Netra Bikram Chanda Biplab
 

कमरेड नेत्रविक्रम चन्दजी,

अभिवादन,

कमरेडलाई खुला पत्र किन लेख्दै छु ? सुरूमै स्पष्टीकरण दिन्छुः म कमरेडसित रिसाएर वा खुशी भएर, कमरेडका गाेप्य सर्कुलर, दस्तावेज पढेर, भाषण, प्रशिक्षण सुनेर, निर्देशन मानेर, विचारमा असहमत भएर, विभिन्न घटनाकाे साेधखाेज गरेर, विश्लेषण गरेर, दर्शन र दृष्टिकाेणमा विज्ञ बनेर याे पत्र लेख्दै छैन । मैले हजुरमार्फत नेपालका सबै कम्युनिस्ट नेताहरूलाई खालि पुनःस्मरण गराउन खाेजेकाे के हाे भने क्रान्ति अनाैठाे चीज रहेछ, जसले नेपालका सम्पूर्ण कम्युनिष्टहरूलाई सँधै रनभुल्ल पारिदिएकाे छ ।

कति राेचक र खाेजमुलक छ, नेपालमा क्रियाशील मुख्य कम्युनिस्ट नेताहरूकाे राजनीतिक कहानी ? कमरेड माेहनविक्रम सिंहले जीवनभरी एक्लै क्रान्ति गर्दै हुनुहुन्छ । कमरेड नारायणमान विजुक्छे राेहितजीले समाजवाद मैले मात्रै ल्याउँछु भन्दै हुनुहुन्छ । कमरेड सिपी मैनाली, ऋषि कट्टेल, गाेपाल किराँती, विश्वभक्त दुलाल, माेहन वैद्य ‘किरण’हरूले छुट्टा छुट्टै पार्टी खाेलेर अपुराे क्रान्ति मैले पुरा गर्छु भनेर दावी गर्दै हुनुहुन्छ । कमरेड प्रचण्डकेपी ओली दुवैले एउटै स्वरमा समाजवाद हामीले ल्याउँछाै भनेर उद्घोष गर्नुभएकाे छ । तपाई (कमरेड नेत्रविक्रम चन्द) ले त झन् समाजवादी क्रान्ति अरू कसैले गर्न सक्दैनन्, मैले गर्छु भनेर विद्राेहकाे विगुल फुक्नु भएकाे छ । नेपाली राजनीतिमा याेभन्दा राेचक र खाेजमुलक कुरा अरू कुन हाेला ?

Krishna Kc, Mountaineer, writer, author, Communist leader, living martyre
लेखक

कस्ताे अचम्म ! अहिलेसम्म अस्तित्त्वमा रहेका नेपालका प्रत्येक कम्युनिस्टहरूले समाजवाद, साम्यवाद ल्याउँछाै भनेर एक्ला एक्लै खुला सङ्कल्प गरेका छन् । तर विश्वका सबै देशमा फैलिएका कम्युनिष्टहरू संसार बदल्नका लागि किन एकजुट हुन सकिरहेका छैनन् ? साेभियत संघ किन टुक्रियाे ? साेभियत संघमा समाजवाद किन टिकेन ? पूर्वी युराेपमा किन प्रतिक्रान्ति भयाे ? चीनकाे क्रान्ति किन अन्य देशमा फैलिएन ? अहिलेकाे वैज्ञानिक युगमा कम्युनिष्टहरू संसार बदल्न कसरी अघि बढनु पर्छ ? यी राजनीतिक वैचारिक प्रश्नहरूकाे चित्तबुझ्दाे सही जवाफ खाेजी गर्न नेपालका कम्युनिष्ट नेताहरूलाई कसले राेकेकाे, केले छेकेकाे छ ?

सुन्दै अचम्म लाग्ने नेपालमा पटकपटक कम्युनिष्टहरू टुटे-फुटेकाे, कम्युनिष्टहरूले कम्युनिष्टहरूका विरूद्ध विषवमन गरेकाे, कम्युनिष्टहरूले कम्युनिष्टहरूलाई दमन गरेकाे वा कम्युनिष्टहरूले कम्युनिष्टहरूकाे प्रतिराेध गरेकाे अनाैठो इतिहास नेपालमा पुनः दाेहाेरिएकाे छ ।

याे सामान्य कुरा हाेइन । लाखाैं-कराेडाैं जनताकाे क्रान्तिकारी व्यवहार नै सत्यताकाे कसी हाे । नेपाली जनताले कम्युनिष्टहरूकाे झगडा र फूट पटक्कै रूचाएका छैनन् । यसबारेमा हजुरले के साेच्नु भएकाे छ ? मैले यसै सन्दर्भमा यस पत्रमा चारवटा कुरा अघि सारेकाे छु ।

१. मानवजातिकाे समस्त विकासक्रमद्वारा सिर्जित सबभन्दा उन्नत समाज विज्ञान मार्क्सवादकाे गुदी कुरा नबुझिकन कम्युनिस्ट बन्न सकिँदैन । मार्क्सवाद सही र वैज्ञानिक किन छ भने याे कुनै व्यक्तिकाे मनाेगत चिन्तनकाे उपज नभएर विज्ञानका सबै शाखाहरूकाे संश्लेषण गरेर निकालिएकाे निश्कर्ष हाे । त्यसैले मार्क्सवाद विज्ञानहरूकाे विज्ञान हाे, संसार बदल्ने एक मात्र वैज्ञानिक तथा क्रान्तिकारी विश्व दृष्टिकाेण र क्रान्तिकाे सैद्धान्तिक हतियार हाे ।

२. व्यक्तिगत सम्पति र वर्गहरूकाे उदय हुनुअघिकाे वर्गबिहिन प्राचीन साम्यवादबाहेक सम्पूर्ण समाजकाे इतिहास वर्ग संघर्षकाे इतिहास हाे र वर्ग संघर्ष नै समाजकाे मुख्य चालक शक्ति हाे भन्ने कुरा अहिलेसम्मकाे अनुभवहरूले सिद्ध गरिसकेकाे छ । क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी सिद्धान्त अनिवार्य हुन्छ, क्रान्तिकारी सिद्धान्त, सुदृढ संगठन, जनताकाे प्रत्यक्ष सहभागिता बिना क्रान्ति सम्पन्न हुन सक्दैन् । अन्ततः जनता नै इतिहासका निर्माता हुन्, जनताले जहिले पनि सत्य र न्यायकाे पक्षमा निर्णय गर्छन् । कुनै पनि देशकाे क्रान्तिकाे बाटाे कुनै अर्काे देशकाे यान्त्रिक नक्कल गरेर निर्धारण हुन सक्दैन् । विश्वकाे इतिहासबाट सिकेर नेपालमा नेपाली माेडेलकाे समाजवादी क्रान्ति विकास गर्नुपर्छ ।

३. निरन्तर क्रान्तिमा अघि बढनका लागि पहिलाे कुरा ‘संसार गतिशील छ, संसार बदल्न सकिन्छ’ भन्ने कुरामा दृढ हुनुपर्छ । दाेश्राे कुरा चाहे व्यक्तिगत जीवनमा हाेस् वा पारिवारिक जीवनमा, सामाजिक जीवनमा हाेस् वा राष्ट्रिय जीवनमा, परिवर्तन अनिवार्य छ भन्ने कुरा बुझ्न जरूरी छ । तेश्राे कुरा संगठित र संघर्षशील शक्तिद्वारा  राज्य प्रणाली बदल्न सम्भव छ भन्ने कुरामा स्पष्ट हुनै पर्छ ।

४. संसारलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने कार्य सबैभन्दा जटिल हुन्छ । अवलाेकन, परीक्षण र प्रयाेगद्वारा एकचाेटि सही प्रमाणित कुनै सिद्धान्त सँधैका लागि सही हुन्छ भन्ने छैन् । त्यसैले कम्युनिष्टहरूले कुनै पनि वैज्ञानिक सिद्धान्त सर्वकालिक, अकाट्य र अवरिवर्तनीय हुन्छ भनेर दावी गर्न सकिँदैन । कम्युनिष्टहरूले समाज विज्ञानकाे रूपमा विकसित माक्सर्सवादलाई धर्मग्रन्थ, संसार बदल्ने चेतनाका सम्वाहक एवम् समाज विज्ञानका जननी कार्ल मार्क्सलाई धर्म गुरू जस्तै मानिँदैन् ।

कम्युनिस्टहरूकाे चिन्तन, चरित्र, कम्युनिस्ट पार्टीकाे नेतृत्व, नीति, संगठन र पद्धति अचुक र अपरिवर्तनीय हुन्छ भन्ने कुरामा विश्वास राख्न सकिँदैन । कम्युनिस्टहरू सबभन्दा उन्नत अन्तर्राष्ट्रिय जाति भएकाेले यथार्थवादी र व्यवहारिक बनेर समाजवाद, साम्यवादकाे बारेमा सुझबुझका साथ स्वतन्त्रतापूर्वक सिर्जनात्मक किसिमले चिन्तन-मनन गर्नु जरूरी छ । मानव समाजकाे विकासक्रम एउटा सिधा रेखामा नभएर चक्रीय रूपमा फैलिन्छ । यसबारेमा नेपालका सबै कम्युनिस्ट नेताहरू जिम्मेवार बनेर अघि बढाैं । सचेत र संगठित कम्युनिस्टहरूले वैज्ञानिक युगकाे उन्नत बुद्धि, शक्ति, कला, विधि र प्रविधिकाे प्रयाेगद्वारा संसारका सबै समस्याहरू हल गर्न सकिन्छ ।

५. राजनीतिकाे अर्थ कसरी बुझ्ने ? राजनीतिलाई पुरानाे अर्थमा बुझ्ने कि कम्युनिस्टहरू जुटेर राज्य सञ्चालन गर्ने सबभन्दा वैज्ञानिक र लाेकतान्त्रिक विधि विकास गर्ने ? राजनीति सिधा र सरल खेल नभएकाले विचार र नेतृत्त्व, नीति र विधि रातारात विकास हुँदैन । कम्युनिष्ट पार्टी भनेकाे नै विपरीतकाे एकता हाे, कुनै नेताकाे चाहना अनुसार कम्युनिष्ट पार्टी चल्दैन, संगठित सबैमा पार्टीकाे संस्थागत निर्णय लागु हुन्छ । दार्शनिक, सैद्धान्तिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक सवालहरूमा गुणात्मक विकास नगरी सुखै छैन्, युगकाे माग अनुसार नवीन र उन्नत विज्ञान, प्रविधिकाे प्रयाेग बिना तिव्र विकास र समृद्धि सम्भव छैन् । क्रान्तिकाे पुनरावृति हुन्न, विकास गर्नु पर्छ । कम्युनिस्ट पार्टी र यसमा संगठित नेताहरूले जनताकाे जनजीवन छुने राजनीतिक कार्य गर्न छाडे भने कम्युनिस्ट पार्टी नै खोक्राे हुन्छ । याे कुरा सबै नेताहरूले राम्ररी बुझेका छन् ।

६. यदि राजनीतिलाई फाेहाेरी खेल सम्झेर सिंहदरवारमा छिरेका केही कम्युनिष्ट नेताहरूले राज्यसत्ता दुरूपयाेग गर्ने, त्यसै गरी राष्ट्र र जनताकाे पक्षमा उभिएकाे दावी गर्दै केही कम्युनिष्ट नेताहरूले सडकमा उत्रेर वा पुन जङ्गलमा फर्किएर राजनीतिक अधिकार दुरूपयाेग गर्ने हाे भने नेपाल राष्ट्र पुनः चरम संकटमा धकेलिन्छ, नेपाली जनता फेरि अधिकार विहिन नागरिक बन्न बाध्ये हुन्छन् र प्रतिगामी, प्रश्चगामी शक्ति र विदेशी प्रभूहरूले नेपालमा पुनः राज गर्नेछन् । अहिले याे कुरा मनाेगत तर्कजस्तै लागे पनि नेपालमा क्रियाशील साना ठूला हरेक कम्युनिस्ट पाटीभित्र नानथरीका लाेभीपापीहरू, छद्मभेषी विभिन्न कुतत्त्वहरू भ्रम फैलाउन र धमिलाे पानीमा माछा मार्न निकै सक्रिय रहेका छन् । नेपालकाे राजनीतिक रङमञ्चमा षडयन्त्रले भरिएकाे नाैलाे खेल नेपालमा फेरि सुरू भएकाे छ । यसबारेमा सबै सजग बनाैं ।

७. जनताले जरैदेखि उखेलेर नेपाली धर्तीबाट मिल्काएकाे राजतन्त्र अब पुर्नस्थापना हुनै सक्दैन् । पूर्वराजा, पूर्वपञ्चहरूकाे अन्धराष्ट्रवादकाे गणतान्त्रिक नेपालमा कामै छैन् । नेपाली कांग्रेसकाे बूढाे प्रजातन्त्र युगकाे मागअनुसार अब नेपालमा चल्न सक्दैन । कम्युनिष्टहरूकाे पुरानाे जनवादकाे खासै महत्त्व छैन् । कांग्रेस, कम्युनिष्ट र पञ्चहरू स्खलित भएर रातरात च्याउझैं उर्मिएका अन्य झुत्रे पार्टीहरूकाे नेपाली राजनीतिमा कुनै अर्थ छैन ।

फुटेका कम्युनिस्टहरू नजुटिकन छिटाे समाजवादमा पुग्न सम्भव छैन् । कम्युनिस्टहरूका विरूद्ध कम्युनिष्टहरू लड्नु भनेकाे सामाजिक अपराध हाे । अब नेपालका सम्पूर्ण कम्युनिस्टहरूले लाज नमानिकन गल्ति सच्चाउँनै पर्छ, जनतासित क्षमा मागेर फुटेका कम्युनिस्टहरू जुटनै पर्छ ।

अन्त्यमा,

म यति भन्छुः कमरेड नेत्रविक्रम चन्द जी, बत्तीस लक्षणले सुसम्पन्न काेही पनि हुन सक्दैन । म वास्तविक त्रुटि केलाउनेलाई गुरू मान्छु । राजनीतिज्ञहरूका वास्ताविक पथ प्रदर्शक जनता हुन भन्ने मान्यता राख्छु । हजुरले छुट्टै पार्टी खाेल्नु भएकाे छ । विद्राेहकाे उद्घाेष गर्नुभएकाे छ । छिटाे क्रान्ति गर्छु भन्नुभएकाे छ । सफल बन्नाेस् । मेराे विशेष शुभकामना छ ।

उही,

कृष्ण के.सी.