आज नयाँ कोरोना भाइरस (कोभिड-१९) का कारणले इटाली लगायतका देशमा विकराल स्थिति फैलिएको छ । इटालीमा के भएको थियो र आज यस्तो स्थिति आयो ? एक जना इटालीका नागरिकको सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त भोगाइलाई सम्पादनसहित पुनः प्रकाशित गरिएको छ । यसले परिस्थितिको गम्भीता र हाम्रो सचेतनताबारे सजग गराउनेछ । यस्तो छ उहाँले दिएको सन्देशः
इटालीमा कोरोना भाइरस कसरी फैलियो ?
सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाइरस (कोभिड-१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ । त्यो भनेको बाहिर निस्कने अति आवश्यक काम नभएसम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ । यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाइरस नआइपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्कसँग बसेका छन् । हामीलाई थाहा छ तपाईंहरू के सोचिरहनु भएको छ किनभने हामी पनि केही समयअघि त्यही अवस्थाबाट गुज्रेका थियौँ ।
एकछिन हेरौँ । हामी र हाम्रो इटाली लगभग २-३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा आइपुग्यौँ ।
पहिलो अवस्था
तपाईंहरूलाई थाहा छ, कोरोना भाइरस छ भन्ने कुरा । तपाईंले समाचारमा पढ्नु भएको छ, टिभी, इन्टरनेटमा त्योबारे समाचार हेर्नुभएको छ । पहिलो-दोस्रो गरेर केही पोजिटिभ केसहरु तपाईंको देशमा देखिएका छन् । डराउनुपर्ने केही छैन, यो अलि कडा खालको रुघा-खोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ । जवानहरुले त भाइरसलाई पचाइहाल्छन् । गर्मी लाग्दैछ, भाइरसहरु मरिहाल्छन् । म सुरक्षित छु, ढुक्क छु । सबै किन यतिधेरै आत्तिरहेका छन्, बेकारमा मान्छे तर्साउने काम गर्दैछन् । केही डर छैन ।
दोस्रो अवस्था
अब बिस्तारै पोजिटिभ केसहरु बढ्न थालेका छन् । अब स–साना क्षेत्रहरुलाई ’रेड जोन’ भनेर तोकिन थालिएको छ । सुरुमा केस देखिएका सहरहरुमा अलि बढी बिरामी देखिन थालेका छन् (फेब्रअरी २२ तिरको कुरा) । तर पनि आत्तिनुपर्ने केही छैन । त्यहीँका डाक्टर, नर्स र अस्पतालहरुले हेर्दैछन् । केही मान्छे मरेका छन् तर सबै बुढाबुढीहरु छन् । पहिलेदेखि मधुमेह (सुगर), दमजस्ता अरु रोग लागेकाहरु छन् । सञ्चार माध्यमहरूले बेकारमा सानो कुरालाई ठूलो बनाएर मान्छे तर्साउँदैछन् । म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु । मलाई यो भाइरसको डर पनि छैन । यहाँ सबै ठिकै छन् ।
तेस्रो अवस्था
अब पोजिटिभ केसहरु छिटो-छिटो बढ्दैछन्, दिनमै दोब्बर देखिन थालेका छन्, धेरै मानिसहरू मर्न थालेका छन् । ‘रेड जोन’ र ’क्वारान्टाइन क्षेत्र’ भनेर सरकारले अरु-अरु सहरहरुलाई पनि तोक्दैछ । इटालीमा मार्च ७ सम्ममा एक चौथाई देश क्वारान्टाइनमा बसिसकेको छ । ती क्षेत्रका स्कुल, कलेजहरु बन्द भएका छन् तर रेस्टुरेन्ट, बार, फिल्म हल, कार्यालयहरू अझै खुल्ला छन् । कुनै पत्रिकामा पूरै देश ‘लक डाउन’ हुने समाचार आधिकारिकरूपमा आउनुभन्दा अघि चुहिन्छः अनि करिब १० हजार मानिसहरू ती ‘रेड एरिया’ तोकिएका भाइरस फैलिएको क्षेत्रबाट भाइरस नफैलिएका क्षेत्रमा भएका आ-आफ्ना घर फर्कन्छन् । बाँकी तीन चौथाई इटालीका बासिन्दाहरुको दैनिकी खासै बद्लिएको हुँदैन । उनीहरु साबुन-पानीले हात धुन्छन्, मास्क लगाएर हिड्छन् । “भेला-समारोह नगरौँ, सकेसम्म घरमै बसौँ” भन्ने सन्देश रेडियो, टिभीमा बजिरहन्छ । तैपनि अवस्था कति सम्म बिग्रनसक्छ भनेर उनीहरुले अनुमान लाउन सकेका छैनन ।
चौथो अवस्था
पोजिटिभ केसहरु ह्वात्तै बढ्न लागेका छन् । सबै स्कुल कलेजहरु कम्तिमा १ महिनाका लागि बन्द भएका छन् । देशमा स्वास्थ्यको इमर्जेन्सी घोषणा गरिएको छ । अस्पतालहरुमा बिरामी भर्ना गर्न ठाउँ नपुगेपछि अन्य सामान्यहरुलाई हटाएर खालि गर्न लागिएको छ । नियमित शल्यक्रियाहरू र गतिविधिहरू स्थगित गरिएका छन् ।
भएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूले बिरामीको चाप धान्न सकेको छैन । रिटायर्ड भइसकेकाहरुलाई बोलाइएको छ । (चिकित्साशास्त्रको) अन्तिम वर्ष पढ्दै गरेकाहरुलाई काममा खटाइको छ । स्वयमसेवकहरु भर्ना गरिएका छन् । आफ्नो सत्र (सिफ्ट)मा काम गर्ने भन्ने नै छैन । जति काम गर्न सकिन्छ, गर्नू भनिएको छ ।
डाक्टर-नर्सहरुलाई पनि भाइरस संक्रमण देखिएको छ । उनीहरुको परिवार र बच्चाबच्चीलाई पनि देखिएको छ । भाइरस संक्रमण जटिल भएर निमोनिया भएका बिरामीहरु थुप्रिन थालेका छन् । आइसीयु चाहिने बिरामीहरुको भिड बढ्न थालेको छ, तर बिडम्बना ‘आइसियु बेड’ खाली नै छैन । अझ भर्ना गर्नलाई सामान्य बेडहरु पनि खाली छैन । भर्ना गरेपनि हेर्नलाई पर्याप्त स्वास्थ्यकर्मी छैनन् । ।
यो एउटा युद्धक्षेत्र जस्तै भएको छ । डाक्टरहरुले आउने जति सबैलाई उपचार गर्न चाहेर पनि सकिरहेका छैनन् । उपचारपछि बाँच्ने सम्भावना जसको बढी छ, उसलाई अस्पतालको सैया (बेड) र औषधी दिनुपर्ने अवस्था आएको छ । त्यसले गर्दा बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ । थोरै जनशक्ति र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ । भेन्टिलेटर चाहिने सिकिस्त विरामीलाई अक्सिजन मात्र लगाएर राख्नुपर्दा मर्नेको संख्या बढ्दो छ । यस्तो तरिकाले आँखैअघि बाँच्नसक्ने र बाँच्नपर्ने बिरामी मरेको देख्दा डाक्टर-नर्स विक्षिप्त छन् । तर गर्न सकिने केही छैन, पूरै व्यवस्था नै धरासायी हुँदैछ ।
पाँचौ अवस्था
रेड जोनबाट भागेर घर पुगेका १० हजार जना बारे अघी भनिसके । अब उनीहरुले गर्दा पूरा इटालीभरी भाईरस फैलिसकेको छ । अब पूरा देश नै क्वारेन्टाइनमा छ । सकेसम्म भाईरस फैलनबाट रोक्ने भन्ने उद्देश्यले । तर मान्छेहरु काममा जान, किनमेल गर्न, औषधी पसल जान सक्छन् किनभने व्यापार त रोकिनु भएन नि, नत्र अर्थतन्त्र धराशायी हुन्छ । अब सबै जनाले मास्क र पञ्जा लगाउने गर्न थालेका छन् । तर अझै पनि केही मान्छेहरु भेटिन्छन्, जो आफूलाई भाइरससँग डर लाग्दैन भन्ने गर्छन् । अनि साथी-भाइ जम्मा हुन्छन्, खान्छन्, पिउँछन् र रमाइलो गर्छन् ।
छैठौँ अवस्था
२ दिनपछि सूचना आउँछ । रेस्टुरेन्ट, बार, सपिङ-सेन्टर सबै खालका पसलहरु बन्द गर्नुपर्छः केही सुपर-मार्केट र औषधी पसलहरुलाई छोडेर । तपाईं घरबाहिर हिँड्नका लागि एउटा प्रमाण-पत्र (सर्टिफिकेट) बोक्नुपर्छ, जसमा ‘आफ्नो नाम, घर, कहाँबाट आएको, कहाँ जाने, किन जाने’ सबै कुरा खुलाएको हुनुपर्छ । जताततै प्रहरीको चेक पोइन्टहरु छन् । ना अत्यावश्यक काम बाहिर निस्केको भेटिएमा २०६ युरो फाइन लाग्छ । अझ तपाईं कोरोना भाइरस पोजिटिभ हुनुहुन्छ भने त हत्यारालाई लाग्ने कानुन लाग्छ र १२ वर्षसम्म जेल बस्नुपर्ने हुन्छ ।
इटालीको आज मार्च १२ गतेको अवस्था भनेको यही छैठौँ स्टेजको छ । र, यो अवस्था मात्र २ हप्तामा भएको हो । तेस्रो अवस्थाबाट अहिलेको अवस्थामा त ५ दिनमा आएको हो ।
इटाली, चीन र (दक्षोण) कोरियाबाहेक अन्य विश्व अहिले पनि पहिलो अवस्थामै छ । कुनै देश दोस्रो अवस्थामा जान लागेका छन् । तपाईंहरुलाई थाहा नै छैन, अब कस्तो दिन आउँदैछ भनेर । किनभने २ हप्ताअघि मलाई पनि थाहा थिएन, अवस्था यस्तो हुन्छ भनेर । तर अहिले त्यो नसोचेको सपना वास्तविकता बनिसकेको छ ।
अझै पनि धेरै देशहरुले “यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउँछ’ भनेर रोकथाम र उपचारका लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ । यो समस्यालाई वेवास्ता गर्दैमा, ‘समस्या छैन’ भनी आँखा छोप्दैमा, हल्का रुपमा लिँदैमा यो हराएर जानेवाला छैन ।
हाम्रो इटालीको सरकार पूरै देशलाई ’लक डाउन’ गरेर राम्रो गरेको हो । यो भाइरसलाई अरु फैलनबाट रोक्ने यही उपाय हो । चीनमा यो तरिकाले काम गरेको छ । आशा छ, हाम्रो देशमा पनि काम गर्छ । सुरुमा फैलिएका केही सहरहरुमा यसले नयाँ संक्रमण हुन नदिनका लागि काम गरेको छ । त्यस्तै व्यापार-व्यवसाय बन्द गरेर बस्नुपरेका नागरिकहरुलाई सरकारले सहयोगी नीति ल्याउनु पर्छ ।
यी कदमहरु एकदमै अफ्ठ्यारा हुन् तर यी नगरे देश र विश्वको हालत के होला भनेर सोच्न पनि सकिन्न । कति देशहरुले यो समस्यालाई “आफ्नो हैन, आफ्नो देशमा आएको छैन” भनेर समय छँदै सावधानी नअपनाएको देख्दा रीस पनि उठ्छ ।
मलाई लाग्छः यो विश्वभरी फैलिएको कोभिड-१९को प्रकोपले पूरा समाजलाई नै परिवर्तन गर्नेछ । तपाईंलाई के लाग्छ ? त्यसैले साथीहरु, तपाईंको देश र ठाउँमा यो भाइरस देखिन थालेको छ भने यसको मतलब यो फैलिरहेको छ । तपाईंहरु हामीभन्दा १-२ हप्ता पछाडि हुनुन्छ । केही समयमा हाम्रो अहिलेको अवस्थामा आइपुग्नु हुनेछ । त्यसैले कृपया, कृपया, अहिलेबाटै गर्नुपर्ने सावधानीहरु गरिहाल्नोस् । ‘मलाई यसले भेट्न सक्दैन’ भनेर भ्रममा नबसौँ । हामी इटालियनहरुलाई पनि त्यस्तै लागेको थियो । अनी सकेसम्म घरमै बसौँ, भीडभाडमा नजाऔँ । आफ्नो हात सफा राखौँ, साबुन पानीले हात धोऔँ ।