rabindra Adhikari left review online
 

कुरा १०-११ दिन अघिको हो । म संस्कृति मन्त्रालयबाट बाहिर सडकमा जाेडिने माेडमा उभिएकाे थिएँ । माेडमा एउटा झण्डावाल गाडी मेराे छेउबाट गुज्रँदै थियाे । मेराे दृष्टि गाडीकाे पछाडिपट्टिकाे सिटबाट शीशा खाेलेर मुस्कुराउँदै दुवै हात जाेडर ‘नमस्कार’ भनिरहेकाे एकजना हँसिलाे मन्त्रीमाथि पर्न गयाे ।

गाडी सुस्त गतिमा दायाँतिर माेडिँदै थियाे । मैले पनि नमस्कार गरेँ । ‘मन्त्रालयतिर आउनू’ भनेर इशारा गर्नुभयाे मन्त्रीले । गाडी अगाडि बढिसकेकाे थियाे । मेराे उहाँकाे जतिकाे कद हाेइन । तर त्याे दुई हात जाेडेर गरेकाे ‘नमस्कार’मा सम्मान, माया, स्नेह र मित्रवत् माधुर्यता थियाे । उहाँ हुनुहुन्थ्याे तिनै आशालाग्दा वामपन्थी युवा नेता तथा बर्तमानमा संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी । उहाँकाे त्याे अभिवादन, त्याे मुस्कान, त्याे मित्रवत् व्यवहार अब सदाका लागि नाेष्टाल्जिक बनेर रहने भयाे । कति सादगी थियाे उहाँमा ? कति व्यवहारिक हनुहुन्थ्याे उहाँ ?

एक हप्ताअघि ३ बजेतिर मेराे माेबाइलमा घण्टी बज्याे । मैले भने, “अभिवादन कमरेड ! आरामै हुनुहुन्छ ?” रविन्द्र कमरेडकाे फाेन थियाे । याे पाँच वर्षकाे दाैरानमा मलाई उहाँकाे याे छैठाैँ फाेन थियाे । भन्नुभयाे, “अस्ति कब्रस्तानका लागि बजेट भन्नुभएकाे थियाे । आउनुभएन त । सुनसरीकाे ५ वटा कब्रस्तानका लागि आवेदन लिएर आउनुहाेला । एक कराेडजति पैसा म हालिदिन्छु ।”

Mohammad Zakir Hussain, मोहम्मद जाकिर हुसैन,
लेखक

म खुशी भएकाे थिएँ । मन्त्रीहरूलाई खुसामद गर्दा १-२ लाखकाे बजेट हालिदिँदैनन् । रविन्द्र कमरेडलाई ३ महिनाअघि माैखिक रूपमा भनेकाे कुरा याद छ । उल्टै फाेन गरेर आवेदन जम्मा गराउन भन्नुहुन्छ । हाे, याे थियाे उहाँमा भएकाे प्रतिबद्धता र सिर्जनशीलता । तीन महिनाअघिकाे कुरा याद राख्नु, बेलामा ठ्याक्कै सम्झेर खबर गर्नु । सामान्य कुरा हाेइन याे । कमै नेता र मन्त्रीमा हुन्छ याे गुण । नाेष्टाल्जिक बनेर बस्याे रविन्द्र मस्तिष्कका कण-कणमा ।

तीन महिनाअघि शमीम अन्सारी र म संस्कृति मन्त्रालयमा पस्याैँ । पिएले मेराे नाम भित्र पठाए । भित्र दुई-तीनवटा ग्रुप हुँदाहुँदै पनि उहाँले तुरून्तै हामीलाई भित्र पठाइदिन भन्नुभयो । भित्र पस्दा उहाँ कुर्सीबाट उठेर आउनुभयाे र जमेर अंगालाे मार्दै खुशी व्यक्त गर्नुभयाे ।

मैले भनेँ, “पाेहाेर मैले ३१ वटा जिल्लाका ९९ वटा कब्रस्तानका लागि यसअघिका मन्त्रीज्यूलाई अनुराेध गरेकाे थिएँ । उहाँले २-२ लाखकाे दरले दुई कराेड बजेट छुट्याई दिनुभएकाे थियाे । पछि मन्त्री बदलिँदा अर्का मन्त्रीले आफ्नाे पार्टीका सांसदहरूलाई बाेलाएर त्यस बजेटबारे खबर गर्नुभयाे । मलाई पनि बाेलाइयाे । किनकि निवेदक म थिएँ । ४-५ जना अन्य सांसदहरूकाे समेत दस्तखत राखेर मैले त्याे निवेदन गरेकाे थिएँ । सांसदहरूले त्याे दुई कराेड १९ जना मुस्लिम सांसदमा भागबण्डा लगाएर रकम लैजाऔँ भनेर छलफल चलाए । मैले त ३१ वटा जिल्लाका विभिन्न व्यक्तित्वहरूसँग आवश्यक स्थानहरूकाे विवरण लिएर त्याे बजेटकाे लागि लबिङ्ग गरेकाे थिएँ । म त्याे बजेट विनियाेजन गराउन महिनाैँसम्म एक्लै मन्त्रालय धाएकाे थिएँ । सहयोगीलाई दाैडाएकाे थिएँ । मलाई याे अव्यवहारिक छलफल मन परेन । म दाेहाे-याएर त्यहाँ गइन । र, आखिरमा त्याे बजेट फ्रीज भयाे । ….. अब हजुरकाे पालामा यस किसिमकाे धेरै हाेइन ४-५ कराेड बजेट हालिदिनुस् । नेपाली मुसलमानका अधिकांश कब्रस्तान असुरक्षित छन् । याे उनीहरूकाे राष्ट्रिय समस्या हाे । हजुरले इतिहास रच्नुस् यति काम गरेर ।”

उहाँलाई प्रस्ताव मन पर्‍याे । “ल लेखेर ल्याउनुस्, म बजेट हालिदिन्छु” भन्नुभयाे । अन्तत: एक हप्ताअघि उहाँकाे फाेन आयाे – “प्रस्ताव लिएर आउनुस् ।” ……… नाेष्टाल्जिक, नाेष्टाल्जिक ।

हिजाे सिंहदरबारमै थिएँ । बालुवाटारबाट शमीम जीले दुर्घटनाकाे खबर सुनाउनुभयाे । त्यतिबेला मेराे ह्याण्ड ब्यागमा मन्त्री अधिकारीलाई बुझाउनु पर्ने निवेदन खाेतलेर हेरेँ । मन राेयाे ।

अढाई-तीन वर्षअघि रविन्द्रजीकै नेतृत्वमा हामी ६ जना सांसद र ४-५ जना विकास समितिका कर्मचारीसमेत झापादेखि जनकपुरसम्मकाे हुलाकी राजमार्गकाे स्थलगत निरिक्षणमा गयाैँ । पहिलाे दिन झापादेखि बिराटनगरकाे यात्रा गरियाे । दाेस्राे दिन हामी बिराटनगरबाट वरगाछी, हरिनगरा, इनरूवा भई सप्तरीतिर लाग्याैँ ।

सुनसरीकाे हुलाकी राजमार्गकाे डिभिजन इञ्जिनीयर पनि विराटनगरमा हामीसँग मिसिए । उनले ब्रिफिङ गरिरहेका थिए । रविन्द्र कमरेडले भन्नुभयाे, “जाकिर माननीयज्यू, सुनसरीलाई चार भागमा विभाजन गरेर बजेट ल्याऊँ । याे वर्ष कुन हिस्सामा काम गर्ने अहिले नै यहीँ बाटामै निर्णय गराैं ।”

मैले भने, “यदि छिमेकी राष्ट्र भारतले आर्थिक सहयाेग निकासा गर्छ भने सुनसरीकाे मुख्य हुलाकी सडकलाई चार हाेइन, दुई खण्डमा मात्र विभाजन गराैँ – बिराटनगरदेखि हरिनगरा र हरिनगरादेखि भुटहा, नर्सिंग हुँदै लाैकही ।”

“डन” उहाँले भन्नुभयाे । फेरि साेध्नुभयाे, “पहिलाे वर्षमा कुन खण्ड र दाेस्राे वर्षमा कुन खण्ड निर्माण गर्ने त?”

मैले भने, “बिराटनगर-हरिनगरा पहिलाे वर्ष र हरिनगरा-भुटहा-नर्सिंग दाेस्राे वर्ष । किनकि बिराटनगर हरिनगराले सुनसरी-माेरङ जाेड्छ र यसले औद्याेगिक करिडाेरसँग सुनसरीकाे तल्लाे विकट भागलाई जाेडेर सुगम बनाउँछ ।” उहाँले डायरीमा नाेट गर्दै “डन” भन्नुभयाे ।

मेराे राेजाईमा मेराे क्षेत्र आएन । मेराे क्षेत्रलाई मेराे दाेस्राे प्राथमिकतामा राखेँ । केही बेरपछि हामी भाेक्राहाकाे चिराैली चाैकमा चिया पियाैँ । “जाकिर जी, तपाईं साह्रै विवेक प्रयाेग गर्नु हुँदाे रहेछ । आफ्नाे क्षेत्रभन्दा नि याे इलाकाकाे विकास सञ्जालमा तपाईंकाे ध्यान रहेछ । खुशी लाग्याे । म आफै अर्थमन्त्रीलाई भनेर बिराटनगर-हरिनगरा खण्डकाे काम कुनै हालतमा पनि यही वर्षमा गर्न भन्छु ।”

एक महिनापछि एक दिन विकास समितिकाे बैठक सकिनासाथ उहाँले मेराे कुममा हात राखेर भन्नुभयाे, “जाऊँ ।” “कहाँ माननीयज्यू?” मैले साेधेँ । “बस्नुस् गाडीमा ।” रविन्द्र अधिकारीले भन्नुभयाे ।

उहाँ संसदमा विकास समितिकाे सभापति हुनुहुन्याे, म सदस्य थिएँ । गाडी अर्थ मन्त्रालयकाे कम्पाउण्डमा राेक्कियाे । अर्थमन्त्रीकाे सामुन्ने १० अरबकाे बजेट छुट्याइदिन आग्रह गर्नुभयाे । र, बिराटनगर-हरिनगरा पहिलाे प्राथमिकता र हरिनगरा भाेक्राहा दाेस्राे प्राथमिकतामा राखएकाे सूची उहाँलाई बुझाउनुभयाे । सूची ३-४ पृष्ठकाे थियाे । एउटा सेट मलाई पनि दिनुभयाे । अर्थमन्त्रीले असल काम गरेकाे भनेर उहाँकाे प्रशंसा गर्नुभयाे ।

रविन्द्र काममा विश्वास गर्ने नयाँ नेपालकाे सपना बाेकेर हिँडेका नेता थिए । बिराटनगर-हरिनगरा खण्ड सडककाे काम त्यसकाे ६-७ महिनामै शुरू भइसकेकाे थियाे । हरिनगरा-भुटहा-नर्सिंग खण्डकाे काम पनि केही समयअघि शुरू भएकाे छ । बिराटनगर, हरिनगरा, भुटहा, नर्सिंग हुलाकी सडक निर्माण सम्पन्न भएपछि रविन्द्रलाई फेरि त्यहाँ लगेर गाडीमा घुमाउने मेराे सपना विपनामा नआउने नै भयाे । Most nostalgic…….!

उहाँ पाेखराकाे पहाडिया बाहुन हो, तर मधेशलाई पहाडभन्दा बढी माया गर्नुहुन्थ्याे । उहाँले झापा-जनकपुर हुलाकी सडक खण्डकाे स्थलगत निरीक्षणकाे क्रममा भन्नुभयाे, “याे करिब दुई हजार किमी हुलाकी सडक सञ्जाल बिस्तार गर्न सकियाे भने यसले मधेशकाे स्वरूप नै फेरिदिन्छ । भारत सरकारकाे पैसा आएन । त्याे पैसा कहिले आउला, अनि याे सडक बनाऊँला र यसमा गाडी गुडाऊँला भन्दा पनि प्रत्येक बर्ष यस सडकमा धेरै हाेइन १० अर्ब रूपैयाँ मात्र सरकारले हालिदियाे भने छिमेकीलाई हामीले पर्खनै पर्दैन । म काठमाडौँ पुग्नासाथ अर्थमन्त्रीलाई याे काम थाल्न भन्छु । प्रधानमन्त्रीलाई अनुरोध गर्छु ।”

मन्त्री रविन्द्र अधिकारी एक अध्ययनशील उर्जावान नेता हुनुहुन्थ्याे । विकास-निर्माणकाे विषयमा बढी चासाे हुन्थ्याे उहाँकाे । उहाँ बाेल्दा पनि राजनीति कम, विकास-निर्माणकाे भाषा बढी बाेल्नु हुन्थ्यो । विकास समितिकाे सभापति रहँदा उहाँले गर्नुभएकाे अध्ययन अनुसन्धानहरूलाई समेटेर नेपालकाे विकास निर्माणकाे खाका काेरेर पुस्तक नै प्रकाशन गर्नुभयाे । उहाँ एकपटक याे देशकाे भाैतिक-यातायात मन्त्री र अर्थमन्त्री त हुनै पर्ने विकासवादी नेता हुनुहुन्थ्याे ।

(लेखक नेकपाका नेता तथा पूर्व महिला, वालवालिका तथा समाजकल्याण राज्यमन्त्री हुनुहुन्छ ।)