राजनीतिक-वैचारिक अध्ययनमा रूची राख्ने पाठकहरूका लागि नेपाली पुस्तक बजारमा एउटा नयाँ खुराक आएको छ ः जनताको जनवादका आधारहरू ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बिचमा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि एकीकृत पार्टीको राजनीतिक कार्यक्रमको रूपमा जनताको जनवादलाई अनुशरण गरिएको छ ।
जनताको जनवादलाई एकीकृत पार्टीले साझा राजनीतिक कार्यक्रमको रूपमा स्विकार गरेको भएपनि यसको समग्र कार्यक्रम र कार्यान्वयन पक्षलाई अझै व्यापक चलफल गरेर समृद्ध गराउनु जरूरी छ । यसै सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीको स्थापना (२००६ साल) देखि हालसम्मको विचारको विकासलाई समग्र रूपमा प्रस्तुत गर्नु आवश्यक छ ।
यसै सन्दर्भमा नेकपाका दुई होनाहार व्यक्तित्वहरूले ‘जनताको जनवादका आधारहरू’ मार्फत् सो प्रक्रियालाई सहजीकरण गर्ने प्रयत्न गरेका छन् । दर्शन सम्बन्धी थुप्रै पुस्तकहरूको लेखन र सम्पादन मार्फत तत्कालीन नेकपा (एमाले) र दर्शनको क्षेत्रमा ‘गोपी गुरू’को नामले सुपरिचित एक पुराना, इमान्दार र अनुभवी कम्युनिस्ट नेता क. गोपीरमण उपाध्याय र तत्कालीन नेकपा (माओवादी केन्द्र) को घेरामा ‘समर’ नामले चिनिएका युवा नेता मनहरि तिमिल्सिना मिलेर प्रस्तुत पुस्तकको सम्पादन गर्नुभएको छ ।
भर्खरै काठमाडौँको पुस्तक बजारमा वितरण गरिएको पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिस्ट पार्टीको एकीकृत रहुञ्जेलको अवस्थाका दस्तावेजहरू समावेश गरिएको छ, जसमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र, २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरेपछि नेकपाले राष्ट्रका नाममा गरेको अपिल र क. पुष्पलालको लेख ‘मूलबाटो’का मूल अंश समावेश छन् ।
प्रस्तुत पुस्तकको दोस्रो खण्डमा तत्कालीन नेकपा (एमाले) का ऐतिहासिक दस्तावेजका मूल अंश समावेश गरिएका छन् । दोस्रो खण्डमा मुख्यतः जननेता मदन भण्डारीद्वारा प्रस्तुत एवं पारित ‘जनताको बहुदलीय जनवाद’सम्बन्धी दस्तावेजका मूल अंश समावेश छन् । पुस्तकमा २०४९ सालमा पारित जनताको बहुदलीय जनवादलाई प्रारम्भमा पार्टीको राजनीतिक कार्यक्रमका रुपमा स्वीकार गरिएको र तत्कालीन एमालेको छैठौँ महाधिवेशनले त्यसलाई राजनीतिक कार्यदिशाका रुपमा ग्रहण गरेको कुरालाई मुख्यरुपमा प्रस्तुत गरिएको छ । यस खण्डमा जनताको बहुदलीय जनवादबारे तत्कालीन नेकपा (एमाले) ले सातौँ, आठौँ र नवौँ महाधिवेशनमा गरेको संश्लेषण र समीक्षालाई पनि प्रस्तुत गरिएको छ । पुस्तकको उक्त खण्डले तत्कालीन नेकपा (एमाले) को विचारधारात्मक विकासको शृङ्खला बुझ्न सजिलो हुनेछ ।
पुस्तकको तेस्रो खण्डमा तत्कालीन माओवादीका ऐतिहासिक दस्तावेजका मूल अंशहरू समावेश गरिएको छ । पुस्तकमा माओवादबारे, नेपाली क्रान्तिका मित्र शक्ति, शत्रु र निशानाबारे माओवादीको निर्णय, माओवादीद्वारा प्रस्तुत ४० सूत्रीय मागपत्र, दोस्रो राष्ट्रिय सम्मेलनको प्रचण्डपथसम्बन्धी निर्णय, एक्काइसौँ शताब्दीमा जनवादको विकाससम्बन्धी दस्तावेज लगायतका सामग्री समावेश गरिएका छन् । चुनवाङ बैठकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निर्णय, विस्तृत शान्ति सम्झौता, कामीडाँडा बैठकको पाँच कार्यनीतिसम्बन्धी निर्णय, खरिपाटी भेलाको नेपालमा एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने निर्णय, सातौँ महाधिवेशनको समाजवादी क्रान्तिको रणनीतिमा जाने निर्णय तेस्रो खण्डमै राखिएको छ । पुस्तकको तेस्रो खण्डले तत्कालीन माओवादीको विचारधारात्मक विकास र जनताको जनवादसम्म आइपुग्ने सैद्धान्तिक आधार प्रस्तुत गरेको छ ।
चौथो खण्डमा एमाले र माओवादी बिच चुनावी गठबन्धनदेखि पार्टी एकता र त्यसपछि भएका मूलभूत निर्णयहरू समावेश गरिएका छन् । यसै खण्डमा नेकपाको राजनीतिक प्रतिवेदनको सारसंक्षेप पनि समावेश गरिएको छ र त्यसले नेकपाले पछिल्लो समय लिएका वैचारिक, राजनीतिक एवं सङ्गठनात्मक निर्णयलाई बुझ्न मद्दत मिल्नेछ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न सबैका लागि प्रस्तुत पुस्तक संग्रहणीय दस्तावेजको रूपमा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सबै नेता, कार्यकर्ता र शुभचिन्तकको दराजमा यो किताब हुनु अनिवार्य नै छ भने यो किताब नै नपढी विरोधीहरूले पनि कसरी विरोध गर्लान् र ? देशभरका पुस्तकालयहरूले पनि देशको सत्तारूढ पार्टीको विचारधारात्मक आधारहरू समाविष्ट पुस्तक छुटाए ती पूर्ण हुनै सक्दैनन् । यो पुस्तकलाई राजनीतिशास्त्र र समाजशास्त्रको स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश गरिनु आवश्यक देखिन्छ ।
इण्डिगो इङ्कले प्रकाशन गरेको पुस्तकमा ३१०+४ पृष्ठ छन् भने यसको मूल्य ४४९/- राखिएको छ । विषयवस्तु चयन गर्न र त्यसलाई सिलसिलेवाररूपमा प्रस्तुत गर्न सम्पादकद्वयले अहोरात्र खटेर गरेको मेहनत प्रष्टै देखिन्छ, जसका लागि उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ । मार्क्सवादी पुस्तकहरू प्रकाशनको खतरा कमैले मोल्ने आजको परिस्थितिमा राजनीतिक दस्तावेज नै छाप्ने जिम्मा लिएकोमा प्रकाशक इण्डिगो इङ्क र विष्णुकुमार पौडेललाई साधुवाद छ ।