१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो अन्तिम गन्तव्य बताएका छन । तर उनीहरूका बिचमा समाजवाद-साम्यवादमा पुग्नका लागि उचित कार्यदिशा के भन्नेमा भने दशकौँदेखि मतभेद रहेको छ । यस प्रकारको मतभेद नेपालको कम्युनिस्ट आन्दोलमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनको नै मुख्य समस्याको विषय बन्दै आइरहेको छ । त्यही मतभेदका कारण कैयौँ पटक पार्टीहरु विभाजन हुँदै आएको छन् ।

२. समाजवाद–साम्यवादमा पुग्ने लक्ष्य राखे पनि तत्कालीन राजनीतिक कार्यदिशा र कार्यक्रम परिस्थिति अनुकूल बन्छ वा बन्दैन, त्यो महत्त्वपूर्ण हुन्छ । वर्तमानमा गलत कार्यक्रम बनाएर भविष्य सुन्दर बन्दैन । कम्युनिस्ट आन्दोलनको उज्ज्वल भविष्यका लागि वर्तमानमा उज्ज्वल भविष्यसँग जोडेर कार्यदिशा निर्धारण गर्नुपर्दछ । विशेष गरेर समाजवाद–साम्यवादमा कसरी पुग्ने भन्ने सवाल निकै नै महत्त्वपूर्ण छ । वर्ग संघर्षको माध्यमबाट पुग्ने कि वर्ग समन्व्यको माध्यमबाट । सिद्धान्ततः वर्ग संघर्षलाई स्वीकार गर्ने तर वर्ग संघर्षको बाटो अवलम्बन नगर्ने, वर्ग संघर्ष भन्दा बित्तिकै हतियारबद्ध आन्दोलन हो भनेर बुझिहाल्ने मनोदशाले अन्ततः वर्ग समन्वयलाई नै सहयोग गर्दछ । यस प्रकारको रुपमा वर्ग संघर्षको पक्षमा देखिएर सारमा वर्ग समन्वयको रथमा हिड्ने समूहले तत्कालीन राजनीतिक कार्यदिशालाई कम्युनिस्ट पार्टीको रणनैतिक योजनालाई सहयोग पुर्याउने हिसाबले होइन, केवल कार्यक्रमका लागि कार्यक्रम मात्र बनाउने गर्दछन । त्यो नेपालको सन्दर्भमा पनि लागू भएको छ ।
३. मार्क्सवाद–लेनिनवाद मान्नु, सिद्धान्तमा सशस्त्र सघर्षलाई स्वीकार गर्नु, लेनिनवादी सङठनात्मक सिद्धान्तलाई सैद्धान्तिक हिसाबले मान्नुलाई मात्र मूल प्रवृत्ति बताएर उम्कने कि समाजवाद–साम्यवादसम्म पुग्नका लागि मार्क्सवादी–लेनिनवादी सिद्धान्त अनुसार सङ्गठन, कार्यदिशा बनाउने र त्यसलाई व्यवहारमा लागू गर्ने ? यो टड्कारो विषय हो । नेपालमा कैयौँ समूहहरुले सिद्धान्ततः मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई स्वीकार गर्दछ्न, दिर्घकालीन सशस्त्र संघर्षलाई पनि स्वीकार गर्दछन्, सर्वाहारा अधिनाकत्त्व लगायत मार्क्सवादका आधारभूत सिद्धान्तलाई लिखितम् रुपमा स्वीकार गर्दछन् तर व्यवहारमा त्यस प्रकारको कार्यदिशा अवलम्बन गर्दैनन् । यो निकै नै गम्भीर समस्या हो । यस्ता समूहहरुले असल क्रान्तिकारी कार्यकर्तामा असल कम्युनिस्टको भ्रम छरेर जाँनिदो र नजाँनिदो तरिकाले अन्ततः दक्षिणपन्थी अवसरवादलाई नै सहयोग पुर्याइरहेका हुन्छन् । दक्षिणपन्थी संशोधनवादमा विसर्जन भैसकेका समूहहरुले समाजवादी राज्यव्यवस्थाका लागि हामी छौँ भनेर भ्रम छरिरहेको समयमा मार्क्सवाद–लेनिनवादको स्विकारोक्तिका नाममा कैयौँ कम्युनिस्ट समूहहरुले समेत छद्म रुपमा प्रकारान्तले दक्षिणपन्थीहरुको यात्रामा सारसंग्रहित हुने अवसरवादी यात्रा तय गर्दै गैरहेको वर्तमान परिदृश्यमा वास्तवमा क्रान्तिकारी पार्टी निर्माण ऐतिहासिक आवश्यकता हो ।
४. क्रान्तिकारी पार्टी निर्माण कुनै दस्तावेज मात्र तयार गरेर निर्माण हुँदैन । दस्तावेजमा मार्क्सवाद (लेनिनवाद–माओविचारधारा, लेनिनवादी सङ्गठनात्मक सिद्धान्त/जनवादी केन्द्रीयता, पार्टी नेतृत्त्व, सर्वहारा अधिनायकत्त्व, सर्वहारा विश्व दृष्टिकोण, वर्ग संघर्ष, हिंसात्मक क्रान्ति/बल प्रयोगको सिद्धान्त) लाई लेखेर मात्र क्रान्तिकारी पार्टी निर्माण हुँदैन । क्रान्तिकारी पार्टी निर्माणका लागि माथि उल्लेखित प्रस्थापनाहरुलाई व्यवहारिक रुप दिनुपर्दछ । वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पथप्रदशक सिद्धान्त बताउने केही समूहहरु प्रतिक्रियावादी राज्यसत्ताको चौकीदार बन्नका लागि समेत तयार हुने, उत्पीडित जनताको पक्षमा भन्दा पनि शोषकहरुको राज्यव्यवस्थामा रमाउन चाहने व्यवहारिक प्रयोगहरु हुँदै आइरहेका छन । ठोस परिस्थितिको ठोस विश्लेषण र कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाको हवाला दिएर एउटा प्रतिक्रियावादी राज्यसत्ताको हिस्सेदार बन्ने कम्युनिस्ट आन्दोलनको नवीन प्रवृति सर्वाहारा वर्गको समाजवादी राज्यवस्थामा पुग्ने बाटो माथि गम्भीर धक्का हो ।
५. नेपालमा विशेष गरेर तत्कालीन राजनीतिक कार्यदिशामा देखिने मतभेद नै मुख्य मतभेदको विषयवस्तु बनेर कम्युनिस्ट आन्दोलनमा टुट–फुट र विभाजन समेत हुँदै आएको छ । रणनीतिक उद्देश्य पूरा गर्ने सवालमा भन्दा पनि तत्कालीन राजनीतिक कार्यदिशा के हुने भन्ने मतान्तरले नै कम्युनिस्ट आन्दोलन कैयौँ शिराहरुमा विभाजन भएर दक्षिणपन्थी दिशा समात्दै घोर प्रतिक्रियावादमा विलिन भएका कैयौँ तथ्यहरु हाम्रो अगाडि दिनको घाम झै छर्लङ्ग छ्न । खास गरेर दुई लाइन संघर्ष सञ्चालनमा देखिएको अधिभूतवादी चिन्तन र कम्युनिस्ट आन्दोलनको गम्भीर समस्यामा रहेको निम्न पुँजीवादी चिन्तनका कारणले कम्युनिस्ट आन्दोलनले नराम्रोसँग सेटव्याक खादै आएको छ । आफूलाई मार्क्सवादी–लेनिनवादी बताउने शक्तिहरुले पनि दुई लाइन संघर्षलाई ठोस ढङ्गले अगाडि बढाउने गरेको प्रयत्नहरु खासै पाइँदैन ।
६. कम्युनिस्ट आन्दोलनमा विषेश गरेर जुन समूह पार्टी भित्र बहुमतमा हुन्छ, बहुमत पक्षले अल्पमत पक्षलाई प्रायः अनुशासनको नाममा अनावश्यक लान्छना लगाएर यो वा त्यो बाहनामा कारबाही गर्ने र कारबाही पर्ने बित्तिकै उक्त पार्टी छाड्ने प्रवृतिले दुई लाइनको संघर्षलाई उचित ढङ्गले अगाडि बढाएको पाइँदैन । पार्टी भित्र मतभेदहरु हुन्छन, तिनीहरुको मैत्रीपूर्ण तरिकाले समाधान गर्ने, बहस–छलफल चलाउने, मार्क्सवादी–लेनिनवादी पद्धति अनुसार यसको सही निष्कर्षमा पुग्नुपर्नेमा त्यसको सैद्धान्तिक दुहाई दिएर व्यवहारिक हिसाबले त्यसलाई कार्यान्वयन गरेको पनि पाइँदैन । स्वस्थ र मैत्रीपूर्ण तरिकाले उल्लेखित समस्याको समाधान नगरिकन गुटबन्दी गरेर, कैयौँ विधि–प्रक्रिया र पद्धतिहरु मिचेर कृतिम समाधान निकाल्ने कार्य नेपालको कम्युनिस्ट आन्दोलनमा निकै नै ठूलो समस्या बनेको छ ।
७. कम्युनिस्ट पार्टीको महाधिवेशन, राष्ट्रिय सम्मेलन वा भेलाहरुमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा मूल प्रवृत्तिको नाममा तत्कालीन राजनीतिक कार्यदिशा माथि यथेष्ट मात्रामा बहस–छलफल भएको कमै मात्रमा पाइन्छ । विश्व सर्वाहारा वर्गका महान नेता क. माओत्सेतुङले राजनीतिक कार्यदिशा सही हुनु र नहुनुले सबै चिजको फैसला गर्दछ भनेका छन् । कुनै पनि आफूलाई कम्युनिस्ट बताउने पार्टीले मार्क्सवाद–लेनिनवाद, समाजवाद (साम्यवाद) त भनेकै हुन्छन् । घोर दक्षिणपन्थमा विलिन भैसकेकादेखि अवसरवादी बाटो समातेका कम्युनिस्ट नामधारी पार्टीहरुले (जसले हँसिया–हथौडा अङ्कित झण्डालाई आफ्नो झण्डा बताएर त्यसको प्लेटफर्म प्रयोग गरिनै रहेका छन्) आफूलाई समाजवादी व्यवस्थाको हिमायती बताउन छाडेका छैनन् । तर उनीहरुले तत्कालीन संघर्षको पक्षलाई समाजवाद–साम्यवादमा पुग्ने संघर्ष गर्नका लागि कुनै गुणात्मक प्रकारका कार्यक्रमहरु बनाएका छैन । कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाको हवाला दिएर ठोसमा क्रान्तिकारी कार्यदिशालाई रोक्ने पर्यत्न नेपालको कम्युनिस्ट आन्दोलनमा बारम्बार भैरहेको छ । कुनै पनि कार्यक्रमको तय गरेपछि त्यसपछिको अर्को स्टेप के हो भन्नेमा नै अन्यौल देखिन्छ । कुनै पनि कार्यक्रमलाई ठोस उचाइमा पुर्याउन भन्दा पनि उठान गर्ने र बिच बाटोमा नै छाड्ने प्रवृत्तिले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको देखिन्छ ।
८. मार्क्सवादी–लेनिनवादीहरुले आफ्ना तत्कालका कार्यक्रमहरु बनाउँदा त्यसले कम्युनिस्ट पार्टीको रणनैतिक उद्देश्यलाई सहयोग गर्दछ वा गर्दैन भन्ने सवाल माथि विशेष ध्यान दिएर कार्यक्रमहरु निर्धारण गर्ने र ती कार्यक्रमको उचित कार्यान्वयन गर्ने गर्दछन् । यदि ठोस परिस्थितिको ठोस विश्लेषणमा कार्यक्रमहरु नबनेको अवस्थामा त्यसमा आत्मालोचित हुँदै रणनैतिक उद्देश्यलाई सहयोग गर्ने तत्कालीन कार्यक्रम बनाइन्छन । कम्युनिस्ट पार्टीले गर्नुपर्ने पनि त्यही हो । तर विडम्बना भन्नुपर्छ, कुनै पार्टीले बनाएका कार्यक्रम पार्टीको रणनैतिक उद्देश्यलाई सहयोग गर्ने खालका थिएनन् भने पनि त्यसको समीक्षा गर्ने र गल्ति स्वीकार गर्दै नयाँ शिराबाट अगाडि बढ्ने गरेको पाइँदैन । हामीले जे गरेका थियौँ, सही गरेका थियौँ भनेर अनेकौँ उदाहरणको पर्दा हालेर गलतलाई पनि सही ठहराउने प्रवृत्ति नेपालको कम्युनिस्ट आन्दोलनको थप गम्भीर समस्या नै हो ।
(लेखक राष्ट्रिय जनमोर्चाका कार्यकर्ता हुन् – सम्पादक ।)