नेपाली सर्वहारा श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा हाम्रो प्यारो देश नेपाल औपचारिक रूपमा अन्तरिक्ष युगमा प्रवेश गरेको छ ।
२०७६ बैशाख ५ गते (२०१९ अप्रिल १८) मा पहिलो पटक नेपालले आफ्नै ‘न्यानो स्याटेलाइट’ अर्थात् सुक्ष्म-भूउपग्रह प्रक्षेपण गरेपछि नेपाल औपचारिक रूपमा ‘अन्तरिक्ष युग’मा प्रवेश गरेको हो । यस सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट मार्फत दिएको सन्देशको ऐतिहासिक महत्त्व छ ।
आफू सत्ता र शक्तिमा हुँदा वा अरु विभिन्न तरिकाले नेपाली जनताको पेट काटेर लुटेको पैसाले छोराछोरीलाई विदेशमा राखेर पढाएका र पछि नागरिकता दिलाएर बुढेसकालमा आफू पनि उतै बँसाई सर्नलाई प्रपञ्च मिलाउँदै गरेका नेपाल आमाको कोखमा जन्मेका केही ‘कपूत’हरुलाई यस्तो कुरा चित्त बुझेन ।
नेपाललाई एउटा स्वाधीन र सार्वभौम राष्ट्रको रुपमा कहिल्यै देख्न नसक्ने, बरु यसलाई भारतको आँगन वा बारीको टुप्पो ठान्नेहरु, देशलाई शक्ति राष्ट्रहरूले चीन घेर्नका लागि आवश्यक एउटा सानो भूभागको रुपमा मात्रै हेर्न रुचाउनेहरु, देशका सूचना विदेशीलाई बेचेर खान पल्केकाहरु र अन्य विभिन्न देशका गुप्तचर निकायबाट हण्डी खानेहरुलाई नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको कुरा पाच्य भएन ।
नेपाल र नेपाली जनताको प्रगति देखिनरुचाउने त्यस्ता जनताका दुश्मनहरुलाई नेपालमा कम्युनिष्ट सरकारको नेतृत्त्वमा प्राप्त यो ऐतिहासिक महत्त्वको उपलब्धि ‘हजम’ भएन । त्यस्ता ‘तारे’, ‘रातो’ वा ‘भगवा’ झण्डा बोकेका मनुवाहरुलाई तिनीहरुकै ‘कूलदेवता’को कारखानामा बनेको ‘हाजमोला’का गोली खाएर सुत्ने सुझाव दिनु बाहेक अरु केही गर्न सकिँदैन ।
ती ‘देशका दुश्मन’हरुमध्ये कतिपयले यसलाई अनावश्यक कुरा दाबी गरेका छन् भने कसैले सुक्ष्म भू-उपग्रहको आकारमाथि ठट्टा गरेका छन् । कसैले यसलाई अमेरिकास्थित ‘नासा’बाट लञ्च गरेको र यसमा नेपाल वा नेपालीको कुनै भूमिका नै नभएको भन्दै सरकारलाई दुत्कारेका छन् । त्यस्ता राष्ट्रघाती र जनघातीहरु नेपाली जनताको नजरमा गिरेका छन्, अझै गिर्दै जानेछन् ।
यो सुक्ष्म भू-उपग्रह निर्माण र प्रक्षेपणका विभिन्न आयामहरुलाई हामीले नियाल्नु जरुरी छ ।
पहिलो कुरा, यसले नेपाललाई सानै रुपमा भएपनि अन्तरिक्ष युगमा प्रवेश गराएको छ । यो नेपालभित्र र विदेशमा रहेका सबै सार्वभौम नेपालीहरुका लागि अत्यन्तै खुशीको कुरा हो । यो विषय नेपाल राष्ट्र र नेपाली जनताका लागि गौरवको कुरा मात्रै नभएर नेपालको राष्ट्रियताको सुदृढीकरणसँग जोडिएको विषय पनि हो । त्यसैले यसको दूरगामी र ऐतिहासिक महत्त्व छ ।
दोस्रो कुरा, यो नेपाली वैज्ञानिकहरुको संलग्नतामा बनाइएको सुक्ष्म भू-उपग्रह हो । यसबाट एकातिर नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको अग्रगामी छलाङ प्रस्तुत भएको छ भने अर्कोतिर भविष्यमा नेपालीहरुले यस्ता सुक्ष्म भू-उपग्रहहरु बनाउन र तिनको प्रविधिको विकासलाई अनुशरण गर्दै ठूला भू-उपग्रह बनाउनेतिर नेपाललाई लैजान सक्ने अवसरको ढोका खोलिदिएको छ । सुक्ष्म भू-उपग्रह निर्माण तथा प्रक्षेपण गर्ने प्रक्रियालाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेका त्यस्ता वैज्ञानिकहरुले भावी दिनमा नेपालमै सुक्ष्म तथा अन्य भू-उपग्रहहरु बनाउने कुरालाई विकास र बिस्तार गर्न सक्छन् ।
कतिपय ‘शिक्षित मुर्ख’हरुले यसमा नेपालको प्याटेन्ट नभएको र यसलाई विदेशीहरुको सहयोगमा तयार गरेको, पूर्ण रुपमा आफैले तयार नगरेको प्रसंग उठाएका छन् । यदि यो सुक्ष्म भू-उपग्रहमा नेपालको प्याटेन्ट रहेनछ र यो विदेशीकै सहयोगमा तयार भएको भए पनि यसबाट कम्तिमा ती वैज्ञानिकहरुले सुक्ष्म भू-उपग्रहबारे केही कुरा त पक्कै सिकेका छन् । कुनै ‘डुकुलण्ठक मुर्खहरु’ त पक्कै त्यहाँ संलग्न थिएनन् । तिनले भू-उपग्रहमा जम्मा कतिवटा नटबोल्ट हुन्छन्, ती कहाँ कहाँ हुन्छन्, तिनलाई कसरी खोल्ने र कस्ने हो भनेर मात्रै सिकेर आएछन् भने त्यो पनि नेपाल राष्ट्र र नेपाली जनताका लागि महत्त्वपूर्ण र गौरवपूर्ण उपलब्धि हो । यसबाट नेपाली भौतिक शास्त्रीहरुलाई त्यसका पाटपुर्जा तथा प्रोग्रामहरुको अध्ययन गर्ने र भविष्यमा त्यस्ता सुक्ष्म भू-उपग्रह बनाउन सक्षम हुने अवसर खुल्नेछ ।
यदि यसपटकको सुक्ष्म भू-उपग्रहमा प्याटेन्ट प्राप्त रहेनछ भने अर्को पटक आउला । के फरक पर्छ ?
जहाँसम्म भू-उपग्रह अरुको सहयोगमा प्रक्षेपण गरेको कुरा छ, भू-उपग्रह केटाकेटीले खेलाउने लड्डु ‘भुरुङ/घुरुङ/वेबलेट) होइन, जसलाई जहाँबाट पनि प्रक्षेपण गर्न सकियोस् । प्रक्षेपणको क्रममा नेपाली स्याटेलाइट मात्र नभएर जापानको स्याटेलाइट पनि सँगै प्रक्षेपण गरिएको थियो । यसबाट यो नेपालले यतिबेलै सक्ने कुरा होइन भन्ने बुझनु जरूरी छ । अपितु के सत्य हो भने यसपटक हामीले सुक्ष्म भू-उपग्रह निर्माणसम्म पहुँच पुराउन सकेका छौँ, भोलि प्रक्षेपणमा पनि पुग्न सकिएला । के भविष्य अन्धार मात्रै छ र ?
तेस्रो कुरा, यो नेपालको स्वामित्त्वमा भएको ‘सुक्ष्म भू-उपग्रह’ हो । नेपाली अन्तरिक्षमा प्रक्षेपित भू-उपग्रहमा आफ्नो स्वामित्त्व हुनुको विशेष अर्थ हुन्छ । हामीले यसलाई र यसबाट प्राप्त सूचनाहरुलाई चाहे अनुसार उपयोग गर्ने र अनावश्यक कुराहरु नष्ट गर्ने अवसर प्राप्त गर्न सक्दछौँ । यो भू-उपग्रह पृथ्वीमा फिर्ता आएपछि त्यसलाई अर्को सुक्ष्म भू-उपग्रह निर्माण गर्ने सम्बन्धमा स्रोत सामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ । भाडाको भू-उपग्रह रुचाउनेहरु त कमिशनखोर देशघाती र जनघाती मात्रै हुन् ।
चौथो कुरा यसले दिने सूचना र जानकारी हो, जसमा नेपालको स्वामित्त्व हुनेछ । रिमोट सेन्सिङ जस्तो आजको परिस्थितिमा नभई नहुने प्रविधिका लागि यो प्रक्षेपण गरिएको हो, त्यसको आफ्नै महत्त्व छँदैछ ।
नेपालका सबै देशभक्तहरूले विभिन्न आवरणमा नेपालभित्र धमिलो पानीमा माछा मार्ने सपना देख्ने सबै प्रतिगामी शक्तिहरूलाई हिम्मतका साथ जवाफ दिनु र सरकारका असल कार्यहरुको पक्षमा दृढताका साथ उभिनु जरूरी छ । यसका लागि नेपाली भू-उपग्रहको वास्तविकता र नेपालीस्याट-१ को कार्य र उपयोगिताबारे पनि जान्नु र बुझ्नु पनि जरूरी छ ।
यो पनि पढ्नुहोस्ः
नेपाललाई अन्तरिक्ष युगमा पुराउने सुक्ष्म भू-उपग्रहः नेपालिस्याट-१