मानिसको जीवन संघर्षै संघर्षको जीवन हो । मानिस कहिले प्राकृतिक प्रकोप र महामारी रोगका विरुद्ध संघर्ष गरिरहेको हुन्छ भने कहिले राष्ट्रियता र राजनैतिक अधिकारको निम्ति संघर्ष गरिरहेको हुन्छ ।
यतिबेला विश्व मानव समुदाय कोरोना भाइरस विरुद्ध जीवन-मरणको संघर्षमा छ । विश्वभरका सबै देशका सरकारहरू आफ्ना जनतालाई बचाउन सबै शक्तिहरु प्रयोग गरेर कोरोना भाइरस विरुद्ध लागेका छन् । विश्व समुदाय नै आतंकित भएको बेला राजनैतिक दलहरु, भातृ संगठनहरु, सरोकारवाला व्यक्ति र समूहहरु गुमनाम झैँ देखिन्छन् । जनताले पार्टी र नेता लगायत सम्बन्धित सरोकारवालाहरुको खोजी गरिरहेका छन् तर पाउन नसकेपछि जनताका दिलदिमागमा अनेक भावनात्मक प्रश्नहरु उब्जिएका छन् ।
पार्टीको नेताहरूले जनतालाई दिएको भाषण, जनताकै मुक्तिका लागि भनी लेखिएका दस्तावेज, चुनावी प्रतिबद्धताहरु भुलेका छन् कि छैनन् ? मृत्युले पछ्याइरहेको बेला जीवन रक्षागर्ने गाउँघर परिवार सम्झिन्छन् कि सम्झिँदैनन् ? भोट हालेर जिताएका जनतालाई बचाउन चाहन्छन् कि आर्यघाट पुर्याएको देख्न चाहन्छन ? आधा गास कट्टी बनाएर दिइको चन्दा, लजिष्टिक, खाद्यान्न जस्ता सहयोगहरु दिमागमा छ कि छैन् ?
पार्टी र क्रान्ति, देश र जनताकै निम्ति भनेर हजारौँ जनताले बलिदान गरेको, हजारौँ बेपत्ता र घाइते-अपांग योद्धाहरु र उनीहरुका परिवारको कारुणिक रोदनले छुन्छ कि छुँदैन् ? जन्मदिन मनाउनेदेखि विरामी परेर अस्पताल बेडमा छटपटाइरहेको बिरामीदेखि आर्यघाट पुर्याइएका शवमाथि झण्डा ओढाउन समेतमा पनि राजनीति गर्ने पार्टी, नेताहरु महामारीको बेला कहाँ लुकेर बसेका छन् ? जस्ता अनगिन्ती विचार र भावनात्मक प्रश्नहरु जनताको दिलदिमागमा उब्जिएका छन् ।
जनताका यिनै जिज्ञासाहरुको जवाफ एकदिन पार्टी र नेतृत्वले दिनैपर्छ । जनताहरु खाली भावनात्मक प्रश्नहरु मात्रै गरी पीडा पोखेका छैनन्, राजनैतिक सफलताका विषयमा ध्यान केन्द्रित गरेका छन् ।
‘पार्टी नै जीवन र जीवन नै पार्टी’ भनेर कि ‘मुक्ति कि मृत्यु’ भन्ने कसमकासाथ संघर्षमा होमिएका जनताको आफ्नै इतिहास छ । जनतालाई यो पनि थाहा छः सही विचार र नेतृत्वले गर्दा राजनैतिक परिवर्तन, सामाजिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन सफल भई अन्तत: राजतन्त्रको अन्त्य गरी देशमा गणतन्त्र नेपालको स्थापना भएको छ ।
संविधान सभाबाट संविधान निर्माण गरी तीनै तहका निर्वाचन सम्पन्न गरी स्थायी सरकारकासाथ देश संघीयताको नयाँ युगमा प्रवेश गरेको छ । उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायको राजनैतिक, प्रशासनिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु जनताको अपेक्षा र लगानी अनुसार संवोधन हुन अझै बाँकी नै छन् ।
राज्यका अंग र निकायहरुमा शोषित-पीडित जनताको प्रतिनिधत्व हुन अझै बाँकी छ । यस अर्थमा पार्टी र नेतृत्वप्रति जनताले स्वागत पनि गरेका छन् । जनता नै निर्णायक हो । सकरात्मक विषयमा पार्टी र नेतृत्वलाई जनताहरुको समर्थन अवश्य रहेकै छ । जनताले पार्टी, नेतृत्व तथा कार्यकर्तासँगको सम्बन्ध नङ र मासु झैँ ठान्छन् । जनताका अनुभव युद्धकाल र शान्तिकालमा फरक-फरक छन् ।
परिस्थिति बदलिएको छ । विश्व मानव समुदायमाथि कोरोना भाइरसको हमला छ । ‘दिन दुई गुणा, रात चौगुणा’ भएर मानिसको ज्यान गएको छ, संक्रमित संख्या हिसाब गरिसाध्य छैन । देशै संक्रमित बनेका छन् । राज्य नै कोरोना भाइरसको महामारी विरुद्ध उभिएका छन् । मानवीय भावनाका दर्दनाक कथा र व्यथाको पहाड चुलिएको छ ।
विडम्बना ! हाम्रो देश नेपालका राजनैतिक दलहरु, भातृ संगठनहरु, सरोकारवाला व्यक्तित्वहरु कानमा बुजो लगाएर, मुखमा चुकुल लगाएर, हातमा दही जमाएर बसेको महशुस जनतालाई भैरहेको छ । सरकारले गरेको लकडाउन स्वागत गरेका छन् । तर महामारी नियन्त्रणको नाउँमा सरकारद्वारा गरिएका कतिपय कामहरु जनतालाई फिटिक्कै मन परेको छैन ।
पार्टी नै मुख्य हो । सरकारले गरेका नकरात्मक कामहरुलाई टुलुटुलु हेरेर पुर्पुरोमा हात लगाएर बसिरहन पार्टी र नेतृत्वलाई छुट छैन । कोरोना भाइरस नियन्त्रणका लागि राजनैतिक दलहरुको पहलकदमी अनिवार्य छ । पहलकदमी लिनसक्ने उच्च क्षमता छ – नेपालका राजनैतिक दल र नेतृत्वहरुमा ।
अरु बेला मिल्न नसक्ने राजनीतिक दलहरु देश र जनतालाई संकट परेको बेला मिलेर काम गरेको र सफलता प्राप्त गरेका नजिरहरु पनि छन् । सप्रमाण भन्न सकिन्छ – प्राकृतिक प्रकोपको रुपमा २०७२ बैशाख १२ गतेको महाविनाशकारी भूकम्पको बेला होस् या राजनैतिक रुपमा ‘नेपालको संविधान’ निर्माणको बेलामा होस्, राजनैतिक दलहरु ‘सर्वदलीय सहमति’ कायम गरेका थिए । अदृश्य, सुक्ष्म ज्यानमारा कोरोना भाइरसको महामारीको बेला सर्वदलीय सहमतिको आधारमा ‘सर्वदलीय संयन्त्र’ गठन गरी कार्य सञ्चालन गर्न आवश्यक छ । यसो गर्दा नै सबैको विचार र भावनाको प्रतिनिधित्व हुन्छ । लकडाउन पनि सफल हुन्छ, सरकारका कामकाजहरु सफलतापूर्वक कार्यान्वयन हुन्छन् ।
सर्वदलीय संयन्त्रद्वारा स्वदेश-विदेशमा विचलित भएका नेपाली नागरिकहरुलाई राहत, उद्धार र सुरक्षा गर्ने, लकडाउन कार्यान्वयन भए/नभएको अनुगमन गर्ने, कालाबजारिया, व्यवसायिक अराजकतालाई नियन्त्रण गर्ने र दोषीलाई कार्वाही गर्ने, रोग, भोक र अभावले छटपटाइरहेका जनताका लागि राहत-उद्धारको विशेष प्याकेजका कार्यक्रम ल्याई कार्यन्वयन गर्ने, सीमा नाकामा थुनिएका जनतालाई स्वदेशमा ल्याई क्वारान्टाइनमा राख्ने, स्वास्थ्य जाँच र उपचार गर्ने, ज्याला मजदुरी गरी जीवन पाल्ने मजदुरहरुका लागि रासन-पानीको व्यवस्था गर्ने, राहत वितरणमा पारदर्शिता लिने, बिरामीहरु पहिचान गरी औषधी उपचार गर्ने, कोरोना भाइरस नियन्त्रण राज्यकोषलाई पारदर्शी ढंगले सञ्चालन गर्ने लगायतका महत्त्वपूर्ण कामहरु गर्नुपर्छ । यसका लागि राजनैतिक दल, भातृ संगठनहरु, सरोकारवाला र सरकारका सबै अंगहरु, निकायहरुलाई युद्धस्तरमा परिचालन गर्नुपर्छ ।
मिसन-कोरोना भाइरस ! लड्नैपर्ने र जित्नैपर्ने मिसन । यस मिसनमा नखटिने जो कसैलाई पदमुक्त बनाई आवश्यक कार्वाही गर्नुपर्छ । गफ गरेर जनताको नेता भइँदैन । जनताको सेवा गरेर जनताको नेता बन्ने अवसर आएको छ । संकटको घडीमा जनताको सेवक बनेर पार्टी नेतृत्वले यो अवसरको सही सदुपयोग गरोस् भन्ने जनताको चाहना छ ।
जनता छन् र पो पार्टी, नेता र कार्यकर्ता पनि छन् । नेपाल छ र हामी नेपाली छौँ । यसको गहिरो चिन्ता राजनैतिक दल र नेतृत्वहरुले लिनैपर्छ । अन्तर्राष्ट्रिय अनुभव लिएर कोरोना भाइरस विरुद्ध पहलकद्मी लिन र आफू पनि बाँच्न,अरुलाई पनि बचाउन, देशलाई नै संक्रमणबाट बचाउनु पर्ने जिम्मा राजनैतिक दल र नेतृत्वहरुको काँधमा आएको छ । प्रमुख जिम्मेवारी पार्टीलाई नै छ । नेपाल सरकारबाट घोषित ‘लकडाउन’ सफल पारौँ । जनतालाई बचाऔँ । देशलाई संक्रमण हुनबाट जोगाऔँ । कोरोना भाइरसमाथि विजय प्राप्त गरौँ ।
(नेकपाका नेता श्रीपाली पूर्वयुवा तथा खलकुद मन्त्री हुनुहुन्छ।)