Gauri Pradhan, Sumnima Tuladhar
 

चार दिन भैसकेछ । उनी विदेशबाट फर्केको । यसपालि आफ्नो कामको सिलसिलामा उनी लण्डन, भियना र डव्लिन हुँदै झण्डै तीन हप्तापछि स्वदेश फर्केकी हुन् । उनी फर्कने बेलासम्म युरोपका विभिन्न देशमा कोरोना भाइरसको आतंक फैलिसकेको थियो । इटालीमा त मान्छेहरु बिरामी भएर मर्न थालेको समाचार आइसकेको थियो । लण्डनमा पनि सार्वजनिक यातायात, होटेल, रेस्टँरा, पब र बारहरु, सिनेमा र नाचघरहरु प्राय बन्द भैसकेका थिए । त्यसैले, कार्यक्रम छोट्टयाएर उनी देश फर्केकी हुन् ।

देश फर्कन अगाडि नै उनले भाइवरमा मलाई फोन गरेर भनेकी थिइन्, “अब म १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्छु । मेरो कोठा सफा गरी राख्नू । तिमीहरु छुट्टै सुत्ने व्यवस्था गर्नू । आफूलाई चाहिने सामानहरु कोठाबाट हटाएर आफूसँगै राख्नू । मसँग प्रत्यक्ष सम्पर्कमा नआउनू है।”

आजभोलि, एकातिर छोराको बिएलई (BLE) चलिरहेको छ । अर्काेतिर उनी थाकेर फर्केकी छन्, लामो यात्राबाट । नभेटेको त्यत्रो दिन भैसकेको थियो । फेरि १४ दिनको सेल्फ आइसोलेसन । उफ ! त्यसमाथि ८० वर्ष नाघेकी आमाको निरन्तर गहिरो चिन्ता ।

दिनकै भेट त हुन्छ । कुरा पनि हुन्छ। एउटै घरमा छौँ । तर न सँगै बसेर कुरा गर्न पाउनु । न छुन पाउनु । न माया गर्न पाउनु । न सँगै बसेर खाना खान पाउनु । उनी माथि कोठामा, हामी तल्लो कोठामा । देखादेख हुन्छ । टाढा बसेर कुरा पनि हुन्छ। सुत्ने बेलामा दुःखसुखका कुरा, मायापिरतीका कुरा भाइवरमै गर्छौं । अनि राति “गुड नाइट“ भनी छुट्टाछुट्टै कोठामा सुत्छौँ । अनौठो नै भएको छ हालको जीवन, कथा जस्तो ।

छोरा अझै सानै छ । १३ वर्ष लागेको छ। उनको आमासँगै लुट्पुटिने बानी अझै गएको छैन । तर ऊ पनि आमाको नजिक गएको छैन । कोरोना भाइरसको बारे ऊ पनि सचेत छ । ज्ञानी भएर परीक्षाको तैयारी गर्छ । बिहान “बाई मामा“ भन्दै स्कुल जान्छ, परीक्षाका लागि । म आफ्नै काममा व्यस्त हुन्छु । बिहानै निस्कन्छु । सामान्यतया, हामीमध्ये कोही विदेशमा जाँदा वा फर्किंदाको एक क्षण हामी आमा, छोरा र म सँधैभरि सँगै एउटै अँगालोमा बाँधेर माया गर्थ्यौं । यसपालि त्यो पनि भएन । सँगै बसेर विदेश यात्राको विषयमा गफ गर्थ्यों, त्यो पनि हुन पाएको छैन । सँगै बसेर खाना खान पनि पाएको छैन ।

कतै कुनैबेला उनले खोकेको सुन्दा पनि झसङ्ग भएझैँ हुन्छ । अनि फोन गर्छु, “तिमीलाई ठिक त छ, हैन ?” लामो यात्राबाट फर्केको छ । जिउ गलेको छ भन्दा पनि कसो कसो हुन्छ । त्यसैले होला, हाम्रो माया पहिले-पहिले भन्दा पनि अझै झन् बढेको जस्तो आभास हुन्छ । उनलाई केही भएको त छैन भन्ने पीर हुन्छ ।

उनी पनि समय समयमा कोठा बाहिर निस्केर हामीलाई चियाएर हेर्छिन् । दिउँसो एक्लै घाम ताप्छिन् । स्वच्छ हावामा श्वास फेर्न झ्याल खोलेर राख्छिन् । समय समयमा तातो पानी अनि पौष्टिक खाना सेवन गर्छिन् । उनले प्रयोग गरेको कुनै कुरा हामी छुँदैनाैँ । यो सेल्फ क्वारेन्टाइन पिरिएड हो । अहिलेको अवस्थामा सेल्फ आइसोलेसनमा बस्नु उनको कर्तव्य हो । जुन उनले जिम्मेवारीपूर्वक निर्बाह गरिराखेकी छिन् । उनलाई केही हुँदैन र भएको छैन भन्ने पनि थाहा छ । तर पनि हामीले यसरी नै १४ दिन बिताउने निर्णय गरेका छौँ ।

यो सजिलो छैन । तर हामीले गर्नै पर्छ । सचेतनाको निम्ति सरकारको पनि यस्तै उर्दी छ । चिकित्सकहरुको पनि यस्तै सल्लाह छ। अलिकति दुःख त हुन्छ नै । अझै १० दिन यसरी नै बिताउन हामी बाध्य छौँ । तर लाग्छ, यस्तो बेला हामी सबैले नागरिक जिम्मेवारी निर्वाह गर्नु हाम्रो कर्तब्य नै हो । यो कुनै देशको कथा होइन । यो एक यथार्थ हो । आजभोलि हामीहरु, सुम्निमा, म र छोरा संवादको दैनिकी यसरी नै चलिरहेको छ ।

(राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त प्रधान हाल एलडीसी वाचका अन्तर्राष्ट्रिय संयोजक हुनुहुन्छ ।)