सोभियत संघको विघटन, collapse of soviet union, ussr
 

मार्च महिनाको १३, सन् १९८८ को दिन । सोभेत्स्काया रोसिया नामक रुसी पत्रिकामा रसायनशास्त्रकी प्राध्यापक निना आन्द्रेयेभाको एउटा खुला चिठी छापियो । शिर्षक थियो, “म मेरा सिद्धान्तहरुलाई त्याग्न सक्दिन।”

त्यो समय सोभियत संघको कम्युनिस्ट पार्टी र सत्ताका प्रमुख मिखाइल गोर्भाचोव युगोस्लाभिया भ्रमणमा थिए । उक्त चिठी नौ सय भन्दा बढी रुसी पत्रिकाहरुले छापे । सोभियत संघभरि चिठीले ठूलो हलचल ल्यायो ।

चिठीमा निनाले पेरेस्त्रोइका र ग्लास्नोस्तको धज्जी उडाएकी थिइन् । आधारभूत कम्युनिस्ट सिद्धान्तलाई त्यागेर बजार पुँजीवादको शरणमा गएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेकी थिइन् । त्यो चिठीले लाखौँ सोभियत मनहरुलाई तरङ्गित बनायो । व्यवस्थामा ल्याइएको सुधारले आम नागरिकहरुलाई अभावको पहरोमा लगेर जोतिदिएको थियो । पाउरोटी किन्न समेत घण्टौँ लाइन बस्नुपर्ने अवस्थाबाट आजित जनताहरुलाई चिठीले जुलुस बनायो । शहरहरुमा र्‍यालीहरु निस्किए ।

मिखाइल गोर्भाचोव भ्रमण छोट्याएर मस्को फर्किए । उनले कम्युनिस्ट पार्टीको पोलिटब्युरोको बैठक डाके । बैठकले उक्त चिठीलाई एकमतले खारेज गर्‍यो । सुधारका आलोचकहरुलाई राष्ट्रघातीको आरोप लगाइयो ।

बुढा कोन्स्त्यान्टिन चेर्नेन्कोको १९८५ मा निधन भएपछि ५४ वर्षका मिखाइल गोर्भाचोव पार्टी महासचिव बनेका थिए । महासचिव बन्नुपूर्व गोर्भाचोवले क्यानडा, बेलायत लगायत केही मुलुकको भ्रमण गरेका थिए । उनी समाजलाई खुकुलो बनाउने र अर्थतन्त्रको पुनर्निर्माण गर्ने सोचमा थिए ।

ख्रुश्चेवको कार्यक्रमबाट गोर्भाचोव प्रभावित थिए । महासचिव बनेलगत्तै गोर्भाचोवले जनताका कुरा सडकमै सुन्ने, आफ्नो फोटो चोकहरुमा नटाँस्ने, पोलिटब्युरोमा छलफललाई बृहद बनाउने जस्ता कदमहरु चाले ।

chhabi subedi, dailekh, छवी सुवेदी
लेखक

सोभियत समाजवाद ख्रुश्चेवको पुँजीवादपरस्त कार्यक्रमबाट संक्रमित भएकोले त्यो झन मक्किँदै गएको थियो । सन् १९८६ मा चेर्नोविल आणविक दुर्घटना भयो । केही पश्चिमा विश्लेषकहरुले त चेर्नोविल आणविक दुर्घटनाले सुधारका निमित्त दबाब दिएको बताएका छन् । आणविक होडबाजीले उकुसमुकुस भएको दुनियाँका निमित्त चेर्नोविल दुर्घटनाले चर्चा पाउनु अस्वभाविक थिएन ।

सोही साल भएको पार्टीको सत्ताइसौँ महाधिवेशनबाट गोर्भाचोवको आर्थिक पुनर्निर्माण (पेरेस्त्रोइका) र राजनीतिक खुलापन (ग्लास्नोस्त) कार्यक्रम पारित भयो । गोर्भाचोवले समाजवादलाई अझ सुदृढ गर्न यस्तो सुधारको कार्यक्रम ल्याएको व्याख्या गरे।

सन् १९८७ को जुनमा सम्पन्न पार्टीको विस्तारित बैठकमा उनले आर्थिक सुधारलाई बल पुग्ने दस्तावेज पेश गरे। उक्त बैठकमा उनले बहुदलीय व्यवस्थाको प्रस्ताव पनि राख्न खोजेका थिए । तर त्यो प्रस्ताव उनले बाहिर ल्याएनन् ।

आर्थिक सुधारको कार्यक्रमले निजी व्यापारलाई कानुनी मान्यता प्रदान गर्‍यो । सरकारी उत्पादन कम्पनीहरुले आफ्नो उत्पादनको तीस प्रतिशत निजी व्यापारी र सहकारीलाई बेच्न पाउने प्रावधान बन्यो । खबरपत्रिकाले सरकारका गतिविधिको आलोचना छाप्न पाउने भए । पार्टी र समाजवादविरोधी कार्य गरेको आरोपमा बन्दी बनाइएकाहरु रिहा भए । सुधारको कार्यक्रमपश्चात् सरकारी कम्पनीहरूको घाटा बढ्यो । निजी व्यापारीहरुको नाफा तीब्र रुपमा बढ्यो । कालोबजारी र भ्रष्टाचार त्यही मात्रामा वृद्धि भयो ।

सुधारवादी बाटोको विपक्षमा कम्युनिस्ट पार्टीभित्र आवाज बुलन्द हुँदै गयो । आम नागरिकहरुमा पनि सुधारले आकर्षण पैदा गरेन । रुसी कम्युनिस्ट पार्टीभित्र हुर्किरहेको नोकरशाहीतन्त्र र कालोबजारीहरु एवं तस्करहरुको गठजोडले नयाँ प्रणाली कामकाजी हुनुपूर्व पुरानो प्रणाली ध्वस्त बनायो । महङ्गी र अभावले असन्तोष ह्वात्तै बढ्यो । सरकारका सिमित अधिकारी र केही व्यापारी रातारात धनी बने । आम जनताले नचिताएको गरिबी व्योहोर्नु पर्‍यो ।

यही परिवेशमा निना आन्द्रेयेभाको चिठी बाहिरिएको थियो। कम्युनिस्ट नोकरशाह र नाफाखोरहरुमाथि औँला ठड्याएको थियो ।

लेनिनले भनेझैँ सुधारवादले पुँजीवादको सेवा गर्ने तथ्यको व्यवहारिक रुपले पुष्टि भएको थियो । पश्चिमी पुँजीवादी वृत्तले मिखाइल गोर्भाचोवको प्रशंसामा शब्दहरु खर्चिन सुरु गरेको थियो । सन् १९८८ मा टाइम पत्रिकाले गोर्भाचोवलाई “वर्ष पुरुष” घोषणा गर्‍यो ।

ख्रुश्चेवको उदयपश्चात स्टालिनले लागु गरेको राष्ट्रिय समाजवादको कार्यक्रम अप्ठ्यारोमा पर्‍यो । पूर्वीयुरोपमा सोभियत संघले अनावश्यक हस्तक्षेप गरेर आफ्नो स्वरुप पनि अमेरिकाकोझैँ साम्राज्यवादी भएको झल्को दियो । राज्यको धेरै ठूलो सम्पत्ति आणविक हतियारका निमित्त खर्च हुन थाल्यो ।

सन् १९६१ मा सम्पन्न पार्टीको बाइसौँ महाधिवेशनमा ख्रुश्चेवले आउँदो २० वर्षमा साम्यवादको स्थापना गर्ने घोषणा गरे । स्टालिनको नामोनिशान मेटाउन उनको नाम दिइएका सहरहरुको नाम पुरानै राख्ने निर्णय भयो । इतिहासकार आर्की ब्राउनका अनुसार झुठो वाचा गरिएको भए पनि रुसी इतिहासमा साम्यवाद स्थापनासम्बन्धी त्यो अन्तिम दस्तावेज थियो ।

ख्रुश्चेवले लेनिनको ‘नयाँ आर्थिक नीति (नेप)’ को खुलेर प्रशंसा गरे भने स्टालीनलाइ इभान जस्तो डरलाग्दो राक्षसको उपमा दिए । चीनसँगको वैचारिक सम्बन्ध भङ्ग गरे ।

सन् १९६२ को क्युबाली मिसाइल संकटले ख्रुश्चेवको नीतिलाई कमजोर बनाउन मद्दत गर्‍यो । ख्रुश्चेवलाई ब्रेझनेवले सजिलै अपदस्थ गरे । ब्रेझनेवले लिक बाहिर गइसकेको सोभियत समाजवादलाई सच्याउन सकेनन् ।

ब्रेझनेवको मृत्युपछि युरी आन्द्रोपोव महासचिव भए । उनले भ्रष्टाचारविरोधी अभियान चलाए । आन्द्रोपोवले मिखाइल गोर्भाचोवलाई पार्टीमा अघि सारे । आन्द्रोपोवपछि चेर्नेन्को नेतृत्वमा आए । यी दुवै बुढा र रोगी थिए ।

आन्द्रोपोवपछि मिखाइल गोर्भाचोव महासचिव भए । यहाँसम्म आउँदा ख्रुश्चेवको सुधारवादले लामो भूमिगत यात्रा तय गरिसकेको थियो । उनले बढाएको हस्तक्षेपको नीति शिखरबाट ओरालो झर्ने तरखरमा थियो ।

गोर्भाचोवले पूर्वीयुरोपका समाजवादी मुलुकहरुमा बढेको अमेरिकी सक्रियतालाई रोकेनन् । आणविक अप्रसारको नीति अख्तियार गर्न तयार भए । अफगानिस्तानबाट रुसी सेना फिर्ता गरे । हेर्दाहेर्दै पूर्वीयुरोप ढल्यो । बर्लिनको पर्खाल भत्कियो ।

सन् १९८९ मा टाइम पत्रिकाले गोर्भाचोवलाई “दशक पुरुष” घोषणा गर्‍यो । पुँजीवादको विश्वव्यापीकरण बेलगाम घोडाझैँ बर्लिन, क्रेमलिन हुँदै तियानमेनसम्म पुग्यो । सोभियत सत्ताले समाजवादको नाममा आफूमाथि आश्रित परजीवी समाजवाद स्थापना गरेको थियो । सोभियत संघ आफै चर्मराउन थालेपछि ती आश्रित सत्ताहरु ढल्नु स्वभाविक नै थियो ।

गोर्भाचोवले बजारको ढोका खोलेपछि उनले भनेका थिए, “हामीले सन् २००० सम्ममा अमेरिकी उत्पादनलाई भेट्नेछौँ ।” उनले भोड्का उत्पादनमा चालिस प्रतिशत कटौती गरे । रक्सी सेवनमा कडाई गरे । यसरी आर्थिक सुधारसँगै सामाजिक सुधारलाई पनि अघि बढाए ।

यी सुधारका कार्यक्रममा उनलाई नजिकबाट सहयोग गर्ने नेतामध्येका एक थिए – अलेक्जेण्डर यकोव्लेव । उनी अमेरिकामा एक वर्ष पढेर आएका थिए । रुसको कम्युनिस्ट व्यवस्था जोगाउन आर्थिक पुनर्निर्माणलाई उनी अचुक हतियार ठान्थे। उनलाई “ग्लास्नोस्त” का पितामह पनि भनिन्छ। सन् १९८७ मा रुसी रास्ट्रवादी संगठन पाम्यातले यकोव्लेवलाई सरकारबाट हटाउन चेतावनी दियो ।

सन् १९९० सम्म आउँदा आर्थिक सुधारको कार्यक्रमले सोभियत सत्तालाई एक सय अरबभन्दा बढीको चुना लगायो । यसको बदलामा मस्कोले केही थान अरबपति जन्मायो । मस्कोमा म्याक डोनाल्ड रेस्टुरेन्ट लगायतका विदेशी व्यापारका केन्द्रहरु खुले । जहाँ धनाढ्यहरु आफ्नो आम्दानीको सानो भाग खर्च गर्न सक्थे । सन् १९९० को शान्तितर्फको नोवेल पुरस्कार गोर्भाचोवलाई दिइयो ।

ग्लास्नोस्त र पेरेस्त्रोइकाले सोभियत संघमा राष्ट्रवादलाई ब्युँझाए । बाल्टिक गणराज्यहरुले सन् १९८९ को अन्त्यसम्ममा आफूलाई स्वतन्त्र घोषणा गरिसकेका थिए। अन्य गणराज्यहरुमा पनि स्वातन्त्रताको आन्दोलन सुरु भएको थियो । गोर्भाचोव सोभियत संघलाई जोगाउन चाहन्थे। तर उनले अख्तियार गरेको नीतिले विघटनको बिउ रोपिसकेको थियो ।

सन् १९९० को जुन महिनामा सोभियत संघको कम्युनिस्ट पार्टीको अट्ठाइसौँ महाधिवेशन भयो । गोर्भाचोवले “मानवीय प्रजातान्त्रिक समाजवादतर्फ” नामक दस्तावेज पेश गरे । यो नै सोभियत कम्युनिस्ट पार्टीको अन्तिम महाधिवेशन थियो । यहाँसम्म आउँदा गोर्भाचोव मार्क्सवादी-लेनिनवादीबाट युरोपेली समाजवादी भइसकेको पुष्टि हुन्छ ।

सुधारको बाटोबाट छिरेको बजार पुँजीवादले आफू हिँडेको सुधारवादी बाटो भत्काएर पुँजीवादलाई फराकिलो बनाइसकेको थियो । राज्य नियन्त्रित उत्पादन फर्महरु बन्द हुने चरणमा पुगेका थिए । किसान र मजदुरको अवस्था सन् १९१७ कोझैँ भइसकेको थियो । राज्यको नियन्त्रणमा रहेका उत्पादनका साधनहरुमा नोकरशाहीतन्त्रले कब्जा जमाएको थियो । मौका पाउनासाथ नोकरशाहीतन्त्रले ती उत्पादनका साधनहरु कमिसनको भरमा उदारवादलाई सुम्पिदियो ।

अब गोर्भाचोवसँग पार्टी र सत्ताको पदबाहेक अरु सिन्को पनि बाँकी थिएन । उनी आत्मसमर्पण गर्न टिठलाग्दो गरी उदारवादको कठघरामा उभिएका थिए । गोर्भाचोव आफ्नो चाहनाले केही गर्न सक्दैन्थे ।

यो अवसानको यात्रा गोर्भाचोवले अचानक सुरु गरेका थिएनन् । जब उत्पादनका साधनहरु मजदुर र गरिब किसानहरुबाट बेतनभोगी नोकरशाहहरुले आफ्नो कब्जामा लिए, त्यही समयबाट यो यात्रा सुरु भएको थियो ।

गोर्भाचोवलाई कम्युनिस्ट पार्टीको पद भारी लाग्न थालेको थियो । उनी उदारवादको चिसो तलाउमा निर्णयविहीन भएर तैरिरहेका थिए । सन् १९९१ अप्रिलको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिए । पोलिटब्युरोको बैठक उनीबिना तीन घण्टा चल्यो । पछि केन्द्रीय समितिको आग्रहमा उनले आफ्नो राजीनामा फिर्ता लिए ।

सन् १९९१ अगस्त १८ को दिन । गोर्भाचोव आफ्नी श्रीमती र छोरीको साथ क्रिमियास्थित सरकारी आवासमा विदा मनाइरहेका थिए । अचानक उनको घरमा एउटा टोली पुग्यो र राजीनामा गर्न भन्यो ।

यता मस्कोमा मन्त्रीमण्डलका आठ जनाको एउटा समूहले गोर्भाचोवलाई सत्ताच्युत गर्ने योजना बनाएको थियो । गोर्भाचोवले राजीनामा गर्न मानेनन् । उनलाई आफ्नै निवासमा बन्दी बनाए ।

मिखाइल गोर्भाचोव, सोभियत संघको विघटन,
मिखाइल गोर्भाचोव, टाइम म्यागाजिनका धेरै अंकका कभर पृष्ठहरू उनका फोटोहरू यसरी नै छापिए ।

त्यो समय रुसी गणराज्यका प्रमुख कम्युनिस्ट पार्टी छाडिसकेका बोरिस यल्त्सिन थिए । उनले सन् १९८७ मा कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्यबाट राजीनामा दिएका थिए । गोर्भाचोवले उनलाई राजनीतिक निरक्षर भनेका थिए । आफूलाई बहुदलवादी भन्ने यल्त्सिनले गोर्भाचोवविरुद्ध गरिएको सत्तापलटको विरोध गरे । उनले रुसमा सत्तापलटका विरुद्ध आम हड्तालको घोषणा गरे । मानिसहरु सडकमा जम्मा भए । सैनिक ट्यांकहरुलाई घेरा हाले ।

अन्तमा बोरिस यल्त्सिनको अथक प्रयासको फलस्वरूप सत्तापलटको अभ्यास असफल भयो । २१ अगस्तमा गोर्भाचोव मस्को ल्याइए । मस्को आएपछि गोर्भाचोवले कम्युनिस्ट पार्टीबाट राजीनामा दिए । केन्द्रीय समिति भङ्ग गरेको घोषणा गरे । २४ अगस्तको दिन इभास्को पाँच दिनको लागि कार्यवाहक महासचिव भए । उनले कम्युनिस्ट पार्टीलाई ब्युँझाउन सकेनन् । २९ अगस्तमा यल्त्सिनले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए । त्यो समय सोभियत कम्युनिस्ट पार्टीका झण्डै एक करोड नब्बे लाख संगठित सदस्य थिए ।

१७ डिसेम्बरका दिन यल्त्सिनसँगको बैठकमा गोर्भाचोवले सोभियत संघ विघटनको प्रस्तावमा हस्ताक्षर गरे । २४ डिसेम्बरमा सोभियत संघको राष्ट्रपतिको हैसियतमा गोर्भाचोवले अन्तिम सम्बोधन गरे, “सुधारका सबै प्रयासहरु असफल भए। .. यो समाजले स्वतन्त्रता प्राप्त गरेको छ।”

२५ डिसेम्बरका दिन उनले राष्ट्रपति पदबाट राजीनामा दिए । आणविक हतियारको साँचो रुसी गणराज्यका राष्ट्रपति बोरिस यल्त्सिनलाई हस्तान्तरण गरे । त्यो अक्टोबर क्रान्तिको उपज सोभियत सत्ता पूर्णतः ढालिएको थियो । पुँजीवादले विजय उत्सव मनाएको त्यो दिन क्रेमलिनमा हँसिया हथौडा अंकित रातो झण्डा अन्तिम पटक फहराइएको थियो ।

सोभियत सत्ताको पतनलाई कम्युनिस्टको अन्त्यका रुपमा खुब प्रचार गरियो । रुसको ऐतिहासिक भूमिले सोभियत सत्ता ढल्दै गर्दा धनी र गरिब बिचको ठुलो खाडल तयार पारिसकेको थियो । जसको दोष कम्युनिस्ट पार्टीमाथि थोपरेर पुँजीवादका एजेन्टहरु क्षणिक समयका लागि आत्मरति लिइरहेका थिए ।

सुधारवाद पहिरेर संशोधनवाद नामको भाइरस कम्युनिस्ट पार्टीमा छिरेको थियो । त्यही संशोधनवादले विशाल पार्टीलाई एउटा गोली पनि खर्च नगरी ढालेको थियो ।

अर्थशास्त्री डेविड एफ रुकियोका अनुसार सोभियत संघको विघटन पश्चात आर्थिक असमानता रुसमा एकदमै बढेको छ । यो असमानताले युरोपका धेरै मुलुकहरुलाई उछिनिसक्यो । फोबर्स पत्रिकाको सन् २०१५ को प्रतिवेदन अनुसार रुसको करिब ४० प्रतिशत सम्पत्ति सीमित अरबपतिहरुको हातमा छ । दुई तिहाईभन्दा धेरै रुसी जनता गरिबीमा जिउन बाध्य छन् ।

यो शाश्वत सत्य हो कि विश्वका सबै सत्ताहरु गरिबहरुको धैर्यमाथि टिकेका हुन्छन् । रुसमा पुँजीवादको पुनर्स्थापना विश्व कम्युनिस्ट आन्दोलनका निमित्त ठुलो पाठ पनि हो । समाजवाद एकपटक ढलेपछि फेरि उठ्न नसक्ने भौतिक जीवन होइन । यो त आम उत्पीडित भौतिक जीवनहरुका निमित्त कालक्रममा सचेततापूर्वक जन्मिने एक वैज्ञानिक व्यवस्था हो ।

सन्दर्भ सामाग्री :

१. द न्युयोर्क टाइम्स, २६ डिसेम्बर १९९१
२. विकिपेडिया
३. हिस्टोरी, १६ जुलाई २०१८
४. द न्युयोर्क टाइम्स, १९ मार्च १९८९

(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता हुनुहुन्छ ।)