Jibanti Aryal poudel, women peasant leader
 

तत्कालीन परिस्थितिअनुसार सबैको भलाइका लागि चुनौती लिनसक्ने व्यक्तिलाई नेता भनिन्छ ।

कुखुराको पोथीको नेतृत्व शैली मनन गरी हेरौँ त । आफ्ना चल्ला चराउन लैजाँदा जमिनमुनि भएको खानेकुरा खोस्रेर चल्लाहरुलाई खान दिन्छ । आफू टाढा बसेर हेर्छ, सबैले खान सके कि सकेनन् भनेर । बाहिरी दुश्मन चील, बाज, स्याल, बिरालो, न्याउरी मुसो आदिले आक्रमण गर्‍यो भने चल्लालाई आफ्ना पखेटाभित्र लुकाएर राख्छ । लड्नैपर्‍यो भने अन्तिमसम्म पनि सामना गर्न आफू उत्रिन्छ ।

प्रकृतिले सामान्य चरामा त यस्तो कला दिएको हुँदोरहेछ । आदरणीय जनप्रतिनिधि नेताहरु, यसलाई मनन गरौँ ।

यस्तै हामीले सुन्दै आएको एउटा आध्यात्मिक कथा पनि छ । जब राक्षस र दैत्यको बिचमा भयङ्कर युद्ध भयो । कुनै जुक्तिले समुन्द्र मन्थन गरी अमृत निकाल्ने र त्यो बाँडिचुँडी खाने योजना बने बमोजिम समुन्द्र मन्थन कार्य सम्पन्न भएछ तर अमृत निस्कनुभन्दा पहिला संसार ध्वस्त पार्ने क्षमता भएको विष निस्केछ । सबै दानव र देवता डराएर भाग्नथाल्दा भगवान शिवले त्यो विष आफूले पान गरी आफ्नो कण्ठमा राखी संसारलाई जोगाएकाले भगवान शिवलाई निलकण्ठ भगवान भनी पूजा गरिन्छ ।

भगवान शिव थिए कि थिएनन् ? दानव र देवताको बिचको लडाइँ भयो कि भएन ? यसको वास्तविकता त प्रमाणित छैन पनि होला तर कथा लेखक ब्रह्मज्ञानी रहेछन् भन्ने कुरा महशुस गराउँछ । भगवान शिवको चरित्र असल नेताको चरित्र हो । त्यसैले आज पनि उनी आराध्यदेव मानिन्छन् । हामी आफूलाई अफ्ठ्यारो पर्दा “हे भगवान तिम्रो लीला” भन्ने बानी परेको छ ।

जनताको अभिमतले तपाईंहरू अधिकारसम्पन्न हुनुहुन्छ । हामीजस्ता कार्यकर्ताहरु झोला बोकेर पार्टीको सरकार बनाउने सपना देखेर त्यसै लागेका होइनौँ । अझै पनि हामीजस्ता कार्यकर्ताहरु आफ्नो ज्यान दिन तयार छौँ । कोरोना भाइरसले आक्रान्त पारेको यो समयमा हामीलाई कसरी प्रयोग गर्नुहुन्छ ? यो तपाईंहरूको कलामा भर पर्छ ।

नेपाली जनता आफ्नो आजीविकाका लागि संसारभर जहाँजहाँ गएको भएता पनि निःशर्त आफ्नो देशको माटोमा फर्कन पाउने अधिकारबाट बञ्चित नगरिदिनुस्, प्लिज । विकास पनि जनताकै लागि हो । अहिले जनता भयङ्कर महामारीको त्रासमा मर्नु न बाँच्नु भएको बेला जनप्रतिनिधिहरुको सबैभन्दा पहिलो दायित्व जनताको गास, बास र कपासको व्यवस्था हो ।

दैनिक ज्यालादारीमा काम गर्न पनि अर्को मुलुक जानुपर्ने हामी नेपालीहरुको बाध्यता थियो । घरमा बुढा आमाबाबु र साना नानीहरु छोडेर आजीविकाको विकल्प खोज्न निस्केका नागरिकहरु अफ्ठ्यारो परिस्थितिमा उनीहरुको सहारा बन्न पनि फर्केर आउनु पर्ने वाध्यता छ ।

मेरो विनम्र अनुरोध छ, कसले कहाँ के-के अधिकारको साँचो लिनुभएको छ, अविलम्ब वाधा अड्काउ फुकाउँदै सर्वप्रथम दसगजा क्षेत्रभित्र अलपत्र परेका नेपालीलाई सीमा क्षेत्रभित्र ल्याई जस्तो सकिन्छ, त्यस्तै व्यवस्था गर्न अनुरोध गर्दछु ।

प्रतिपक्षी मित्रहरुले पनि यो विषम परिस्थितिमा अनावश्यक बखेडा निकालेर विरोध गर्नुभन्दा सरकारलाई आपतकालीन अवस्थामा सघाउनु उचित होला । जहाँजहाँ अनियमितता हुन्छ, जहाँजहाँ जनतालाई धोका दिने नियतले काम कारवाही भएगरेका हुनेछ्न्, ती ठाउँमा यो कोरोना भाइरसले ल्याएको महाविपद्‌ टरेपछि खोजबिन गरौँला ।

हामी सबैले अहिलेको परिस्थितिमा जनप्रतिनिधिहरुलाई सघाउने खालको अभिव्यक्ति दिऊँ र लकडाउनको पूर्ण पालना गरौँ । यो समय ‘बाँच्ने र बचाउने’ समय हो । चुनौती सामना गर्दा कुनै नियमहरुमा छिटोछरितो भए/गरे त्यसको पनि विश्लेषण र मूल्याङ्कन गर्ने पालो आउँछ । जनप्रतिनिधिलाई यो अफ्ठ्यारो सामना गर्न सक्ने हिम्मत जुटाउन हामी सबैको सकारात्मक अभिव्यक्ति र भावनात्मक सहयोगको जरुरी छ ।

(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिवालय सदस्य तथा महिला किसान संघका सहसंयोजक हुनुहुन्छ ।)