काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको निर्देशन अनुसार नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरी सार्वजनिक गरेसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समेतका नेपालका सार्वभौम भूभाग समावेश गरी अद्यावधिक गरिएको नेपालको नक्सा हस्तान्तरण गर्नुभएको छ ।
शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा उहाँलाई प्रदान गर्नुभएको हो ।
भारतले नेपाली भूभाग मिचेर बाटो बनाई सोको उद्घाटन गरेपछि अध्यक्ष प्रचण्डकै पहलकद्मीमा पार्टीले अध्यक्षद्वयको हस्ताक्षरसहित त्यसको विरोधमा वक्तव्य जारी गरेको थियो भने सरकारले प्रेस नोट जारी गरेको थियो । तत्पश्चात अध्यक्ष प्रचण्डकै पहलमा पार्टी सचिवालयको बैठक बसी नेपालको नक्सा सार्वजनिक गर्न नेकपाले सरकारलाई निर्देशन दिएको थियो ।
नेपालको परराष्ट्र मन्त्रालयले प्रेस नोटमार्फत गरेको दावीलाई भारत सरकारले अस्वीकार गर्दै खण्डन गरेपछि अध्यक्ष प्रचण्डले संघीय संसदको समितिको बैठकमा आफ्ना विचार राख्दै “प्रेस नोट जारी गरेर चुप लागेर बस्न नहुने, बरू ठोस कदम चाल्ने बेला आएको” बताउनुभएको थियो, जुन कुरालाई देशभरका जनताले स्वागत तथा समर्थन गरेका थिए । त्यस लगत्तै पार्टी सचिवालयको बैठक बसी सरकारलाई नयाँ नक्सा सार्वजनिक गर्ने निर्देशन दिएको थियो ।
दश वर्षे महान जनयुद्धका सुप्रिम कमाण्डर तथा क्रान्तिनायक क. प्रचण्ड नेपालका राष्ट्रवादी तथा साम्राज्यवाद तथा विस्तारवाद विरोधी निडर नेताको रूपमा चिनिनुहुन्छ ।
अध्यक्ष प्रचण्ड आफ्नो प्रधानमन्त्रीकालमा कुनै पनि छिमेकी वा शक्ति राष्ट्रसँग नझुकेका र कुनै पनि गलत सन्धि-सम्झौता नगरेका एक मात्र प्रधानमन्त्री एवम् नेपालको राष्ट्र, राष्ट्रियता र क्रान्तिको विरूद्ध हुने कुनै पनि हमलाको विरूद्ध सार्वजनिक रूपमा सीधा सीधा विचार राख्न सक्ने एक मात्र शीर्ष नेताको रूपमा चिनिनुहुन्छ ।
२०७२ सालमा नेपालको संविधान जारी भएपश्चात भारतले लगाएको नाकावन्दीको विरूद्ध ठाडै प्रतिरोध गर्ने उहाँ एकमात्र शीर्ष नेता हुनुहुन्छ । अरूले विरोध गरेजस्तो देखाउन भारत वा भारत सरकारको नामै नलिई विरोधको नाममा विरोध गरेर टारिरहँदा उहाँले खुला मञ्चबाट भारतको नामै किटेर प्रष्ट भाषामा चुनौती दिनुभएको थियो ।
साम्राज्यवादी अमेरिकाले बोलिभारियन समाजवादी गणतन्त्र भेनेजुयलामाथि हस्तक्षेप गर्दा अरू नेताहरू अमेरिकी साम्राज्यवादको विरोध गर्न डराएर थरथर काँपेको बेला अध्यक्ष प्रचण्डले प्रष्ट भाषामा त्यसको विरोध जनाउनु भएको थियो ।
यतिबेला पनि कतिपय नेताहरूले अमेरिकासँग डराएर नेपाली काँग्रेस नेतृत्वको सरकाले नेपालको कानुनभन्दा माथि रहने र चीन विरोधी अमेरिकी सैन्य तथा राजनीतिक गतिविधिलाई ढोका खोल्नसक्ने गरी सम्झौता गरेको इण्डो-प्यासिफिक रणनीति अन्तर्गतको राष्ट्रघाती एमसीसी सम्झौता जस्ताको तस्तै लागु गर्न मरिमेटेर लागेको बेला उहाँले सो सम्झौता संशोधन गरी नेपालको हितमा हुने गरी मात्र पारित गर्न सकिने बताउँदै आउनु भएको छ ।
नक्सा ग्रहण गर्दै अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्नु हुने भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुभएको थियो ।
मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पार्नुभएको थियो । सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतको उपस्थिति रहेको थियो ।