krishna das shrestha, krishna daas
 

मार्क्सवादी सिद्धान्तको एउटा आधारभूत मान्यता के छ भने भौतिक उत्पादनले सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । समाजका विभिन्न पक्षहरुमा अर्थतन्त्र, राजनीति, कानुन, दर्शन, शिक्षा आदिनमा सबभन्दा आधारभूत र निर्णायक तत्व आर्थिक तत्त्व रहन्छ । यो मार्क्स-एंगेल्स द्वारा प्रतिपादित ऐतिहासिक भौतिकवादको एक अत्यधिक महत्त्वपूर्ण प्रस्थापना हो । समाज–विकाससम्बन्धी मार्क्सवादी सिद्धान्तमा समाजको आर्थिक ढाँचाको निकै महत्त्वपूर्ण स्थान रहेको छ ।

उपरोक्त प्रस्थापनालाई मार्क्सले निम्न रुपमा प्रस्तुत गर्नुभयोः “अध्ययनबाट म कुन निष्कर्षमा पुगेको छु भने कानुनी सम्बन्धहरु र साथै राज्यका रुपहरुलाई तिनी आफैबाट बुझ्न सकिँदैन र तिनको ब्याख्या मानवीय मनको तथाकथित सामान्य प्रगतिबाट गर्न सकिँदैन, बरु तिनका जराहरु जीवनको भौतिक अवस्थामा रहेका छन् । … मानिसहरुले जुन सामाजिक उत्पादन गर्छन्, त्यसमा उनीहरुका माझ निश्चित सम्बन्धहरु कायम हुन्छन् । ……. उक्त उत्पादन सम्बन्धहरु भौतिक उत्पादक शक्तिहरुको निश्चित चरणको अनुरुप रहन्छन् । उक्त उत्पादन सम्बन्धहरुको कुल योग नै समाजको आर्थिक संरचना हो । यो संरचना नै त्यस्तो वास्तविक आधारहो, जसमाथि कानुनी तथा राजनीतिक अधिरचनाहरु उभिएका हुन्छन् र जसको अनुरुप सामाजिक चेतनाका निश्चित रुपहरु रहन्छन् । भौतिक जीवनको उत्पादन तरिकाले जीवनको सामाजिक, राजनैतिक तथा बौद्धिक प्रक्रियाको सामान्य चरित्रलाई निर्धारित गर्दछ । मानिसहरुको चेतनाले उनीहरुको सत्तालाई निर्धारित गर्दैन, बरु त्यसको उल्टो, उनीहरुको सामाजिक सत्ताले उनीहरुको चेतनालाई निर्धारित गर्छ ।”

सामाजिक विकास सम्बन्धी मार्क्सवादी सिद्धान्तको एउटा आधारभूत प्रस्थापना के हो भने समाजको आर्थिक संरचना नै त्यसका विचार तथा सिद्धान्तहरु, राजनीतिक, कानुनी तथा सांस्कृतिक संस्थानहरु, तयसका विचारधारात्मक सम्बन्धहरुको पूरै अधिरचनाको आधार हो । त्यसैले राजनैतिक अर्थशास्त्र, अर्थात आर्थिक उत्पादन–प्रणालीको अध्ययनले मार्क्स र एंगेल्सको सम्पूर्ण सैद्धान्तिक क्रियाकलापमा निकै महत्त्वपूर्ण स्थान ओगटेको छ र सो विषय मार्क्सवादको एक अभिन्न, प्रमुख अंग रहेको छ ।

Freidrick Engels, with Karl Marx's family
कार्ल मार्क्सकाे परिवारसँग फ्रेडरिक एङ्गेल्स

ऐतिहासिक–भौतिकवादी धारणा अनुसार, आर्थिक उत्पादन प्रणाली प्राथमिक र निर्णायक भएको कारणले गर्दा, त्यसको विकासका नियमहरुको विश्लेषण गरेर मात्र समाजको ऐतिहासिक विकास र त्यसको प्रवृतिको पछिल्तिर रहेका वास्तविक प्रेरक शक्तिहरुलाई खुलस्त पार्न सकिनेछ । त्यसैले माक्र्सवादका संस्थापकहरुले राजनैतिक राजनैतिक अर्थशास्त्रको अध्ययनमा अत्यधिक ध्यान तथा जोड दिनु स्वभाविक थियो ।

यसरी भौतिक मूल्यहरुको उत्पादनको तरिका प्रत्येक समाजको मूल आधार हो । मानिसहरु कुन तरिकाले जीवन बिताउँछन् भन्ने कुराको निर्धारण उनीहरुको कुन ढंगबाट आफ्नो जीविकोपार्जन गर्छन् भन्ने कुरोबाट हुन्छ । अर्थात अर्को शब्दमा, कुनै खास समयमा समाजको विद्यमान उत्पादन तरिकाले सो समाजका मानिसहरुको जीवन पद्धतिलाई निर्धारित गर्दछ । समाजमा उत्पादित धनको वितरण कुन ढंगबाट हुन्छ र समाजको वर्गीय संरचना कस्तो खालको हुन्छ भन्ने कुरो समाजमा भौतिक मूल्यहरुको उत्पादन र उपजहरुको विनिमय कुन ढंगबाट हुन्छ भन्ने कुरोमा निर्भर गर्दछ । पहिले अर्थतन्त्रमा, अर्थात उत्पादन र विनिमयको तरिकामा परिवर्तन हुन्छ, अनि सोही अनुरुप मानिसका धारणा तथा विचारहरुमा परिवर्तन हुन्छ ।

मार्क्सको समाधिमा एंगेल्सले मार्क्सका सबभन्दा महत्त्वपूर्ण देनहरुको जुन चर्चा गर्नुभयो, त्यसले पनि आर्थिक सिद्धान्तको महत्त्वलाई खुलस्त पारेको छ । सो चर्चामा उहाँले के भन्नुभयो भने मार्क्सले दुई वटा महान आविष्कारहरु गर्नुभएको छ र ती हुन्ः इतिहास सम्बन्धी भौतिकवादी धारणा र अतिरिक्त मूल्यको सिद्धान्त (जुन मार्क्सको आर्थिक सिद्धान्तको आधारशीला हो) । उपरोक्त दुई वटा आविष्कारपछि नै समाजवाद विज्ञानमा परिणत भएको कुरोलाई उहाँले औँल्याउनु भयो । त्यसबाट मार्क्सवादी आर्थिक सिद्धान्तको महत्त्व स्पष्ट रहेको छ ।

मार्क्स र एंगेल्सले १८४३ र १८४६ को बिचमा इतिहास सम्बन्धी भौतिकवादी धारणाको प्रतिपादन गर्नुभयो । राजनैतिक अधिरचना आर्थिक व्यवस्थामाथि आधारित रहन्छ भन्ने त्यसको एउटा प्रमुख प्रस्थापनाबाट कुन निष्कर्ष निस्कियो भने पुँजीवादी समाजको मूल आधार पुँजीवादी उत्पादन प्रणाली हो । उक्त तथ्यले विद्यमान आर्थिक व्यवस्था, पुँजीवादी समाजको गतिको आर्थिक नियमको अध्ययन गर्नुपर्ने गहन कार्यभार मार्क्स र एंगेल्ससामु प्रस्तुत गर्‍यो । उपरोक्त धारणाको प्रतिपादनबाट आफूले निकालेका निष्कर्षहरुलाई ठोस तर्क र तथ्यहरुद्वारा पुष्टि गर्नुपर्ने खाँचोको उहाँहरुले अनुभव गर्नुभयो ।

त्यस्तो खाँचोको सम्बन्धमा १८४४ मा एंगेल्सले लेख्नुभएको थियोः “हामीलाई चाहिएको कुरो मात्र निष्कर्षहरु होइनन्, बरु अध्ययन हो । जुन तर्कबाट निष्कर्षमा पुगिएको छ, सो तर्क नभएमा निष्कर्ष बेकम्मा हुनेछ । यो कुरोलाई हेगेलदेखिन् हामीले बुझेका छौँ । यदि निष्कर्षहरु आफैमा अन्तिम छन् भने, यदि तिनलाई अन्य निष्कर्षहरु (deductions) निकाल्नका लागि आधारमा परिणत गरिएन भने त्यस्ता निष्कर्षहरु बेकम्माभन्दा पनि खराब छन् ।”

आफ्ना निष्कर्षहरुलाई ठोस तथ्यहरुबाट पुष्टि गर्न सकिने कुरोमा आफ्नो पक्का विश्वासलाई उहाँले अर्को ठाँउमा यसरी व्यक्त गर्नुभयोः “जुन निश्चितताका साथ हामी विद्यमान (given) गणितीय सिद्धान्तहरुबाट एउटा नयाँ गणितीय प्रस्थापनाको विकास गर्न सक्छौँ, त्यस्तै निश्चितताका साथ हामी विद्यमान आर्थिक सम्बन्धहरु र राजनैतिक अर्थशास्त्रका सिद्धान्तहरुबाट सामाजिक क्रान्ति कुनै पनि बेला हुनसक्ने कुरोलाई साबित गर्न सक्छौँ ।”

यसरी सामाजिक क्रान्तिको अनिवार्यता र अवश्यंभाविता सम्बन्धी निष्कर्षहरुलाई पुष्टि गर्नका लागि, विद्यमान पुँजीवादी समाज कुन आधारमा र कुन नियम अनुसार सञ्चालित हुँदैछ र त्यसको कुन ढंगबाट विकास हुँदैछ भन्ने कुरो थाहा पाउनु आवश्यक थियो । त्यो नै प्रमुख आवश्यकता थियो, जसले पुँजीवादी समाजको आर्थिक आधार र गतिको अक्ययन तथा अनुसन्धान गर्नतर्फ मार्क्स र एंगेल्सको ध्यान र शक्तिलाई आकृष्ट गर्‍यो ।

(प्रस्तुत आलेख मार्क्सवादी चिन्तक क. कृष्णदास श्रेष्ठको ‘अतिरिक्त मूल्यको सिद्धान्त’ पुस्तकबाट साभार गरिएको हो ।)