Pushpa Lal, PL Shrestha, Prithvi NArayan, Prithbi Narayan shah, founder, CPN
 

यो इतिहासले सत्य साबित गरिसकेको तथ्य हो कि विश्वमा १७ वटा देशहरु मात्र अस्तित्वमा रहेको बेलामा पनि नेपाल भन्ने देश उपस्थित रहेको थियो । यसले एउटै कुरा प्रष्ट हुन्छ कि नेपालको इतिहास धेरै पुरानो मानव सभ्यता भएको इतिहास हो । यसको साँस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक एवं नृवंशीय विविधताले पनि यस तथ्यलाई उजागर गर्दछ ।

नेपालको इतिहासको खोजी र पुनर्निर्माणको काम र क्रम जारी छ, सकिएको छैन । सत्यको आधारमा तथ्य पत्ता लगाउने र नेपाल विगतदेखि वर्तमानसम्म के कसरी फैलिँदै र खुम्चिँदै अस्तित्वमान रह्यो भन्ने कुराको अनुसन्धान, अन्वेषण भइसक्यो र निष्कर्ष अब निस्किसक्यो । अनि यसको सम्पूर्णरुपले अन्तिम टुंगो लागिसक्यो भन्ने कुरा छैन । यो अनुसन्धान र खोजको क्रम अद्यापि जारी छ । नयाँ नयाँ तथ्य र पुरानै तथ्यका आधारमा पनि इतिहासप्रतिको नवीन सोच र दृष्टिकोणले समेत यसको अध्ययन र खोजीको माग गर्दछ र त्यो जारी रहन्छ र रहनु पर्दछ । तर मुख्य कुरा इतिहासमा जनताको भूमिका, उनीहरुको आजीविका र अस्तित्व निर्माणको निमित्त उनीहरुले निरन्तर के कसरी संघर्ष गर्दै आए भन्ने कुराको आधारमा इतिहासको पुनर्निर्माण गरिनुपर्ने आवश्यकता त झन अझै पूरा भएको छैन नै । किनभने जनता नै इतिहासका वास्तविक निर्माता हुन् भन्ने विकसित विश्व मान्य तथ्यका आधारमा आज इतिहासलाई हेर्नु पर्दछ । अनि मात्र यसको यथार्थ वास्तविकताको पनि बोध हुन्छ भन्ने मान्यता आज स्थापित भइसकेको छ । त्यसैले यो केही राजा महाराजा, युद्ध सरदार वा सेनापतिहरु बिचको लँडाई झगडा, साहस र समृद्धि, उत्थान र पतनको कुरा मात्र नरहेर जनताको गास, बास, कपास, सभ्यता, संस्कृति, कला कौशल, सीप, ज्ञानको कुरा बन्न गएको छ । मानव सभ्यता र विकासको कुरा नै मानिसले आफ्नो शतत अस्तित्व र विकासको लागि निरन्तर गर्दै आएको संघर्षको अर्थमा बुझ्नु बुझाउनु पर्ने र इतिहासको निर्क्यौल गर्नुपर्ने इतिहासको आजको अत्याधुनिक मान्यता हो ।

Lok Narayan Subedi
लेखक

नेपालको जनइतिहासको निर्माणमा सार्थकरुपले कलम चलाउन आरम्भ गरेर नेपालको इतिहासलाई नयाँ मोड दिने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली जनसंघर्षका वैज्ञानिक खोजकर्ता तथा संयुक्त जनआन्दोलनका प्रतिपादक, नेपालको सामन्तवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनका आधुनिक र अग्रणी अथक योद्धा तथा नेता कमरेड पुष्पलालले यसै पृष्ठभूमिमा पृथ्वीनारायण शाहको बारेमा पनि मार्क्सवादी दृष्टिकोणका आधारमा कलम चलाएका छन् र नेपालको इतिहासलाई र्हेर्ने नयाँ दृष्टिकोणको सुत्रपात गरेका छन् । अहिले पृथ्वीनारायण शाहको समर्थन र विरोध भइरहेको सन्दर्भमा कमरेड पुष्पलालको यस सम्बन्धी दृष्टिकोण र विचार के कस्तो रहेको थियो र त्यसबाट हामीले के कस्तो शिक्षा लिएर अघि बढ्नु पर्दछ भन्ने कुरालाई समेत ध्यानमा राखेर उनको विचार यहाँ प्रस्तुत गरिएको छ ।

निश्चय पनि कमरेड पुष्पलाल “जसले देशको वास्तविक इतिहास बुझ्दैन उसले नेपालको परिवर्तन र विकासको दिशालाई ठम्याउन र सही दिशा एवं गति दिन सक्तैन” भन्ने कुरामा अखण्ड विश्वास गर्दथे । त्यसै आधारमा नेपालको इतिहासलाई पनि बुझ्नु, केलाउनु र निष्कर्ष निकाल्नु पर्दछ भन्ने सही दृष्टिकोणका उनी प्रणेता र प्रयोक्ता थिए । इतिहास सम्बन्धी किताबका ठेली र ग्रन्थहरु, शिलापत्र र ताम्रपत्रहरु लेखिँदैमा ती सर्बांङ्ग सही भइहाल्छन् भन्ने उनको मान्यता थिएन । तर इतिहासलाई सही किसिमले बुझ्न र केलाउन, ती ऐतिहासिक सामाग्रीभित्रका कुराहरु यथार्थसँग मेल खान्छन् कि खादैनन् भन्ने कुराका आधारमा यथार्थसँग साक्षात्कार हुन सकियो भने मात्र त्यस आधारमा यसको दिशानिर्देश गर्न सकिन्छ र देशको समग्र विकासको दिशामा अर्थात यथार्थतः इतिहासको वास्तविक निर्माण जनता हुन् र हुन्छन् भन्ने सही दिशामा अघिबढ्न सकिन्छ र भन्ने उनको प्रष्ट र वैज्ञानिक दृष्टिकोण थियो ।

त्यसै कारणले कमरेड पुष्पलालले समाज विकासका घटनाक्रमहरुको विश्लेषण र मुल्यांकन गर्दा कम्युनिस्टहरुले वैज्ञनिक, वस्तुगत र तर्कपूर्ण आधारमा गर्नुपर्दछ भन्ने प्रष्ट मार्क्सवादी मान्यता राख्दथे । समाज विकासका विभिन्न चरण उपचरणहरुमा मार्क्सवादलाई बुझ्न र त्यसको रचनात्मकरुपमा प्रयोग गर्न कुशल पुष्पलाल नेपाल कसरी बन्यो भन्ने सन्दर्भमा “नेपाली जनआन्दोलनः एक समीक्षा” नामक कृतिमा भन्दछन्, ‘‘हाम्रो इतिहासले हामीलाई बताउँदछ कि हाम्रो समाज आदिम साम्यवादी समाजवाट सुरु भई आज अर्धसामन्ती समाजको स्थितिबाट गुज्रिरहेको छ । हाम्रो समाजमा जुन परिवर्तन सुरुदेखि हुँदै आइरहेको छ, त्यसको मुख्य कारण कुनै अलौकिक महापुरुष, ऋषिमुनी, राजा महाराजा, सेनापति अथवा कुनै नेता नभई हाम्रो देशको सामाजिक विषमताबाट उत्पन्न भएका विभिन्न वर्गहरुको संघर्ष नै हो । जनताको यसै संघर्षलाई हामीले नियालेर र्हेर्नुपर्छ । यसको निमित्त नेपालको इतिहासको पुनः ब्याख्या अर्थात् पुनः खोज हुनु आवश्यक छ । अहिले हाम्रो विषय सो नभई विशेषरुपले आधुनिक जनआन्दोलनको समीक्षा भएको हुँदा त्यसै परिधिभित्र बसी यो समीक्षा गरिने छ ।’’

त्यस आधुनिक जनआन्दोलनको समीक्षा गर्ने क्रममा उनले त्यस कृतिमा अगाडि लेखेका छन्, ‘‘नेपाली समाजको इतिहासले सन् १७६९ मा एक मोड लिएको छ । त्यो मोड हो – विभिन्न इलाकीय सामन्ती राज्यहरुको समाप्ति र एक केन्द्रीय सामन्ती शासनको युगको सुरुवात । यसभन्दा पहिला नेपाल चार राज्य समूहमा विभाजित थियो । पहिलो, काठमाण्डौ उपत्यकाका तीन राज्य समूह, जो प्राचीनकालदेखि नेपालको नामले प्रसिद्ध भएर आए, दोश्रो मध्यपश्चिम नेपाल अर्थात् गण्डकी प्रदेशमा पाल्पा तथा लमजुङ अन्तरगत चौबीसे राज्यको समूह, तेश्रो पश्चिम नेपाल अर्थात् कर्णाली प्रदेशमा हुम्ला, जुम्ला राज्य अन्तरगत बाइसे राज्य समूह र चौथो, पूर्ब नेपाल अर्थात् कोशी प्रदेशमा मोरङ राज्यको अधीनमा एघार किरात कबिला गणतन्त्रीय राज्य समूह ।’’

उनी अगाडि लेख्छन्, ‘‘हाम्रो देशमा सामन्तवादको बाहुल्य दुई हजारबर्षभन्दा पहिलेदेखि चल्दै आइरहेको छ । समाज विकासको क्रममा आदिम गणतन्त्रीय कबिला समाजको ह्रासमा नेपालका विभिन्न इलाकामा सामन्ती समाजको आपसी संघर्षको दौरानमा कर्णाली, गण्डकी, बाग्मती तथा कोशी प्रदेशमा विभिन्न सामन्ती राज्य–समूहहरुको विकास हुन गयो । तर यो सामन्ती राज्य समूहहरुको उदय पनि एकै दिनमा भएन । नेपालमा मातृसत्तात्मक समाजको अस्त र पितृसत्तात्मक समाजको उदयपछि काठमाण्डौ उपत्यकामा टोले तथा ग्रामीण राजा र पश्चिममा भूरे टाकुरे पितृसत्तात्मक इलाकीय सामाजिक इकाईहरु मासिएर तिनको ठाउँ बाइसे, चौबिसे सामन्ती राज्य समूहले लिए । पूर्व लिम्बुआनतिर सामन्ती राज्यको अन्तर्गत एकत्रित भएका एघार राज्य–समूहहरुले सामन्ती स्वरुपको साटो कबिला गणतन्त्रीय समाजको गुणलाई बढी मात्रामा कायम गरेका थिए ।यहाँ हामीलाई यो प्रष्ट हुन पर्दछ कि काठमाण्डौ उपत्यकाका तीन र पश्चिमका बाइसे, चौबिसे राज्य समूहहरुको उदयभन्दा पहिलेका भूरे, टाकुरे तथा टोले र ग्रामीण राज्यहरु भन्ने जो आज देशको जन जीब्रोमा छन्, तिनीहरु वास्तवमा सामन्ती राज्य नभई पितृसत्तात्मक इलाकीय इकाई मात्र हुन् । यी इकाईहरु पछि गई सामन्ती राज्य समूहमा परिणत भए ।’’

यसरी नेपाली समाजको विकासक्रमबारे स्पष्ट पार्दै क. पुष्पलाल थप लेखेका छन्, ‘‘मानदेव प्रथमको पालाबाट एक केन्द्रीय सत्ता कायम गर्ने प्रक्रिया सकृयरुपमा चालु भएको हो । त्यसको पराकाष्ठा गोर्खाका सामन्ती सरदार पृथ्वीनारायण शाहको नेतृत्वमा सन् १७४३ मा नुवाकोटको हमलाबाट सुरु भई सन् १७६९ मा काठमाण्डौ उपत्यकाको विजयपछि अन्य राज्यहरुको साँध मासी आजको साँध कायम गर्न अर्को ४५ वर्ष लाग्यो । आजको साँध पूर्वमा मेची, पश्चिममा महाकाली, उत्तरमा रसुवा र दक्षिणमा रक्सौल हुन आएको छ । आजको यो साँध कायम गर्नका निमित्त नेपालमा सबै गरी ७१ वर्षको संघर्ष भएको छ । यस संघर्षलाई हामीले विभिन्न राजा रजौटा अथवा सामन्ती सरदारहरुको बिचको संघर्षकोरुपमा मात्र लिनु, जसरी आजसम्मका इतिहासकारहरुले पेश गर्दैछन्, गलत हुनेछ । यसको निमित्त हामीले त्यस बखतको वास्तविक सामाजिक स्थितिको खोजी गर्नुपर्छ । अनि हामीले वास्तविकरुपमा समाज विकासमा जनताद्वारा खेलिएको भूमिका पत्ता लगाउन सक्तछौं । जनआन्दोलनको वास्तविक इतिहास त्यही हो ।’’

यस मान्यताका आधारमा त्यसबेलाको सामाजिक स्थितिको बारेमा संक्षेपमा प्रष्ट पार्दै उनले त्यस कृतिमा लेखेका छन् ः ’’चार राज्य समूहममध्ये सबभन्दा पहिले काठमाण्डौ उपत्यकामा ब्यक्तिगत सम्पत्तिको उत्पत्ति हुन गयो । बन्द ब्यापारको केन्द्र त्यही भयो । सामन्ती राजतन्त्रको बिकास पनि त्यही भयो । यसको असर पछि क्रमशः पश्चिम नेपालमा पनि फैलिन थाल्यो । तेह्रौं शताब्दीसम्ममा पश्चिममा पनि कबिला समाजको ह्रास भई राजतन्त्रको विकास भयो । अठारौ शताब्दीतिर आई त्यस इलाकामा पनि जमिनमा व्यक्तिगत सम्पत्ति देखिनको साथै चीन र भारतसँग बन्दव्यापार गरी लाभान्वित हुने एक वर्ग देखिन थाल्यो । पूर्वी नेपालमा किराँती कबिला समाजमा व्यापारका केन्द्रहरु देखिए तापनि जमिनमा व्यक्तिगत सम्पत्ति उत्तिसारो देखापर्न आएको थिएन । अठारौँ शताब्दीको पूर्वार्द्धकालसम्ममा अर्थात् पृथ्वीनारायण शाहको नुवाकोट हमलाको समयसम्ममा नेपालका चार राज्य समूहमा एकातिर विभिन्न इलाकीय राजतन्त्र, भाइभारदार तथा सरदारसहित देखा पर्दछन् भने अर्कोतिर साहु महाजन मध्यम वर्गीय जनता । यस्तो सामाजिक स्थितिमा नेपालमा इलाकीयरुपमा सामन्ती राजा रजौटा तथा सरदारहरुका राज्यको बिचको आपसी प्रतिस्पर्धाका निमित्त हुने संघर्षले गर्दा उद्योग, बन्दव्यापार, खेतीपाती आदिलाई नोक्सान पुगेको हुनाले त्यस बखतको इलाकीय सामन्ती राज्यको व्यवस्थाबाट नेपालका विभिन्न इलाकीय राज्यमा विभक्त भइबसेका भूमिपति, उद्योगपति, बन्दव्यापारी, विभिन्न तहका किसान तथा मध्यमवर्गीय जनता असन्तुष्ट थिए । उनीहरुले उक्त व्यवस्थाको विरुद्ध विभिन्न किसिमबाट आलोचना गरी आन्दोलनको सुत्रपात गरे । उनीहरु चाहन्थे विभिन्न इलाकीय सामन्ती राज्यको सट्टा एक केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना होस्, जसले देशमा शान्ति सुव्यवस्था कायम गर्न सकोस् र उद्योग व्यापार खेतीपाती फलोस् फुलोस् ।’’

यसरी विकसित हुँदै गएको परिस्थितिको उल्लेख गर्दै क. पुष्पलालले अगाडि लेखेका छन्, ‘‘पृथ्वीनारायण शाहलाई जसैजसै एकपछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो, उसैउसै उनलाई उक्त वर्गहरुको सहयोग र समर्थन प्राप्त हुँदै गयो । ७१ वर्षको लामो संघर्ष मुख्यरुपले दुई विरोधी शक्ति (१) इलाकीय सामन्ती व्यवस्थामा आफ्नो स्वार्थको रक्षा देख्ने इलाकीय राज्य र तिनका समर्थक र (२) इलाकीय साँध मासी केन्द्रीय सामन्ती राज्यसत्ता कायम हुँदा लाभान्वित हुने विभिन्न वर्ग तथा जन समुदाय बिचको संघर्ष थियो । यस्ता संघर्षहरु अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा ‘वार अफ रोजेज’ । त्यस युद्धमा जसरी हेनरीलाई त्यस समयका सबै प्रगतिशील वर्गले समर्थन गरे, त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका सबै प्रगतिशील तत्त्वहरुले समर्थन गरे । यसको अतिरिक्त अर्को एउटा अन्तर्राष्ट्रिय कारण पनि छ, जसले नेपालको एकीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यसताका अंग्रेजी साम्राज्यवादले नेपाल–चीन व्यापारमा आँखा गाढेको थियो । भारतवर्षमा आफ्नो कब्जा जमाउनका साथै अंग्रेजी साम्राज्यवाद नेपाललाई पनि अधीन गर्न चाहन्थ्यो । नेपाली उद्योगपति र बन्दव्यापारीहरुको स्वार्थमा यसरी ठूलो आँच उत्पन्न भएपछि एक केन्द्रीय राज्यसत्ताको निर्माण उनीहरुको निम्ति अति आवश्यक भएको थियो, जसबाट नेपालको बन्दव्यापारको स्वार्थ रक्षा हुन सकोस् । नेपालमा यसरी एकहत्तर वर्षको लामो संघर्षको दौरानमा इलाकीय सामन्ती राज्यको साँध मासिई एक केन्द्रीय राज्यसत्ता स्थापना भएपछि विभिन्न सामन्ती सरदारहरुले आफ्नो निहित स्वार्थका निम्ति एक इलाकाका शोषित जनतालाई अर्को इलाकाका शोषित जनताका विरुद्ध उक्साई युद्ध गर्ने स्थिति समाप्त भयो । यसले गर्दा नेपालको राष्ट्रिय बजार बढ्न थाल्यो । पृथ्वीनारायण शाहले यसै अनुरुपको औद्योगिक र बन्दव्यापारको नीति पनि अपनाए । उनको नीति थियो – ‘प्रजा मोटा भया दर्बार बलियो हुन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन्’ । यसको मतलब जनताको शोषण गरेर नै शाही परिवार र सामन्ती भाइभारदार मोटाउन सक्दछन् भन्ने हुन्छ ।’’

यसरी पृथ्वीनारायण शाहको अरु इतिहासकारले भन्दा भिन्न पुष्पलालले सामाजिक, वस्तुगत, वैज्ञानिक तथ्य र तर्कका आधारमा सही तुलनात्मकरुपमा वस्तुपरक र यथार्थ मुल्यांकन गरेका छन् । पुष्पलाल कुनै पनि वस्तु, घटना र सामाजिक स्थितिको अराजक निषेधका विरुद्ध वैज्ञानिक निषेधको पक्षमा खडा देखिन्छन् । वर्ग सापेक्ष आधारमा समाजका कुन कुन वर्ग देखापरे र तिनका बिच कसरी संर्घष चल्दै आयो भन्ने आधारमा नै उनले पृथ्वीनारायण शाहको पनि मुल्यांकन गरेका छन् ।आफूलाई मन पर्ने वा नपर्ने पूर्वाग्रही आधारमा होइन । साच्चै हामीले इतिहासलाई यसरी नै मूल्यांकन गर्न सक्यौँ र सिक्यौ भने मात्रै वर्तमान र भावी इतिहासलाई पनि सही दिशा र गति दिन सक्नेछौँ, अन्यथा गलत दिशामा बहकिने छौँ । यो यथार्थ हो ।