सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सले सेप्टेम्बर १८७१ मा लण्डनमा भाषण गर्दै भन्नुभएको थियो, “मजदुर वर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ ।” यसको सिधा र स्पष्ट अर्थ हो: राज्यसत्तामा आमूल परिवर्तन नगरिकन मजदुर वर्गले आफ्नो शासन व्यवस्था स्थापना गर्न सक्दैनन् । प्रतिक्रियावादी राज्यसत्ताका आधारभूत संरचनामा क्रान्तिद्वारा आमूल परिवर्तन गरेर मात्र मजदुर वर्गको मुक्ति सम्भव छ ।
मई १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात् मजदुर दिवस । श्रमजीवी वर्गले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर बलिदानीपूर्ण हड्तालको सुरुवात गरेको दिन । त्यही हड्तालको जगमा नै मजदुर वर्गले आफ्ना मागहरुको अगाडि पुँजीवादलाई घुँडा टेकाउन सफल भएको थियो ।
सर्वप्रथम, मजदुर आन्दोलनको प्रारम्भ बेलायतमा भएको थियो । सन् १८२४ मा ट्रेड युनियनका लागि केही कानुनी सुविधाहरु दिइए पनि मजदुरहरुलाई मताधिकार भने थिएन । १८३० को दशकमा मजदुहरुको गतिविधि बढ्दै जान थाले । यसले विभिन्न देशहरुमा काल्पनिक समाजवादी विचारहरुको जन्म हुन थाल्यो ।
सन् १८३० को दशकमा स्थापना भएका मजदुर संघमा कल्पनावादीहरुको प्रभाव थियो । काल्पनिक समाजवादी विचारहरु समाजको ऐतिहासिक विकासका वैज्ञानिक नियमहरुका आधारमा होइन, मजदुहरुको दयनीय जीवनबाट प्रभावित भएर उनीहरुको उपकार गर्ने आदर्शवादी विचाहरुद्धारा प्रेरित भएर जन्मेका थिए । भातृत्वको निम्ति ‘एकता र ऐक्यबद्धता’ हुनुपर्दछ भन्ने उनीहरुको विचार थियो ।
सन् १८८० को मध्यसमयमा अमेरिकाले औद्योगिक क्षेत्रमा ठूलो फड्को मारे तापनि त्यहाँको सामाजिक र आर्थिक असमानता उच्च थियो । मजदुरहरुले घटिमा पनि प्रतिदिन १८ घण्टा काम गर्नुपर्दथ्यो । ८ घण्टे काम, आराम र मनोरञ्जनको माग सम्बोधनका लागि सन् १८८० देखि नै त्यो आन्दोलनका लागि मजदुरहरुले आधार तयार गरेका थिए । उक्त आन्दोलनले सन १८८६ को मई एकबाट सबैभन्दा उच्चतम रुप ग्रहण गर्न पुगेको थियो । सन १८८० मा अमेरिकी मजदुर संगठनहरुले आठ घण्टाको कार्य दिवस आन्दोलनको तयारीमा जुटेका थिए ।
अमेरिकामा आठ घण्टे कार्य दिवसको आन्दोलन सन् १८६० देखि छिटफुट रुपमा प्रारम्भ हुनुभन्दा पहिला सन् १८५६ मा आठ घण्टे कार्यदिनको माग सबैभन्दा पहिला अष्ट्रेलियाका निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुले माग गरेका थिए ।
त्यो समय, मुख्य गरी अमेरिकाको शिकागो सहरको हेमार्केट चोक आन्दोलनको केन्द्रबिन्दु थियो । सो आन्दोलनमा व्यापक प्रहरी दमन भएका कारण आन्दोलनकारी मजदुर र प्रहरीको समेत ज्यान गएको थियो । प्रहरी दमन, मालिकहरुको अत्याचार, पुँजीवादीहरुको दमनका बाबजुद पनि मजदुरहरुको आन्दोलनले विजय प्राप्त गरेको थियो ।
वर्तमान अवस्थामा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा रहेकोले मजदुर आन्दोलन पनि अहिले ठोस ढङ्गले उठ्न सकिरहेको छैन । भुमण्डलीकृत विश्व पुँजीवादले मजदुर वर्गको विरुद्धमा अहिले पनि आफ्ना योजना र कार्यक्रमहरु चलाइरहेको छ । तर त्यो अस्थाई अवस्था मात्र हो ।
विश्वमा मजदुर वर्गको गौरवशाली इतिहास बोकेको मई १ लाई आज विश्वभरीका श्रमजीवी वर्गले कोरोना महामारीका बाबजुद पनि विविध माध्यमद्वारा उत्साहजनक ढङ्गले मनाउन गइरहेका छन् ।
मजदुर दिवस र समाजवाद
मजदुर दिवस समाजवादसँग जोडिएको छ । वर्तमान पुँजीवादी व्यवस्थाले मजदुर वर्गको पक्षमा होइन, पुँजीपति वर्ग कै पक्षमा काम गर्दछ । मजदुरहरुको श्रममाथि पुँजीपति वर्चस्व कायम गरेर मजदुर वर्गलाई अमानवीय व्यवहार गर्दै स्वयम् मजदुरहरु माथि चरम प्रकारको दमन गर्दछ ।
यसरी श्रमजीवी वर्ग माथि दमन गर्ने पुँजीवादी व्यवस्थालाई शान्तिपूर्ण ढङ्गले पल्टाउन सम्भव हुन्न । सर्वहारावर्गको अधिनायकत्व बिना श्रमजीवी वर्गले मुक्ति प्राप्त गर्न सक्दैन । त्यसकारण, वर्तमान शोषणमा अडिएको पुँजीवादी व्यवस्थालाई समाप्त गर्न र सर्वाहारावर्गको अधिनायकत्वसहित वैज्ञानिक समाजवादको स्थापना र विकास गर्न मजदुर वर्गले सशस्त्र क्रान्तिको नेतृत्व गर्नुपर्दछ । सबै प्रकारका शोषणको अन्त्य गर्नका लागि मजदुर दिवसले मजदुरहरुको अन्तर्राष्ट्रिय एकताका लागि दिशा निर्धारण गर्नु पर्दछ ।
पुँजीवादीहरुले समाजवाद अतितको विषय भएको र अब विश्वमा समाजवादको भविष्य नभएको प्रचार प्रसार गरिरहेका छन् । २०औँ शताब्दीमा विश्व समाजवादले तीब्र रुपमा गति लिएको थियो । समाजवादी व्यवस्थाभित्र छिरेका पुँजीवादी एजेन्टहरुले समाजवादी व्यवस्थाको पतनका लागि काम गरेका थिए । पुँजीवादीहरुको त्यस प्रकारको प्रचार प्रसारका पछाडि कुनै सत्यता छैन र समाजवाद अवश्यम्भावी छ । विश्व पुँजीवादभित्र गहिरिँदै गएको संकट, पुँजीवादभित्र आएको विभाजन र पुँजीवादी विश्वव्यवस्थाले मानवजातिका विरुद्ध गरिरहेको हर्कतले पुँजीवादको नाश अवश्यम्भावी नै छ ।
वर्तमान विश्व पुँजीवादलाई समाप्त गर्न विश्वभरका मजदुरहरुको एकता अनिवार्य छ । २१औँ शताब्दी पुँजीवादको विश्वव्यापी समाप्ति र समाजवादको विश्वव्यापी विजयको युग बन्नेछ । हतियारको होडबाजीमा लठ्ठ परेर मानवजातिका विरुद्ध लागिरहेको पुँजीवाद दिनप्रतिदिन मरणशील भइरहेको छ ।
२१औँ शताब्दीमा विश्व समाजवादी व्यवस्थाको विजयका लागि अभूतपूर्व रुपमा, सर्वहारावर्गको नेतृत्वमा वर्तमानमा विकसित विज्ञान र प्रविधिको उच्चतम प्रयोग र योजना सहित, इतिहासका अनुभवहरुको शिक्षाको आधारमा समाजवादी क्रान्ति हुनेछ र विश्व समाजवादी व्यवस्थाको विजय हुनेछ ।
(लेखक राजमोका युवा नेता तथा रातो लालटिन वैचारिक मञ्चका संयोजक हुनुहुन्छ ।)