मानव समाजमा जति पनि पेशाहरू छन्, राजनीति ती सबैभन्दा अधिक कठिन, ज्यादै जाेखिमपूर्ण र संवेदनशील सेवामूलक पेशा हाे । सानाे हृदयले राजनीति चल्दैन र चल्याे भने पनि त्यस्ताे राजनीति धेरै दिन टिक्दैन ।
राजनीतिकाे भाैतिक स्वरूप राज्य सञ्चालन गर्ने नीति हाे । राजनीतिलाई जनताकाे हृदय बनाउन मुटुकाे ढुकढुकी जस्तै प्याराे जननीति अपनाउनु पर्छ । राजनीतिक पार्टीलाई जनताकाे सजीव जीवन बनाउन सके मात्र जननीतिकाे विकास हुन्छ भन्ने कुरा सबै तहका राजनीतिक नेताहरूले पक्कै बुझेका छन् ।
राजनीतिलाई बुझ्ने मामिलामा एकरूपता छैन् । जनसेवा, समाज सेवालाई कसरी अघि बढाउने भन्ने सवालमा पनि विवाद छ । राष्ट्रसेवालाई कार्यरूप दिन पनि त्यति सजिलाे छैन र विश्वसेवालाई नै लक्ष्य बनाएर अघि बढ्न त झन असम्भव जस्तै देखिन्छ ।
यसकाे अर्थ मानव सेवा, समाजसेवा, राष्ट्रसेवा र विश्व सेवा गर्नै सकिन्न, असम्भव छ भन्ने अर्थ लगाइन्छ भने त्याे सबैभन्दा फाल्तु बकवास हाे । त्याे महान कार्य सम्भव छ ।
राजनीतिलाई केवल शासकहरूकाे शासन गर्ने नीति र शाेषकहरूले शाेषण गर्ने नीति, जननीतिलाई जनता फकाउने र फसाउने नीति, कुटनीतिलाई विदेशीहरू रिझाउने र रिझाउन नसके युद्धकाे तयारी गर्ने नीति, युद्ध नीतिलाई जनता दबाउने र युद्ध फैलाउने नीति भनेर कसैले बुझेका छन् भने त्याे राजनीतिक भ्रम मात्रै हाे ।
पक्कै पनि राज्य सञ्चालन गर्ने राष्ट्रिय नीति र जनसेवा गर्ने जननीतिले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकता, संघ, प्रदेश र स्थानीय निकाय, जनता, जनजीवन र जननीतिकाे सार र रूप, गुदी र बाेक्राे, मुटु र छालाकाे प्रतिनिधित्व गर्न सक्याे भने बल्ल राजनीति र राजनीतिक पार्टीलाई हरेक नागरिक, सबै जनताले व्यवहारबाटै चिन्न सकिन्छ । राजनीतिबाट जनतालाई अलग गर्न खाेज्ने राजनीतिक शक्तिकाे अस्तित्त्व समाप्त हुन्छ, जनतालाई नै शक्तिकाे स्राेत मान्ने राजनीतिक शक्तिकाे उदय हुन्छ ।
राजनीति र जनता बिचकाे जीवन्त अन्तरसम्बन्ध नै राष्ट्र हाे । जनताकै लागि जनताले खडा गरेकाे राज्य शक्तिलाई जनताकाे विरूद्ध शासकहरूले दुरूपयाेग गर्न खाेजे भने जनताले फेरि विद्राेह गर्छन्, राज्य सत्ता नै ढल्छ र जनताकाे राज्य सत्ता खडा हुन्छ । याे समाज विकासकाे नियम हाे । समृद्ध नेपाल, सुखी नेपाली नारालाई जनताकाे जनजीवनमा अभिव्यक्त हुने गरी कर्म गराैँ, समाजवादमा अघि बढाैं ।
(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुनुहुन्छ ।)