आज अप्रिल १७ अथवा ला भिया क्याम्पेसिनाद्वारा घोषित अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस (International Peasants’ Struggle Day) को दिन हो । जसरी मई दिवस विश्वका मजदुरहरुको दिवस र ८ मार्च श्रमिक महिलाहरुको दिवस हो त्यसरी नै यो विश्व किसान दिवस हो ।
सँधै अन्तर्राष्ट्रिय किसान आन्दोलन ला भिया क्याम्पेसिना (La Via Capesina) का सदस्यहरुले मनाउने यो दिवस यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण “घरमै बसौँ, तर चुप होइन” भन्ने नाराका साथ सम्झिनेछन् ।
ब्राजिलको एल्डोराडो डोस काराजस मा सन् १९९६ अप्रिल १७ का दिन भूमि अधिकार र सीमान्तकृत किसानहरूको अधिकार रक्षा गर्न संघर्ष गरेका १९ किसानको नृशंस हत्याको विरोधमा र किसानको आफ्नो संघर्षको ऐतिहासिक सम्झनामा यो दिवस प्रत्येक वर्ष यसै दिन मनाइने गरिन्छ ।
ला भिया क्याम्पेसिना
अन्तर्राष्ट्रिय किसान आन्दोलन विश्वका विभिन्न ४ महादेशका किसान संगठनहरुको अगुवाइमा सन् १९९३ मा बेल्जियमको मोन्समा जन्म भएको किसान संगठनहरुको सञ्जाल हो । यो साना किसान तथा भूमिहीन किसानहरुको संगठन हो, जसमा हाल ८० देशका १७० भन्दा बढी संगठनका २० करोड किसान आबद्ध छन् ।
यो आन्दोलनमा नेपाल, भारत, बंगलादेश, श्रीलङ्का लगायतका दक्षिण एसियाली देश, ब्राजिल, अर्जेन्टिना, बोलिभिया, पेरु, इक्वेडर लगायतका दक्षिण अमेरीकी देश, माली, मोजाम्बिक लगायतका अफ्रिकी देश तथा स्पेन, फ्रान्स लगायतका देशका सशक्त किसान संगठनहरु आबद्ध रहेका छन् । साथै क्युवा, भियतनाम, भेनेजुयलाका प्रमुख किसान संगठन समेत यसमा संलग्न छन् । नेपालमा सन् २००२ देखि अखिल नेपाल किसान महासंघ यसको सदस्य रहेको छ ।
यस वर्षको अप्रिल १७
यस वर्षको अप्रिल १७ “घरमै बसौँ, तर चुप होइन” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस मानाइने भएको छ । पहिले किसान अधिकार घोषणापत्रलाई विषय बनाएर मनाउने कार्यक्रम रहेकोमा कोरोना महामारीका कारण अप्रिल १७ सम्झने तरिकामा फेरबदल भएको हो ।
डिसेम्बर १७, २०१८ का दिन संयुक्त राष्ट्रसंघको महासभाबाट किसान अधिकार घोषणापत्र पारित भएको थियो । यो विश्वका किसानहरुको अधिकार सुनिश्चित गर्ने महत्त्वपूर्ण दस्तावेज भएकोले यो एक ऐतिहासिक सफलता हो । संयुक्त राष्ट्रसंघको महासभाको ७३ औँ सत्रबाट १२१ देशको भोटसहित अनुमोदन भएपछि अब ग्रामीण भेगहरुमा कार्यरत किसान र अन्य जनताहरुका अधिकार घोषणापत्र एउटा कानुनी दस्तावेज बनेको छ । यसलाई सम्पूर्ण साना किसान तथा ग्रामीण जनताका साथै विश्वका शोषित पीडित तथा सिमान्तीकृत किसानको सम्मान, अधिकार र कृषिको दिगोपन तर्फको महत्त्वपूर्ण उपलब्धि मानिन्छ ।
आजको संदर्भ
अहिले विश्व कोरोना महामारीबाट प्रताडित भएको सन्दर्भमा साना किसानको कृषिलाई पुर्नजागृत गर्नुपर्ने भएको छ । खाना जीवन हो र खाद्य सम्प्रभुता तथा खाद्य अधिकारबिना मानव समाज चलिरहन सक्दैन । तर अब पुँजीवादी उत्पादन ठिक छैन र यसले भोकमरी र गरिबी अन्त्य गर्नु त के कोरोनाको संकटमा खाद्यान्नको उत्पादन र आपूर्ति समेत गर्न सक्दैन भन्ने सिद्ध भएको छ ।
फेरि साना किसानको आत्मनिर्भर कृषि नै उपयुक्त छ भन्ने प्रमाणित भएको छ । त्यसैले ती साना किसानको सम्मान, स्वतन्त्रता र न्यायका अन्य अधिकारहरुको सुनिश्चित गर्दै स्थानीय खाद्य प्रणाली र खाद्य सम्प्रभुतातर्फ अघिबढ्नु आजको आवश्यकता हो । यही सन्दर्भमा ला भिया क्याम्पेसिनाले “घरमै बसौँ, तर चुप होइन” भन्दै अब चुप बस्ने होइन सुरक्षित रुपमा अब उत्पादनमा लागौँ भन्दैछ ।
उत्पादक किसानहरुको अधिकार प्रत्याभूत नगरेमा विश्व भोकमरी र गरिबी शिकार मात्र होइन, पूरै मानव समाजको भविष्य संकटमा पर्न सक्छ । त्यसैले किसान अधिकार घोषणपत्रको कार्यान्यन गर्दै खाद्य सम्प्रभुता दिशामा अघि बढ्नु आजको आवश्यकता हो । कोरोनाको कहरमा ला भिया क्याम्पेसिनाले जैविक विविधतामा आधारित साना किसानको खाद्यान्न प्रणालीलाई आत्मसात गरेर मात्र खाद्यसंकट लगायतका संकट कम गर्न सकिन्छ, त्यसैले साना किसानको दिगो कृषिलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने कुरालाई जोड दिएको छ ।
(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा ला भिया क्याप्मेसिनाका एसिया युवा इन्चार्ज हुनुहुन्छ ।)