‘नानु सञ्चै छौ ?’
मंसिरको चिसो सिरेटोसँगै कसैले मेरो हात च्याप्प समात्यो । को होला ? मनमनै सम्झिन खोजेँ र आवाज ठम्याउन खोजेँ । रात उकालिँदै थियो, हामी भने ओरालो झर्दै थियौँ ।
हामी कहाँ हिड्दैछौँ, कता जाँदैछौँ, हाम्रो यात्रा कति घण्टाको हो, मलाई थाहा थिएन । करिब १०/१५ जनाको समूहमा थियौँ ।
जताततै प्रहरीको ज्यादती बढेको थियो । त्यसैले सुरक्षित स्थानतर्फ जाँदै थियौँ सायद । रात चकमन्न थियो । तल कतै खोला सुसाइरहेको थियो । खोला किनारमा झ्याँउकीरीहरु कराइरहेका थिए । कति–कतिबेला गाउँमा जोडले कुकुरहरू भुकेको आवाज आउँथ्यो । समय त्यस्तै रातको १० बजेको थियो होला ।
‘म निर्मला चिनिनौ र’ मैले चिन्न खोज्दै थिएँ, उतैबाट जवाफ आयो ।
दिदी ……. एक्कासी खुशीले म झण्डै चिच्याएँ । ‘सुस्तरी बोल ।’ उनले भनिन् ।
निर्मला दिदी एकपटक हाम्रो घरमा आएकी थिइन् । करिब २/३ दिन गाउँमा यताउता कार्यक्रमहरु गरेर गएकी उनी फर्केर आएकी थिइनन् । उनी सँधै सबैसँग मुस्कुराइरहन्थिन् र सबैसँग आत्मीय बन्दै हालखबर सोधिखोजी गर्थिन् । ५ फिट ३ इन्च उचाईकी उनि गहुँगोरो वर्णकी थिइन् । उनको अनुहार हरदम उज्यालो हुन्थ्यो । उनलाई देख्दा यस्तो लाग्थ्यो मानौँ भर्खरै बादलबाट जून निस्किएको हो ।
त्यसबेला सरस्वती मा.वि. वलिबाङ गुल्मीमा मैले कक्षा १० मा पढ्थेँ । मेरा आफ्नै दाजु वसन्त केसीसँग आएकी थिए – अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा भाग लिन । हाम्रो स्कूलबाट र नजिकका अरु स्कूलबाट कोही पनि साथीहरु आउन मानेनन् । म चाहीँ दाजुसँग लुरुलुरु हिँड्दै आएँ ।
साँझको खाना घरबाटै खाएर आएका थियौँ । आँपचौर भन्ने ठाउँमा आएर रात बितायौँ । राति सुत्नेबेला घरबेटीले मलाई गुन्द्रीको सिरानी हालिदिदाँ अचम्म लागेको थियो । गुन्द्री सिरानी हालेर कसरी निदाउनु, जसोतसो रात बिताएँ ।
भोलिपल्ट दिनभरी हिँडेर गोधुली साँझमा धुर्कोटको रजस्थल पुगेका थियौँ । हावा जोडजोडले चलिरहेको थियो । सुर्य भर्खरै अस्ताएकोले पश्चिमी क्षितिज सुनौलो भएको थियो । अनि हामी हिँड्ने रजस्थलको डाँडा पनि निकै सुन्दर लागिरहेको थियो । नौलो ठाउँ, नयाँ अनुहार, नौला अनुभूतिहरु सँगाल्दै म दाइको पछि पछि हिँडिरहेकी थिएँ ।
‘ओहो, कमरेड कतिबेला आइपुग्नुभयो?’ एकजना तालु खुइलिएको मान्छेले दाजुसँग हात मिलाउनुभयो, उहाँ मसँग पनि हात मिलाउन चाहनुहुन्थ्याे सायद, तर मैले चाहिँ नमस्कार गरेँ । ती तालु खुइलिएका मान्छे कमरेड सुदीप हुनुहुँदोरहेछ ।
उहाँसँग केही खासखुस कुरा गरेपछि दाजुले मलाई एउटा धर्मशाला जस्तो घरमा पठाउनुभयो । त्यहाँ दुईवटी म भन्दा केही मात्र ठूलो उमेर भएका दिदीहरु थिए कल्पना र विपना । तीन जना चाँहि केटा साथीहरु थिए । सबैले मसँग हात मिलाउन खोजे । मलाई सबैसँग हात मिलाउने अभ्यास थिएन, केटी साथीसँग हात मिलाएँ र केटाहरुलाई नमस्ते गरेँ । त्यसको भोलिपल्ट सम्मेलन हुँदै रहेछ । त्यहीँ गाउँमा बाँडिएर खानपिन गरेपछि हामी अगाडि बढ्यौँ ।
अलिकति ओरालो र अलिकति उकालो हिडेर फेरि ओरालो झर्दै थियौँ । नौलो अनुभूतिसहित घर परिवार सम्झिँदै म पनि ओरालो झर्दै थिएँ । प्रायः सबै जना नबोलिकन हिँडिरहेका थिए । बोले पनि सासै सासले मात्र बोल्थे । यताउताबाट कता–कताबाट साथीहरु थँपिदै पनि थिए, हाम्रो टोली अब २०/२५ जनाको भएको थियो ।
चिसो सिरेटो चलिरहेको थियो । जाडो भर्खर भर्खर शुरु हुँदै थियो । चिनेका केटीहरु अलि अगाडि थिए । उनीहरु केटा साथीहरुसँग नबोलिकन खुरुखुरु हिँडिरहेका थिए । बोल्नु नि के थियो र सासैसासले खासखुस गर्नु त थियो ।
उत्ति नै बेला मेरो हात समात्न निर्मला दिदी कतैबाट टुप्लुक्क आएकी थिइन् । उनी कहाँनेर हामीसँग मिसिन आइपुगेकी थिइन् ? मैले पत्तै पाउन सकिन ।
अब चाहिँ निर्मला दिदीको न्यानो हात समातेर उहाँसँग हल्का कुरा गर्दै हिँडिरहेकी थिएँ म । मलाई रमाइलो लागिरहेको थियो । तल खोलामा झिलमिल जूनकिरीहरु देखिए । कति–कतिबेला स्याल पनि कराउँथे । हामी खोला तर्दै थियौँ । खोला तरेपछि उकालो बाटो शुरु भयो । उकालै उकालो हिँडेर रातको सवा ११ बजेतिर पिपलधारा गा.वि.स.को एउटा गाउँमा पुग्यौँ । जो हाम्रो गन्तव्यस्थल रहेछ ।
भोलिपल्ट बिहानैदेखि कार्यक्रमको चलहपहल शुरु भयो । सम्मेलनको शुरुवात हिजै भइसकेको थियो । उद्घाटन समारोह हाडहाडेको निन्युखर्क भन्ने ठाउँमा एउटा स्कूलमा भएको थियो । पिपलधाराको एउटा गाउँमा बन्द सत्र हुँदै थियो । बन्द सत्रको कार्यक्रम हल एउटा गाईगोठ थियो ।
भुइँमा परालमाथि गुन्द्री र कम्बल ओछ्याइएको थियो । भित्ता–भित्तामा राता नीला व्यानरहरु थिए । बन्द सत्रमा मेरो विद्यालयको तर्फबाट मैले पनि रिपोर्टिङ गरेँ, म इकाई अध्यक्ष थिएँ । पिपलधाराकै एउटा गाउँमा घोषणा सभा पनि भयो । नयाँ कमिटी गठन भएको थियो । सम्मेलन अवधिभरी म निर्मला दिदीसँगै छाँयाजस्तै हिँडिरहेँ– ट्वाइलेट जाँदा होस् या खाना खान जाँदा हामी साथै रह्यौँ । हामीलाई दुई बहिनी हो कि भनेर अरुले सोध्थे । सायद हाम्रो अनुहार मिल्थ्यो ।
सम्मेलन सकियो र हामी पनि छुट्टियौँ। घर फर्केपछि पनि निर्मला दिदीको सम्झना आइरह्यो । कस्तो आत्मनिर्भर मान्छे, कति धेरै कुरा जानेको, जम्मा दुई कक्षा पढेर पनि कति धेरै मान्छेसँग छलफल गर्न सक्ने र आफ्नो तर्क मज्जाले राख्न सक्ने, कति छिटो मान्छेको मन जित्न सक्ने, म पनि त्यस्तै हुन पाए …… इत्यादि सोचले केही महिना लगत्तै म पनि पूर्णकालीन भएँ ।
निर्मला दिदीसँग भेट भइरहन्थ्यो – उनी महिला संघको सचिव र म कोषाध्यक्ष थियौँ । पछि दिदी सैन्य फर्मेशनमा गइन् । टाटेपाटे ड्रेस लगाएकी उनी सैन्य बर्दीमा झन् राम्री देखिन्थिन् । काम गर्नमा सँधै तत्पर भइरहने उनी निकै जुझारु पनि थिइन् । सैन्य फाँटमा पनि छिट्टै स्क्वाएड सह–कमाण्डर भइसकेकी थिइन् । एकपटक उनी पुगेको गाउँमा उनलाई नचिन्ने कमै हुन्थे, बढी त महिला र युवायुवती प्रभावित हुन्थे ।
कुरा २०५९ जेठको अन्त्यतिरको हो । जनमुक्ति सेनाको दुईवटा कम्पनी गुल्मीमा केन्द्रित भएको थियो । सायद कुनै लँडाइको तयारी थियो । हामीलाई यस्ता कुरा थाहा हुन्थेन । सोध्न सकिँदैन्थ्यो तर चासो लागिरहन्थ्यो । केही ठूलै घटना हुँदैछ भन्ने लाग्थ्यो । गुल्मीको पूर्वबाट पश्चिममा एउटा कम्पनी जाँदै थियो र म रुटगाइड बनेर जाँदै थिएँ । यात्रा प्रायः रातिको हुन्थ्यो । इन्द्रेगौँडा भन्ने स्थानमा नाका पर्दथ्यो । नाका क्रस गर्ने बेला बडिगाडको तिरैतिर दौडिनु पर्दथ्यो ।
झिमझिम पानी परिरहेथ्यो । बडिगाडको तिरमा खेतहरु थिए र त्यसमा भर्खरै धान रोपिएका थिए ।त्यसमाथि असारको महिना, पनी सिमसिम परिरहेथ्यो । हिलैहिलोमा अँध्यारोमा हस्याङफस्याङ गर्दै दौड्नुपर्ने, दौड्दादौड्दै म खेतकाे कान्लाबाट २/३ कान्ला तल खसेँ । अगाडिको साथीले थाहै पाएन । पछाडिको साथीले उठाउनुभयो ।
म बेहोस भएछु । उहाँले आफ्नो काखमा उठाएपछि मेरो मुखमा पानी परेछ, अनि मात्र होसमा आएँ र सुस्तरी उठेँ । मेरो बन्दुक र झोला त्यही साथीले लानुभयो, जोसँग म धेरै परिचित थिएन । मेरो हात फ्याक्चर भएको थियो । म त्यहीँबाट फिर्ता भएँ र औषधी गर्न पाल्पाको तानसेन गएँ । तानसेनबाट ३/४ दिनमै फर्किएर रिडी गा.वि.स.को एउटा गाउँमा रेष्टमा बसिरहेकी थिएँ ।
सायद असारको पहिलो हप्ता थियो । आकाश गजधुम्म परेर बसेको थियो । सेताम्य कुहिरो लाग्दा पाखाहरु सेतो बर्को ओढेझैँ देखिन्थे । सदाझैँ बिहानको सात बज्यो । रेडियो नेपालले समाचार भन्दै थियो– गुल्मीको घमिरमा दुई जना आतङ्ककारीको मृत्यु….. निर्मला भनिने बिना नेपाली र प्रद्युम्न ……….. रेडियोले के–के फतफताइरह्यो । सुन्ने धैर्यता भएन ।
निर्मला दिदीको शहादतको खबरले मन त्यसै–त्यसै व्याकुल बन्यो । चिटचिट पसिना आयो, केही बोल्न सकिन हो कि होइन ? के निर्मला दिदी मारिएकै हो त ? मनमा विश्वास नै लागेन । कसलाई सोधूँ ।। आँखाभरी झल्झली दिदीलाई सम्झिएँ । बरबरी आँसु झरे । दिदी तपाईंको सपना हामी पुरा गर्नेछौँ । मनमनै कसम खाएँ । मुठ्ठी आफै कसिएछन् । ।
फाट्टफुट्ट कविता लेखी टोपल्थेँ म । सबैले राम्रो छ भन्थे । निर्मला दिदीले विशेष हौसला दिन्थिन् । म घाइते हुनेबेला पनि कविताको डायरी बोकेकी थिएँ । २/४ नयाँ कविता थिए । निर्मला दिदीलाई देखाउने भनेर व्यग्र थिएँ । घटना घट्दाको दिन झोला, डायरी सबै कसले लग्यो थाहा भएन । बिडम्बना, अहिले मसँग ती कविताको डायरी पनि छैन र खुशी भई कविता हेरिदिने आदरणीय निर्मला दिदी पनि छैनन् ।
०५९ को भाद्रमा कार्यक्षेत्र लिएर पश्चिम पठाइयो । त्यहाँको एसीएम भएकी थिएँ । घमिर, सिर्सेनी, पुर्कोट दह, बाँझकटेरी, म्यालपोखरी, अग्लुङ आदि गा.वि.स.को एउटा एरिया थियो । म दौड्दै घमिरको भानुपोखरामा पुगेँ । श्वास निकै बढेको थियो । मुटु ढुकढुक भएको थियो । भावुक भएकी थिएँ । निर्मला दिदीको हत्या भएको ठाउँमा जाँदै थिएँ । जहाँ दिदीको रगतका टाटाहरु मेटिएका थिएनन् । स्थानीय मानिसहरुले सुनाए त्यो दर्दनाक कहानी ।
अघिल्लो दिन छापहिले भन्ने ठाउँमा सामान्य भिडन्त भएको थियो, तत्कालीन शाही सेनासँग । शाही सेना आतङ्क फैलाउँदै गाउँ–गाउँ गस्तीमा गएको थियो । दिदीहरुको टिम त्यहीँ नजिकै एउटा गाउँमा सेल्टर लिएको थियो । स्थानीय भएको नाताले दिदीको घर पुर्कोट दह थियो । निर्मला दिदी र एकजना तनहुँ घर भएका जनमुक्ति सेनाका साथी प्रद्युम्न दुश्मनको हालखबर बुझ्न गएका थिए । दुश्मनसँग जम्काभेट भयो ।
गिरफ्तार गरेर भानुपोखराको मा.वि.मा लगेर दुश्मनले गर्नु नगर्नु गर्यो । प्रद्युम्नलाई मुखमा रुमाल कोचेर बाँधेर राखियो र दिदीलाई बलात्कार गरियो । आफ्नै सहयोद्धा कमरेडको अगाडि निर्वस्त्र पारेर जबर्जस्ती सामूहिक बलात्कार गरे – यौनपिपासु दानवहरुले ।
निर्मला दिदी चिच्याइरहिन् । ‘सक्छौ भने छातीमा गोली हान कायरहरु, तिम्रा पनि दिदीबहिनी होलान्, आमा होलिन् यस्तो नगर ।’ उन्मादी स्वाँंठहरुले किन मान्थे । ती त अर्कै दुनियाँबाट आएका नरभक्षी थिए । तिनले जे गर्न पनि छुट पाएका थिए । मान्छे मार्ने लाइसेन्स पाएका थिए ।
‘तेरा कमाण्डरहरु कहाँ छन्, के–के योजना छ, तेरा नेता को–को हुन्, हामीलाई भनिस् भने छाडिदिउँला, भन् ।’ तिनीहरु मध्येको कमाण्डर जस्तोले सोधेको थियो । तर, दिदीले ‘आफूलाई थाहा नभएको र बरु मर्छु, गोपनीयता खोल्दिन’ भनेपछि दर्जनौँले बलात्कार गरिरहँदा पनि दिदीले तिनका विरुद्ध नारा लगाइरहिन् । तिनलाई घृणाले थुकिरहिन् । लतार्दै बाहिर चौरमा ल्याएर ढ्याङ ढ्याङ ३/४ गोली हानेर दिदीलाई बाँसघारीमा लगेर फालियो, प्रद्युम्नको पनि त्यस्तै अवस्था भयो ।
अहिले म दिदीको शव दाहसंस्कार गरेको ठाउँमा छु – दुईवटा राता झण्डाहरु फर्फर हावामा फहराइरहेछन् । झण्डा उचालेर दिदी आफै उभिएझैँ भलाकुसारी गरेझैँ, कतैबाट नानु सञ्चै छौ भनेझैँ, हाँसेझैँ, मलाई सम्झाएझैँ भान भएको छ । ‘क्रान्ति गर्ने कुरा आफैबाट शुरु गर्नुपर्छ’ कुनै दिन उनले भनेको याद आइरहेछ । ‘पार्टीभित्रका सबै मान्छे देवता होइनन् । उनीहरुले गल्ती गर्न सक्छन् तर हामीले गल्तीबाट पाठ सिक्दै अरुका राम्रा कुरा मात्र अनुशरण गर्नुपर्छ । शरीरमा एकथोपा रगत रहुञ्जेल क्रान्ति, मुक्ति र परिवर्तनका लागि लडिरहनुपर्छ ।’
समय धेरै बितिसकेछ, दिदीको शहादत भएपछिका कयौँ यामहरु बितिसके । निर्मला दिदीलगायत हजारौँ शहीदको बलिदान खेर जाने त होइन ? चिन्ता लाग्छ । हाम्रो आस्थाको मानसरोवर बिस्तारै धुमिलिँदै गइरहेछ ।
खबरदार, कसैले शहीदको सपना लिलाम गर्न पाउने छैन । दिदी तिम्रा सपना साकार पार्न बाँचुञ्जेल लागिरहने छौँ । श्रद्धासुमन, दिदी निर्मला तिमी अमर छौ, भइरहनेछौ ।