दिलबहादुर, दिल बहादुर रम्तेल, Dil Bahadur Ramtel, First Martyr, Great Peoples' War, Fagun 14, 2052
 

नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण गरिएपछि तत्कालीन राजतन्त्रात्मक बहुदलीय सत्ताका पृष्ठपोषकहरुबाट देशैभर खोजतलास,अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाएको थियो ।

गोर्खा-सूर्यज्योति मावि ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई हतियारसहित गएका प्रहरीको टोलीले गिरफ्तार गरी ल्याउने क्रममा गोरखा पन्द्रुङ गाविस-२ स्थित ब्रम्हाचारिनी नि.मा.वि.मा विद्यार्थी र प्रहरी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर गोरखा जिल्ला पन्द्रुङ गाविस-३ निवासी कक्षा- ४ मा अध्ययनरत १० वर्षीय दिलबहादुर रम्तेलको ०५२ फागुन १४ गते घटनास्थालमै मृत्यु भयो । शिक्षक गुरुङलाई गोरखा सिम्जुङ गा.वि.स.स्थित सेभ द चिल्ड्रेनको कागजात जलाएको आरोपमा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । माओवादी जनयुद्धका पहिलो शहीदको रुपमा दिलबहादुर रम्तेललाई घोषणा गरेको छ। यो कुरालाई इन्सेकको प्रतिवेदनमा पनि खुलाइएको छ ।

पहिलो चरणजमा अपनाइएका प्रचारात्मक, एक्सनल तथा हिट एण्ड रन जस्ता विविध विद्रोहात्मक कारवाही सहित अघि बढ्दै गर्दा जनयुद्धका यी चौधदिनमा ज्यानै जानेगरी भएको यो पहिलो घटना थियो । पार्टीले रम्तेललाई महान जनयुद्धको प्रथम शहीद घोषणा गर्यो ।

यो युद्ध सर्वहारा वर्ग र राज्यद्वारा विभेदमा पारिएका जाति, क्षेत्र, लिङ्गको मुक्तिका खाँतिर थालनी गरिएको हो भन्ने कुरा उत्पीडित पक्षले गहीरो गरी आत्मसात गरेकोले एउटा मजबुत आत्मविश्वासका साथ थालिएको विद्रोह हो भन्नेमा सरकार वेखबर थिएन । माग पुरा नगरिए विद्रोह संगठित गर्नु आफूहरुको बाध्यता हुनेछ भन्ने आशय जनित ४० बुँदे मागपत्र (४/५ महिनाअघि) पेश गर्न जाँदा माग सुन्नु त परको कुरा भेटसम्म पनि अश्विकार गरेका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले जनयुद्धको पहिलो योजनाले पूर्णता पाउँदा नपाउँदै वार्ताको आह्वान गरे ।

जनताले उठाएका माग सम्बोधनतिर बेवास्ता गर्ने, फगत वार्ताका कुरा गरेर अल्मल्याउने र दमन गर्ने ध्येय रहेको सो वार्ता प्रस्तावले अन्ततः जनयुद्धको विकास र विस्तारको निमित्त वैधानिक र अवैधानिक संघर्ष बिचको तालमेल तथा सरकारी रबैयाको भण्डाफोरका लागि अत्यन्त सुन्दर वातावरण प्रदान गर्‍यो । वैधानिक मोर्चाहरु, मानवाधिकारवादी संस्थाहरु तथा जनवर्गीय संगठनहरुले सशस्त्र विद्रोह निम्त्याएको प्रष्ट्याउँदै किलोसेरा जस्ता जघन्य श्वेत आतङ्की अप्रेसन मञ्चनदेखि मानिसलाई जिउँदै आँखा निकाल्ने, मट्टितेल खन्याएर जिउँदै जलाउने गरेका घटनाहरु बारे सार्वजनिक रुपमा भण्डाफोर गर्न थाले।

जनतामाथि भएको अनावश्यक सरकारी क्रुर दमन र राज्यआतंक नै सशस्त्र विद्रोह शुरु हुनुको प्रमुख कारण थियो भन्ने कुरा प्रष्ट्याए । साथै खुलेर जनतालई सुनाउने/बुझाउने मौकाको सदुपयोग गरे । दिनानुदिन मुक्तिको अगाडि मृत्यु सामन्यीकरण हुँदै गयो । सामान्य प्रचारात्मक पहिलो योजनाले छापामार युद्धको रुपमा विकास गर्ने दोश्रो रणनीतिक योजना लाई सरलतापूर्वक जन्म दियो। सत्तासीन दलदेखि प्रतिपक्षी दलहरुसम्मको बिचमा जनयुद्धलाई हेर्ने र बुझ्ने सवालामा तीब्र अन्तरविरोध शृजना गर्दै अघि बढ्दै गयो ।

दोस्रो रणनैतिक योजना सम्पन्न गर्ने क्रमसम्म (झण्डै डेढ वर्ष) पुग्दा नपुदै क. विजय घले र क. तीर्थ गौतम लगायत दर्जनौँ होनाहार कामरेडहरुले शहादत प्राप्त गरिसकेको रिपोर्ट आइरहेको थियो ।संघर्षमा क्षतिको पीडा कति हुन्छ भोग्नेहरुलाई नै बढी ज्ञात हुने त छँदैछ । तथापि शहादत आफैमा संघर्षको विकासका लागि भने बलिरहेको आगोमा पेट्रोल बन्ने गर्दछ । शहीदको रगत रक्तबीज बनेर फैलिन थाल्यो । सोचिए र अनुमान गरिएभन्दा निकै द्रुतगतिमा जनयुद्धको विकास हुँदै गयो ।

प्रत्येक युद्धयोजनाको समीक्षात्मक बैठक, भेला र सम्मेलनहरुमा नेपालको राजनीतिक संघर्षको इतिहासलाई केलाउने अध्ययन गर्ने र विशेषतः कम्युनिष्ट आन्दोलनको संक्षिप्त समीक्षा, मुल्यांकन, विष्लेषण र संश्लेषण गर्दै त्यसबाट प्रेरणा लिन थालियो । अध्यक्ष कामरेड प्रचण्ड (तत्कालीन महासचिव) बाट २०५८ को दोस्रो राष्ट्रिय सम्मेलनमा महान अग्रगामी छलाङ नामक योजना प्रस्तुत गर्दै कम्युनिष्ट आन्दोलनका श्रष्टाहरुका बारेका गलत बुझाई र ब्याख्यालाई सँच्याइयो । कमरेड पुष्पलालका योगदानलाई अवमूल्यन गरेर उहाँप्रति लगाइएको ‘गद्दार पुष्पलाल’ भन्ने बिल्लालाई च्यातचुत पारियो । कामरेड कामी बुढादेखि भीमदत्त पन्त सम्मका इमान्दार क्रान्तिकारीहरुको निष्ठापूर्ण योगदानको उच्च संश्लेषण गरियो । नेपाली कम्युनिष्ट आन्दोलनमा रहेका सीमा-समस्यालाई सच्याउँदै वीर शहीदहरु र अग्रजहरुका योगदानको कदरपूर्वक सम्मान गरियो ।

कम्युनिष्ट आन्दोलनको इतिहासमा सामन्त तथा दलाल नोकरशाही सत्ताको विरुद्ध पहिलो हतियार उठाएको क्रान्तिकारी कदमको रुपमा झापा आन्दोलनको उच्च मुल्यांकन सहित अपनत्व लिइयो । विस्मृतिमा परेका तमाम शहीदहरु लगायत विशेषतः २०५२ फागुन १४ गते तत्कालिन शाही सत्ताले हत्या गरेका जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेल र पञ्चायती सरकारले झापा आन्दोलनका नेताहरु क. रामनाथ ढकाल, क. नेत्र घिमिरे, क. विरेनसिंह राजवंशी, क. कृष्ण कुईंकेल र क. नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेको दिन २०२९ फागुन २१ लाई सम्बोधन हुने गरी फागुन १४-२१ लाई शहीद स्मृति सप्ताहको रुपमा ब्याख्या गरेर सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरुको सम्मान र सम्झना गर्ने निर्णय लिइयो । त्यो महान जनयुद्धको प्रकृयामा जनताका झण्डै १३ हजार होनाहार सन्ततिहरुले जीवन उत्सर्ग गरे । फलस्वरुप महान शहीदहरुको रगतको रक्तकुण्डबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जन्म भयो ।

“छलाङ र धक्का”मा विश्वस्त र अभ्य्यस्त मानिसहरु भन्ने गर्छन्, ‘’धक्का र छलाङ’ हिन्दु धर्ममा वर्णित लक्ष्मी जस्तै हुन् जसले कजाउन सक्छ उतै लाग्छन् । यतिबेला पाकिस्तानतिर बँसाई सरेजस्तो छ । त्यहाँ अल्पमतको संयुक्त सरकारका प्रधानमन्त्री इमरान खानले स्वागत गरेको चर्चा छ ।

हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पाइसकिएको छ । सैद्धान्तिक दृष्टिले १२ बर्ष, व्यावहारिक दृष्टिले साढे १० वर्ष र कार्यान्वयन तहबाट हेर्दा संविधान घोषणा भएको मितिले सभा तीन वर्ष नाघिसकेको छ । अब जनयुद्धमा जस्तो इतिहासबाट कसैलाई क्रान्तिकारी भन्दै उचाल्नु र मुल्यांकन गर्नु आवश्यक छैन । मात्र चुनाब आउने-आउने ताका मञ्चमा सजाइदिए पुग्नेवाला छ।

‘वि.सं २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौता’, २०६२ मंसिर ७ को १२ बुँदे सहमति र विधिवत रुपमा संविधान सभाको पहिलो बैठक २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भयो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ साल भदौ २० गते संविधान सभाका दुई तिहाई सदस्यहरुले पारित गरेर असौज १ गते हस्ताक्षर गरेपछि २०७२ असौज ३ गते तत्कालीन राष्ट्रपति रामवरण यादवबाट घोषणा गरेको मितिले संविधान बनेको पनि ३ वर्ष नाघिसकेको छ।

उल्लेख गरिएका उपलब्धिका तथ्याङ्कहरुको कार्यान्वयन तहबाट हेर्दा यी बितेका वर्षहरुमा देश बिलकुलै सरकार विहिन शुन्यतामा झुण्डिएको अवस्था होइन नै । विस्तृत शान्ति सम्झौता गरेका, दुई-दुई पटक संविधान सभाको निर्वाचन सम्पन्न गरेका र नयाँ संविधान निर्माण र घोषणा गरेका दलहरुकै आलोपालोमा सरकार सञ्चालन हुँदै आएको छ ।

विगत रक्तपातपूर्ण राजनीतिका ५ वर्ष पुग्दा नपुग्दै विचारको तहबाट क्रान्तिको मार्गदर्शक सिद्धान्त (प्रचण्डपथ) निर्माण गर्न सक्ने, ध्वंश र निर्माणको द्वन्द्वात्मक प्रयोग गर्दै प्रत्याक्रमणको उच्च चरणमा पुर्‍याएर २४० बर्ष पुरानो राजतन्त्र सपाप्त पार्न सक्ने सामर्थ्य बोकेके सशस्त्र विद्रोहको पौरखी र संसदीय प्रतिस्पर्धाका महारथी दुई कम्युनिष्ट पार्टी बिचको फ्युजनबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई झण्डै दुई तिहाई बहुमत पुर्‍याउन कतिपय बौद्धिकहरु, जो पार्टीमा आबद्ध नरहेका तर विश्वास र भरोशामा भोट दिएका पंक्तिबाट सरकारप्रति औंला ठडिन थालेको छ । ५ बर्षमा छिँदो-फाँदो भएका परिघटनाहरुको तुलनामा मेलमिलापका शान्तिपुर्ण १२ बर्षमा आफैले लिएका निर्णयहरु ठिक ढङ्गले कार्यान्वयन हुन सकिरहेका छैनन् ।

लोकको लयमा साँस्कृतिक फाँटबाट मुल्यांकन र संश्लेषण शुरु भएको छ । ‘यमराजको शासन छ … कार्यकर्ता कुकुर जस्तै भुक्छन्’, ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट !’ बोलको व्यंगात्मक गीत जनमानसमा कर्णपृय बनेको छ । सत्तारुढ दलका कार्यकर्ता गीतको समर्थन र विरोधको दुई खेमामा बाँडिएका छन् । पशुपति शर्माको सो गीतको समर्थनमा ‘देशका लागि सोचौँ’ भन्ने क्याप्सन राखेर एकअर्कालाई मेसेन्जर, भाइबर र ट्विटरमा (युट्युब) जस्ताको तस्तै गीत मेसेज र सेयरको ओइरो छ ।

एकाथरी जनवर्गीय संगठनले वाकस्वतन्त्रताको दुरुपयोग देख्छन् र विज्ञप्तिमार्फत गीतनै फिर्ता लिन दबाबसहित वाक्‌स्वतन्त्रताको दुहाई दिएको सुनिन्छ । प्रतिपक्ष भनिएको नेपाली काँग्रेसको हालत खस्कँदो छ । वास्तविक स्थिति उदाँगिएको छ । उसको भविष्य डाक्टर, कलाकार र प्रोपोगोण्डाकार अर्थात् तिन ‘र’ मा झुण्डिएको छ । काँग्रेस सत्ताभन्दा बाहिर बसेर देशको निमित्त रचनात्मक रुपले सोच्ने पार्टी होइन भन्ने उजागर भएकोछ ।

युगान्तकारी उपलब्धिको बाहक कम्युनिष्ट पार्टी विगतमा टुट, फुट र ध्वंसतिर मच्चिइरहँदा पार्टी र उपलब्धिलाई जोगाउन दृढतापूर्वक संस्थापनको ढाल बनेका कार्यकर्ताहरु एक प्रकारको हिनताग्रस्त दोबाटोमा भेटिन्छन् । सरकारी कार्यालयमा पुग्दा स्थायी सरकार भनिने कर्मचारीहरुको रबैया लाजमर्दो देखिन्छ । मनोरञ्जनात्मक भाषण, विदेश भ्रमण र सुविधा लिने तँछाड-मछाड बाट नै स्वस्फूर्त परिवर्तन संस्थागत हुन्छ जस्तो गरी जगहँसाई छ । सम्बन्धित व्युरोक्य्राटहरुसँग परिवर्तनको लक्ष्य, उद्देश्य र अहिलेको आवश्यकता तथा उनीहरुको दायित्त्वबारे कुनै अन्तरकृया, क्लास, प्रशिक्षण,अल्टिमेम आवश्यकता ठानिँदैन ।

पार्टीको आन्तरिक स्थिति भयावह छ । पहिलो त एकता नै अलमलमा छ । आउँदो निर्वाचनसम्म आश्वासन र तर्कको भारी बोक्ने स्थिति आएछ भने पनि आश्चर्य हुने छैन । एकता सम्पन्न भएका ठाउँहरुमा केन्द्रीय नेताद्वारा प्रशिक्षण सम्पन्न भयो भनेर पोष्ट गरिएका तस्विरहरु हेर्दा विभेदको उदेकलाग्दो सामन्ती संकीर्णता प्रष्टिन्छ । स्थानीय पार्टी र समर्थक शुभचिन्तकहरु अनभिज्ञ हुन्छन । आन्दोलनका श्रष्टाहरुको उपेक्षा गरिन्छ।

अमर शहीदहरुप्रतिको श्रद्धा, सम्मान र योगदानको स्मरण र अनुसरणलाई समष्टितिर भन्दा व्यष्टिमा पतन गराउने, शहीद परिवार र साझा संरचनाको अपमान र तेजोबध गर्ने गरी रुलिङको तितो अभ्यास प्रयोगमा देखिन्छ। वास्तवमा शहीदहरुले प्रकट गरेको उच्च त्याग र साँस्कृतिक आचरणसँग स्वयंलाई राखेर होइन, हुँदा हुँदा आँखामा बाक्लो ग्लिसिरिन दलेर नीजि शक्तिआर्जनका लागि निर्लज्ज उपयोग गर्न चाहेको बुझ्न सकिन्छ । पार्टी सरकारी छाँयामा सञ्चालित देखिन्छ।

जोड र कोणमा देखा परेको यही अन्तर्विरोधलाई दृष्टिगत गरेर नै हुनुपर्छ एउटा कार्यक्रममा ‘पार्टी कार्यक्रम र सरकारी कार्यक्रम सञ्चालन गर्ने संस्कार’ लाई बुझ्ने र लागु गर्नेतिर भन्दा अनावश्यक चाप्लुसीका पुलिन्दा बाँध्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै क. प्रभाकरले घतलाग्दो टिप्पणी गर्नुभयो – “स्थानीय होस् वा केन्द्रीय, पार्टी सरकारले होइन, पार्टीले सरकार चलाउनु पर्छ । राष्ट्रको आमूल परिवर्तनको निमित्त पार्टीको योजना कार्यान्वयनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुका योगदानको रक्षा, विकास र सम्बर्द्धन तथा तिनका परिवारहरुको संरक्षणबारे पार्टी नै जोडिनु पर्छ । शहीदहरु राष्ट्रका अमूल्य निधि हुन्, फगत पारिवारिक घेरामा सीमित गरिनु हुँदैन” ।

आशा गरौँ, शहीद सप्ताहको यस पहिलो दिनले उक्त टिप्पणीको सार्थकता पहिल्याउँदै नेपाली जनताले हासिल गरेका उपलब्धिहरूलाई संस्थागत गर्न र शहीदहरुले छाडेर गएका बाँकी कार्यभारहरू पूरा गर्न प्रेरणा प्रदान गरोस् । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल लगायत जनयुद्धका सम्पूर्ण शहीदहरु राष्ट्रिय शहीद घोषणा गरिऊन् । बेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक होस् । जनयुद्धका प्रथम अमर शहीद दिलबहादुर रम्तेलको २४औँ स्मृति दिवसको यस अवसरमा रम्तेल लगायत सम्पूर्ण शहीदहरुप्रति हार्दिक स्मृत्याञ्जली ।

कोहलपुर, २०७५/१०/१४