आज असिना-पानी, आँधी-हुरी बतासले सातो लग्यो । सडकमा नदीको उर्लँदो भेलको ताण्डव नृत्य देखियो । तर, यहाँको धरातल यस्तो छ, जति वर्षा भए पनि ओभानै हुन्छ । यसकारण यो भेललाई देखेर एकजना मित्र एकनारायण भण्डारीले यसको नाम नै ‘कोरोना नदी’ राखिदिनुभयो । यो नाम सार्थक रहोस् ।कोरोना पनि जतिसुकै हिंस्रक भए पनि यही भेल झैँ अब छिटै धरतीमा बिलीन होस् । मानवजातिको विजय सुनिश्चित छ । आशा गरौँ।
मैले केही घण्टाअगि केही साथीहरूको स्टाटसमा कुनै कमेन्ट नगर्ने भनेको थिएँ । यसमा पनि केही साथीहरुमा बुझाइ फरक जस्तो लायो ।
अब म विषयको मूलबाटो तर्फ सोझिन चाहन्छु । आज म यो विध्वंसक कोरोनाकै बारेमा केही भन्न चाहन्छु । यसमाथि हामीले विजय हासिल गर्नैपर्छ । यससँगको युद्ध एक महायुद्ध हो । यसलाई जित्नैपर्छ । जसले अकल्पनीय मृत्यु वरण गरे ती यस समाजका विलक्षण प्रतिभा हुन्ती । मानव सभ्यताको निम्ति शहादत वरण गर्ने गौप्राणी हुन् । यतिखेर ती निर्दोष मानवप्रति भावपूर्ण श्रद्धाञ्जली पनि ।
यस युद्धमा जित्नु त पर्छ । जुनसुकै युद्धमा पनि सेनापतिको भूमिकाले जीत-हारको निर्णय गर्छ । अहिलेको यस युद्धमा सेनापतिका दुई मेाडल देखापरे । एक महामहिम मूर्ख सम्राट डोनाल्ड ट्रम्पको मोडल र अर्को माओ-क्यास्ट्रोको मोडल ।
अब हामीले कुन मोडलबाट यस भयानक सभ्यताद्रोही कोरोनालाई समाप्त पार्न सकिन्छ । मैले यसो भनिरहँदा केही साथीहरू अलि रुष्ट पनि हुनुहोला किनभने म यहाँ केही पूर्वाग्रही पनि लाग्नसक्छु तर मेरो यस प्रस्तुतिमा कुनै पनि पूर्वाग्रह रहने छैन ।
मैले धेरै विचार गरेँ । यसको विरोधमा लड्न अहिले यी नै दुइटा मोडल छन् । अर्को बाटो छैन ।
पहिला म ट्रम्प मार्गबारे केही चर्चा गर्न चाहन्छु । पछिल्लो अपडेट अनुसार अमेरिकामा तीस हजारको हाराहारीमा अमूल्य जीवन बर्बाद भैसकेका छन् । यी कुनै कारणले नभई हिटलरपछिको एक घृणित अति दक्षिणपन्थी द्रव्यपिशाच साइलक फासिष्ट राष्ट्रवादी भनाउने एक व्यक्तिको हठले भएको छ ।
उसलाई मानवजीवनको मूल्यको मतलब छैन । ऊ मानवअधिकारको नाममा आफ्नो एकाधिकार व्यापारको बजारको मात्र चासो राख्दछ । अहिलेसम्म लकडाउन बाहेक यस महायुद्धको निम्ति उपयुक्त दुर्ग अर्को नरहेको कटुसत्यलाई स्वीकार गर्न यो तयार छैन । भर्खरै धेरै विनाशपछि तयारसम्म भएको छ । उसको व्यापार अरु देशका श्रमजीवीले गरिदिनुपर्ने तर उल्टै उनीहरुको जीवनमा खेलवाड गर्ने यमराजको अवतार यही बनेको छ ।
अमेरिका वास्तवमा संसारकै उत्कृष्ट मान्छेको देश हुनुपर्ने हो । तर विडम्बना, यो एउटा भस्मासुरको क्रीडास्थल बनेको छ । यसको उपस्थिति नै अहिलेको महासंकटको कारण हो । यदि उसले सद्बुद्धि मात्र लिएको भए यसको प्रतिरोधी उपाय पत्ता लागिसक्थ्यो । यसको कारण अरु केही होइन । यसमा व्यक्तिगत रुपमा ट्रम्पमात्र पनि दोषी छैन । यसो हुनुमा समग्र रुपमा पूँजीवादी चिन्तनको पराकाष्ठा हो । अर्को तर्क गर्ने ठाउँ नै छैन ।
यसले पहिला यस कोरोनालाई “उहान महामारी” भनेर उडायो । पछि लाज नमानी WHO लाई सहयोग नगर्ने र कोरोनाविरुद्ध लाग्न लाग्दा चीनलाई सहयोग गरेको फत्तुर थाप्दै छ । तर तथ्यले ऊ दिनदिनै नाङ्गिदै छ । अब हाम्रो अगाडि यो महाविनाशको बाटो लिन सम्भव छैन । जबसम्म यो मानवभक्षी पुँजीवाद रहन्छ, यसरी नै निर्दोष जनताले जीवन फाल्नु पर्छ । यो अहिले ट्रम्पको अनुहारमा प्रकट भएको छ ।
अर्को मोडल माओ-क्यास्ट्रोको माेडल हो । जसको प्रतिनिधि अहिले सी चिनफिङ र राउल क्यास्ट्रो तथा क्युवालका राष्ट्रपति हुन् ।
सर्वप्रथम यसको महाविनाश चीनको उहानबाट भयो । तर यसको उद्गम नै चीन हो भन्न मिल्दैन । गत साल एक अमेरिकी सैन्य अभ्यास चीनमा भएको र त्यही टोलीमा गएका अमेरिकी सैन्यको कारणले यसको विध्वंसक रुप देखापर्यो भन्ने तर्क युक्तिसंगत देखिन्छ । तर, यसको पुष्टि नभई यसैलाई अन्तिम निष्कर्ष भने मान्न सकिन्न ।
तैपनि विभिन्न ऐतिहासिक घटनाहरुले अमेरिकी पुँजीवाद यसमा जिम्मेवार हुन सक्छ भन्ने संकेत गर्दछन् । अमेरिकी शासक वर्गको चरित्र यस्तै देखिँदै आएको छ ।
यसले दोस्रो विश्वयुद्धमा मित्रराष्ट्रहरुलाई धोका दिएर हिरोसिमा र नागासाकीमा अणुवमले विनाश गर्यो । यो उही हो जसले भियतनामी जनताको मुक्तियुद्धमा नापाम बमजस्ता रासायनिक बमको प्रयोग गर्यो । यसले अझै पनि उसका विरोधीलाई यातना दिन हिटलरको ग्याँस च्याम्बरलाई बिर्साउने यातना शिविर ग्वान्टानामोमा सञ्चालन गरिरहेको छ ।
यहाँ चीनको चर्चा गरिएको छ । किनभने यो रोगको प्रकोपबाट उत्पन्न संकटको समाधानका निम्ति चीनले जुन जनताप्रतिको जिम्मेवारी प्रदर्शन गर्यो, त्यसको प्रशंसक स्वयं ट्रम्पबाहेक अरु जोसुकै पनि छन् । नेपाली विद्यार्थीहरुलाई प्रकोपको त्रास हुँदा नेपालीहरुलाई हामी तपाईँहरुको उपचार चीनमै गर्छौँ भनियो । तर पुँजीवादीहरु भने अहिले प्रवासी कामदार नागरिकलाई उल्टो काम खोस्ने, अथवा बलजफ्ती उसका कारखानामा काम गर्नैपर्ने भन्दैछन् ।
अहिले चीन स्वयं अमेरिकालाई पनि निस्पृह भावले सहयोगको हात बढाइरहेको देखिन्छ । तर ट्रम्पका अनुयायी भने एउटा देशको निम्ति अर्डर गरिएर लोड समेत गरिएको मास्क समेत लुटेरा शैलीमा खोस्न उद्यत हुन्छ ।
यस्तै मैले यहाँ क्यारेबियन तटको एउटा सानो तर महान् मुलुक क्युवा पनि यसमा उदाहरण भएको छ भन्न खोजेको छु । बेलायती पानीजहाजमा सवार यात्रुहरुको कोरोना संक्रमण देखिएपछि कसैले उनीहरूलाई शरण दिएनन् तर क्युवाले बिनाशर्त उनीहरुको उपचार गर्यो, सहयोग गर्यो । देखिएको छ सभ्य भनाउँदा पुँजीवादी मुलुकमा नोट (पैसा) सडकमा फालिए, दिनदिन मृत्यु रोकिएन ।
अहिले चिनियाँ र क्युवाली डाक्टरहरुको टोली इटालीको महाविनाशमा इटालियन जनताको सहयोगमा जुटिरहेछन् । यो कुनै तानाशाही दवाव अवश्य होइन । यो नै समाजवादी सभ्यता र संस्कृति हो ।
हामीले देख्यौँ, छिमेकी भारतमा अहिले युरोपको तुलनामा अझै धेरै मृत्यु भइसकेको छैन । केही सयको संख्यामा छ । तर आफूलाई दक्षिण एसियाली शक्तिको दावी गर्ने, संसारकै ठूलो लोकतन्त्र भन्न रुचाउने भारतमा नेपाली कामदार अमानवीय मानसिक दवावको कारणले घर फर्कन खोज्दा अनेक झमेला भोगिरहेका छन् । भएकाहरुलाई सडकमा लाइन लगाएर एक दुई टुक्रा रोटीको निम्ति गाईजात्रा मच्चाइन्छ । तर समाजवादी चीनमा कुनै सडकमा अलपत्र भोजन गराएर जनतालाई गिज्याएको दृश्य देखिएन । यसो हुनुको कारण ती देशको नामले हैन । त्यहाँ विकसित समाजवादी सभ्यताको पाठशालाको संस्कार हो ।
यसकारण यो महाविनाशबाट जनताले एउटा पाठ सिक्नैपर्छ । जसले समाजवाद, प्रजातन्त्र, लोकतन्त्र जेसुकै भने पनि त्यसले अङ्गीकार गर्ने संस्कार नै ठूलो कुरा हो ।
अहिले म मात्र बाँच्नुपर्छ भन्ने ट्रम्पमार्का पुँजीवादी नक्कली मानव अधिकारको रटना गरिरहने कि नि स्वार्थ भावले मानवजातिको संरक्षण चाहने समाजवाद रोज्ने ? अहिलेको संकटले यस्ता प्रश्नको समाधान खोजिरहेछ, जसका लागि उपयुक्त मोडलको उत्तरको रूपमा समाजवाद बाहेक अर्को देखिएन । यो मेरो आग्रह हैन, समसामयिक घटनाले सिकाएको पाठ हो ।
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)