काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने उद्घोष गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको र बिहिवारदेखि काठमाडौँको यलम्बर पार्टी प्यालेसमा सुरु भएको नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. प्रचण्डले सो कुरा बताउनुभएको हो ।
विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर नेपालमा एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने विचारका प्रणेता तथा नेपाली कम्युनिस्ट आन्दोलनका आशा र भरोसाका केन्द्रको रूपमा रहनुभएका अध्यक्ष प्रचण्डले कार्यकर्तालाई प्रशिक्षित गर्ने क्रममा भन्नुभयो, “पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ, आगामी दशकौँसम्म कम्युनिस्ट पार्टीले नेपालको नेतृत्व लिन्छ, पार्टीभित्र विवाद हुन्छ, बहस पनि हुन्छ, यो विषय सामान्य हो ।”
प्रशिक्षणमा सदाझैँ आफ्ना राजनीतिक र वैचारिकरूपमा गहन भनाइ राख्नुहुँदै अध्यक्ष प्रचण्डले कार्यकर्ताहरूलाई सञ्चार माध्यममा आएका समाचारहरूबाट निराश नहुन आग्रह समेत गर्नुभयो । उहाँले “मिडियामा आएको समाचारको पछि नलाग्नु होला, हामी यसको समाधान निकाल्छौँ” भन्दै कार्यकर्ताहरूलाई आश्वस्त पार्नुभयो ।
विगत ३० बर्षदेखि पार्टी प्रमुखको रूपमा अविछिन्न नेतृत्व सम्हाल्दै आउनुभएका र ठूला-ठूला दुई लाइन संघर्षहरूमा भाग लिँदै तिनको कुशल व्यवस्थापन गर्न सफल हुनुभएका अध्यक्ष प्रचण्डले पार्टी निर्माणमा धेरै जनताको रगत र पसिना बगेको र त्यसलाई त्यत्तिकै खेर जान नदिने संकल्प जाहेर गर्नुभयो । “हामीले धेरै ठूलो दुःख र मूल्य चुकाएर कम्युनिस्ट पार्टीलाई यहाँसम्म ल्याएका छौँ, यसमा धेरैको रगत र पसिना छ, अनि करोडौँ जनताको आशा छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।
पार्टीभित्र भर्खरै देखिएको बहसबारे प्रष्ट पार्दै उहाँले दुई अध्यक्ष बिच विवाद र बहस भइरहने र समाधान पनि निस्किरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामी दुई कमरेड बिचमा निकै विवाद पनि हुन्छ तर समाधान पनि आउँछ । अहिले तपाईंहरुले सुनेको विवाद सामान्य हो । यसमा हामी छिट्टै समाधान निकाल्छौँ ।”
उहाँले पार्टी निर्माण र विघटनको दार्शनिक आधारबारे प्रकाश पार्दै साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने, फुट्ने र बन्ने प्रक्रिया चलिरहने पनि बताउनुभयो । सरल भाषामा पार्टीभित्रको अन्तरविरोधको सार्वभौम नियमबारे कार्यकर्तालाई प्रशिक्षित गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “धेरैलाई लाग्नसक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो । नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो । हामीलाई पनि त्यस्तै लाग्छ । हामी एकताबद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त हुन्छ, समाजवाद आउँछ र त्यसपछि पार्टी नै चाहिँदैन ।”
अध्यक्ष प्रचण्डले पार्टीभित्र फैलँदै गरेको भ्रष्टाचार, सत्ताउन्माद र अहंकारप्रति आलोचनात्मक संकेत गर्दै, “कम्युनिस्ट पार्टीलाई कमजोर पार्न दुश्मनले सकेनन् तर सत्तामा गएपछि आफै भ्रष्टाचारमा लिप्त हुने, अहंकार हुने, आत्मकेन्द्रित हुने हुँदा एउटा गोली पनि खर्च नगरी सकिए । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ र पार्टीले पनि लिइरहेको छ।”
शहीद सप्ताहको दोस्रो दिन फागुन १५ गते आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दश वर्षे महान जनयुद्धका सुप्रिम कमाण्डर क. प्रचण्डले बाह्र बुँदे सम्झौतासँगै तत्कालीन माओवादी र एमाले बिच पार्टी एकताको बहस चलेको र निकै लामो प्रयत्नपछि एकताको प्रयास सफल भएको खुलासा गर्नुभयो ।
उहाँले बाह्र बुँदे सम्झौतापछि पार्टी एकताका लागि मात्रै ७ पटकसम्म वार्ता भएको स्मरण गर्दै “पार्टी एकता यतिकै भएको होइन्, तपाईंहरुलाई लाग्ला, यी दुई अध्यक्ष मिलेर पार्टी एकता भएको हो, तर होइन, यो प्रक्रिया बाह्र बुँदे सम्झौतासँगै सुरु भएको हो, बाह्र बुँदे सम्झौता लगत्तै एकताको लागि ७ पटकसम्म त वार्ता नै भएको छ,” भन्नुभयो ।
अध्यक्ष प्रचण्डले दुवै पार्टीभित्रको अहमताले गर्दा उक्त समय पार्टी एकता नभएको र संविधानसभा निर्वाचनको बेला सँगै निर्वाचन लडौँ भनेर तत्कालीन एमालेसँग ५०/५० को प्रस्ताव राखेको समेत स्मरण गर्नुभयो ।
संविधान सभाका प्रस्तावक तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री क. प्रचण्डले भन्नुभयो, “संविधान सभाको पहिलो निर्वाचनमै मैले माधव कमरेडसँग ५०/५० गरौँ भन्ने निकै प्रस्ताव गरेँ । साथीहरुलाई हाम्रो जनाधार छैन भन्ने लाग्यो । मैले ५० प्रतिशतमा कुरा नमिल्दा ४५ प्रतिशतको पनि कुरा गरेको थिएँ । त्यो पनि नमिलेपछि हामी एक्ला-एक्लै लडेका हौँ । तर निर्वाचनमा हामीले अनपेक्षित परिणाम ल्यायौँ । मलाई पनि विश्वास लागेको थिएन ।”
अध्यक्ष प्रचण्डले संविधान सभाको निर्वाचनमा अनपेक्षित परिणाम आउँदा तत्कालीन माओवादीभित्र निकै उन्माद भएको र त्यसबाट नै पार्टीलाई ठूलो क्षति भएको स्मरण गर्दै नेकपाका सबै नेता तथा कार्यकर्तालाई दुई तिहाईको दम्भ र सत्ताको उन्माद नदेखाउन संकेत गर्नुभयो ।