताहरुको पनि उत्तिकै भूमिका छ । पार्टी बनाउन र बिगार्न सबैको गच्छेअनुसारको भूमिका रहेको छ । दलाल र फटाहाहरुको काम गरिदिन नेताहरुकोमा सिफारिस गर्ने, नेताहरुको दैलोमा चौविसै घण्टा धर्ना दिने र खराब मान्छेलाई पनि असाध्यै राम्रो व्यवसायी, समाजसेवी भन्दै भेटघाट गराउने गरियो । प्रचण्डलगायत नेतालाई भेट गराइदिए बापत पनि केही कार्यकर्ताहरुले व्यवसायीहरुबाट पैसा लिन्थे भन्ने सुनिन्थ्यो । लेनदेनका मुद्दा मिलाईदिने नाममा कमिसन खाने, जथाभावी जग्गाको प्लटिङ र दलाली गर्ने, रक्तचन्दन, सुन, भ्रष्टाचारमा परेकालाई उन्मुक्ति दिन पहल गर्ने, राजस्व मिनाहा गरिदिने लगायत विषयमा जति नेताहरु आरोपित छन्, कार्यकता पनि उतिनै स्तरअनुसार डुबेको पाइन्छ । कुनै नेताले कसैको निहित स्वार्थमा आधारित काम गरिदिएन भनेर गरेको विरोधको कुनै औचित्य हुदैन । पार्टी सिस्टममा चल्नको लागि तल र माथि दुबैतिरका नेता उत्तिकै इमानदार र जिम्मेदार बन्न आवश्यक हुन्छ । नीतिनिर्माण गर्ने तहमा माथिका नेता रहने हुँदा अलि बढी संवेदनशील उसैले बन्नु स्वभाविक हुनजान्छ । व्यवस्थित संगठन र अनुशासित कार्यकर्ताले बनाउने नेतृत्वले कसैसँग डराउनु पर्दैन । चुनिने कुरासँग डराउने अनि जिवनभरि कसरी नेतृत्वको पहिलो लेयरमा रहिरहने भनेर सोच्दासोच्दै पार्टी नै विलाउने अवस्थामा पुग्नु माओवादी पार्टीको दुर्भाग्य बन्यो ।
सामाजिक रुपान्तरणको एउटा कार्यभार पूरा भैसकेपछि समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न हतियार उठाइहाल्नु पर्ने अवस्था नआउञ्जेल सरकारलगायत सबैखाले मोर्चालाई शान्तिपूर्ण ढंगले प्रयोग गर्न पाउदा पाउदै अहिल्यै जनयुद्ध वा जनविद्रोहमा गैहाल्ने कुरा कोरा कल्पना मात्रै होला । सामाजिक रुपान्तरणका सबै अग्रगामि उपायहरु निकम्मा भएपछि मात्रै बल प्रयोगको सिद्धान्तको पुष्टि हुन्छ । यस कारण नेपालका अहिलेका सबै कम्युनिष्ट पार्टीहरुको साझा लक्ष्य भनेको भरखरै सम्पन्न परिवर्तनका उपलव्धीलाई सदुपयोग गर्दै विकास र राष्ट्रिय समृद्धि हासिल गर्नु हुने छ । यो नै सबैको वर्तमान न्युनतम कार्यभार रहेको छ । समाजवादसम्मको यात्राका लागि पुँजीको विकास राम्रोसँग हुनु पनि एउटा सर्त मानिन्छ । सम्पत्तिमाथिको स्वामित्व र वितरणलाई मिलाउने र समाजवादमा संक्रमण हुने चरणमा समाजलाई विकास गर्न आवश्यक छ । यस कारण पनि यो इतिहासको आवश्यकतालाई पूरा गर्न देशका दुई ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीबीच एकता अपरिहार्य भयो, र एकता भयो । कुनै बेला माओवादीलाई आतंककारी घोषणा गर्न सही गर्ने, यसका नेताहरुको टाउकाको मूल्य तोकेर रेड कर्नर नोटिस जारी गर्ने कुरामा सही ठोक्ने एमाले आज आएर त्यही पार्टीसँग हार्दिकतापूर्वक विचार, नीति र कार्यक्रमका हिसावले एउटै लक्ष्यका साथ पार्टी एकता गर्ने अवस्थामा सिर्जना भएको छ । यो परिघटना नेपालको मात्रै नभएर संसारभरिका राजनीतिक दिग्गजहरुको दिमाग खराब गर्ने विषय पक्कै बनेको छ । संसारले सिक्न लायक विषय पनि बनेको छ । अझ त्यही माओवादीले गरेको जनयुद्ध, जसलाई पूर्वएमालेले आतंककारी कृयाकलाप भन्थ्यो, एकतापछि त्यसका सबै सकारात्मक नकारात्मक पक्षलाई समिक्षासहित आत्मसात गर्न सक्ने हिम्मत देखाएको छ । यो विशाल हृदय संसारमा लामो समय राजनीतिक अभ्यास गरेका पार्टीहरुको लागि पनि नयाँ पाठ पक्कै हो । दई पार्टी एउटै भएर बनेको पार्टीले आज हर्सोल्लासका साथ २४ औं जनयुद्ध दिवस मनाइरहेको छ । यो जनयुद्ध, यसका नेताकार्यकर्ता, शहीद, बेपत्ता, घाइतेअपाङ्ग र आम नेपाली जनताको लागि अभूतपूर्व खुसियालीको क्षेण हो । आत्मियता, मेलमिलाप र भाइचाराको अद्वितिय मिशाल हो । नेपाली धर्तिमा जगमगाएको नेपाली मौलिकताको महान जनयुद्धको यो पनि एउटा उललेखनीय उपलव्धी हो । पार्टीहरु बन्ने र भत्किने, फुट्ने र जुट्ने त भइनै रहन्छन् । तर निर्णयक मोड लिने र युगिन परिवर्तन सम्पन्न गर्न सबै आन्दोलन सफल हुदैनन् ।
यो युगमा जन्मिएका भाग्यमानी युवाहरुले यो आन्दोलनमा सहभागी हुने, योगदान गर्ने र परिवर्तनलाई महसुस् गर्ने सौभाग्य प्राप्त गरेका छन् । यो सबैलाई सहजै प्राप्त हुने ऐतिहासिक परिघटना होइन । जनयुद्धका कारण नै नेपाली भूमिमा यो परिघटना र परिवर्तन सम्भव भएकोमा अब कसैको दुईमत रहेन । जनयुद्ध सुरु गर्दाताका लिएका लक्ष्यमा यो परिवर्तनले पूर्ण रुपमा पु¥याउन सकेन । लक्ष्यको आधा बाटोमा मात्रै परिवर्तन पुगेको छ । परिवर्तनका बाँकि कार्यभार यिनै नेताहरुलाई गाली गरेर र कुण्ठा ब्यक्त गरेर मात्र सम्भव छैन । यो युगका युवाहरुले गर्व गर्नुपर्छ कि यी नेताहरुले युवाहरुको काँधमा परिवर्तनका बाँकि काम सुम्पिएका छन् । परिवर्तनका जेजति काम अधुरो छ, त्यो पूरा गर्ने अभिभारा अब नयाँ युवाहरुको हो । सबैखाले हण्डर दुःख झेलेर नै अघिल्लो पुस्ताले परिवर्तनलाई यहाँसम्म ल्याएको छ । अब यसलाई यो भन्दा अगाडि कसरी कुन विधिले बढाउने भन्ने जिम्मेवारी पनि उर्जाशील र विचारवान युवा नेताहरुको काँधमा नै रहेको छ ।