कोरोना भाइरस, Novel Coronavirus, COVID-19
 

अहिले विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कथाहरू प्रशस्त कथिन थालिएका छन् । आजका मितिसम्म कोरोना संक्रमितका आधारमा पदक प्रदान गरिने हो भने अमेरिका फर्स्ट अर्थात् ‘अमेरिका ग्रेट अगेन’ स्वर्णपदक, ब्राजिल रजतपदक र भारत काँस्य पदकका विजेता देखिएका छन् ।

पदक प्राप्त गर्ने यो अवसर यी देशहरूको राजनीतिक–आर्थिक प्रणाली र त्यसको नेतृत्वले गर्दा भएको हो भनिन्छ ।

कोरोनाको प्रारम्भिक संक्रमणको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लापर्वाही जिम्मेवार रहेको ठानिएको छ ।

Bharat Pokharel, भरत पोखरेल
लेखक

कोरोना संक्रमित अमेरिकामा ३२,९१,७८६ तथा मृतक १,३६,६७१, ब्राजिलमा संक्रमित १८,०४,३३८ तथा मृतक ७०,५२४ र भारतमा संक्रमित ८,२२,६०३ तथा मृतक २२,१४४ रहेको देखिन्छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोना नियन्त्रणका लागि ह्वाइट हाउसमा टास्क फोर्स गठन गरिएको छ तर अमेरिकामा कोरोनाको कहर संक्रमित र मृतकको संख्याले भयावह स्थिति देखाउँछ । जुन ६, २०२० मा गार्जियन पत्रिकाले अमेरिकामा साधारण मानिसको त के कुरा ६०० स्वास्थ्यकर्मीको मृत्यु भएको समाचार छापेको छ ।

ब्राजिलका राष्ट्रपति आफ्नो निवास अलभोरादा प्रासादमा चिकित्सकहरूको निगरानीमा बसेका छन् । मई २१, २०२० मा ब्लुम्बर्गले ब्राजिलमा संसारको सबैभन्दा बढी नर्सहरू कोरोनाबाट प्रभावित भएको समाचार प्रकाशित गरेको छ । त्यसैगरी ब्राजिलको फेडरल नर्सिङ काउन्सिलका अनुसार ब्राजिलमा १५,००० नर्सहरू कोरोनाबाट संक्रमित छन् र १३७ को मृत्यु भइसकेको छ ।

मोदीको कमाण्डमा रहेको भारतमा मई २९, २०२० टेलिग्राफका अनुसार २,००० स्वास्थ्यकर्मीहरू संक्रमित भएको समाचार छापेको छ । जुन ३०, २०२० मा टाइम्स अफ इण्डियाले त दिल्लीमा मात्रै २,००० भन्दा बढी स्वास्थ्यकर्मीहरू संक्रमित भएको र ८ जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको छ ।

विश्व गणतन्त्रका चमत्कारिक देशहरूको त यो हालत छ भने अरु देशहरूमा कोरोना गणतन्त्रको कोलाहाल चलिरहेकै छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)