आज ८ मार्च अर्थात १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन दिवस हो । यस ऐतिहासिक दिवसको उपलक्षमा सम्बन्धित सबैमा शुभकामना !
आजको दिनका मुख्य ७ विशेषता वा पक्ष छन् । ती हुन् :
१. यो अन्तर्राष्ट्रिय आन्दोलन हो र यसको अन्तर्राष्ट्रिय स्तर र महत्व छ ।
२. यो मार्क्सवाद जस्तो क्रान्तिकारी र समानतावादी विचार र दर्शनबाट निर्देशित छ ।
३. यो श्रम र श्रमिक वर्गीय/पक्षीय छ ।
४. यो महिलामैत्री अर्थात् लैङ्गिक समानताको सिद्धान्तमा आधारित छ ।
५. यो आन्दोलन-संघर्ष समग्र मुक्ती-प्रगती एवम् न्याय-समानतासङ्ग सम्बन्धित छ ।
६. यो पुरुष-व्यक्ती वा पुरुष-समुदायविरोधी होइन कि पुरुषप्रधान चिन्तन-प्रवृत्ती र संस्कार-संस्कृतीविरोधी छ ।
७. यसको लक्ष्य-गन्तब्य समाजवाद-साम्यवाद रहेको छ ।
यी विशेषताको कमी हुँदै गयो भने सम्झनुपर्छ कि यो विचलित, विघटित र विसर्जित भैरहेछ । अनि, यी विशेषताको लोप नै भयो भने त झन् यसको अर्थ, औचित्य र उपादेयता समाप्त भयो भन्ने बुझ्नु पर्दछ ।यहीँनेर यी केही कुरा पनि स्मरणीय र अवलम्बनीय छन् । जस्तो कि:
♠ महिला आन्दोलन भएपनी अहिले यसमा पुरुषको साथ, समर्थन र सहयोग चाहिन्छ भन्ने कुरा महिला र पुरुष दुवैले गहिरो गरी आत्मसात् गर्नु जरुरी छ ।
♠ लैङ्गिक समानताको अर्थ पुरुष र नारी बराबरी, साथसाथै, अन्योन्याशृत र परिपूरक हुनुपर्दछ ।
♠ कदाचित नारी अघि तर पुरुष पछि अर्थात नारी सबल तर पुरुष दुर्बल हुने अवस्था, ब्यवस्था, समाज र सत्ता भएर वा यस्तै अन्य कुनै कारण वा परिस्थितिले नारीद्वारा, समाजद्वारा, सत्ताद्वारा, संस्कार र संस्कृतिद्वारा वा कुनै नीति-नेतृत्व र विधि-व्यवस्थाद्वारा पुरुष उपेक्षित-अपहेलित र शोषित-उत्पीडित भएमा पुरुषको हक-हित र न्याय-समानताको लागि नारीको साथ, सहयोग, समर्थन र संघर्ष अथवा भनौँ महिलाको भूमिका-योगदान र त्याग-बलिदान पनि अनिवार्य र अपरिहार्य हुन्छ ।
अन्त्यमा,
महिला मुक्ति आन्दोलनका क्रममा आफ्नो सोच, शक्ति, सीप, समय र शरीरमध्ये सबैका सबै वा सीमितरुपमै पनि समर्पण गर्नुहुने सम्पूर्णमा सबेरै समुचित सम्झना, सलामी र श्रद्धा-सुमन समर्पित गर्दै महिला मुक्ति आन्दोलनको सफलता र सार्थकताका लागी आज ८ मार्चमा आयोजित कार्यक्रमहरु दिव्य, सभ्य र भव्यरुपमा सम्पन्न होऊन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व सांसद हुनुहुन्छ ।)