सन २०२० को सुरुवात निको देखिएन । अष्ट्रेलियाको आगो, भारत सरकारको सामाजिक असमानता, विश्वविद्यालयहरू माथिको हमला, नेपालमा किसानहरूका समस्या, नेपाली जनताका मौलिक अधिकार हननका कानुन पास गराउने षडयन्त्र र इरानी सैन्य जनरल कासिम सुलेमानीको बगदादमा हत्या केही उदाहरणहरू हुन् ।
इरानी सैन्य जनरल कासिम सुलेमानी जनवरी ३, २०२० मा ड्रोन हमलामा बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समय अनुसार राति ११ बजे मारिए । सुलेमानी इराकी प्रधानमन्त्री अदेल अब्दुल मेहदीको औपचारिक निमन्त्रणामा बग्दाद पुगेका थिए । सुलेमानीलाई अमेरिकीहरूले सिरियामा मार्न खोजेका थिए तर उनी सिरियाबाट छोटो यात्रामा लेबनन गए र दमसकसबाट बगदाद उडेका थिए ।
यो हमलामा कासिम सुलेमानी र इरानी सेना हास ए–साबीका डेपुटी कमाण्डर अबु मेहदी अल–मुहानदिस जसलाई इराकी लडाकुहरूको साथ थियो दुई वटा कारमा ७ जना ड्रोन हमलामा मारिएका थिए । जनरल कासिम सुलेमानी इरानी विशेष सैन्य दस्ता कुर्द्स फोर्सका कमाण्डर थिए । यो फोर्स इरान–इराक युद्धको बेला विशेष एकाइको रूपमा स्थापना गरिएको थियो । यसले खाडी क्षेत्रका विभिन्न देशका मिलिसियाहरूलाई पनि नियन्त्रण गर्थ्यो ।
जनबरी ४ मा अमेरिकी बेनामी एक उच्च अधिकारीले सुलेमानी २० वर्षदेखि आतंकवादी कार्यका मुख्य योजनाकार रहेको र उनकै निर्देशनमा इराकमा ६०८ अमेरिकी मारिएको विज्ञप्तिको सूचना प्रवाह गरेका थिए । विज्ञप्तिमा अमेरिकीहरूको जीवन रक्षाका लागि सुलेमानीको हत्या गरिएको बताइको छ ।
सुलेमानीको मृत्युलाई तावाबाट उछिटिएर भुँग्रोमा परेको (आउट अफ द फ्राइङ प्यान इन्टु द फायर) भनिएको छ । यसका पुष्टिका लागि अमेरिकी सरकार बेथलहेम सिद्धान्तको हवाला दिइरहेको छ । डेनियल बेथलहेम जो पहिला इजरायलका प्रधानमन्त्री नेतन्याहुका कानुनी सल्लाहकार थिए पछि टोनी ब्लेयरका पनि प्रमुख कानुन सल्लाहकार बने उनैको नामबाट बेथलहेम डक्ट्रिन बन्यो जसअनुसार आशंकामा सुरक्षाका लागि विरोधीलाई मार्न पाइन्छ भनिन्छ ।
यसको प्रतिवाद गर्दै अमेरिकी कम्युनिस्ट पार्टी आरसिपिका नेता बब अभाकिएनले अमेरिकी ज्यान अरु ज्यानभन्दा ठूलो होइन भनेका छन् । बेथलहेम सिद्धान्त न्यायोचिन नभएर जंगली कानुन मानिन्छ । आशंकाको आधारमा कसैलाई मार्नु न्यायोचित मानिदैन । सुलेमानीको हत्याको विरोधमा अमेरिकाका ३८ राज्यका ७० सहरहरूमा युद्ध विरोधी प्रदर्शन भएका छन् । इरानमा त लाखौं इरानी जनता सुलेमानीलाई श्रद्धाञ्जलि दिन सडकमा ओर्लिएका छन् । तेस्रो विश्व युद्धको आशंका देखिएकाले विश्वका जनता युद्धको विरोधमा आवाज उठाइरहेका छन् ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)