क. राजेन्द्र पोख्रेल महान जनयुद्धका सहिद । दमक ३ गोलाटार उहाँको ठेगाना । उहाँले नौ डाँडा पारी धादिङ्ग जिल्लामा वीरतापूर्वक रातो रगतले धर्ती सिञ्चित गर्नुभयो २६ वर्षको कलिलो उमेरमा, २०६० सालको माघ ११ गते ।
उहाँको जन्म २०३४ चैत ७ गते भएको थियो । महान जनयुद्धको दौरानमा सहपाठी नगेन्द्र पोख्रेलसँगै उहाँ पार्टीमा संगठित हुनुभएको थियो । बाबुआमाको जेठो सन्तान हुनुहुन्थ्यो उहाँ । उमेर अनुसार श्रम गरेर परिवार पाल्ने जिम्मेवारी एकातिर थियो भने अर्कातिर जनयुद्धको विकाससँगै उर्लदो क्रान्तिको वेगमा जोखिम मोलेरै भए पनि पौडिन चाहनुहुन्थ्यो ।
हामी एउटै उमेर समुह, एकै ठाउँका बासिन्दा, पहिलादेखिको चिनजान, धेरै हिसाबले समान थियौँ । सल्लाह नगरी अघि बढ्दा पनि समान स्वभाव र सोच लिएर हिँडेका रहेछौँ । २०५८ सालमा उहाँ काठमाडौँ पुग्नुभयो, घरमा आमाबुबा, एक भाइ र एक बहिनीलाई छाडेर । म पहिलादेख उहीँ थिएँ । काठमाडौँमा हामीले भावानात्मक भलाकुसारी गर्यौँ । परिवार र हाम्रो भविष्यबारे अन्तरकृया गर्यौँ । जनयुद्धको क्रममा हाम्रो जीवन अनिश्चित थियो । यो सन्दर्भ पनि ख्याल गरेर एकअर्कालाई कहिल्यै नअलग्याउने प्रतिबद्धता सहित कसिलो हात मिलाएर छुट्टिएका थियौँ ।
राजेन्द्रजी मजदुर संगठनमा हुनुहुन्थ्यो । कार्यक्षेत्र फरक भएकाले हाम्रो भेटघाट त्यति धेरै हुँदैनथ्यो । पछि २०६० साल मंसिरमा म पक्राउ परेँ । मलाई बेपत्ता अवस्थामा १० महिना राखियो । सुन्दरीजलमा सार्वजनिक गरिएपछि बन्दी साथीहरुसँग कुराकानी गर्न पाइयो । कमरेड रामचन्द्र नेपाली (मकवानपुर) पनि काठमाडौँमा मजदुर संगठनमा काम गर्नुहुन्थ्यो । उहाँ पनि पछि पक्राउ पर्नुभएको रहेछ । सुन्दरीजलमा भेट भएपछि मजदुर संगठनको विषयमा छलफल भयो । मैले राजेन्द्रजीको बारेमा सोधेँ । उहाँले सहिद भएको हुन सक्ने भन्नुभयो । पुष्टि गर्न सकिन्छ ? मैले सोधेँ । उहाँले म अलिक निश्चित हुन सकिनँ, अहिले परिवारमा खबर नपठाऔँ भन्नुभयो । संकटकाल र जनयुद्धको उत्कर्ष भएकाले जेलभित्रबाट पुष्टि गर्न त्यति सजिलो थिएन । त्यसैले राजेन्द्रजीको विषय थाँती राख्न बाध्य भयौँ । मनमा साह्रै नराम्रो लाग्यो । उहाँको परिवारका सबैजनालाई सम्झेँ । उहाँको ठाउँमा आफूलाई राखेर पनि सम्झेँ । भरखरै मुत्युको मुखबाट फर्केको थिएँ । परिवारमा त मरेबाँचेको केही थाहा नहुने रहेछ जस्तो लाग्यो ।
२०६२ साल पुस ७ गते सर्वोच्च अदालतको आदेशमा म रिहा भएँ । शाही शासनको चरम संकटकाल थियो । माओवादी मात्र होइन, सबै राजनीतिक दल प्रतिबन्धित थिए । बाहिर निस्केपछि पार्टी सम्पर्कमा पुग्नुपर्ने थियो । सम्पर्क स्थान मकवानपुरको सुदूर गाउँ थियो । त्यसपछि मकवानपुर र ललितपुरका पहाडी इलाका र काभ्रे र सिन्धुपाल्चोकमा पर्ने इन्द्रावतीका किनारमा करिब ४ महिना पार्टी काममा बिताइयो । आँधीमय संघर्षका क्षण थिए ती दिनहरु । दिनदिनै सहादत र हताहतका खबर हुन्थे । आफूले भेटेका र चिनेका साथीहरुको सहादतले स्तब्ध हुन्थ्यौँ । यसैबीच उन्नाइस दिन ऐतिहासिक जनआन्दोलन चल्यो । शान्तिप्रकृया थालनी भयो । हामी काठमाडौँ फर्किसकेका थियौँ । अब त तिरफ्तार पर्ने र मरिहाल्ने सम्भावना पनि रहेन । गाउँघर नफर्केको धेरै वर्ष बितिसकेको थियो । त्यसैले परिवार, आफन्तजन र साथीभाइलाई भेट्ने उत्कट अभिलाषा साँचेर राखेको थिएँ । तिव्र चाहना हुँदाहुँदै पनि पार्टी कामको व्यस्तताले निकै ढिलो भयो । पार्टी खुला भएको एक महिनाभन्दा बढि भइसकेपछि जेठ २१ गते (२०६३ साल) दिवा सेवाको बस यात्राबाट म दमकस्थित आफ्नो घर आइपुगेँ ।
पर्सिपल्ट बिहान कमरेड राजेन्द्रजीको बुबा हाम्रो घर आइपुग्नुभयो मलाई भेट्न । म झल्याँस्स भएँ । रामचन्द्रजीसँग राजेन्द्रको बारेमा कुरा गरेको डेढ वर्ष भइसकेको थियो । सहादतको मिति निश्चय पनि अझ अघिको हुनुपर्छ । यद्यपि आजसम्म घरमा केही थाहा छैन । बुढो बाबु झापा र वरपरका जिल्लामा माओवादीको जमघट जहाँ हुन्छ, त्यहाँ छोरो छ कि भनेर पुग्नुहुन्थ्यो । दिनभरि भिडमा सबैलाई सकेसम्म एकएक गरेर हेर्दा पनि छोराको अनुहार नदेखेपछि निराश भएर बेलुका घर फर्किनु हुँदोरहेछ । कि त छोरालाई नै, नभए छोराको खबर लिएर आउँछु भनेर हिँडेका घरमूली नै निराश भएर टाटीको बेरा र खरको छानो भएको झुप्रोमा साँझपख रित्तो हात छिरेपछि दिनभर प्रतिक्षारत आमा, बहिनी र भाइको बोली फुट्दैनथ्यो । ओठ र आँखाको चालले दिनभरको प्रयास र परिणामबारे बुझाबुझ हुन्थ्यो । बुबासँग भेट्दा मलाई राजेन्द्रजीको परिवारको यो अवस्था थाहा भयो । यो आफैमा राजेन्द्रजीको सहादतको पुष्टि जस्तो लाग्यो । तर, मैले बुबालाई मेरो मनको कुरा त के, रामचन्द्रजीले भनेको कुरा पनि भन्न सकिँन ।
बुबालाई केही त भन्नैपर्ने हुन्थ्यो । पहिलो कुरा, कोही पनि कमरेड अब घरपरिवारमा सम्पर्क गर्न नसक्ने अवस्थामा हुनुहुन्न । पक्राउ परेका सबैसँग जेलबाटै भए पनि सम्पर्क भइसकेको छ । बेपत्ता पारिएका कमरेडहरुको सूची पार्टीले तयार पारिसकेको छ । स्वयम् राजेन्द्रजीको घरपरिवारमा सम्पर्क गर्ने इच्छा नहुने हुनै सक्दैन । त्यसैले माओवादीको कार्यक्रमस्थलमा पुगेर भिडमा छोरालाई खोज्न जरुरी छैन । दोस्रो, राजेन्द्रजी पुर्वतिर हुनुहुन्न । उहाँ त काठमाडौँमा पार्टी काममा हुनुहुन्थ्यो । तेस्रो, जेजस्तो भए पनि उहाँलाई खोज्ने र भेटाउने मेरो जिम्मा भयो । यति भनेपछि उहाँको निराश अनुहार मैले हेर्न सकिनँ । उहाँ अलिक पर पुगेपछि टाउको उठाएर हेरेँ, एक किसिमको ढुक्कको हिँडाइ थियो उहाँको । सायद छोरो खोज्ने जिम्मा मैले लिएकाले होला ।
उहाँ गएपछि मैले नगेन्द्र दाहाल भाइलाई राजेन्द्रजीको बारेमा अहिलेसम्म थाहा भएको सबै भनेँ र अघिको भेटघाटपछि परिवारमा उहाँहरुले के ठान्नुभयो भनेर बुझ्न पठाएँ । साथै अहिलेसम्म थाहा भएका र सुनेका खबर केही भए सोधेर आउन भनेँ । त्यसैगरी दमक नगरको नेतृत्वमा रहेर काम गरिरहनुभएका कमरेड नरहरि दाहाल (जो बीचमा जेल पर्नुभएको थियो र स्थानीय सबै साथीहरुबारे जानकार हुनुहुन्थ्यो) लाई पनि मैले सबै कुरा भनेँ । दुवैजनाले केही पनि थाहा नभएको र घरमा २०६० सालदेखि नै बेखबर भएको बताएपछि स्थिति छिटोभन्दा छिटो पुष्टि गर्नुबाहेक अरु विकल्प रहेन । घरमा हुञ्जेलसम्म बेलाबेला वैदेशिक रोजगारमा जाने विषयमा कुरा चल्ने गरेको र नगेन्द्र पोख्रेल त्यतातिर गइसकेकाले परिवार त्यही झिनो आशामा रहेछ तर बेखबर हुनुले त्यो सम्भावना के हुन्थ्यो र !
म शान्तिप्रकृयाको शुरुमा भक्तपुरमा थिएँ । जिल्ला कमिटिका सेक्रेटरी हुनुहुन्थ्यो, कमरेड दिपेश । दुई तीन दिनदेखि उहाँको तारन्तार फोन आइरहेको थियो, कहिले फर्कनुहुन्छ कार्यक्षेत्र भनेर । राजेन्द्रजीको अवस्था पत्ता लगाउनुपर्ने अर्को जिम्मेवारी पनि थपियो । त्यसैले दुई चार दिन गाउँघरमा बस्ने रहर हुँदाहुँदै म राजधानी हानिएँ । काठमाडौँ पुग्नेबित्तिकै काभ्रे र सिन्धुपाल्चोकको सिमानामा पर्ने फटकशीला गाउँ पुग्नुपर्ने भयो । त्यहाँ हुँदा पनि नगेन्द्र भाइको लौ न राजेन्द्रबारे छिटो गर्नुपर्यो भनेर दबाब आइरह्यो । एक दिनपछि काठमाडौँ फर्केर कुपण्डोल पुगेँ । धन्य, रामचन्द्रजीसँग तुरुन्त भेट भयो । लौ न, राजेन्द्रजीको खबर तत्काल पुष्टि गर्नुपर्ने भयो । अहिलेसम्म घरमा केही थाहा छैन । यति भनेपछि रामचन्द्रजीले खोल्नुभयो, यो सबै कमरेड शालिकराम जमकट्टेलबाट बुझ्न सकिन्छ । उहाँकै टिममा हुनुहुन्थ्यो राजेन्द्रजी । शालिकराम कमरेडसँग सम्पर्क भयो तर भेट त्यो दिन सम्भव भएन । भोलिपल्ट भेट हुने बित्तिकै उहाँले घरमा खबर पठाइएको थियो, चरम संकटकाल र झापामा पार्टी छिन्नभिन्न भएका कारण नपुगेको हुनसक्छ, तत्काल बुबाआमालाई बोलाउनू भन्नुभयो ।
मैले तत्काल कमरेड नरहरि र नगेन्द्र भाइलाई फोन गरेँ । बुबाआमा भोलिपल्ट काठमाडौँ आइपुग्नुभयो । चाबहिल सरस्वतीनगरस्थित एक आफन्तको घरमा पुगेर उहाँहरुले मलाई बोलाउनुभयो । त्यसपछि शालिकराम र बुबाआमाको भेटघाट मिलाइयो । बुबा केही खर्चको व्यवस्था गरेर धादिङ्गको चिमकोट पुग्नुभयो र राजेन्द्रजीको सहादतस्थल हेरेर फर्कनुभयो, सहादतको करिब साढे दुई वर्षपछि ।
सहिद राजेन्द्र पोख्रेलको विषयमा लेख्दा यतिमा कलम रोकिँदैन किनकि यो दुःखद खबर पुष्टि भएको करिब एक वर्षपछि बुबा चन्द्रलालको असामयिक निधन भयो । अरु एक वर्षपछि अध्यापन पेशामा रहेका भाइ नारदको निमोनियाका कारण ऐयाआत्था पनि हुन नपाई एकैछिनमा प्राण गयो । यसरी छोटो समयको अन्तरालमा परिवार पुरुषविहीन भयो । मरेर जाने गइहाले तर बाँचेकी आमा कृष्णकुमारीले यति ठूलो बज्रपात सहनुपर्यो । परिवार नै विघटनको संघारमा पुग्यो ।
प्रकृति र समाज विनाश र विकासको चरण पार गर्दै अघि बढ्छन् । समस्याको विकल्प समाधान हो । त्यसैले विवाह भएर गइसकेकी एक मात्र छोरी मुना आमाको सहारा बनेर माइत फर्किन् । अब त मुना नगरपालिकामा कर्मचारी छिन् । उनका दुई छोरी पनि हुर्किसकेका छन्, स्कूल जान्छन् । विगतमा वैदेशिक रोजगारमा रहेका ज्वाइँ (मुनाका पति) पनि कर्म दिने आमाकै सहारा बनेर अहिले घरमै हुनुहुन्छ र व्यापार व्यवसायको अभ्यास गदै हुनुहुन्छ । यस परिवारको पुनर्गठन गर्न सहिद राजेन्द्रकी आमा कृष्णकुमारी सफल हुनुभएको छ । उहाँ भन्नुहुन्छ, विगत भुल्न सक्दिँन तर अहिले आनन्द छ ।
(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता हुनुहुन्छ ।)