काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष तथा संगठग विभाग प्रमुख क. गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो । नेकपाका प्रवक्ता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टी उपाध्यक्ष क. गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने सिटमा सिफारिसका लागि मन्त्री परिषद्लाई अनुरोध गर्ने नेकपा सचिवालय बैठकले निर्णय गरेको बताउनुभयो ।
बैठकले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न अघिल्लो बैठकले बनाएको कार्यदल भंग गरेको छ । यसभन्दाअघि बसेको सचिवालय बैठकमा संविधान संशोधनका लागि कार्यदल गठन गर्ने विषयमा सहमति जुटेपनि संविधान संशोधन कार्यदलको अहिले औचित्य नभएको भन्दै त्यसलाई अघि नबढाउने निर्णय भएको प्रवक्ता क. प्रकाशले बताउनुभयो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका क. वामदेव गौतम कम्युनिस्ट विरोधी देशी-विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र पार्टी एकता नचाहने पार्टीभित्रैका अवान्छित तत्त्वहरूको अन्तरघातका कारण २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाको क्षेत्र नम्बर १ बाट पराजित हुनुभएको थियो । यसअघि उपाध्यक्ष क. गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने हो भने पहिले राष्ट्रियसभा सदस्य पनि प्रतिनिधिसभा सदस्य जस्तै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राख्नुभएको थियो ।