lessons from coronavirus and global system
 

विद्वानहरु भन्छन् – आफ्ना कमजोरी र गल्ति लुकाउन मान्छेले अरुलाई आरोप लगाउँछन् । कोरोना भाइरसले कराप्दै गर्दा मित्रराष्ट्र चीन र त्यहाँको सरकारलाई लकडाउन गर्‍यो भनेर खिल्ली उडाउँदै गरेका युरोपेलीहरुले अहिले आफ्नो गल्ति र कमजोरी स्वीकार्दै छन् ।

आफ्नै नेटो (उत्तर अमेरिकी सन्धि संगठन) गुटमा समेत एक्लो परेका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफ्नो गल्ति र कमजोरी स्वीकार गर्न इन्कार गरेका छन् । उनले कोरोनाको यो महासंकटको दोष समाजवादी चीन र त्यसको नेतृत्वलाई दिने गरेका छन् । अमेरिकी नागरिकहरु कोरोनाका कारण मर्दैगरेको अवस्थामा सामान्य स्वास्थ्य सचेतना राख्न नसक्ने ट्रम्पले तथाकथित स्वतन्त्रताको नाममा मास्क लगाउन जरुरी नरहेको सन्देश दिइरहेका छन् ।

चीनमा इपिसेण्टर बनाएर सुरु भएको कोरोना संक्रमण छिमेकी मुलुक कोरिया, पश्चिम एसिया हुँदै युरोप र आखिरीमा अमेरिका छिर्‍यो । यो महामारीले जब अमेरिकीहरुलाई लपेट्न खोज्यो, त्यहाँको सरकारको ध्यान जाग्न थाल्यो तर एउटै सरकारका अंगहरुमा पनि समन्वयको अभाव र राज्यको नेतृत्व सम्हालेका राष्ट्रपतिले आफू स्वास्थ्य अनुशासनको कथित कहर काट्न नसक्ने घमण्डलाई अरु राष्ट्रका राष्ट्राध्यक्षसँग मास्क लगाएर बोल्न नसक्ने जस्ता हाँस्यास्पद भनाइसँग जोडेर भाइरल गराए ।

तिनै मूर्ख नेताले चीनलाई मात्रै होइन, अहिले विश्व स्वास्थ्य संगठनलाई समेत चीनसँग मिलेमतो गरेर कार्य गर्दै रहेको र कोरोनाबाट त्रसित गराएको आरोप लगाएका छन् ।

उनले आफ्नै देशको विख्यात विश्वविद्यालयका प्राध्यापकलाई समेत आफ्नो अनुकूलको प्रचारलाई नसघाएको आरोपमा बर्खास्त गरेका छन् । यसो भनिरहँदा र धेरै अमेरिकी नागरिकहरु मरिरहँदा कोरोनाको भ्याक्सिन निकालेर व्यापार गर्न तम्सिएका केही अमेरिकी पुँजीपतिहरुले कोरोनाले मानिस मरेको र आतंक फैलिएको सञ्चार आतंकमा मौन साँधेको आरोप पनि लाग्नथालेको छ ।

पटमूर्ख हिटलरले गर्दा दोस्रो विश्वयुद्धको महाविनाश मानवजातिले खेप्नुपरेको इतिहासमा उल्लेख छ । अहिले विश्वयुद्धको जसतो महाविनाशको खबर सुन्न त परेको छैन तर कोरोना महासंकटपछि विश्व अर्थतन्त्रमा ठुलो असर भने पर्ने देखिँदैछ । खासगरी पुँजीवादी राज्यव्यवस्था भएका मुलुकहरु यो महामारीबाट आक्रान्त देखिन्छन् ।

परनिर्भर वा नवउपनिवेशिक हाम्रोजस्तो देशमा जनधनको क्षति नभए पनि आर्थिक संकट आउने निश्चित छ । अहिले नै थाहा होला/नहोला तर दलाल नोकरशाही अवस्थाबाट गुज्रँदै आएको नेपालको अर्थतन्त्र भयंकर ह्रासोन्मुख हुने पक्का छ ।

विश्वव्यापी मन्दीका कारण औद्योगिक उत्पादन घटेको छ, त्यस्को मूल्य बृद्धि हुनु स्वभाविक छ र कृषिप्रधान देश भनेर फलाक्दै गरेका हामीले उपभोग्य वस्तु समेत विदेशबाट आयात गर्ने गरेका छौँ । अब खाद्यवस्तुको समेत मूल्यबृद्धि हुने र त्यसको चपेटामा नेपाली जनता पर्ने पक्का छ ।

कोरोना संक्रमणले उत्पन्न गरेको पुँजीवादी राज्यव्यवस्थामा सुधार आउला/नआउला तर त्यसको प्रभाव हाम्रो जसतो तिनका पिछलग्गु मुलुकमा पर्नेछ भन्ने कुरा हाम्रा कतिपय दलाल नोकरशाहीहरुले खण्डन गर्दै रहनेछन् ।

‘पुँजीवादको चरम विकास साम्राज्यवाद नै हो’ भन्ने कुरा एक शताब्दी अगावै विश्वविख्यात समाजवादी नेता लेनिनले नगरेका होइनन् । अहिले पनि साम्राज्वादको नेतृत्व संयुक्त राज्य अमेरिका र उसको नेतृत्वमा केही युरोपेली देशहरुले गर्दै राखेका छन् ।

अहिले महामारी रोकथाम र संकट समाधानमा समाजवादी देशहरुभन्दा पुँजीवादी देशहरु असफल भएका छन् । के यत्ति आधारमा ती पुँजीवादी वा साम्राज्यवादी मुलुकका जनताले अब समाजवादी राज्य व्यवस्थाको माग गर्नेछन् त ?

यो प्रश्न अहिले समाजवादी बुद्धिजीवीहरुले उठाउने गरेका छन्, तर यत्तिको संकटले उनीहरुले समाजवादका लागि मत जाहेर गर्ने सम्भावना छैन किनभने मनोगत रुपम आधार बनाउन सकेका छैनन् । त्यहाँका जनतालाई समाजवादी चिन्तन, सिद्धान्त र विचारले प्रशिक्षित बनाउन सकेका छैनन् । त्यसैले त्यहाँका जनताले समाजवादी व्यवस्था बुझेका छैनन् ।

तैपनि कोरोना संकटले गर्दा अहिले करोडौँ अमेरिकी नागरिकहरु बेरोजगार बन्न पुगेका छन् । पुँजीवादी राज्य प्रणालीले कसरी त्यो समस्याको समाधान गर्छ त्यो हेर्न बाँकी छ । जसरी भए पनि त्यहाँको राज्यले समाजवादीहरुले अपनाउँदै आएको सामाजिक उत्तरदायित्वमा आधारित राहत प्याकेज अमेरिकी जनतालाई नदिई सुखै छैन ।

कत्ति पूर्वाग्रह नराखिकन भन्ने हो भने नेपालमा पनि यदि कम्युनिस्ट पार्टीको सरकार नहुँदो हो त कोरोनाको संकट छरपष्ट हुने थियो । भन्न त कम्युनिस्टको नाममा वर्तमान सत्ताधारी व्यक्तिहरुमध्ये कतिपय राजनैतिक, आर्थिक र सांस्कृतिक हिसावले पतनोन्मुख छन् भन्ने आरोप लागेको छ । दलाल नोकरशाही प्रवृत्ति भएको झुण्डले सरकारमा प्रभाव पारेका छन् भन्ने आरोप लागेको छ । महासंकटका बेलामा अर्बौं रुपैयाको भ्रष्टाचार हुन लाग्यो भनेर चर्को विरोध नभएको होइन ।

सरकारमा बस्ने मन्त्रीहरु संलग्न भए वा भएनन्, कर्मचारीहरुमध्ये कति संलग्न भए र साथसाथै आपतका बेलामा कालोधन कमाउन उद्यत व्यापारीहरु किमार्थ देशभक्त थिएनन् ।

नेपाललाई भ्रष्टाचार अनियमितता, विभेद, अन्याय, गरिवी, अशिक्षा, रोग, भोक र शोकबाट उन्मुक्ति दिलाउँछौ भनेर सत्ता सम्हालेकाहरुबाट त्यस्तो गलत कार्य गर्न किमार्थ सुहउँदेन ।

कसै कसैले जाने-बुझेर आफू र आफ्नो गुटलाई बलियो पार्न त्यसो गरिएको हो भने पनि त्यो नेपाली जनतालाई सह्य हुनसक्ने छैन । तत्कालै उत्पन्न हुन लागेको कोरोना महासंक्रमण र स्वास्थ्य महासंकटबाट बचाउने सरकारी कार्यक्रमलाई कमसल र अपूरो स्वास्थ्य सामग्री ल्याउने कम्पनीलाई कारवाही गरेर वर्तमान सरकारले आफ्नो कमजोरीलाई तत्कालै सुधार गर्‍यो । यो बुद्धिमत्ता कार्यका लागि सरकारलाई धन्यवाद दिनु पर्दछ ।

प्रसंग थियो वर्तमान विश्वव्यवस्थामा समाजवाद र साम्राज्यवादको भिन्नताबारे चर्चाको ।

साम्राज्यवादीहरुले जब जा आफूहरु संकटमा परेको महशुस गर्दछन्, तब तब समाजवादी र साम्यवादीहरुलाई सराप्ने गरेको इतिहास पुरानो हो । जुनबेला विश्वका महाशक्ति राष्ट्रहरु शीतयुद्ध गर्दै थिए, त्यतिबेलाको समाजवादी देश सोभियत संघलाई संयुक्त राष्ट्र संघसँग मिलेर अमेरिकामाथि स्टार वार गर्दैछ भनेर अमेरिकी जनतालाई त्यहाँका शासकहरुले प्रचार गर्दथे ।

यसको मतलब के थियो भने समाजवादीहरुको विश्वशान्ति र सहकार्यको राजनैतिक प्रस्ताव आफ्नो देशका जनताले बुझ्लान्, ठिक सम्झिएलान्, अनि आफ्नो राज्यसत्ता उल्टिएला भन्ने डर थियो ।

अहिले समाजवादी चीनको अगुवायीमा हुँदैगरेको नयाँ आर्थिक-सामाजिक प्रगतिबाट संयुक्त राज्य अमेरिकाको शासक र उनका पिछलग्गुहरु आत्तिएका छन् । त्यसैले उनीहरुले चीनलाई चारैतिरबाट घेरेर अघोषित आक्रमण र परास्त गर्न चाहन्छन् । त्यसैको फलस्वरुप आफ्नो देशमा कोरोना संक्रमणबाट अमेरिकीहरु मरिरहेको कुरा बेवास्ता र चीनप्रति ट्रम्पको अत्तालिएको आरोप हो ।

कोरोना महामारीले पढाएको अर्को पाठ होः साम्राज्यवादी संस्कृतिको पतन । बिफ र बफ संस्कृतिले मानिसलाई रोग प्रतिरोधी बनाउँदैन । छाडा जीवनशैली, बेठिक आहार-विहार, उठ-बस आदि पश्चिमा सभ्यतालाई हामीले पनि के-के नै होला भनेर अंगिकार गर्दैआएका थियौँ ।

धर्मछाडा समाज निर्माण रातारात लोकतन्त्र वा गणतन्त्र कालमा विकास भएको होइन । युरोप र अमेरिकामा यस्तो गलत जीवनशैली विकास हुन शताब्दीऔँ लागेको थियो ।

कथित हिन्दु राष्ट्र भनिएको हाम्रो देशमा पनि विष्णु भगवानका अवतार भनिएको राजतन्त्र वा राजतन्त्रलाई हतियार बनाएर एकछत्र राज्य गर्दै आएका राणातन्त्रदेखि आरम्भ भएको मान्नु पर्दछ । त्यस बेलाका घरानियाँ, दरबारिया र सभ्रान्त परिवारको खाद्यवस्तु बन्न थालेको बिफ र बफ संस्कृतिको परिस्कृत रुप नै वर्तमान विसंगति हो । यो विसंगतिको निरन्तरतालाई समाजवादी र समतामूलक समाज निर्माण गर्ने भनेर आन्दोलन, राज्यक्रान्ति गर्दै आएकाहरुले समेत हटाउने मनसाय राखेका छैनन् ।

हाम्रो समाज यसरी बदलिएको थियो कि सबैथोक पैसा हो । सर्वसाधारण त आखिर पिछलग्गु हुन्, ‘यथा राज्य’ तथा ‘प्रजा’ भन्ने गरिन्थ्यो । राज्यका सबै संयन्त्र जसरी होस्, पैसा कमाउनु पर्छ भन्ने संस्कृतिमा हुर्किएको थियो । हामीलाई थाहै छ शिक्षा, स्वास्थ्य, धर्मकर्म, व्यापार, जागिर, राजनीति, सेवा क्षेत्र सबैलाई जसरी हुन्छ, पैसा कमाउनु पर्छ भन्ने संस्कार र संस्कृतिले बास गर्‍यो ।

शिक्षा र स्वास्थ्यमा व्यापार हुने हाम्रो राज्य प्रणाली अहिले पनि यथावत र गलत छ । एकताका बिरामी जाँच्न छाडेर डाक्टरहरु जग्गाको दलाली गर्न हिँडथे रे । इञ्जिनियरहरु जग्गामा फित्ता लड्काउन जाने गर्थे रे । शिक्षक र प्राध्यापकहरू कमिसनमा दौडिन्थे रे । राजनीतिमा लाग्नेहरु जग्गा दलालीबाटै उठेर आएका हुन् रे । कर्मचारीहरुले भ्रष्टाचार गर्थे रे  । यस्ता आरोप नलागेको होइन ।

व्यापारमा दुई नम्बरी, दलालीमा अकुत सम्पत्ति, पेशामा बेइमानी आदिका कारण समाज ग्रसित थियो । राज्यसत्ता नै नयाँ-नयाँ ऐन, कानुन र प्रविधि प्रयोग गरेर कमाउन लाग्दथ्यो । यस्तो प्रवृत्ति हाम्रो देशमा मात्रै होइन, सामन्तवादी राज्यसत्ताबाट पुँजीवादी राज्यसत्तामा फड्को मार्दै गरेका अरु देशमा समेत हुने गरेको राजकीय चरित्र थियो ।

राज्य कमजोर र व्यक्ति बलियो हुने परम्परा हामीले त्यही पुँजिवादी व्यवस्थाबाट लिएको हो । संयुक्त राज्य अमेरिकाका पुँजीपतिहरुले सैन्य सामग्रीको उद्योग सञ्चालन गरेर विश्वभरी अस्थिरता कायम गराएर लडाइँका लागि हतियार बेच्ने गर्दथे ।

संसारका प्रायः धेरै सरकारहरु बनाउन र भत्काउन तिनै पुँजीपतिहरुको लगानी काफी थियो । अरबी मुलुकको तेल भण्डार कब्जा गर्न आफू अनुकूलको कठपुतली सरकार चाहिन्थ्यो । उनीहरुले ती देशमा जनतालाई एकापसमा लडाएर वा एक देशलाई अरु देशसँग आपसमा जुधाएर वा आफैले कब्जा गरेर कठपुतली सरकार बनाउँथे ।

जहाँ सुन खानी छ वा युरेनियम लगायतका महंगो वस्तुका खानीहरु छन्, त्यहाँ साम्राज्यवादीहरुको आँखा गढेको हुन्थ्यो । पश्चिमाहरु खासगरी संयुक्त राज्य अमेरिकामा यस्तो राज्यव्यवस्था अद्यावधि कायमै छ । अरुमाथि अन्यायपूर्ण युद्ध थोपर्ने र आफू विश्वको सबैभन्दा धनी बनिरहने तिनीहरुको दर्शन कदापि मानवीय होइन ।

समाजवादलाई गाली गरेर मात्रै हुँदेन, त्यस्तै राज्यका शासकहरु ट्रम्प जस्तै धृतराष्ट्र हुँदा रहेछन्, जसले आफ्ना नागरिक कोरोना जस्तो महामारीले मरिरहँदा पनि समवेदना हराउँदो रहेछ ।

के हामीले त्यस्तै राज्यव्यवस्था, सरकार र संस्कृति स्थापना गर्ने हो र ? अब नेपाली मात्रले पनि सोच्नुपर्ने बेला आएको छ ।

(लेखक प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत वामपन्थी सामाजिक अभियन्ता हुनुहुन्छ ।)