कम्युनिस्ट पार्टीको जग मजदुर, किसान र सर्वहारावर्गको आन्दोलनले मात्रै निर्धारण गर्न सक्दछ, मध्यम वर्ग सहयोगीको रूपमा रहेको हुन्छ । नेपाल कृषिप्रधान देश भएको कारण कम्युनिस्ट पार्टीको शक्तिको आधार पनि किसान आन्दोलन नै हुनुपर्दछ । किसानका मागहरुबाट विमुख रहेर कुनै कम्युनिस्ट पार्टीले आफूलाई प्रस्तुत गर्दछ र सत्तामा पुगेपछि पनि मजदुर, किसान तथा सर्वहारावर्गको माग तथा आवश्यकतामाथि वास्ता नगर्ने मात्र होइन कि अझ दमन गर्ने, किसानहरूका मागलाई विभिन्न बहानामा खिल्ली उडाउने काम गरिन्छ भने त्यो कम्युनिस्ट पार्टी वा पार्टीको नेतृत्व हुनै सक्दैन ।
इतिहासः
पूरै देश ९०% कृषक बहुल क्षेत्र हो । तराई मलिलो माटोले भरिपूर्ण अन्न भण्डार हो । पहाडी क्षेत्र पनि मलिलो माटोकै कारण खेतीयोग्य जमिन प्रसस्तै छ । हिमाली क्षेत्रमा थोरै खाद्यान्न बाली र धेरै जडिबुटीका किसान रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको जन्मअघि तिनताका क. तुलसीलाल अमात्य नेपाली कांग्रेसको सदस्यकै भूमिकामा हुनुहुन्थ्यो जुनबेला रौतहट, बारा लगायत तराईका भू-भागमा किसान आन्दोलन भएका थिए । वास्तविक रूपमा भन्नुपर्दा त्यसबेलाको किसान तथा सर्वहारावर्गको आन्दोलनको नेतृत्व नै क. तुलसीलाल अमात्यले एक काँग्रेसी कार्यकर्ताको रूपमै गर्नुभएको हो ।
इतिहास र स्मरणः
विश्वेश्वरप्रसाद कोइरालाले एक महिनाभित्र काँग्रेसको घोषणा-पत्र लेख्छु भनेर दिएको वचन ६ महिना बितिसक्दा पनि नलेखेपछि क. तुलसीलालको मनमा संशय उत्पन्न हुन पुग्यो, “ऐले नै त यस्तो छ, सत्ता हातमा आएपछि त के गर्लान् ?”, क. तुलसीलालकै शब्दमा, “आखिर पुँजीवादी पार्टी र कम्युनिस्ट पार्टीमा फरक कहाँनेर पर्यो ?”
पछि उहाँले फरक छुट्याउने क्रममा कम्युनिस्ट पार्टीको मजदुर-किसान संघ हुन्छ । तर काँग्रेसका कुनै यस्ता संगठनहरु छैनन् । र, यही फरक होला भनेर वि. सं. २००५ सालमा (नेपाली काँग्रेसको सदस्यकै भूमिकामा) नेपाली काँग्रेसको जनवर्गीय संगठनको रूपमा ‘अखिल नेपाल किसान संघ’को स्थापना गर्नुभयो, यसलाई कतिपयले मानेका छन् र कतिपयले मानेका छैनन् । यो क. तुलसीलालले म स्वयम्लाई सुनाउनुभएको पंक्ति आधार मात्र हो । यसको एउटा घोषणापत्र पनि जारी भयो । क. तुलसीलाल भन्नुहुन्थ्यो, “धेरै काँग्रेसका साथीहरुको वाहवाही पनि पाएको थिएँ ।”
क. तुलसीलाल गरिव किसानको माझमा नै बसेर संगठनात्मक ढाँचा अघि बढाउन रूचाउने व्यक्ति हुनुहुन्थ्यो, तराई भेगमा रौतहट, बारा र त्यससँग जोडिएका भारतीय सीमाभित्रका झरखोर, बैजनाथपुर, चैनपुर आदि ठाउँहरूमा बसेर किसानहरुलाई प्रशिक्षण दिने काम गर्दै अघि बढ्नुभयो ।
यसै क्रममा “तत्कालीन कांग्रेस अध्यक्ष मातृकाप्रसाद कोइराला, गणेशमान र होरा प्रसादजी क. तुलसीलालकहाँ आउनुभएको थियो र उहाँले आफूले लेखेको हस्तलिखित पुस्तिका देखाउने क्रममा मातृका बाबु झस्कनुभयो र भन्नुभयो, “यसरी त मेरो जमिन पनि जान्छ ।”
क. तुलसीलालले घोषणाको एउटा बुँदामा, “मध्यम वर्गसम्मको जमिन छोडेर सामन्ती जमिन खोसेर, जमिनहीन र गरिव किसानहरुको परिवारलाई पुग्नेसम्म खेतबारी जमिन राखेर अरू सबै गरिव किसानमा बाँड्ने” कुरा लेख्नुभएको थियो । जमिन खोस्दा मातृका बाबुको पनि ५०/५१ विगाहा पर्ने थियो, सायद ?
मातृका बाबुले त्यो घोषणापत्रलाई “हुँदै हुन्न” पनि भन्न सक्नुभएन र रातभरको छलफल पछि भन्नुभयो, “यी सबै गर्नुपर्ने कुराहरू हुन, तर अहिले होइन, क्रान्तिपछि हाम्रा सरकारले गर्ने काम हुन्” तर क. तुलसीलालको भनाइ तत्कालीन अवस्थादेखिनै किसानहरुलाई सँगसँगै प्रशिक्षण दिँदै लानुपर्छ भन्नेमा रह्यो । गणेशमान र होराप्रसादजीको पनि मत मातृका बाबुकै पक्षमा रह्यो । र, त्यहाँ रहेका अरू थुप्रै किसान मजदुरहरु पनि यो बहस सुनिरहेका थिए । अन्तमा तीनजना एकातिर र क. तुलसीलाल अर्कातिर पर्न जानुभयो । बिहानै मातृका बाबु, गणेशमान र होराप्रसादजी फर्केर जानुभयो ।
मातृका बाबु फर्केको पाँचौ दिनमा अफिसका इञ्चार्ज मोहनसिंह कमानले क. तुलसीलाललाई भन्नुभयो, “मातृका बाबुले भन्नुभएको कि काँग्रेस छाडिदेऊ कि मजदुर-किसान संगठन गर्न छाडिदेऊ” ।
क. तुलसीलालले “यदि म गरिवहरूको उत्थान गर्ने संगठन गर्न पाउँदिन भने किन काँग्रेसमा बसिरहने ?” भन्दै कांग्रेस पार्टी परित्याग गरेर केवल स्वतन्त्र रूपमा अखिल नेपाल किसान-मजदुर संघ मार्फत किसान-मजदुर आन्दोलन अघि बढाइरहनु भयो । यो नै नेपाली इतिहासमा पहिलो अखिल नेपाल किसान-मजदुर संघ हो भन्ने क. तुलसीलालको भनाइ म लेखकलाई बताउनु भएको हो । यसपछिः
१. भाइ साहेब (अयोध्या सिंह) (CPI)
२. क. पुष्पलाल
३. क. डिपी अधिकारी
४. क. मनमोहन
५. क. शैलेन्द्रकुमार
६. क. तुलसीलाल अमात्य
यी ६ जना सम्मिलित नेपाल कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय संगठन समितिको गठन सन् १९५१ सेप्टेम्बर २७ देखि अक्टोबर २ सम्ममा कलकत्तामा भयो र अयोध्यासिंह पार्टीबाट हटेर ५ जनाको पोलिटब्युरोसहित केन्द्रीय समिति बन्यो, जसको महासचिव क. पुष्पलाल चुनिनुभयो । अब फेरि नेपाल कम्युनिस्ट पार्टीभित्र रहेर पनि किसान-मजदुर संघको सामिप्यतालाई छोड्नुभएन र निरन्तर किसान प्रशिक्षण तथा आन्दोलन जारी रहिनै रहयो ।
त्यस्तै किसान तथा सर्वहारावर्गको आन्दोलनलाई क. मनमोहन अधिकारी जो कम्युनिस्ट पार्टीको महासचिव भैसक्नुभएको थियो, उहाँले उग्रवादी संघर्षको संज्ञा दिएर पर्चा समेत छर्नु भएको थियो । यी कुरा स्वयम् क. तुलसीलाल अमात्यले मसँगको भेटमा भन्नुभएको र सो कुरा उहाँको संस्मरणमा लेखिएको पुस्तकहरूमा पनि उल्लेख गरिएको छ ।
“रे” शब्दको विरोधबाट सुरूवात भएको (जमिनदार तथा सामन्तहरू गरिव किसान तथा मजदुरलाई हेपेर “रे” भन्ने गर्दथे) नेपालको किसान आन्दोलनले तत्कालीन अवस्थामा २ करोड भन्दा बढी मो.रू. रकम बराबरको किसानको जाली तथा शोषक तमसुक जलाएको थियो ।
त्यसबेला तराईमा रहेको धेरै कुप्रथा- हनौरी-जनौरी, पटुगिरी, हटुवई, सिपाहीगिरी, बेदखली, पथल पुजाई, चलिशाह, बटैया, मडिमानी, घिउ खाने आदिलाई किसान विद्रोह मार्फत समाप्त पारियो । तर पनि विगतदेखि वर्तमानसम्म कुनै पनि कम्युनिस्ट सरकारले किसानकानिम्ति काम गरेन । किसान संगठनहरूमा विश्वास गरेन वा केवल सत्तामा पुग्ने भर्याङ्गको रूपमा मात्र प्रयोग गर्यो । सत्ता लालचको जुन कुरा हो क. तुलसीलाल अमात्यमा मैले देखिनँ ।
किसान मजदुरहरुको वर्तमान स्थिति
भूमिविहीन किसान तथा सर्वहारावर्गको हितमा हालसम्मकै कम्युनिस्ट सरकारहरूले कुनै पनि मार्क्सवादी सिद्धान्त अवलम्बन गर्ने चेष्टा गरेन । सानो सानो कुरामा जनतालाई चकलेट दिएर भुल्याउने काम मात्र गरिरह्यो ।
अहिले किसान तथा सर्वहारावर्ग केवल थोरै ज्यालामा काम गर्ने शोषित-पीडित कामदार मात्र हुन् । उत्पादनको ठूलो हिस्सामा सामन्ती जमिन्दारको शोषण कायमै छ । किसानको पेट भोकै छ । यतिका ठूलो अन्नको भण्डारमा अधिकांश नागरिकको अवस्था दयनीय छ । सामन्ती जमिन्दार कमजोर कानूनको आडमा निर्धक्कसँग शोषण गर्दै आइरहेका छन् ।
मध्यमवर्गीय किसानको हालत पनि यो भन्दा खासै प्रगतिशील छैन । थोरै भएको जमिनले परिवारको आवश्यकता पूर्ति भइरहेको छैन । सम्मानजनक न्यूनतम् आधारभूत आवश्यकता तथा उचित शिक्षा, स्वास्थ्यका निम्ति ती परिवारका सदस्यहरुका निम्ति स्वदेशमा रोजगारीको व्यवस्था सरकारले गर्न नसक्दा बाध्यकारी रूपमा विदेशिनु परेको छ । अलि-अलि भएको जमिन पनि गाउँ तथा सहरमा रहेको नवसामन्ती वित्तीय संस्थाहरूमा धितो बन्धकी राखेर चर्को ब्याजदरमा ऋण लिन वाध्य छन् । वित्तीय संस्थाहरूले सेवा शुल्क भन्दै १% देखि ५% सम्म अग्रिम रूपमा असुल गरिरहेका छन् । र, ब्याज पनि १८% देखि २२% सम्म असूलिरहेका छन् । यति चर्को ब्याज असुल्दा असुल्दै सामन्तीहरूको घिउ खाने प्रथाको परिवर्तित रूपमा सेवा शुल्क भन्दै शोषण गरिहेका छन् । ब्याजदरको हिसाब समग्रमा जोड्ने हो भने १००% भन्दा पनि अझ माथि पुग्छ ।
एक्काइसौँ शताब्दीमा देश गणतन्त्रात्मक भएर कम्युनिस्ट पार्टीको सरकार भइसक्दा पनि धेरै कुप्रथा हनौरी-जनौरी, पटुगिरी, हटुवई, सिपाहीगिरी, बेदखली, पथल पुजाई, चलिशाह, बटैया, मडिमानी, घिउ खाने आदिको परिवर्तित रूपमा उदाएका सामन्ती वित्तीय संस्थाहरूलाई सामन्तहरूको पक्षपोषक सरकारले नै कानूनतः नै संरक्षण गरेर (सहकारी संस्था मार्फत) चरम शोषण गरिरहेका छन् । यी र यस्ता चर्को ब्याजदरका विरूद्धमा या त कम्युनिस्ट पार्टीको सरकारले कानून बनाएर नियन्त्रण गरोस, नत्र फेरि यस्ता कुप्रथाका विरूद्धमा आन्दोलनको आँधीबेहरी श्रृजना गर्नुको विकल्प हुनेछैन ।
कम्युनिस्ट पार्टीको दायित्वः
सामन्ती जमिन्दारहरूको जमिन राष्ट्रियकरण गरेर गरिखाने किसान तथा सर्वहारावर्गलाई खेती किसानी निमित्त बराबरी हैसियतमा जमिन वितरण गरेर जानुको विकल्प छैन । सामन्ती जमिन्दारहरूले कमजोर कानूनको आडमा कम्पनी जस्तो कानूनी व्यक्तिको नाममा, एकै परिवार भएपनि धेरै जनामा विभाजन गरेर लुकाइएका जस्ता जमिनहरू तत्काल नियन्त्रणमा लिनेगरी संविधान र कानून समेत संसोधन गरेर जनपक्षीय निर्णय लिन कम्युनिस्ट पार्टीको सरकार चुक्नु हुँदैन ।
सोभियत संघमा बोल्सेभिक (बहुमत भएको) जसको जग सर्वहारावर्ग थियो तर ममेन्सेविकहरू पतनको कारण आफ्नो अस्तित्वको मूल कारक पुँजीपति वर्गलाई बनाउनु थियो । हामी कम्युनिस्टहरू सामन्ती जमिन्दारहरूको पक्षधर होइनौ, हाम्रो जग भनेको मध्यम वर्गीय नागरिक, मजदुर, किसान तथा सर्वहारावर्ग हो र हुनुपर्छ । नत्र हाम्रो हालत पनि उही मेन्सेविकहरूकै हुनेछ । यसमा रत्तिभर शंका नगरे हुन्छ ।
मजदुर किसान तथा सर्वहारावर्गको नेतृत्व नेपाली काँग्रेस लगायत अन्य पार्टीहरूले गर्न सक्दैनन् किनभने यिनीहरुको आड भरोसा भनेकै एकाधिकार पुँजीवाद, विदेशी तथा साम्राज्यवादी पुँजी र सामन्ती वर्ग हुन् । एकातिर एकाधिकार पुँजीवाद, विदेशी तथा साम्राज्यवादी पुँजी र सामन्ती वर्गका लागि काम गर्ने अर्कोतिर यिनीहरुको वर्गीय शत्रु मजदुर किसान तथा सर्वहारावर्गको सेवा गर्ने काम एकैसाथ जानै सक्दैन । यही चरित्र सत्तामा पुगेपछि कम्युनिस्ट पार्टीको सरकारले पनि गर्ने हो भने नेपालको कम्युनिस्ट तथा सर्वहारावर्गको क्रान्तिकारी इतिहास त धोकामा परिणत हुन्छ नै, एउटा भयानक तथा भिषण आन्दोलनको बाढीलाई कसैले रोक्न सक्नेछैन । त्यतिबेला कम्युनिस्ट पार्टीभित्र रहेर पनि मजदुर किसान तथा सर्वहारावर्गप्रति अनुदारवादी अनुहार दर्शाउने कित्ता भने अवश्य जनताका सामु टिक्न सक्दैन, सक्ने छैन ।
कम्युनिस्ट पार्टीले पनि अरू पार्टीहरूले जस्तो साम्राज्यवादी विदेशी पुँजीको स्वार्थ रक्षा गर्दै हिँड्ने हो भने पार्टी नामधारी मात्र खोक्रो रहन जान्छ । त्यसले जनताको सेवा गर्न सक्ने छैन । मार्क्सवादी लेनिनवादी दृष्टिकोणले मजदुर-किसान तथा सर्वहारावर्गको चरित्र बोक्ने र मध्यम वर्गीय र राष्ट्रिय पुँजीपति वर्गसँग संयुक्त मोर्चा बनाएर र मार्क्सवादी-लेनिनवादी दृष्टिकोण अपनाएर नै सही कम्युनिस्ट पार्टीको दायित्व पूरा हुनेछ ।
मजदुर, किसान तथा सर्वहारावर्गको नेतृत्वमा रहेर पनि कम्युनिस्ट पार्टीको एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सहर केन्द्रित भएर हुँदैन, गाउँ-गाउँमा व्यापक जनचेतनाको कार्यक्रम लिएर प्रत्येक वडा-वडा तहमा गएर संगठनले व्यापक मार्क्सवाद-लेनिनवादको सिद्धान्त पढाउनु पर्छ । यत्ति गर्न सकिएन भने पार्टीको आधार जग नै सकिएर जान्छ ।
कम्युनिस्ट पार्टीले शान्तिपूर्ण तरिकाले प्रचार-प्रसारमा जोड दिएर मार्क्सवादी-लेनिनवादी शिक्षालाई व्यापक तीव्रताकासाथ अगाडि बढाएर लानुपर्छ । यो धारलाई सत्तामा रहँदा वा नरहँदा दुवै अवस्थामा सँगसँगै लिएर अघि बढ्नका लागि सामाजिक सञ्जालको व्यापक प्रशिक्षण र प्रयोग गर्नुपर्छ । कम्युनिस्ट पार्टीका लागि यो नै यस्तो एउटा आधार हो, जसले पार्टीलाई जीवन्त तुल्याइरहन्छ । यहीँबाट नेतृत्वको जन्म पनि निरन्तर भइरहन्छ । त्यसैले आउँदा दिनहरुमा जनचेतना अभिवृद्धि गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम व्यापक रूपमा अगाडि बढाऔँ ।
मध्यमवर्ग, मजदुर, किसान र सर्वहारावर्गका लागि आर्थिक कार्यक्रम पनि सँगसँगै लैजानुपर्छ र त्यसका लागि कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वले नै पहलकदमी गर्नुपर्छ । महात्मा गान्धी आफै धागो कात्थे । लेनिनले मुढो बोकेको तस्वीर पनि प्रख्यात नै थियो । त्यस्तै क. स्टालिन खेतमा काम गर्थे । नेता भएपछि काम गर्न नहुने सामन्ती भावना आज पनि नेपालमा व्याप्त छ । नेता भएपछि काम गर्न नहुने कुसंस्कारलाई तोडेर नेतृत्व जनता सामु उपस्थित हुनैपर्छ । प्रशिक्षण कार्यक्रमको सँगसँगै आर्थिक कार्यक्रम पनि अनिवार्य लैजानु आजको आवश्यकता हो ।
पार्टी र संगठनको लागि आवश्यक पर्ने खर्चका लागि बाह्य वा आन्तरिक साहु महाजनको भरोसामा हिँड्नु धोखा हुनेछ । चन्दादाताले प्रायः आफ्नो स्वार्थका लागि चन्दा दिएका हुन्छन् र सत्तामा पुगेपछि वर्गको काममा बाधा समेत उत्पन्न हुनेछ । राम्रोसँग देश चलाउने हो भने चन्दा, भ्रष्टाचार र कमिसनखोरी मेट्नैपर्छ । कम्युनिस्टहरुले पनि भ्रष्टाचार गर्ने हो भने देश बन्नेछ भनेर नपत्याए हुन्छ । त्यसैले आउँदा दिनहरुमा जनचेतना अभिवृद्धि गर्ने विषयमा अन्तरक्रिया र आर्थिक कार्यक्रम पनि अनिवार्य सँगसँगै लैजानुपर्छ ।
जमिन, नहर वा खेतीलाई आवश्यकता पर्ने पानी, बिउ, मल र किटनाशक विषादि इत्यादिमध्ये मल र किटनाशक विषादि अत्यधिक खपत हुने हुँदा यसको कारखाना स्वदेशमा नै स्थापना गर्नुपर्छ, जसले गर्दा रोजगारी पनि प्राप्त हुन्छ । मुख्यतया कृषि उत्पादनलाई उचित मूल्यांकनसहित स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको पहिचान गरेर बजारीकरण गर्नु किसान, मजदुर तथा सर्वहारावर्गको आवश्यकता हो । यस्ता क्रान्तिकारी कदमका लागि ब्यापक नागरिक जनचेतना नै आजको आवश्यकता हो र क्रान्तिकारी दवावका साथ सरकारलाई झक-झकाउन किसान, मजदुर, मध्यमवर्ग तथा सर्वहारावर्गले आन्दोलनको आँधीबेहरी श्रृजना गर्नु नै आजको आवश्यकता हो । कम्युनिस्ट पार्टीको शक्तिको आधार नै सर्वहारावर्ग, मजदुर, किसान र मध्यमवर्ग हुन् ।
(लेखक क. तुलसीलालका निकटवर्ती तथा बामपन्थी नेता हुनुहुन्छ।)