Manuel Marrero Cruz, Prime Minister of Cuba
 

काठमाडौँ । जनप्रिय क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज समाजवादी गणतन्त्र क्युबाको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ ।

समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार  त्यहाँको संसदको बैठकमा  म्यानुएल मर्रेरो क्रुजलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभयो र उहाँको प्रस्ताव त्यहाँको १९औँ संसदको चौथो नियमित सत्रबाट सर्वसम्मतिले पारित भएपछि मरेर्रो क्रुज आगामी ५ बर्षका लागि मुलुकको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो ।

संसदबाट अनुमोदन हुनुपूर्व सरकार प्रमुखको रूपमा रहने प्रधानमन्त्री मरेर्रो क्रुजको नाम क्युबाको कम्युनिस्ट पार्टीको पोलिटब्युरोबाट अनुमोदन गरिएको थियो ।

क्युबामा संसदलाई ‘जनसत्ताको राष्ट्रिय सभा’ अर्थात ‘जनताको शक्तिको राष्ट्रिय सभा’ भनिन्छ । क्युबाको नयाँ संविधानको व्यवस्था अनुसार नवनियुक्त राष्ट्रपतिले ३ महिनाभित्र सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, सविचहरू र मन्त्रीपरिषदका अन्य सदस्यहरूको नियुक्तिका लागि जनसत्ताको राष्ट्रिय सभामा प्रस्ताव पेश गर्नु पर्दछ । सोही अनुसार क्युबाको राज्यसत्ताको सबैभन्दा सर्वोच्च अंगको रूपमा रहेको ५९४ सदस्य (सांसद) रहेको जनसत्ताको राष्ट्रिय सभामा राष्ट्रपति डियाज-केनेलले गर्नुभएको प्रस्ताव सर्वसम्मतिले अनुमोदन भएको हो ।

समाजवादी क्युबाले नयाँ संविधान निर्माण गरी सन् २०१९ फेब्रुअरीमा जनमतसंग्रह मार्फत अनुमोदन गरेको थियो । नयाँ संविधानमा क्युबाली सरकारका आन्तरिक तथा दैनिक कार्यहरू कार्यान्वयन तथा  व्यवस्थापन गरी राष्ट्रपतिलाई जानकारी गराउने र राष्ट्रपतिका कार्यहरूमा सहयोग पुराउनका लागि सो पद पुनः सिर्जना गरिएको हो ।

नवनियुक्त प्रधानमन्त्री मरेर्रो क्रुजलाई क्युबाली क्रान्तिका महानायक क. फिडेल क्यास्ट्रोले आफ्नो सरकारको पर्यटनमन्त्रीको रूपमा सन् २००४ मा चयन गर्नुभएको थियो ।  विगत १६ वर्षदेखि निरन्तर रूपमा देशको पर्यटनमन्त्री रहँदै आउनु भएका क्रुजको नेतृत्वमा अमेरिकी नाकाबन्दी खेपिरहेको क्युबामा वार्षिक ३० लाख भन्दा धेरै पर्यटकहरू भित्रिने गरेका छन्, जसले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ । पर्यटन मन्त्रालय सम्हाल्नुअघि क्रुज क्युबाली सेनाका कर्णेल हुनुहुन्थ्यो ।

विगतमा लामो समयदेखि क्युबाको तर्फबाट विभिन्न द्वीपक्षीय तथा बहुपक्षीय वार्ता टोलीहरूमा समावेश गरिँदै आउनुभएका ५६ बर्षीय प्रधानमन्त्री मर्रेरो क्रुज कुटनीतिक वार्ताहरूमा कुशल र तर्कशील व्यक्तित्व मात्र नभई एक इमान्दार, विनम्र र पार्टी तथा क्रान्तिप्रति प्रतिबद्ध नेता मानिनुहुन्छ ।

उहाँ क्युवामा ४३ वर्षपछि प्रधानमन्त्रीको पदमा पुग्ने नेता हुनुहुन्छ । सन् १९५९ मा क्युबाली क्रान्ति सफल भएपछि सन् १९७६ सम्म क. फिडेल क्यास्ट्रो रूजले प्रधानमन्त्री पदमा रहेर कार्यकारी अधिकारसहित क्युबाली जनता र क्रान्तिको नेतृत्व गर्नुभएको थियो । पछि राज्य परिषदको राष्ट्रपतिको रूपमा उहाँले कार्यकारी भूमिका निर्बाह गर्नुभयो भने प्रधानमन्त्री पद आवश्यक नपर्ने निष्कर्षसहित खारेज गरियो ।

क्युबामा मिगेल डियाज–केनेल राष्ट्र प्रमुख हुनुहुन्छ भने क‍. राहुल क्यास्ट्रो सत्तारुढ कम्युनिस्ट पार्टीका प्रथम सचिव (महासचिव) हुनुहुन्छ । कम्युनिस्ट पार्टीको नेतृत्वले जनता, क्रान्तिको नेतृत्व गर्ने भएकोले सरकार सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पार्टीले गर्ने गरेको छ, जसको कारण साम्राज्यवादी अमेरिकाको नाकैमुनि रहेर विगत ५० वर्षदेखि अमानवीय नाकाबन्दी खेप्नुको बाबजुद पनि क्युबाली क्रान्तिको झण्डा फहराइरहेको छ । नयाँ संविधानले कम्युनिस्ट पार्टीलाई क्युबाको एक मात्र राजनीतिक दलको स्वीकृति दिँदै पार्टीले  उसले सम्पूर्ण सरकारी नीतिलाई निर्देशित गर्ने व्यवस्था गरेको छ ।

संसदका केही झलकहरूः

Cuban National Assembly of People's Power
जनसत्ताको राष्ट्रिय सभा (संसद) को बैठक, जसले म्यानुएल मर्रेरोलाई प्रधानमन्त्री चयन गर्‍यो ।
Rahul Castro, Manuel Marrero Cruz
क. राहुल क्यास्ट्रो, संसदमा खुस॥ व्यक्त गर्दै
Miguel Diaz-Canel, Manuel Marrero Cruz
राष्ट्रपति मिगेल डियाज-केनेल, नवनिर्वाचित प्रधानमन्त्री म्यानुएल मोर्रेरोसँग अंकमाल गर्दै
Manuel Marrero cruz, PM of Cuba
संसदमा नवनिर्वाचित प्रधानमन्त्री म्यानुएल मर्रेरो
Manuel Morrero Cruz
प्रम म्यानुएल मोर्रेरो क्रुज संसदमा सबैलाई अभिवादन गर्दै