गौतम बुद्ध, Lord Buddha, gautam buddha, गाैतम बुद्ध, सिद्धार्थ गाैतम
 

आजभन्दा २५६४ वर्षअघि नेपालको लुम्बिनीमा शाक्य वंशको राजपरिवारमा आजकै बैशाख शुक्ल पूर्णिमाका दिनमा जन्मिएका र राजा हुने निश्चित रोलक्रममा रहेका शाक्यमुनि नामका प्रथम राजकुमार गौतम बुद्ध नामबाट आज विश्वप्रसिद्ध भगवानका रुपमा स्मरणीय, अनुकरणीय, स्तुत्य र पुज्य भएका छन् ।

म पनि बुद्धका केही अनुपम र अतुलनीय विचार, भावना र कर्महरुको हार्दिक सराहना गर्दै र बुद्धका समाजोपयोगी योगदानहरुलाई अवलम्बन गर्ने प्रण, प्रतिज्ञा र प्रयास गर्दछु र बुद्धप्रति उच्च सम्मान र अभिवादन अर्पण गर्दछु ।

खासमा गौतम बुद्ध यो अढाई सहश्राब्दीमा अरबौँ अरब मानिसहरुका दिल-दिमागमा संभवत: सर्वसम्मानित, सर्वशक्तिशाली र सर्वप्रभावशाली व्यक्ति, शक्ति, भक्ति, प्रवृत्ति, परम्परा र प्रतिष्ठान-अनुष्ठानका रुपमा यसरी गहिरो गरी गढ्नुमा बुद्धका केही विशिष्ट गुणहरुले काम गरेका छन् । ती हुन् – ज्ञान, ध्यान, त्याग, तपस्या, बलिदान, शिक्षादीक्षा र उपदेश आदिका माध्यमबाट मानवजगतलाई बुद्धले पुराएको योगदान ।

यी मध्येमा सबैभन्दा ठूलो उनको गुण वा योगदान हो – मानवजातिले भोगिरहनु परेको सांसारिक दुःख र अशान्तिबाट मान्छेलाई मुक्त गराई सुख-शान्ति दिलाउने महानतम् उद्देश्यका निम्ति आफ्नो राजर्षी सुखसयल र राज्यसत्ता भोगभागको त्याग, तपस्या र बलिदान अर्थात् आफ्नो तन, मन, धन र जनको सम्पूर्ण रुपमा समर्पण ।

यिनै विशेषता र योगदानका कारण आज बुद्ध विश्वमा सर्वविख्यात, सर्वसम्मानित र सर्वपूजितजस्तै छन् । अहिले बुद्धलाई हाम्रो देशलगायत संसारभरका सारा शासक, शोषक र सर्वसाधारण सबै जनमनले सगर्व सम्झना, सम्मान र शान्तिस्वस्ती गर्छन् । अनि आफूहरुलाई बुद्धका असली चेला, सही अनुयायी र वास्तविक उत्तराधिकारी नै ठान्ने र भन्ने गर्छन् ।

यी मान्छेहरु बुद्धलाई सम्झन्छन् र भन्दछन् – बुद्ध अथक तपस्वी र अमर यशस्वी हुन् । उनी मूर्ती पूजाका विरोधी र अनिश्वरवादी पनि हुन्” । यसरी नै उनीहरुले बुद्धको ज्ञान-गुन र अर्ति-उपदेशका साथै बुद्धको मूर्ति-सालिक, फोटो-तस्बिर आदि-इत्यादिको पूजा, आराधना र उपासना गरी आफूलाई बुद्धका चरम आसक्त र परम भक्त समेत भएको देखाउँछन्; बुद्धका ज्ञानगुन, अर्तिउपदेश, शिक्षादीक्षा र कामकुराबारे भीषणभाषण र लेखनलाखन गरी चर्चापरिचर्चा र महिमागान समेत गर्छन् ।

तर विचित्रको विडम्बना यो छ कि यीमध्ये अत्यधिक मान्छेले बुद्धको अनुशरण रत्तिभर पनि गर्दैनन् अर्थात् बुद्धले भनेअनुसार वा गरेअनुसार कत्ति पनि गर्दैनन्, बरु उल्टो गर्छन् तर बुद्धलाई मान्ने ढोङ भने खुबै गर्छन् ।

अनिश्वरवादी बुद्धलाई ईश्वर वा भगवान मान्ने र मूर्तिपूजाका सख्त विरोधी बुद्धका भयङ्कर ठुला मूर्तिहरु बनाई पूजा गर्ने बिल्कूल उल्टो विडम्बना समेत गर्दछन्, गरिनै रहेछन् । यो बुद्धप्रतिको सम्मान होइन अपमान हो । उनीहरु यो कुरा बुझ्दैनन् वा बुझेर पनि बुझ पचाउँछन् कि साँच्चिकै बुद्धले भने अनुसार मान्ने र गरे अनुसार गर्ने-गराउने हो भने मात्र बुद्धलाई मानेको ठहर्छ ।

यसरी बुद्धको बाटो अनुशरण गरेर बुद्ध जस्तै ज्ञानी-दानी र मानी-स्वाभिमानी भइने छ भन्ने पनि उनीहरुले नजाने-नबुझेको होइन । तर मानिसको स्वार्थ, लोभ र पाखण्ड कस्तो जब्बर हुँदोरहेछ भने तिनलाई मानिसहरुले जित्नै सक्दैनन् र प्रचलित पङ्गू परम्परा र प्रथाप्रति पूर्णत: चुक्छन्, झुक्छन् र बिक्छन् । अर्थात् बुद्धले जस्तो त्याग, तपस्या, दुःखकष्ट आदि गर्न नसकेर उनीहरुले बुद्धलाई मान्ने नाममा बुद्धकै आस्था र विश्वास विपरीत बुद्धकै मूर्ति बनाई पुजा गर्दछन् । यसो गर्नु अन्ततः र सारत: बुद्धको मान होइन पूर्णत: अपमान हो ।

यसैगरी उनीहरु आफै पनि बुद्ध शुद्ध जस्तो उत्कृष्ट बन्ने उनीहरुका आफ्ना सपना-जपना जेजस्ता भए पनि तिनका विपना उल्टा र निकृष्ट बन्न पुग्दछन् र पुगेका पनि छन् ।

आज पार्टी र ‘पिपुल’ले पत्याएर ‘पावरफुल’ पद, पैसा, पहुँच र प्रतिष्ठामा पठाइएका र पुगेका नेता-शासकहरुले बुद्धको शुद्ध ज्ञानको केही मात्रामा मात्र पनि अवलम्बन र कार्यान्वयन गरिदिने हो भने उनीहरु जनताबाट आज जसरी निन्दित-घृणित, तिरष्कृत-बहिष्कृत र ताडित-प्रताडित हुनुपर्दैन । बरु, यसको सट्टामा जनताको बिशालतम पंक्तिले ठुलो मान-सम्मानका साथ हार्दिक बधाई ज्ञापन गर्दै आत्मिक हर्ष बढाइँ पनि प्रदर्शन गर्दछन् र उनीहरुलाई गौतम बुद्धका साँच्चै शिष्य वा अर्का अवतारको रुपमा चीरकालसम्म सम्झना, श्रद्धा र सलाम गर्नेछ्न् ।

गौतम बुद्धको ज्ञान र योगदानको प्रचण्ड, किरणले र बुद्ध जन्मेको यस बैशाखे पूर्णिमाको चहकिलो शिक्षा र सद्बुद्धिले हाम्रा नेता-शासकहरुका मन-मस्तिष्क र कर्म-धर्म शुद्ध-बुद्ध होऊन् र देश र दुनियाँमा रहेको अन्याय-अत्याचार, शोषण-उत्पीडन र असमानता-अपहेलना उन्मूलन गरी उहिले गौतम बुद्धले भनेजस्तो र अहिले जनयुद्धले चाहेजस्तो शान्त, सुखद, शालीन, सभ्य र समुन्नत संसार बनोस् र सम्पूर्ण मानवजातिलाई मुक्ति मिलोस् ।

यही नै छ मेरो २५६४औँ बुद्ध जन्मेको, बुद्धले महाज्ञान पाएको र बुद्ध समाधिस्त भएको/निर्वाण प्राप्त गरेको अर्थात् मृत्यु वरण गरेको यो अद्वितीय बैशाख पूर्णिमाको दिव्य दिनमा सम्बद्ध सबैलाई बुद्ध जयन्तीको हार्दिक शुभकामना ।

(लेखक नेकपाका नेता तथा संविधान सभाका सदस्य हुनुहुन्छ ।)