नेपाल सरकारका पूर्वसचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम उपाध्याय गएराति नै गिरफ्तार भएको खबर आज लोकतन्त्र दिवसको एकाबिहानैको हट केक अर्थात ताजा खबरको रुपमा आयो । विडम्वना यो हट केकलाई खान/पचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो ।
लोकतन्त्र भनेको त लेख्न, बोल्न, छाप्न, सभा/संगठन गर्न, विरोध गर्न, निन्दा/भर्त्सना गर्न र भण्डाफोर गर्न समेत पाइने व्यवस्था पो भन्थे । तर यहाँ त आजै उहाँलाई साइबर क्राइम ब्युरोले पक्डेको भनेपछि त स्पष्ट हुन्छ कि फिजिकल क्राइम ब्युरोले होइन रहेछ किनकि मान्छे मारेको, वस्तु वा पैसा चोरेको, ठगी गरेको, भ्रष्टाचार गरेको, कालाबजारी गरेको, घुसखोरी गरेको अथवा गाली बेइज्जती/मानहानी आदि केही गरेको त रहेनछ ।
खासमा साइबर क्राइम अश्लील फोटो, भिडियो, लेखन आदि प्रसारण गरेको पनि त होइन । भएको भए त हामीले पनि देख्न पाइन्थ्यो । त्यसो भए सरकारको आलोचना गरेकै भरमा यसरी गिरफ्तार गर्नु त लोकतन्त्रको धज्जी उडाउनु हो ।
प्रधानमन्त्री, गृहमन्त्री जस्ता जननिर्वाचित, जनउत्तरदायी र जिम्मेवार जनप्रतिनिधि महानुभावहरुलाई थाहा छ कि छैन ? यस्तालाई यसरी यस्तो बेलामा यस्तो गर्ने यत्न गर्ने हो भने यत्रो आन्दोलन गरिल्याएको लोकतन्त्र त तानाशाहीतन्त्रमा परिणत हुन्छ । यसै गर्नु छ र दमनै गरेर आलोचकहरु सिद्धाएर हिटलरै बन्नु छ भने त हाम्रो भन्नु केही छैन ।
नत्र यस्ता गतिविधि जसमा राहत बाँड्ने ज्ञानेन्द्र शाही, उनलाई डेरा दिने शक्ति शाहीलाई गिरफ्तार गर्ने, अनि विद्यार्थी हेमराज थापा (कपाल पालेका राहत बाँड्ने विद्यार्थी) कहाँ रहेको राहत खाद्यान्न पनि जफत गर्ने र उनी लगायत अन्य कटु आलोचकहरु प्रेम कैदी, प्रेम बस्न्यात, प्रेम सन्ज्याल, भरत दाहाल, नरेन्द्रजङ्ग पिटर, प्रा. डा. सुरेन्द्र केसी, बालकृष्ण न्यौपाने, बालकृष्ण ढुङ्गेल, जगन्नाथ खतिवडा, लिलामणि पोखरेल, देव गुरुङ र भीम रावल जस्ता थुप्रै बुद्धिजीवी, पत्रकार, वकिल, लेखक, राजनीतिक र संस्कृतिककर्मी आदि एमसीसी लगायतका कतिपय कुराका आफ्नै पार्टीभित्रका कट्टर आलोचकहरुलाई समेत गिरफ्तार गर्ने सूचीमा राख्ने र क्रमश: गिरफ्तार गर्दै जाने हो तर आफूहरुले भने संविधान, विधि, व्यवस्था सबै उल्लंघन गर्ने, अनियमितता, भ्रष्टाचार र कमिसनखोरीलाई संस्थागत र वैधानिकता दिँदै जाने अनि राष्ट्रघाती र जनघाती कामहरु गर्दै जाने हो भने के हुन्छ ?
यसै त कोरोनाको कहरले मानिसहरुमा चरम उकुसमुकुस र परम छट्पटी छ । त्यस माथि हालैका अध्यादेशहरुले आक्रोसलाई चुल्याएको छ र स्थिति अत्यन्त नाजुक, संवेदनशील र गम्भीर मात्र होइन विस्फोटक नै छ । यस्तो विषम परिस्थितिमा प्रतिगामी र प्रतिक्रियावादीहरु ‘के निहुँ पाऊँ, कनिका बुकाऊँ’ भनी दाउ हेरेर, पासो थापेर र षड्यन्त्रका तानाबाना बुनेर बसिरहेका छन् । झन् त्यस माथि आगोमा घिउ थप्नेगरी यसरी यस्ता गिरफ्तारी र दमन बढाउँदै जाने भनेको त आफ्नो खाल्टो आफैले खन्नु हुन जान्छ । तसर्थ उहाँहरुलाई तत्काल रिहा गरियोस् ।
बरु, आलोचनालाई निगरानी, नियन्त्रण र निषेध नै हो भने आफू र आफ्नाको पक्षमा होइन, देश र जनताका पक्षमा, भ्रष्टाचार र कमिसनतन्त्रका पक्षमा होइन, लोकतन्त्र र परिवर्तन/क्रान्तिका पक्षमा, पक्षपाती र पुँजीपतिका पक्षमा होइन, समानता र न्यायका पक्षमा केही राम्रा, ठुला र दीर्घकालीन महत्त्वका काम गरियोस् ।
यसो भयो भने विरोधी, प्रतिरोधी, आलोचक मात्र होइन, आक्रमणकारी बुद्धिजीवी, पत्रकार, लेखक आदि सबैको मुख थुनिन्छ, कलम भाँचिन्छ र सामाजिक सञ्जाल बन्द हुन्छ । समयमै होश आओस् ! लोकतन्त्र दिवसको शुभकामना !!