मे १५ विश्वभरका मानवजातिले आफ्नो र आफू जन्मिएको नश्ल, वर्ण, जाति, वंश, कुल, गोत्र र थरसँग सम्बन्धित आफ्ना पिता-पुर्खा/माता-महामाताको पहिचान, सम्झना र सम्मान गर्दै आआफ्ना अभिभावक-संरक्षकहरु, परिवारका सदस्यहरु, आफन्तहरु, बन्धु-बान्धवहरु, नाता-कुटुम्बहरु र इष्टमित्रहरु हुँदै सैना-मीत, साथीसङ्गी, गुरुकुल-स्कुल, कमरेड-दोस्त, गाउँघर, छरछिमेक र समुदाय-समाज, पार्टी-प्रतिष्ठान, राष्ट्र र अन्तर्राष्ट्रसम्मका सबै मानवजातिसँग सम्बन्ध र सम्पर्कमा रहने, हालखबर, माया-दया, सहयोग-सद्भाव, विचार-भावना र आशिर्वाद-कामना, आदान-प्रदान गरी मनाइने दिवस हो विश्व परिवार दिवस ।
संकुचित र संकीर्ण बन्दै जाने हो भने साख्खै श्रीमान-श्रीमतीसम्मको सीमित संख्याको सपरिवारसम्म र विशाल र विहङ्गम हुँदै जाने हो भने विश्व बन्धुत्वपूर्ण ब्रमाण्डसम्म बिस्तारित हुन्छ यो परिवारको परिभाषा । त्यसैले आ-आफ्नो समाज, सभ्यता, संस्कार, संस्कृति, शैली र सोचअनुसार नै विश्व परिवार दिवस मनाउनु वान्छनीय हुन्छ ।
ब्रह्माण्डमा पृथ्वीको सृष्टि भएपछि मोनेराबाट बाँदर/वानर हुँदै मानिसमा विकसित भएको पनि आज ४० लाख वर्षभन्दा बढी भएको छ । आज हामी मानवजातिका प्राणीले ‘विश्व परिवार दिवस’ मनाउने सन्दर्भमा सर्वप्रथम हाम्रा प्राचीनतम् प्रथम पुर्खाको रुपमा आजभन्दा कम्तिमा ४० लाख वर्षअघि पूर्वीअफ्रिकाको Animalia राज्यको Mammalia Class मा Hominidae परिवारमा जन्मिएका वैज्ञानिक नामाकरण Homo ecrectus गरिएका व्यक्ति र उनको जीवनसाथीको परिवारलाई नै हाम्रा पुर्खाको प्रथम परिवारको रुपमा सम्झनुपर्ने हुन्छ ।
साथै हालसालैका आफ्ना परिवारजनलाई सम्झँदा आमाबुबालाई र अझ त्यसमा पनि विशेष गरी आमा अर्थात् महिलालाई सम्झना मात्र होइन, सम्मान समेत गर्नुपर्ने हुन्छ; किनकि महिलाबिना जहान-बच्चा र परिवारको कल्पना समेत गर्न सकिन्न ।
महिलाको सम्झना र सम्मान गर्दा परिवार निर्माणमा मात्र होइन, प्राचीनतम् मातृसत्तात्मक युगमा परिवारसत्ता, कम्युनसत्ता, समाजसत्ता र राज्यसत्ता निर्माण र तिनको सञ्चालन, संरक्षण र सम्बर्द्धनमा उनको क्षमता-प्रतिभा, बुद्धि-विवेक, शक्ति-शौर्य, त्याग-तपस्या, रगत-पसिना, आँशु-हाँसो, माया-ममता, दया-करुणा आदिको लगानी-कुर्वानीसमेतको मूल्य, महत्ता र योगदानको पनि स्वच्छ मूल्यांकन र उच्च कदर हुनु जरुरी छ ।
यसरी प्राचीन महिलाहरुको मूल्याङ्कन र कदर गर्दैगर्दा वर्तमानमा आफ्नो घरपरिवारमा श्रीमतीको अधिकार र स्वतन्त्रता तथा छोरी-बहिनीको हक, हित र सुख-दुःखका साथै अंश र वंशको सुनिश्चितताका लागि पूजा-आराधना, प्रार्थना-कामना, भीषण-भाषण र लेखन-बोलन मात्र गर्ने होइन, उनीहरुको सुख-समृद्धि र उन्नति-प्रगतिको बाटो र व्यवस्थाको पनि समन्यायिक र समुचित बन्दोबस्तिका बारेमा समेत हामी चेतनशील प्राणी, सचेत जाति, शिक्षित समुदाय, अगुवा द्रष्टा, र आलोचक अभियन्ता हुनुका नाताले उल्लेखनीय योगदान गर्नु पर्दछ ।
आज हामी आफूलाई कम्युनिस्ट भन्नेहरुले त झन् प्राचीन समाजको मातृसत्ता मातहत सञ्चालित त्यतिबेलाका परिवार सामूहिक श्रम, सामूहिक लगानी, सामूहिक उत्पादन, सामूहिक उपभोग र सामूहिक स्वामित्वको कम्युन सिस्टमअनुसार चल्ने गरेको र सो सिस्टमबाट सत्य र न्याय, समानता र स्वतन्त्रता, अधिकार र कर्तव्य आदिको समुचित सन्तुलन र सापेक्षित सन्तुष्टि भएको कुरालाई पनि विशेषरुपले स्मरण गर्दै र शिक्षा-प्रेरणा र आधार लिँदै अहिलेको हाम्रो परिवार, पार्टी, राज्य र समाजमा कम्युन प्रणाली, सहकारी प्रणाली र सापेक्षित तथा सुरुवाति समाजवादी-साम्यवादी व्यवस्था लागु गर्नु जरुरी छ ।
हाम्रो देशमा अहिले कम्युनिस्टको सरकार पनि छ र जसको सर्वोपरि मानार्थ नेतृत्वमा कम्युनिस्ट नेतृ महिला नै हुनुहुन्छ भने कार्यार्थ नेतृत्वमा पुरुष भए पनि “सम्पूर्ण नेपालीहरु नै आफ्नै सन्तती र पुरै पार्टी नै आफ्नै परिवार भएका ” भनिएका पार्टीकै प्रथम प्रमुख नेतृत्व हुनुहुन्छ तर विडम्बना छ कि यहाँ कम्युन प्रणाली होइन; बरु जसले दलाली गरून्, उनले पाऊन्, जसले पाऊन्, उनले खाऊन् र जसले खाऊन्, उनैले कमाऊन् भन्ने खालको सिस्टम छ ।
उहाँहरु परिवारवादी हुनु भएर परिवारको भरणपोषणका लागि त्यस्तो प्रणाली लागु भएको हो भने पनि परिवार दिवसको अवसरमा शुभकामना नै भन्नुभन्दा अरु भन्न सकिने अवस्था रहेन ।
साथै, परिवार नै निजी सम्पत्तिको आधार वा भनौँ निजी सम्पत्ति नै परिवारको आधारको “सच्चा” द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी शिक्षा र भीक्षा लिएर नै आज हाम्रा कम्युनिस्ट पार्टी र सरकारका प्रायः शीर्ष पंक्तिकै नेताहरु पनि परिवारको पालनपोषण कै निम्ति परिवारवादी वा घोषित-अघोषित श्रीमतीवादी भएर कमाउनिष्ट बन्न बाध्य भएको भए उहाँहरुलाई पनि परिवार दिवसको सुखद उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको कामना भन्नै पर्यो ।
अनि, हाम्रो शक्तिशाली सरकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली कम्युनिस्ट सरकारका नेता-मन्त्रीहरुले आफ्ना छोरीबुहारी, सालासाली, परिवारजन र ठेक्दारमनहरुको उच्चतम व्यवस्था गर्नुभएकोमा पनि उहाँहरुलाई परिवार दिवसको सन्दर्भमा सलाम नगरेर के गर्ने ?
आज विश्वभरि नै कोरोनाको कहर र डरले आफ्ना परिवार र रहरमा प्रहार गरिरहेको दर्दनाक र भयावह अवस्थामा परिवारका सदस्यहरु घरबाहिर मात्र होइन देशबाहिर हुने अनि कोरोनाको प्रकोपबाट पीडित हुने तर आफू भने सरकारी लकडाउनको नीति र विधिको रुप र सारको अक्षरश: पालना गर्दै घरभित्र बन्दाबन्दीमा परेर कैदीबन्दीको रुपमा स्वयंबन्दी बन्नुपर्ने बृद्धावस्थाका अशक्त बुढाबुढी बिरामी पर्दा तातोपानी खुवाउने समेत कोही नहुँदा परिवार र परिवारका सदस्यहरु बिचको सहयोग, सद्भाव र सहकार्यको आवश्यकता र महत्त्वबोध कति बढी महशुस भएको होला ? स्वत: स्पष्ट छ ।
अन्तमा, विश्व परिवार दिवसका सन्दर्भमा विश्व-ब्रह्माण्डलाई आफ्नै परिवार ठान्ने र सोअनुसार समान अधिकार र कर्तव्यको पालना गर्ने-गराउने सबैलाई अहिलेको घातक कोरोनाको महामारीपूर्ण कहर र डरबाट छिटै मुक्ति मिलोस् र भोकमरीको भोगाइ र भयबाट समेत उम्कने जुक्ति जुटोस् भन्ने हार्दिक शुभकामना ।
(लेखक नेकपाका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य हुनुहुन्छ ।)