२१ औँ शताब्दीमा म एउटा सानो किसानको छोरा हुँ । नेपालमै जन्मिएको । तर मलाई नियतिले भन्नुस् या कर्मले । मैले युद्वको पनि नेतृत्व गर्ने अवसर पाएँ । नेपालमा ठूलो राजनीतिमा परिवर्तन ल्याउने । जनताको हितमा जनताको पक्षमा भनेर लड्ने पनि जिम्मेवारी मलाई आयो । म त्यो कर्ममा करिब-करिब कृष्णले अर्जुनलाई उत्प्रेरित गरे जस्तो । मैले पनि एउटा दर्शनबाट उत्प्रेरित भएर अर्जुनलाई लडाईंमा धकेले जस्तो कर्मले लडाईंतिर लग्यो । र, एउटा भिन्न परिवेशमा फेरी शान्ति प्रक्रियामा फेरि नेतृत्व गर्ने अवसर मिल्यो ।
शान्ति सम्झौतामा हस्ताक्षर गर्ने सातपार्टीको तर्फबाट दिवंगत गिरिजाप्रसाद कोइराला र विद्रोहीको तर्फबाट मैले हस्ताक्षर गर्ने अवसर प्राप्त भयो । लुम्बिनीमा एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा जाँदा मैले के स्मरण गरे भने कि बुद्धको दर्शनलाई-शिक्षाहरुलाई सबैभन्दा राम्रोसँग स्थापित र प्रचार कसले गर्यो भन्दाखेरी अशोक सम्राटले । लुम्बिनीमा अशोकको स्तम्भ छ – सम्राट अशोक ।
अशोकले लुम्बिनीमा आएर बुद्ध जन्मेको ठाउँ यहीँ हो । धेरैले त्यहीँबाट बुद्धको शिक्षा पाए भनेर अशोकले ‘अशोक स्तम्भ’ ठड्याएपछि हामीलाई इतिहासको अध्ययन गर्न, बुद्धको बारेमा जानकारी प्राप्त गर्न, शान्तिको महत्त्व बारे बुझ्न र अहिसांबारे बुझ्न मद्दत गर्यो । आखिर अशोक को थिए भन्दाखेरि त्यत्रो ठूलो सेनाका कमाण्डर थिए । र, एउटा साम्राज्य खडा गर्ने विद्रोही थिए । उनले पनि निकै ठूलो लडाईंको नेतृत्व गरे ।
धेरै लडाईं जित्दै अगाडि बढेकाले अन्तिम लडाईंको रुपतिर जाँदा उनले हजारौं मान्छेको शवहरु देखे । सबै आफ्नै नातागोता दाजुभाइ दिदीबहिनी थिए । त्यस्तो बेहाल अवस्था देखेपछि अशोकलाई यो बाटोबाट अगाडि बढ्नु मानव हितमा छैन भन्ने पर्यो । त्यस्तो निष्कर्षसहित फेरि बुद्धको बाटो पक्रेर शान्तिको बाटो पक्रेर उनै शान्तिको अग्रदूत भए । अहिले अशोकलाई मान्छेले एउटा ठूलो कमाण्डरको रुपमा सम्झिँदैनन् । बरु बुद्धको अग्रदूतको रुपमा सम्झिन्छन् ।
कहिलेकाहीँ मलाई लाग्छ – एउटा मामुली गरिब किसानको छोरालाई युद्धको पनि नेतृत्व गर्ने, शान्तिको पनि नेतृत्व गर्ने र समृद्विको पनि नेतृत्व गर्ने अवसर जुर्यो । मलाई २६०० वर्ष अगाडिको त्यो इतिहासको अलि-अलि झल्को सपनामा बेला बेला आइराख्छ ।
(पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डकाे सम्बाेधनकाे सम्पादित अंश यहाँ प्रकाशन गरेका छाैं – सम्पादक ।)