क. प्रचण्ड, Pushpa Kamal Dahal 'Prachanda', Chairman, Nepal Communist Party
 

आन्दोलनको बाटो सीधा हुँदैन । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिस्ट आन्दोलनको सुरुवातदेखि मार्क्सवादको अनुसन्धानपूर्वको इतिहासले पनि त्यही देखाउँछ । त्यसपछिका पार्टी र आन्दोलनका इतिहासले पनि खुबै अप्ठ्यारा मार्गमा आफूलाई हिँडाएका छन् । हामी पनि त्यहि शैलीमा नै यहाँ आइपुगेका छौं । हामी हिंड्दा कहिले दाँया खुट्टा अगाडि जान्छ अनि कहिले बाँया खुट्टा अगाडि जान्छ । कम्युनिस्ट आन्दोलन पनि त्यसरी नै दाँया र बाँया गर्दै अगाडि जाने कुरा हो ।

हामी अहिले निराश हुने स्थितिमा छैनौं । यहाँसम्म ल्याउन भूमिका खेल्ने महान् शहीदहरुको सपना पूरा गर्न जहाँ आइपुगेका छौं त्यो ठाउँबाट योगदान गर्ने गरि संकल्प गर्नुपर्छ । पार्टी एकताको जो स्थिति छ त्यो स्थितिबाट अगाडि बढ्ने संकल्प गर्ने र आफूलाई उद्देश्यबाट विचलित नहुने संकल्प गर्ने कुरा महत्त्वपूर्ण हुन्छ । हामी ती महान शहीदहरुको सम्झना गर्छौं, अनि उहाँहरुलाई सम्मान गर्छौं भने हामी आन्दोलनको लक्ष्यबाट विचलित हुँदैनौं ।

कम्युनिस्ट पार्टीका संस्थापक क. पुष्पलालदेखि क. मदन भण्डारी, क. जीवराज आश्रित अनि जययुद्ध र जनआन्दोलनका तमाम शहीदहरुले गरेको योगदानकै कारण आज हामी यहाँ छौं । हाम्रो आन्दोलनलाई समीक्षा गर्दा, आन्दोलनमा सरिक ती महान शहीदहरुले गरेका बलिदान, लाखौं श्रमजीवी जनताले गरेको योगदान, सबैलाई सम्मानित गर्ने र स्थापित गर्ने बाटोमा हामी अगाडि बढ्नुको विकल्प हुन्न । यो नै सही मार्क्सवादी र क्रान्तिकारी बाटो हुनसक्छ ।

हामीले पार्टी एकता गरेर एउटा ठूलो र असाधारण कामको सुरुवात गरेका छौं । हामी सिद्धान्तहीन ढंगले पार्टी एकता गरेका हेनौं । हामी मार्क्सवादकै निर्देशन, पथप्रर्दशनमा समाजवादी रणनीतिमा अगाडि बढ्ने, समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा छौं । समाजवादतर्फ अगाडि बढेको जनताको जनवादको कार्यक्रमसहित देशलाई आर्थिक समृद्धि र नयाँ विकासको युगतिर लैजाने प्रक्रियामा छौं । समाजवादको निर्माण गर्ने बडो प्रष्ट लक्ष्यका साथ हामीले पार्टी एकता गरेका छौं ।

चाहे त्यो जनताको बहुदलीय जनवादको कुरा होस् या चाहे त्यो एक्काइसौं सताब्दीको जनवादको कुरा होस् या माओवादी जनयुद्धको कुरा होस् । तिनले खेलेको सकारात्मक भूमिकाको मूल्यांकन गर्दै अब हामी अगाडि जानको लागि ती इतिहासका अनुभवहरु, नीति कार्यक्रमहरुलाई परिमार्जन गर्दै विकसित गरेर जाने मान्यताका साथ हामीले एकता गरेका छौं ।

हामीले ती महान शहीदहरुलाई सम्झिनुको अर्थ हामीले पार्टी एकताका बेलामा गरेका सैद्धान्तिक राजनीतिक प्रतिवद्धता र समझदारी सहमतिप्रति इमान्दार रहनु भन्ने पनि हो । हामीले गरेका सम्झौतालाई इमान्दारीताका साथ कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर हाम्रा विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र अझ परिमार्जित गर्नु पनि हो ।

ती तमाम शहीदहरुलाई स्मरण गर्दा, यतिबेला हामीले इमान्दारिताका साथ पार्टी एकतालाई सुदृढ गर्ने, पार्टी एकतामा बाँकी रहेका कामलाई इमान्दारिताका साथ टुंग्याउने र बाँकी भएका समझदारीमा इमान्दारीमा साथ उभिने काम गर्नुपर्छ । जसरी हिजो हामी एउटा घोषणा मार्फत गठबन्धन कायम गर्ने र पार्टी एकताको लक्ष्यसहित अगाडि बढ्ने र निर्वाचनमा एउटै घोषणा पत्र अनुसार साझा उम्मेदवारसाथ चुनावमा होमिने काम गर्यौं त्यसरी नै एकढिक्का भएर अब अगाडि जानुपर्छ ।

हामीले एकढिक्का हुने घोषणा गर्दै गर्दा लाखौं लाख जनताले दिल खोलेर समर्थन गरेका थिए । त्यसमा कुनै हिचकिचाहट र आंशका थिएन । जसको कारण हामीलाई जनताले दुईतिहाई बहुमतको ठाउँमा पनि पुर्याए । र, अहिले सरकार गठन गर्ने र देशको नेतृत्व गर्ने ठाउँमा हामीलाई जिम्मेवारी दिएका छन् । यो एउटा ऐतिहासिक महान भूमिका पनि हो ।

महान काम गर्दा जटिलताहरु हुन्छन् । त्यो विज्ञानको नियमभित्रै पर्छ । सरलबाट जटिलतिर, छिपछिपेबाट गहिराई तिर अगाडि बढ्नु विकासको नियम हो । समस्याहरु आउन सक्छन् तर हामीले युगीन मान्यता र युगीन सिद्धान्तको आधार खडा गरेर अगाडि जानुपर्छ ।

(जनयुद्धका शहीद रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित स्मृति सभामा नेकपाका अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको सार)