‘क्रान्तिका सबै पुराना बाटाहरु साम्राज्यवादी र प्रतिकृयावादीहरुले ‘ब्लक’ गरिसकेका छन् । नेपाली क्रान्तिलाई विजयसम्म पुर्याउन क्रान्तिको नयाँ ‘ट्रयाक’ खोल्न जरुरी छ ।’
२०६४ सालको साउन २३ गतेदेखि बालाजुमा शुरु भएको पार्टीको पाँचौ विस्तारित बैठक सम्पन्न भएको केही दिन मात्र भएको थियो । तत्कालीन मेची ब्यूरोको प्रतिनिधित्त्व गर्दै त्यस कार्यक्रममा सहभागी हुन आउनु भएका कमरेड राजेन्द्रले झापा–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चद्वारा डिल्लीबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैठकको निष्कर्ष सुनाउँदै उक्त भनाइ व्यक्त गर्नु भएको हो । जनयुद्धबाट शान्तिप्रकृयामा प्रवेशको माओवादी कार्यदिशालाई बुझ्न कमरेड राजेन्द्रको यो भनाई नितान्त नयाँ कुरा थिएन तर यति प्रभावकारी र घतलाग्दो शैली मेरा लागि सदैव स्मरणीय रह्यो । सायद त्यहाँ उपस्थित सबैका लागि पनि । कमरेड राजेन्द्र अर्थात कमरेड गैरीशंकर खड्का ।
कुनै पनि व्यक्तिलाई उसको मृत्युपश्चात् कसरी सम्झिने भन्ने विषय उसको पूरा जीवनभरिको व्यवहार र आचरणले निर्धारण गरेको हुन्छ । चेतनाको विकास अति निम्नस्तरमा भएका प्राणीदेखि विकसित स्तरका मानव जातिसम्म आआफ्नो निम्ति मात्र बाँच्छन् भनियो भने चेतनाको विकास र अल्पविकासबीच कुनै अन्तर हुन्न भन्नुपर्ने हुन्छ । मानवजातिको अहिलेसम्मको विकास र उसलाई सबैभन्दा विकसित भन्नुलाई औचित्यहीन र अर्थहीन मान्नुपर्ने हुन्छ । त्यसैले कुनै मानिसको जीवनकाल स्मरण गरिरहँदा सबैभन्दा पहिले उसले अरुका निम्ति के गर्यो वा गरेन भन्ने विषयलाई आधार बनाइनुपर्छ । कमरेड राजेन्द्र यस अर्थमा औसतभन्दा बढी अविस्मरणीय हुनुहुन्छ, यसमा दुई मत रहेन तर उहाँ हाम्रो समकालीन समाज र सामाजिक आन्दोलनमा अरुभन्दा कति अघि हुनुहुन्थ्यो भन्ने विषयलाई मैले यहाँ चर्चा गर्ने जमर्को गरेको छु ।
कमरेड राजेन्द्रलाई आमजनसमुदायबीच घरपरिवारको घेराभन्दा बाहिर सीमाहीन समाजमा पुर्याउने माध्यम बनेको थियो, नेपालको माओवादी आन्दोलन । माओवादी आन्दोलनलाई हामीले राजनीतिक आन्दोलन मात्र होइन, साँस्कृतिक आन्दोलनको रुपमा पनि बुझ्ने गरेका छौं । यसको ध्येय मानिसलाई नयाँ र उन्नत तरिकाले जीउन अभ्यस्त तुल्याउने थियो । यद्यपि जनयुद्ध र यसपछिको शान्तिप्रकृया माओवादी आन्दोलनको दुई भिन्न पहिचान बनिरहेको छ । मैले यहाँ उल्लेख गरेको कमरेड राजेन्द्रसँग सम्बन्धित साँस्कृतिक आन्दोलनको सन्दर्भ जनयुद्धकालमा स्पष्ट थियो, शान्तिकालमा केही बरालिँदै गएको छ ।
मानिस जुन परिवारमा जसरी जन्मियोस्, जीवनमा उसले प्रदर्शन गर्ने क्षमता र साहस महत्वपूर्ण हुन्छ, हुनुपर्छ । कमरेड लेनिनको संगठनात्मक संरचनाबाट दीक्षित नेपालको माओवादी आन्दोलनभित्रका नेता र कार्यकर्ताको ठूलो संख्याले क्रान्तिलाई जीवन मरणको सवाल बनाए । क्रान्तिकारी पार्टीमा पेशेवर कार्यकर्ता निर्माणको सवाल क्रान्ति पूरा गर्ने तयारी वा प्रतिबद्धतासँग जोडिन्छ भनेर लेनिनले उल्लेख गर्नुभएको छ । समग्र माओवादी आन्दोलनले जनयुद्धकालमा सबैलाई कम्युनिस्ट क्रान्ति अगाडि बढाउने एउटा नयाँ र ठोस ‘ओरियन्टेसन’ दियो । यसै अनुरुप प्रशिक्षित कार्यकर्ताले व्यक्तिगत जीवन परित्याग गरे, परिवारलाई पार्टीकरण गरे, सम्पत्ति पार्टीकरण वा सामुहिकीकरण हुन्छ भन्नेमा अस्पष्टता थिएन । जन्मदेखि मृत्युसम्मका संस्कारलाई बैज्ञानिकीकरण गर्ने प्रयत्न भयो । जीवन र मृत्युमा नयाँ र बैज्ञानिक संस्कारहरुका व्याख्या मात्र होइन, अभ्यास गरियो । माओवादी ‘छुट्टै’ हो भन्ने कुरा बुझाइरहन जरुरी रहेन, भोगाइमा नै प्रष्ट थियो । यी सबै रुपान्तरणका प्रकृयाको प्रतिनिधित्व र नेतृत्व पूर्वका मेची र कोशीको भूगोलमा कमरेड राजेन्द्रले गर्नुभयो ।
आदर्श राजनीति गर्ने र आन्दोलनको ‘स्पिरिट’ नछाड्ने जतिका लागि अहिले पनि माओवादीभित्र उक्त सबै प्रकृया जारी छन्, उल्ट्याउनुपर्छ भन्ने कुनै निर्णय छैन । यस आन्दोलनमा पूर्ण रुपमा होमिएको नाताले मैले कुनै दिन यस्तो अनुभूति गरें कि मेरो परिवारको सम्पत्तिको एउटा हिस्साले पुरानो समाज र कानून अनुसार मेरो अंशको रुपमा मलाई प्रदुषित गराइरहेको छ । मभन्दा आर्थिक रुपले विपन्न परिवारबाट आएको कमरेडलाई मैले भेटें भने मेरो ऊप्रति श्रद्धा रहनेछ किनकि उसमा सर्वहारावर्गीय रुपान्तरण सहज छ, जुन आन्दोलनको अगुवाईका निम्ति अपरिहार्य हो । दुश्मनले मलाई कम ‘टार्गेट’ बनायो भने त्यसबाट आन्दोलनमा कम भूमिका रहेको आत्ममूल्यांकन मैले गर्नुपर्छ । त्यसैले दुश्मनको कब्जामा रहँदा कसैले आफूभन्दा बढी यातना पाउँछ भने मलाई ऊप्रति इर्ष्या पैदा हुन्थ्यो । सहयोद्धालाई सहयोग र सुरक्षा गर्नुपर्दा अलिकति चुकियो भने स्वयम् आफैंलाई असक्षम घोषणा गरिन्थ्यो । ठूल्ठूला काम गर्दै जाँदा कमीकमजोरी र गल्ती हुन सक्छन्, यसप्रति आत्मालोचित हुन र सजाय भोग्न जो कोही आत्मगत रुपमा तयार रहन्थ्यो । अहिले पनि कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति यही हुनुपर्छ किनकि आम नेता–कार्यकर्ता तथा जनताको विश्वास टिकाउन यो अपरिहार्य हुन्छ । । यसैलाई अन्तिमसम्म श्रद्धेय नेता कमरेड राजेन्द्रले जीवनको आदर्श बनाउनु भयो ।
हामीमध्ये थुप्रैले अहिले नै सबै सांस्कृतिक परिवर्तन सम्भव हुँदैन भन्दै थुप्रै आदर्शलाई सिद्धान्तका हिसाबले पनि अनुसरण गर्न सकिरहेका छैनौं । जीवन–व्यवहारमा त यसको ठीक उल्टो दिशातिर आफैलाई सोझ्याउन थालेका छौं । यदि यसो गरिरहने हो भने अब चाहिँ कमरेड राजेन्द्रको स्मृति र उहाँप्रतिको सम्मान नक्कली हो भन्ने निष्कर्षमा पुग्नैपर्छ ।
२०६७ साल मंसिर १ गतेदेखि गोरखाको पालुङटारमा हप्ता दिनसम्म पार्टीको छैटौं विस्तारित बैठक आयोजना भयो । कमरेड शीतलकुमार र उहाँको टोलीलाई एकजना कमरेडको घरमा कार्यक्रम अवधीभरिको लागि आवासको व्यवस्था गरिएको थियो । त्यही घरमा म पनि रहने गर्दथें । कमरेड राजेन्द्रको लागि पछिल्तिर अर्को टोलको एकघरमा सेल्टरको व्यवस्था थियो । उहाँ बिहान कार्यक्रमस्थलतर्फ आउँदै गर्दा हामी रहेको घरमा कहिलेकाँहि पस्ने गर्नुहुन्थ्यो । त्यो घरको पार्टीप्रति अगाध श्रद्धा देखिन्थ्यो ।
एक दिन सायद कार्यक्रमको अन्तिम दिन थियो त्यो, उहाँ बिहानै आइपुग्नुभयो । कमरेड शीतलकुमार तयार भइसक्नुभएको थिएन वा कार्यक्रम स्थलतर्फ जाने समय अझै केही बाँकी थियो । हामी भने तयार भएर आँगनमा पर्खेर बसिरहेका थियौं । कमरेड राजेन्द्र त्यहाँ आइपुग्नेबित्तिकै हामीले अभिवादन ग¥यौं तर उहाँ सहनै नसक्ने शारीरिक पीडा व्यक्त गर्दै घरबाहिर राखिएको खाटमा घोप्टो परेर सुत्नुभयो । मैले भित्र गएर सुत्न आग्रह गरें तर उहाँ मान्नुभएन । कारण उहाँमा पीडा सहने पर्याप्त शक्ति थिएन । केही छिनपछि उहाँको निम्ति चिया आयो र चिया पिउने कि भनेर मैले सोधें । उहाँले प्रत्युत्तरमा चिया हो भने पिउने भनेर स्वस्थ रुपमा बोल्नुभयो । चिया पिउँदै गर्दा मैले उहाँलाई दुखाइबारे सोधेको थिएँ तर उहाँले पहिले पहाडतिर हिँड्दा लडेको हुनाले दुखेको भनेर त्यसलाई तत्काल बेवास्ता गर्नुभएको थियो ।
हामीले थाहा पाएसम्म कमरेड राजेन्द्रको जीउ असाध्यै दुख्ने र बेलाबेला लगातार खोकी लाग्ने समस्या केही अघिबाटै देखिँदै आएको थियो । उहाँले आफ्नो शरीरको ख्याल गर्नुहुन्नथ्यो भनिन्छ । पालुङटारबाट फर्केको एक महिनापछि पेरिसडाडाँमा केन्द्रीय समितिको बैठकको लागि जाँदै गर्दा कमरेड शीतलकुमारले उहाँलाई निकै गम्भीर हुन र उपचार शुरु गर्न सुझाउनुभयो । पेरिसडाडाँ पुग्दा बैठकको समय एक घण्टा पछि सरेको थाहा हुनेबित्तिकै कमरेड शीतलकुमारको पहलमा उहाँलाई मिनभवनस्थित निजामती सेवा हस्पिटल पुर्याइयो र डाक्टर दामोदर गजुरेलले उहाँको शरीरको जाँच शुरु गर्नुभएको थियो ।
त्यसदिन कमरेड राजेन्द्रसँगै भएको हुनाले मैले यो सबै थाहा पाएको थिएँ । पछि उहाँ चाबहिलस्थित ओम नर्सिंङ होममा रहेको र बोन म्यारोमा समस्या देखिएको खबर आयो । त्यसपछि हस्पिटलमा हेर्न जाँदा उहाँको स्वास्थ्य रिपोर्ट थाहा पाएपछि म निकै दुखित भएको थिएँ । सायद त्यहाँ पुग्ने जोसुकैको स्थिति त्यही थियो । उहाँलाई पार्टी र परिवारको तर्फबाट उपचारको कुनै कसर बाँकी राखिने कुरै थिएन तर क्यान्सर रोग थाहा भएको पुगनपुग डेढ महिनाभित्रै उहाँ हामीलाई छाडेर जानु भयो । यससँगै उहाँले पहिल्यै आफ्नो ख्याल गर्नुभएको र समयमै उपचार थाल्न पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने कल्पना हुन थाल्यो । उहाँकै जीवनको निम्ति यस कल्पनाको केही अर्थ त रहेन, तर आफ्नो पोखिन लागेको आँशुलाई थाम्न हामी यस्तो सोच्ने गर्दथ्यौं ।
पार्टी, परिवारजन र साथीभाइ सबैले कमरेड राजेन्द्रलाई श्रद्धा एवम् सम्मान गरिरहने भनेका छौं । उहाँका विचारद्वारा मार्गनिर्देशित भइरहने प्रतिबद्धता व्यक्त गरिरहेका छौं । उहाँलाई सम्झँदा उहाँको आदर्श–जीवनबाट लोभिएको अभिव्यक्ति दिने गर्छौँ । यदि यो साँच्चैनै हो भने हामी कमरेड राजेन्द्रपट्टिनै फर्किरहेका छौं भन्ने सन्दर्भमा स्पष्ट हुन र स्पष्ट पार्न केही न केही ‘सन्देश’ व्यवहारबाटै दिइरहनुपर्छ । कमरेड राजेन्द्र जति सबैले गर्न सकिन्छ भन्ने होइन, तर उहाँले चालेको पाइला र हिँडेको बाटोतिरै हाम्रो प्रयत्न भयो भने उहाँप्रति न्याय र सम्मान ठहरिन्छ । मृत्युपछि कसैलाई श्रद्धा गर्ने हो भने उसको जीवनका सकारात्मक विषयवस्तुको अनुसरण गर्नुबाहेक अरु के नै हुन्छ र ?
क. गौरीशंकर खड्काको अन्त्येष्टीबारे त्यतिबेला नेपाल नेपालन्युजले हालेको समाचारको भिडियोः