स्वास्थ्यकर्मी मित्रहरु !
छिमेकी राष्ट्र चीनको वुहानमा उत्पत्ति भएको भनिएको कोरोना भाइरसले यतिबेला विश्वव्यापी मानव समुदायमाथि हमला गरिरहेको छ र विश्व मानव समुदाय आतंकित छ । प्राणघातक कोरोना भाइरस रोगको प्रतिरोधमा विश्वमानव समुदाय नै एकजुट भई मोर्चाबद्ध लडाइँ लड्नुपरेको छ। यो लडाई निकै जोखिम र चुनौतिपूर्ण छ । विज्ञानलाई नै चुनौति दिइरहेको कोरोना भाइरसमाथि विश्व मानव समुदायले जीत हासिल त गर्ने नै छ । तर धेरै क्षति मोलेर । विश्व नै सुक्ष्म ज्यानमारा कोरोना भाइरसको कारण थिलोथिलो बनेको छ, तहसनहस भएको छ । यसबाट नेपाल अछुतो छैन । कोरोना भाइरस विरुद्ध एउटा मोर्चाको नेतृत्व नेपालले गर्दैछ, यसको नेतृत्व हो – नेपाल सरकार ।
लडाइँ जितिन्छ वा हारिन्छ भन्ने कुरा मुख्यतः योजना निर्माण, व्यवस्थापन र टीमको तयारीमा भर पर्छ । कोरोना भाइरसविरुद्धको लडाइँको समग्र कमाण्ड जनताका अभिभावक नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू र फिल्ड कमाण्ड माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू हुनुहुन्छ भने विभिन्न आर्कको कमाण्ड स्वास्थ्यकर्मीहरुले गरिरहनुभएको छ। स्वास्थ्य क्षेत्र नै एसल्ट मोर्चामा छ। मोर्चा सफल पार्न डिफेन्स/व्यवस्थापन मोर्चामा हामी पनि छौँ, सक्रिय सहभागी हुनु नागरिकको कर्तव्य पनि हो ।
हामीलाई महसुस भइसकेको छ, हेरौँ र पर्खाैँमा धेरै समय खेर गयो । छिमेकी राष्ट्र चीनसँगको हाम्रो सीमानाका सेताम्यै अग्ला हिमालहरुले कोरोना रोक्ने भ्रममा पर्यौँ । नेपालमा आउँदैन र आए पनि नेपालीहरुले पचाइहाल्छन् भन्ने कपोकल्पित घमण्ड बढ्यो। हामीलाई छिमेकी राष्ट्रहरुले सहयोग गर्छन्, कुनै हालतमा मरिन्नँ भनि परनिर्भर भयौं। यी हाम्रा सपनाहरुलाई चक्नाचुर पार्दै समुन्द्रपारी दुरदराजको देश युरोपबाट कोरोना भित्रियो। हतारहतार नेपाल सरकारले निर्णय गर्यो लकडाउन । नेपाली जनताले स्वागत गरे र समर्थन जनाए। यो राम्रो निर्णय थियो नेपालीहरुका लागि ।
महामारी कोरोना भाइरसबाट बच्न लकडाउन नै उत्तम विधि हो, क्वारेन्टाइन नै सुरक्षाका लागि सही उपाय हो । माक्स लगाउने, सेनीटाइजर, साबुनपानीले हात धुने सहायक पक्ष हुन् । आँखा, नाक, मुख नछुने, सामाजिक दुरी कायम गर्ने जनचेतनामूलक काम हुन् । परिस्थितिले लकडाउनको समयसीमा निर्धारण गर्छ। सामूहिक हितका लागि प्रधान विषयमा जोड दिने र सहायक विषयमा ध्यान दिनुपर्छ । कोरोना भाइरस (कोभिड–१९) का अगाडि आत्मसमर्पण गर्ने कि विजयी प्राप्त गर्ने भन्ने प्रश्न खडा भएको छ। नेपाल र नेपालीहरुले जित्नुको विकल्प छैन । हार त त्यतिबेला मात्र हुन्छ, जतिबेला कमाण्ड गर्ने नेतृत्वहरु थाक्छन्, ढिलासुस्ती गर्छन्, सहायक काममा अल्झिन्छन् । अल्मलिन्छन्, रक्षात्मक बन्छन् । नेपालमा यो दुखद क्षण कहिल्यै नआओस् । किनकि कोरोना भाइरसविरुद्धको एउटा सशक्त मोर्चा हो नेपाल ।
नेपाली जनताको अवस्था र नेपाल सरकारको तयारी हेर्दा कोरोना भाइरसले विकराल रुप लिने सम्भावना देखिन्छ, भाइरस सहरमा मात्रै होइन, ग्रामीण इलाकामा पुगिसकेको छ। विरामी बढ्ने अवस्था देखिन्छ। उपचारका लागि नेपालमा सरकारी अस्पताल लगायत सैनिक अस्पताल, प्राइभेट अस्पतालहरु छन्। थुप्रै क्लिनिकहरु छन्। संकटको घडीमा सबै केन्द्रित गर्नुपर्छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत २७,४१७ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् । यसलाई शक्ति विन्यास गरी तुरुन्तै संघ, प्रदेश र स्थानीय तहमा उपचार केन्द्रहरुमा खटाइसक्नुपर्थ्यो। केन्द्रमा स्पेशल टास्क फोर्स बनाउनुपर्थ्यो ताकि जुनसुकै गम्भिर परिस्थितिमा पनि उद्दार र राहत दिन सकोस् । ती कामहरु ढिलाई भएकै छन्। अब सेकेण्डभर पनि ढिलो गर्नु हुन्न ।
स्वास्थ्यकर्मीका लागि हतियार भनेको पिपिई, माक्स, चश्मा, पञ्जा, गाउन, क्याप र औषधी, सामग्री नै हुन् । युद्ध लड्ने सेनाका लागि हतियार मात्र दिएर हुन्न, साथमा पर्याप्त गोलीगट्ठा चाहिन्छ। त्यसरी नै स्वास्थ्यकर्मीलाई पर्याप्त इक्विप्मेन्ट चाहिन्छ। उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि अस्पताल र बिरामीको लागि राख्ने बेडहरु, आइसियु, भेन्टिलेटरको व्यवस्था गर्नुपर्छ । यसका लागि नेपाल सरकारले कोरोना नियन्त्रण तथा निर्मुल राज्यकोषमा अर्बाैं रकमको विनियोजन गरी सम्बन्धित अस्पतालबाट थप बजेटको व्यवस्था समेत गरी औषधी लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउनु पर्छ। स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य विमा र थप सुविधाको व्यवस्था गर्नुपर्छ। संघ, प्रदेश र स्थानीय सरकारले महामारीमा परेका जनताहरुलाई संकटको घडीमा गास, बास, कपास, शिक्षा, स्वास्थ्यमा सहयोग गर्नु जनप्रतिनिधिहरुको कर्तव्य हो ।
मिसन कोरोनाविरुद्ध केन्द्रित भए पनि दीर्घकालिन रोगबाट पीडित बिरामीहरुलाई उपचारमा राष्ट्रिय संकटको बेला राज्यले विशेष ध्यान दिनैपर्छ । राष्ट्रिय भावना र उपचारमा संयमिताको आवश्यक पर्दछ। कोरोनाले मात्र नभई बिरामी अन्य कारणवश पनि हुन सक्छन्, बिरामीहरुको पीडा एकै हुन्छ, उपचार सबैको हुनुपर्छ भन्ने भावना स्वास्थ्यकर्मीमा हुनुपर्छ । यसका लागि भर्खरैको लकडाउनको अवस्थामा सुरक्षाकर्मीबाट भाटे कार्वाहीमा परेकाहरु पनि उपचारका लागि डाक्टर खोज्दै अस्पताल पुगेका छन् । भाटे कार्वाहीले समस्या समाधान हुँदैन। लकडाउनको बेला जनताले अटेरी गर्नु पनि हुँदैन । नेपालमा सुरक्षाकर्मीहरु पनि कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा छन् । दिनरात सुरक्षामा खटिएका छ, सेफ्टी छैन, रिस्क मात्र ।
दिनरात उपचारमा खटिएका धेरै स्वास्थ्यकर्मीहरुको ज्यान गएको छ । कोरोना भाइरस रोग पत्ता लगाउने चिनिया डाक्टरको समेत बिरामीको उपचारकै क्रममा निधन भएको छ भने रोग प्रभावित देशहरुमा स्वास्थ्यकर्मीहरुको धेरैको ज्यानै गएको छ, हजारौँ संक्रमित छन्, ज्यान जोखिममा छ। तर पनि विश्वव्यापी महामारीमाथि विजयी प्राप्त गरी मानवलाई मुक्त बनाउने मोर्चामा स्वास्थ्यकर्मीहरु नै मोर्चाको एसल्टमा छन् । नेपालमा यो मोर्चाबाट कोही रक्षात्मक बन्न छुट छैन ।
कोरोना भाइरस संक्रमितहरु देखा परिसकेपछि मठमन्दिर, चर्चस्थल शून्य छ । परेवा उडाएर, घण्टा बजाएर शान्ति खोज्नेहरु कोरोनाबाट मुक्त हुन अस्पताल, डाक्टर र नर्स खोजिरहेका छन् । झुपडीदेखि महलसम्म, पैदलदेखि हवाई यात्रुसम्म, श्रमिकदेखि मालिकसम्म, धामी–झाँक्रीदेखि वैज्ञानिकसम्म, पृथ्वीदेखि चन्द्रमा र मंगल ग्रहसम्म पाइला टेक्नेहरु सबैले बाँच्नका लागि अस्पताल र स्वास्थ्यकर्मी खोजीरहेका छन् । यो महान अभिभारा स्वास्थ्यकर्मीको काँधमा छ । कोरोना भाइरसबाट नेपालीहरु बाँचौं र विश्व समुदायलाई बचाउन मद्दत गरौँ ।
( क. दलजीत श्रीपाली ‘प्रशान्त’ पूर्व युवा तथा खेलकुद मन्त्री एवम् नेकपाका नेता हुनुहुन्छ ।)