चीन-भारत सीमा विवाद, China and India Flag
 

अल्बर्ट आइन्सटाइनले भनेका थिए म भन्न सक्तिन आउने आणविक युद्ध कस्ता हतियारले लडिनेछन् तर म के भन्न सक्छु भने आणविक युद्धपछिको युद्ध लाठी र ढुंगाले लडिने छ ।

जुन १६, २०२० मा विश्वका दुई आणविक हतियार लैस देशहरूका सेनाहरू एउटा बन्दुक पनि नपडकाई मुक्का, लाठी र ढुंगाले लडाइँ गरे । भारतका २० सेना मारिएको पुष्टि भइसकेको छ । बेलायतको भरपर्दो पत्रिका द टेलिग्राफले जुन १६ मा भारत–चीन महाशक्ति राष्ट्रहरूको ३,४८८ किलोमिटर सीमा रहेका देशहरूमा सन १९७५ पछि पहिलो पल्ट फौजी हताहत भएको उल्लेख गरेको छ । सन १९७५ अक्टोवरमा अरुणाञ्चल प्रदेशको तुलुङ ला क्षेत्रमा आसाम राइफलका ४ सेनाहरू चिनियाँ सीमा गार्डको एम्बुसमा परी मरेका थिए ।

भारतीय सुत्रअनुसार चिनियाँहरूले भारतको लद्दाखपूर्वको क्षेत्र गलवान उपत्यकामा ६० वर्ग किलोमिटरभन्दा बढी भूभाग कब्जा गरेको आरोप छ, जुन लाइन अफ एक्चुअल कन्ट्रोलमा पर्दछ, जसलाई अन्तर्राष्ट्रिय सीमा मानिन्छ । शून्य तापक्रम रहेको १४ हजार फिट उचाइमा रहेको यो क्षेत्रमा ४० दिन पहिलेदेखि तनाव थियो । चिनियाँ १२ हजार सेना केही समयपूर्व त्यो क्षेत्रमा आएका थिए भन्ने भनाइ रहेको छ ।

Bharat Pokharel, भरत पोखरेल
लेखक

चिनियाँ फौजहरू सन २०१६ र २०१८ को बीचमा १,०२५ पटक भारतीय क्षेत्रमा पसेको भारतको आरोप छ तर चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता वरिष्ठ कर्णेल झाङ सुइलीले यसको खण्डन गरेका छन् । भारतीय सञ्चार माध्यममा आएको ४३ चिनियाँ सेना हताहतको प्रश्नकाबारेमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान नभएको घटनालाई म कसरी पुष्टि गरौँ भन्दछन् । जुन १८, २०१७ मा चीन–भुटान सीमा डोकलाम २७० भारतीय सैनिक पस्न खोज्दा दुवै देशका सेनाहरूले लाप्पा खेलेका थिए, जसको कारण ७३ दिनसम्म त्यो क्षेत्रमा तनाव रह्यो र कूटनीतिक पहलपछि अगस्त २८ मा दुवै देशका सैनिकहरू फिर्ता भए ।

भारतीय टेलिभिजनमा जुङ्गामूठे पूर्वफौजीहरू भारत अब १९६२ को भारत छैन भनेर कराइ रहेका छन् ।  उनीहरूलाई थाहा छैन कि समयको अन्तरालमा चीन र भारतकोे प्रगतिको विकास कस्तो छ । सन् १९८८ मा आर्थिक रूपले दुवै देश बराबर जस्तै थिए । विश्व बैंकका अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन ३०० बिलियन अमेरिकी डलर थियो भने चीनको ३१२ बिलियन अमेरिकी डलर । त्यो बेला भारतको सुरक्षा खर्च १०.६ बिलियन अमेरिकी डलर थियो भने चीनको ११ बिलियन ।

अहिले भारतको कुल गार्हस्थ्य उत्पादन २.७ ट्रिलियन अमेरिकी डलर छ भने चीनको १३ ट्रिलियन । सन २०१९ मा भारतको सुरक्षा खर्च ७१ बिलियन अमेरिकी डलर थियो भने चीनको २६१ बिलियन । चीनको १४ देशहरूसँग सीमा जोडिएको छ तर भारतबाहेक अरु देशहरूसँग सीमा विवाद छैन । भारतको ६ देशहरूसँग सीमा जोडिएको छ, तर भुटान बाहेक सबै देशहरूसँग विवाद छ । नेपाल–भारत सीमा विवाद त आलै छ ।

(लेखक त्रिविमा प्राध्यापन गर्नुहुन्छ ।)