राजनीतिक अर्थशास्त्र एक महत्त्वपूर्ण समाज विज्ञान हो, जसको अध्ययन मानव समाजमा हुने वस्तु उत्पादन र वितरणसँग सम्बन्धित हुन्छ । यसले मानिसहरु बिचको सम्बन्ध र समाजमा विद्यमान वर्गहरु बिचको सम्बन्धको अध्ययन, विश्लेषण र सोका आधआरमा संश्लेषण गर्दछ । ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, मूल्यको श्रम सिद्धान्त (अतिरिक्त मूल्यको सिद्धान्त)को आधारमा गरिने यस्तो अध्ययन, विश्लेषण, संश्लेषण र प्रस्तुति नै मार्क्सवादी अर्थशास्त्रको सार हो ।
नेपालमा राजनीतिक अर्थशास्त्रलाई मार्क्सवादी दृष्टिबाट हेर्ने, अध्ययन-अनुसन्धान गर्दै विश्लेषण र संश्लेषण गर्ने काम पर्याप्तरूपले हुन सकेको छैन । अर्थशास्त्रीय लेखनको मूलप्रवाहमा स्वदेशी र विदेशी लेखकहरूका पुस्तकहरू सार्ने र गाता फेरी विभिन्न नाम दिएर बजारमा ठेल्ने काम मात्रै हुने गरेको छ भने मार्क्सवादी अर्थशास्त्रीय दृष्टिकोणलाई पुस्तकाकार दिएर प्रस्तुत गर्ने काम पनि विरलै हुने गरेको छ । तर पछिल्लो केही समयदेखि यस्ता प्रयत्नहरुको सुरुवात भने हुन थालेको छ ।
यही प्रयत्नको निरन्तरतामा लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सरिक हुँदै आउनुभएका वामपन्थी नेता, विश्लेषक तथा मार्क्सवादी अर्थशास्त्री क. सीताराम तामाङद्वारा लिखित ‘नेपालको अर्थराजनीतिः विकल्प–पुनरुत्पादन सिद्धान्त र प्रक्रिया’ नामक एउटा नयाँ पुस्तक पाठकहरुका सामु उपलब्ध भएको छ ।
मार्क्सवादी अर्थशास्त्रको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका अध्येता क. सीताराम तामाङको पुस्तकले मार्क्सवादी अर्थशास्त्रको विकास, नेपाली समाजमा विद्यमान उत्पादन प्रक्रिया, वर्गहरुको स्थिति तथा नेपाली समाजको वर्ग विश्लेषण एवम् चरित्र निर्धारण, संघीयताको सिद्धान्त, मुलुकमा रहेका विभिन्न जाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको स्थिति लगायतका विषयहरुलाई समेटेको छ । प्रस्तुत पुस्तक मार्फत उहाँले उपरोक्त विषयहरुलाई मार्क्सवादी दृष्टि अपनाउने भरपूर कोशिस गर्दै आफूलाई लागेका विषयहरुलाई स्पष्टसँग राख्नु भएको छ ।
आकर्षक साजसज्जामा व्यवस्थित पुस्तक ८ खण्डमा विभक्त छ । पहिलो खण्डमा सिद्धान्तको क्षेत्रलाई समेट्ने कोशिस गरिएको छ । मार्क्सवादी अर्थशास्त्रको विकासको लेनिनवादी र माओवादी चरणका साथै नेपालमा सशस्त्र जनविद्रोहको अर्थराजनीति र मार्क्सवाद र वैज्ञानिक–प्राविधिक क्रान्तिजस्ता महत्त्वपूर्ण विषयहरुलाई समेटिएको छ ।
दोस्रो खण्डमा लेखक तामाङले ‘वर्तमान नेपाली समाजको वर्ग–विश्लेषण र नेपाली अर्थतन्त्रको चरित्र निर्धारण’ शीर्षक दिएर नेपाली समाजको विश्लेषण सम्बन्धमा आफ्ना धारणाहरुलाई जबरदस्त रुपमा प्रस्तुत गर्नुभएको छ । सामाजिक क्रान्तिको कार्यदिशा र मार्ग निर्धारण गर्नका लागि समाजको चरित्र निर्धारण र वर्ग-विश्लेषण अत्यन्तै महत्त्वपूर्ण हुन्छ । लेखकले सोही अनुसार यस खण्डलाई व्याख्या गर्ने प्रयत्न गर्नुभएको छ ।
त्यसरी नै खण्ड ३ मा ‘संघीयता र आन्दोलन’ शीर्षकमा नेपालको सन्दर्भमा संघीयताको अवधारणाको बारेमा छलफल चलाउने प्रयत्न गर्नुभएको छ भने स्वयं आदिवासी–जनजाति समुदायको पृष्ठभूमि बोकेका लेखकले आदिवासी-जनजाति र दलित समुदायको बारेमा आफ्ना धारणाहरुलाई मार्क्सवादी आलोकमा प्रस्तुत गर्ने जमर्को गर्नुभएको छ । खण्ड ४ मा क्षेत्रीय विकाससँग सम्बन्धी लेखहरुलाई समेटिएको छ ।
खण्ड ५ लाई ‘साम्राज्यवाद’ शीर्षक दिएर दुई वटा लेखहरु समेटिएको छ । ‘आजको साम्राज्यवाद र नेपाल’ शीर्षक लेखमा वर्तमान सन्दर्भमा साम्राज्यवादको चरित्रलाई विश्लेषणात्मक रुपले केलाउने प्रयत्न भएको छ भने अर्को लेखमा महाकाली नदी र सीमा विवाद लगायतका विषयलाई प्रधानता दिएर तिनलाई अर्थराजनीतिको दृष्टिबाट केलाउने प्रयत्न गरिएको छ ।
खण्ड ६ लाई देशको दुई तिहाई जनसंख्या ओगट्ने किसानहरु र राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्ने कृषि क्षेत्रलाई समेटिएको छ । त्यसरी नै खण्ड ७ लाई उद्योग र व्यापार क्षेत्रमा समर्पित गरिएको छ । लेखकले यी दुई खण्डमा राष्ट्रिय उत्पादनको क्षेत्र र त्यसको वितरणको स्थितिलाई मार्क्सवादी अर्थराजनीतिक दृष्टिबाट प्रस्तुत गर्न अथक मेहनत गर्नु भएको देखिन्छ । आठौँ खण्डमा विविध विषयहरुलाई समेटिएको छ ।
नेपालको सामाजिक क्रान्तिको कार्यदिशाको आधारमा नेपालका कम्युनिस्ट पार्टीहरु दुई धारमा विभक्त देखिएका छन् । एउटा, नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेको र नेपालमा जनवादी क्रान्ति मूलतः सपन्न भएको (यहाँ मूलतः शव्द अति नै महत्त्वपूर्ण छ) निष्कर्षसहित अबको नेपाली क्रान्तिको कार्यभार समाजवादी क्रान्तिको कार्यभारको रुपमा प्रस्तुत गर्ने धार र अर्को नेपाली समाज अझै पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक र/वा नवऔपनिवेशिक चरणमा रहेको र नेपालमा जनवादी क्रान्ति सम्पन्न नभएको निष्कर्षसहित जनवादी क्रान्तिको कार्यदिशा बोक्ने धार ।
प्रस्तुत पुस्तकले मूलतः पूर्वउल्लेखित दोस्रो धार बोकेका वामपन्थी दलहरुको दृष्टिकोणलाई अर्थराजनीतिक रुपमा प्रस्तुत गरेको छ । प्रस्तुत पुस्तकको अध्ययनबाट त्यस्ता राजनीतिक दलहरु (नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, नेकपा (ऋषि कट्टेल नेतृत्वको) आदि) को सैद्धान्तिक वैचारिक धरातल बुझ्न मद्दत गर्नेछ । त्यति मात्रै नभएर ती विश्लेषण र निष्कर्षहरु नेपाली समाजको स्थितिसंगत भए–नभएको तुलनात्मक अध्ययन गर्न चाहने पाठकहरु र पूर्वउल्लेखित पहिलो धार बोकेका राजनीतिक दलका समर्थकहरुका लागि पनि प्रस्तुत पुस्तक उत्तिकै महत्त्वपूर्ण छ । पुस्तकलाई नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव क. मोहन वैद्य ‘किरण’को भूमिकाले थप ओजिलो बनाएको छ ।
समष्टिमा भन्नुपर्दा पुस्तक पठनीय र संग्रहणीय छ । विषयवस्तुको गहिराईमा पुगेर वैचारिक चक्षुले भ्याएसम्म नेपाली समाजलाई नियाल्न कोशिस गरिएको यो पुस्तकलाई विश्वविद्यालयस्तरमा अर्थशास्त्रको सन्दर्भ ग्रन्थको रुपमा सिफारिस गर्नु उचित हुन्छ ।
गुडविल प्रकाशनद्वारा प्रकाशित तथा वितरित यस पुस्तकलाई ३६६+८+४ पृष्ठमा व्यवस्थित गरिएको छ । पुस्तकको बजार मूल्य रु ३६०/– मात्रै राखिएको छ, जुन आजको पुस्तक बजारको स्थिति र विषयको प्रस्तुतिका हिसाबले न्यायोचित देखिन्छ । मार्क्सवादी अर्थशास्त्रको विकासमा भर्खरै सुरुवाति पाइलाहरु चालिएको वर्तमान सन्दर्भमा अथक मेहनत गरेर पुस्तक बजारसम्म ल्याई पुराउने लेखक र प्रकाशकलाई साधुवाद छ ।