‘बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ’ भनेजस्तै ‘तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन’ भन्ने केही तिकडमबाज पत्करहरु छन् ।
‘भात मन पर्छ, किसान मन पर्दैन’, ‘झरी मन पर्छ, बादल मन पर्दैन’ भने जस्तो ती समाजका विभेद र असमानता बुझ्दैनन् । यही खाल्डोमा बसेको छ । पूर्वाग्रह पालेको छ । विभेद असमानता विरुद्ध कोही बोल्दैनन् । खालि उही ‘माओवादीले यसो गर्यो, उसो गर्यो’, भनेको छ, ‘कहाँबाट छिर्के हान्न पाइन्छ’, भनेको छ, बसेको छ।
अग्नि सापकोटा को हुन् ? जनताले बुझेको छ । एक पटक होइन, दुई पटक होइन, तीन/तीन पटक लगातार जनताले आफ्नो मत दिएर संसदमा पठाएर जनताले चिनाएको छ ।
अब हिजो मान्छे मरेको कुरा गर्ने हो भने हाम्रा पनि दाइहरू मरेका छन्, भाइहरू मरेका छन्, काका-भतिजहरू, फुपु-पुसाजुहरू मरेका छन् । धेरै जना मरेका छन्, बेपत्ता भएका छन् । कसले दिन्छ अब हामीलाई उनीहरुको सग्लो शरीर ? ल देऊ त कसरी दिन सक्छौ ?
स्कुलको हेडमास्टरलाई झुट्ठा मुद्दा लगाएर बन्दुक बोक्न बाध्य किन पारेको ? यसको जवाफ छ ? परिवर्तनकारी आन्दोलनमा अग्नि सापकोटालाई पनि तीन वटा गोली लागेकै हो । किन लाग्यो गोली ? कसरी लाग्यो गोली ? त्यो खोज्ने त ?
होइन भने लौ न त, बृहत शान्ति सम्झौता भङ्ग गरौँ । १२ बुँदे सहमति पनि भङ्ग गरौँ । गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक सबै परिवर्तनका एजेण्डा फर्काऊँ । सेना समायोजन भङ्ग गरौँ । एक अर्काको चिहान खोजौँ, बदला खोजौँ, हाड-खप्पर के-के पाइन्छन्, सबै खोजौँ । के यो संभव छ ? हैन भने हिजोको मुद्दा उठाएर आज किन ल्याङ ल्याङ ?
जनताको प्यारो जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन।
(लेखक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका नेता हुनुहुन्छ ।)