काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो स्थायी समितिको बैठक आजबाट सुरु भएको छ । एकवरषपछि बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ ।
अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछिको स्थिति, सरकारको समीक्षा लगायतका विभिन्न ७ वटा उपशिर्षक रहेका छन् । प्रतिवेदनमा आगामी कार्ययोजनादेखि २०७७सालमा पार्टीको महाअधिवेशन आयोजना गर्ने, सरकारको काम कारबाहीको समीक्षा, उपनिर्वाचनको समीक्षा, सीमा सुरक्षा र पार्टीको मूल्यांकन लगायतका कुराहरु समेटिएको छ ।
प्रतिवेदनमा अध्यक्ष प्रचण्डले सरकारको कामलाई अझै जनमुखी बनाउनुपर्ने, संगठनलाई सुदृढ बनाउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र संकल्पका साथ अघि बढ्नुको विकल्प नभएको पनि उल्लेख गर्नुभएको छ। प्रतिवेदनमा छन्।
अध्यक्ष प्रचण्डले पार्टीमा अनुशासनहीनता र गुटबन्दी बढेको बढेकोमा राजनीतिक प्रतिवेदनमा चिन्ता व्यक्त गर्नुभएको छ । पार्टी र सरकारविरूद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्दति विपरित बोल्ने लेख्ने पार्टी नीति विपरित भेला बैठक गर्ने काम पनि बन्द गरिनु पर्ने कुरालाई जोड्दार रूपमा उठाइएको छ ।
अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमा पार्टीको स्कुलिङ र प्रकाशनलाई उच्च महत्त्व दिइएको छ । पार्टीको मार्गदर्शक सिद्धान्तको दर्शन तथा राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवादबारे व्यवस्थित र योजनावद्ध स्कुलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउनु पर्ने र पार्टीका मुखपत्र तथा वैचारिक र राजनीतिक प्रकाशनको नियमित प्रकाशन र वितरणमा पनि जोड दिइएको छ ।
अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमा पार्टीको रणनीतिक लक्ष्य र तत्कालीन ठोस कार्यक्रम बारे उल्लेख गर्दै, “आज हाम्रो पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो। तत्कालीन ठोस कार्यक्रम समाजवाद उन्मूख जनताको जनवाद हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ,” भनिएको छ ।
प्रतिवेदनको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोला ।