२०७७ बैशाख १३ गते अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय महासचिव, हामी सबैको प्यारो मान्छे पूर्ण पौडेल (क. विश्वास) लाई राज्यले बेपत्ता बनाएको पनि १८ वर्ष पुगेको छ । “कि लास कि सास देखाऊ” भनेर बेपत्ता योद्धाका परिवारले आन्दोलन गरेको पनि लामो भइसक्यो ।
आमा मोतीमाया लगायत परिवारको छोरा आउने आसमा वर्षौँ बितिसकेको छ । विछोडको जलन कस्तो हुन्छ? जल्नेहरुलाई थाहा हुने रहेछ । हजारौँ आमाहरुको आँखा अहिले पनि ओभाना छैनन् ।
तपाईं लगायत सम्पूर्ण शहीद र बेपत्ता योद्धाहरुको सपना अधुरै छन् । वैचारिक स्खलन यति डरलाग्दो विषय रहेछ कि जुन त्याग, समर्पण र बलिदानले आज उनीहरु यो स्थानमा छन्, उनीहरुले नै यो मुद्दालाई ओझेल र बद्नाम बनाइरहेका छन् ।
शहीद, बेपत्ता र घाइते योद्धाको सम्मान राज्यले दिनु त कता हो कता आफ्नै पार्टीको साझा मुद्दा बनाउन नसक्ने गरी बलिदानको मूल्यलाई रछ्यानमा मिल्काइदिँदा रहेछन् ।
सर्वहारावर्गका नेता दलाल पुँजीवादसँग आत्मसमर्पण गरेर श्रमजीवी वर्गलाई नै कसरी लात हान्दोरहेछ भन्ने भद्दा नमूना नेपालमा हामीले भोगिरहेका छौँ । बलिदानको मूल्यलाई आँशु र भावनामा मात्र होइन सोच, चिन्तन र विचारमा खोजिनुपर्छ । प्रतिक्रान्तिको जवाफ आँशुले होइन, क्रान्तिले दिनेगरी सोच्नुपर्छ ।
कोरोना महामारीले देश लकडाउनमा छ । महाविपत्ती र मानवीय संकटको बेला पनि लुट्ने दलाल व्यवस्थाको विश्वव्यापी चरित्र हो । यसले अरुको घर भत्काएर आफ्नो महल ठड्याउन खोज्छ । जुन अहिले पल-पलमा देखिएको छ । तीन करोड जनतालाई भित्र राखेर आफू लुट्न बाहिर बस्छ । न्यायको आवाजलाई बन्दुकले दबाउँछ । जुन नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धले सहजै बुझ्न सकिन्छ ।
यस्तो संकटमा बन्दीहरुलाई छाड्नुपर्नेमा विरामी कमरेडहरुलाई पनि गिरफ्तार गर्न छाडेको छैन । यो सरकारसँग थोरै मानवीय समवेदना पनि छैन । दमनले न्यायको आन्दोलन कमजोर हुँदैन भन्ने इतिहास हाम्रो साक्षी छ। दमनले कमजोर हुने होइन, सुदृढ र मजबुत हुँदै जानुपर्छ । नेतृत्वले बिचैमा धोखा दियो भनेर निरास होइन, हाम्रा आफन्तले छाडेर गएको हाम्रो मुक्तिको झण्डालाई माथि उठाउने पार्टी र विचारलाई साथ दिन सक्नुपर्छ ।
पूर्ण, तपाईंको जीवनसाथी हुनुमा मलाई गर्व छ । तपाईंसँगको सहकार्य लामो हुन सकेन । जति भयो अमीट रह्यो । तपाईँको दृढता, कला, क्षमता, साहस, त्याग, समर्पण र बलिदानको अमूल्य योगदानको अगाडि पार्टी र जनताप्रति मैले गरेको योगदान फिक्का नै छ । तर पनि तपाईंजस्तो महान बन्ने बाटोमा निरन्तर लागिरहेको छु । हरेक दुःख र अफ्ठ्यारोमा तपाईँलाई सम्झिरहन्छु ।
तपाईं लगायत हजारौँ योद्धाहरुले देखेको सपना पूरा गर्न अफ्ठ्यारो तर सम्भव बाटोमा लागिरहेको छु । तपाईं हाम्रो भौतिक भेट के हुन्छ? तर विचार र भावनामा सँधै तपाईंको साथमा छु र रहनेछु । हामी तपाईंलाई सँधै सम्झिरहेछौँ, पूर्ण ।
(लेखक बेपत्ता योद्धा क. पूर्ण पौडेल (विश्वास) का जीवन संगिनी हुनुहुन्छ ।)