Hon. Rabindra Adhikari Minister for Culture, Tourism and Civil Aviation
 

काठमाडौं, युवा पुस्ताका प्रिय नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता हुनुहुन्थ्यो । कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद रविन्द्र अधिकारी यसअघि संसदको विकास समितिका सभापति हुनुहुन्थ्यो ।

आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको प्रिय साझा नेता हुनुहुन्थ्यो यसअघि १० उत्कृष्ट सभासद् चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा समेत चुनिनुभएको थियो ।

बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रका रुपमा रविन्द्र अधिकारीको वि.सं. २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गा.वि.स. वडा नंं. ९ जमुनाबोटमा जन्म भएको थियो । रविन्द्र अधिकारीले विद्या भट्टराईसँग वैवाहिक सम्बन्ध गाँस्नुभएको थियो ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको थियो । एशियाली विद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगायत अन्तर्राष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नुभएका अधिकारीले विभिन्न अन्तर्राष्ट्रिय सम्मलेनमा भाग लिनुभएको थियो ।

कलिलो उमेरमै अधिकारीको राजनीतिक यात्रा शुरुवात भएको थियो । उहाँ २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियुका सबैभन्दा कान्छा सदस्य चुनिनुभएको थियो । विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी स्कूल जीवनमा जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित विद्यार्थी मानिनुहुन्थ्यो ।

राजनीतिक यात्राः

अधिकारीले वि.सं. २०३७ सालमा विद्यार्थी राजनीतिमार्फत राजनीतिमा प्रवेश गर्नुभयो । प्रवेशिका उत्तीर्ण गर्ने बित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भए पनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नुभएका उहाँले २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नुभएको थियो । उहाँले २०४५ मा १ बर्ष माध्यमिक विद्यालयमा अध्यापन समेत गर्नुभएको थियो ।

२०४५ सालमा पृथ्वीनारायण क्याम्पसमा स्ववियु सदस्य बन्नुभएका उहाँ २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष बन्नुभयो । २०४७ सालमा गण्डकी अञ्चल कमिटी अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य बनेका अधिकारी २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति निर्वाचित । २०५३ सालमा त्रि.वि. केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निवार्चित हुनुभयो । २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालको संयोजक निर्वाचित भएका अधिकारी २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बन्न पुग्नुभयो ।

पञ्चायतको विरुद्धमा २०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्रले पञ्चायत कालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताउनुभएको थियो । २०४६ को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नुभयो।

नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा पारस शाहको ज्यादतीविरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा हैन, जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको नेतृत्त्व अधिकारीले नै गर्नुभएको थियो ।

२०४६ सालदेखि राजनीतिमा विशेष रुपमा सक्रिय उहाँले पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन बिताउनुभयो । प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत पुर्‍याइएका अधिकारी एमाले कास्की जिल्ला कमिटीका सचिव, अध्यक्ष, संविधान सभा २०६४ को सभासद, २०७० सालको संविधानसभा सदस्य, रुपान्तरित व्यवस्थापिका संसदको सदस्य लगायतको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

मन्त्री हुनुअघि अधिकारीले नेकपा (एमाले) केन्द्रीय सदस्य, व्यवस्थापिका संसदको विकास समितिको सभापतिको भूमिका निर्वाह गर्नुभएको थियो । अधिकारी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्थ्यो । उहाँका संविधानसभा, लोकतन्त्र र पूर्नसंरचना, समृद्ध नेपाल पुस्तक प्रकाशित छन् । अधिकारी लोकप्रिय नेता र कुशल लेखक पनि हुनुहुन्थ्यो ।

अधिकारी बुधबार ताप्लेजुङ विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पूर्वी जिल्ला प्रस्थान गर्नुभएको थियो । ताप्लेजुङको पाथीभरा नजिक भएको एयर डाइनेस्टीको हेलिकोप्टर दूर्घटनामा २०७५ फागुन १५ गते दिउँसो १ बजे मन्त्री अधिकारीको निधन भएको छ। हार्दिक श्रद्धासुमन, अलविदा  प्रिय नेता  एवम् मन्त्री रवीन्द्र अधिकारी ।