Dal jit Shripali 'Prashanta'
 

यतिबेला पृथ्वीमा मानव समुदाय र कोरोना भाइरस बिच संघर्ष चलिरहेको छ । कोरोना भाइरसको महामारीले विश्वमा हजारौँ मानिसको ज्यान लिएको छ, लाखौँ मानिस संक्रमित छन् । अझै योभन्दा बढी पीडादायक दिनहरु आउन सक्ने खतरा सहज अनुमान गर्न सकिन्छ । विश्व मानव समुदाय नै आतंकित छ, जनजीवन अस्तव्यस्त छ, मानिसहरु जीवन-मरणको संघर्ष गरिरहेका छन् ।

शक्तिशाली राष्ट्रहरु हातहतियारको निर्माण, प्रदर्शनको होडबाजीलाई स्थगन गरी कोरोना भाइरस विरुद्धको लडाइँमा केन्द्रित छन् । विश्वका मानिसहरु बाँच्न पाउने अधिकारको खोजी गर्दै भावनाको एउटै मालामा गाँसिएका छन् । राज्यको नजरमा सबै नागरिक एकै भएकाले प्राणघातक महामारी रोग कोरोना भाइरसबाट जनतालाई बचाउने जिम्मा राज्यकै हो । त्यसरी राज्यलाई संक्रमण हुनबाट बचाउने अभिभारा जनताकै हो । त्यसैले राज्य र जनताको दुश्मन कोरोना भाइरस नै हो ।

यो अदृश्य सुक्ष्म प्राणघातक रोग-कोरोना भाइरसमाथि विजय प्राप्त गर्न हाम्रो अगाडि निकै ठुलो चुनौती छ । औषधी पत्ता लगाई नसकेको र स्वास्थ्य क्षेत्र पनि कमजोर रहेको बेला हुनसक्ने संभावित मानवीय क्षतिको आंकलन गर्न गाह्रो छ । परिस्थिति निकै असहज र डरलाग्दो छ ।

यसलाई नियन्त्रणका लागि नेपाल सरकारले देशमा लकडाउन घोषणा गरेको छ । जनताले यसलाई स्वागत गरेका छन् । देशलाई संक्रमणबाट बचाउने, आफू पनि बाँच्ने र अरुलाई बचाउने तरिका ‘घरभित्रै र क्वाराइन्टाइनमा बस्ने’ हो । यसो भनिरहँदा मानिसले आफूमाथि जबर्जस्ती लादिएको प्रतिबन्ध ठान्न सक्छन् ।

नेपालमा महामारीको कारणले मात्रै प्रतिबन्ध छैन् । राजनीतिक कारणले पनि राज्यविरोधी पक्षमाथि राज्यपक्षबाट प्रतिबन्ध लगाइएको छ । विशेषत: नेकपा (विप्लव समूह) केही समययता प्रतिबन्धित छ । एउटा कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार रहेकोबेला अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु कुनै मजाकको कुरा होइन्, यो एक गम्भीर विषय हो । हामीले बुझेको कुरा ‘राजनीतिमा स्थायी शत्रु कोही पनि हुँदैन ।’ राजनीतिमा कुनै व्यक्तिलाई आफ्नो निहित स्वार्थसिद्ध गर्ने अधिकार कसैलाई छैन ।

नेपाली जनताले बाँच्नलाई आफ्ना अभिभावक खोजिरहेका छन् तर जनतालाई न त राज्य नै आफ्नो जस्तो लागेको छ, न त सरकार नै अभिभावक बनेको छ, न त नेताहरुको दर्शन नै पाइएको छ । सरकार सुस्ताएको जस्तो, विपक्ष र विद्रोही समूह अस्ताएजस्तो र नेताहरु मस्त निदाए जस्तो अवस्था छ । यति धेरै गैरजिम्मेवार बन्ने जो कोही पनि जनताको अभिभावक बन्न सक्दैन । जनता नै निर्णायक हुन् । जनताले संकटको बेला एक-एक हिसाब गरेर राखिरहने छ ।

अहिलेको समय राज्यपक्ष र विद्रोहीपक्ष दुवैले एकअर्कामा लगाएका प्रतिबन्धहरु हटाई एकजुट भई कोरोना भाइरस विरुद्ध लड्नुपर्छ । बाँकी विषय कोरोना भाइरसमाथि विजय प्राप्त गरेपछि गर्दै गरे हुन्छ । वार्ता संवादका ढोका खुलै राखे हुन्छ ।

जनतालाई यो कुरा राम्ररी थाहा छ – विद्रोह हुँदा पनि जनता नै मर्नुपर्ने, प्राकृतिक प्रकोप र महामारी रोगले पनि जनता नै मर्नुपर्ने ? वर्गसंघर्षकै रुपमा लड्नु परेको महामारी कोरोना भाइरसले नेपालीहरु सिमानामा थुनिनु परेको, भोकै जीवन त्याग्न बाध्य हुनु परेको, परिवारका सदस्यहरु कोही विदेशमा त कोही स्वदेशमै भएर पनि भेटघाट नै हुन नसक्नु, खाद्य पदार्थ, औषधी, दैनिक अत्यावश्यक सामानहरु लिन घर बाहिर निस्कँदा अस्पतालसम्मै पुग्ने गरी कुटाई खानु परेको, बिरामी परी अस्पताल पुग्दा उपचार नपाई मर्नु परेको, सामाजिक संस्कार अनुसार मर्दा-पर्दा समेत उपस्थित हुन नसक्नु जस्ता पीडादायक अवस्था छ नेपालमा । यस्तो विषम अवस्थामा न त राज्य पक्षको हतियारले काम गर्छ, न त विद्रोही पक्षका हतियारले । मिलेरै महामारीको सामाना गर्नुको विकल्प छैन । यतिबेला दुवैको प्रधान शत्रु कोरोना भाइरस नै हो ।

संकटको यस घडीमा सरकारलाई प्राप्त अन्तराष्ट्रिय सहयोग, विप्लव समूहले उठाएको चन्दा, भ्रष्टाचार गरी जम्मा गरेका रकम, कालोबजारियाहरुका रकम कोरोना भाइरस विरुद्ध स्थापना गरेको राज्यकोषमा जम्मा गरी जनतालाई उपचार गर्नुपर्छ । महामारीले नेताहरुलाई जनताका सेवक बन्ने अवसर दिएको छ । विडम्बना ! जब देश र जनता संकटमा पर्छन्‌, तब राज्यबाटै कमिसनका घिनलाग्दो कृयाकलाप हुन्छ । यस्ता भ्रष्टाचारीहरु इतिहासका कालो धब्बा हुन् ।

देशमा राष्ट्रिय संकट पैदा भएको छ । प्रतिबन्धले न त राजनीतिक समस्याको समाधान हुन्छ, न त महामारी रोग कोरोना भाइरसमाथि नै विजय प्राप्त गर्न सकिन्छ । त्यसैले कोरोना भाइरस विरुद्ध एकजुट बनौँ । देशलाई महामारीबाट बचाऊँ । आफू पनि बाचौँ र अरुलाई पनि बचाऔँ । देशलाई संकटमुक्त बनाउन सहमति गरौँ ।

(लेखक पूर्वमन्त्री, नेकपाका नेता तथा जनमुक्ति सेना नेपालका पूर्वडिभिजन भिसी हुनुहुन्छ ।)