तुलसीलाल अमात्य, tulasi lal amatya
 

२०४६ साल फाल्गुन ७ गतेको आन्दोलनको तैयारीकै (यत्तिनै गते भन्ने याद छैन) सिलसिलामा चन्द्रशेखर रघुवंश श्रेष्ठले राति अँध्यारो भइसकेपछि मलाई लिएर क. तुलसीलाल अमात्य कहाँ ललितपुरको मंगलबजारदेखि उत्तर पट्कोस्थित उहाँकै घरमा पहिलो भेटघाट गराउनु भएको थियो ।

त्यतिबेला म क. सिद्धिलाल सिंहको घरअगाडि चन्द्रलाल महर्जनको घरमा डेरा गरी बस्थेँ र त्यो भेटघाटमा उहाँले सामान्य राजनीतिक कुराहरुका साथै पञ्चायती व्यवस्थाको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने र तपाईंहरु पनि आ-आफ्नै स्थानबाट शान्तिपूर्ण प्रदर्शन गर्नुहोला भन्नुभयो । कतिसम्म भन्नुभयो भने “पञ्चायती मतियारहरुले अशान्ति मच्चाएर हिंसात्मक बनाउन सक्छन्, सचेत रहनुहोला” । र, तत्कालीन वाममोर्चाले छर्नका लागि छापेका केही पर्चाहरू हामीलाई दिनुभयो । हामी त्यो छोटो भेटधाटपछि चन्द्रशेखर रघुवंश श्रेष्ठ र म रूद्रलाल मुल्मीसँग भेटघाट गर्न कुमारीपाटीतिर लाग्यौँ । त्यसताका म चन्द्रशेखर रघुवंश श्रेष्ठलाई काका भनेर सम्बोधन गर्थें । यो भेटघाट नै क. तुलसीलाल अमात्यसँगको मेरो पहिलो भेटघाट थियो ।

कार्ल विक्रम थापा, karl bikram thapa
लेखक

मैले उहाँमा मृदुभाषी र दृढ विश्वास व्यक्त गर्ने व्यक्तित्व पाएको थिएँ । २०४६ साल फाल्गुन ७ गते नै उहाँ पक्राउ पर्नुभएछ । सो कुरा चन्द्रशेखर काकाले मलाई सुनाउनुभयो । त्यसको २/३ दिनपछि लगनखेलबाट म पनि समातिएँ । मलाई समातेर मेरो शरीर खानतलासी लिने क्रममा वाममोर्चाको पर्चाहरू भेटिएकै कारणले रातभरि थानकोटतिरको कुनै गोदाम जस्तो ठाउँमा थुनेर, धेरै यातना नदिए पनि त्यसबेलाको प्रहरीले गरेको व्यवहार खानामा सुख्खा चिउरा र ढिक्के नुन दिने र पानी माग्दा मुखैमा पिसाब फेर्ने अमानवीय व्यवहार समेत सहन बाध्य भइयो र भोलिपल्ट छोडिदियो । थुनिएकोमा नचिनेको अरू पनि १२/१५ जना थिए ।

त्यसपछि पनि म चन्द्रशेखर रघुवंश श्रेष्ठ, रूद्रलाल मुल्मीको सम्पर्कमा रहेर पञ्चायती व्यवस्थाको विरुद्ध प्रचार-प्रसार, विभिन्न ठाउँमा गएर प्रदर्शन, राँके जुलुश लगायतका गतिविधिमा सकृय भाग लिई नै रहियो । पछि पाटनलाई सरकारी सुरक्षाकर्मी मुक्त गराएर ‘मुक्त ललितपुर’ भनेर जनस्तरबाट घोषणा हुँदा पनि ललितपुरमै रहेर सकृय आन्दोलन नै गरियो ।

पछि तत्कालीन राजा विरेन्द्रले निर्दलीय शब्दको खारेजी र पार्टीको प्रतिबन्ध फुकुवा भएपछि फेरि चन्द्रशेखर काकाले क. तुलसीलाल अमात्यसँग भेटघाटको लागि लिएर जानुभयो र त्यसपछि मैले उहाँसँग एक्लाएक्लै भेटघाट गर्न थालेँ । उहाँले मलाई बोलाउनु हुन्थ्यो । मार्क्सवादको बारेमा पछि किताबहरू पनि पढियो । तर धेरैभन्दा धेरै कुरा क. तुलसीलाल अमात्यको वाणीबाटै ग्रहण गरेँ र जसलाई मैले राजनीतिक गुरूको संज्ञा नै दिएको छु ।

उहाँको सरल जीवन, आदर्श, हरेक क्षण गरिरहने राष्ट्रिय चिन्तन नै मैले क. तुलसीलाल अमात्यसँगबाट ग्रहण गरेको शिक्षा हो । क. तुलसीलाल अमात्यलाई सम्झँदा कमला भाउजुलाई पनि नसम्झिरहन सकिन । उहाँप्रति पनि श्रद्धा सुमन ।

विश्वनाथ उपाध्यायको आयोगले संविधान तयार गरेर तत्कालीन राजा विरेन्द्रले संविधान जारी नगरेसम्म समय मिलाएर भेट्थेँ । कुनै न कुनै हिसाबले उहाँले मौखिक रूपमा प्रदान गरेको राजनीतिक शिक्षा नै मेरो प्रेरणाको श्रोत हो । त्यही प्रेरणा राष्ट्रिय राजनीतिमा लागू गर्नु नै सच्चा कम्युनिस्टहरूको दायित्व हो ।

किसानहरुका सच्चा नेता तुलसीलाल अमात्य “म किसानको नेता हैन, उनीहरुको साथी हुँ” भन्नुहुन्थ्यो । मलाई मन परेको उहाँको सरलता यो पनि हो । रौतहटमा भएको किसान आन्दोलन र उहाँको नेतृत्वले कसरी जमिन्दारहरूलाई उखेलेर फ्याँक्ने काम गर्‍यो भन्ने कुरा उहाँकै मौखिक वाणीबाट सुनेको छु । मैले अरू लेखहरुमा पनि ब्याख्या गरेको छु । क. तुलसीलाल अमात्यले किसान, कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भनेर जुन चिन्तन गर्नुहुन्थ्यो त्यो आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ । कम्युनिस्टको दुई तिहाईको सरकार भएको बेलामा एउटा कम्युनिस्ट पार्टीका अग्रज नेताले लिएको वैज्ञानिक कृषि नीतिलाई पारित गरेर लागु गर्नु क. तुलसीलाल अमात्यप्रति सच्चा सम्मान हुन जानेछ । राष्ट्र निर्माणमा एउटा कृषिप्रधान देशका लागि कोसेढुङ्गा सावित हुनेछ भन्नेमा म विश्वस्त छु ।

२०४७ सालमा संविधान जारी भएपछि पहिलो संसदीय आम निर्वाचनमा क. तुलसीलाल अमात्य ललितपुरको क्षेत्र नम्बर २ बाट संसदीय चुनावी मैदानमा उत्रनुभयो । जहाँ तत्कालीन एमालेबाट क. सिद्धिलाल सिंह, जनमोर्चाबाट क. देवेन्द्रलाल श्रेष्ठ (काँइला बा) र नेपाली कांग्रेसबाट मार्शलजुलुम शाक्यको मुख्य प्रतिस्पर्धा थियो । ललितपुर शंखमुलको वडा नम्बर ९ मा छँदै जन्मेको मैले ललितपुरको क्षेत्र नम्बर २ को कुना कुनामा क. तुलसीलाल अमात्यसँग चुनाव प्रचार गर्ने क्रममा जनताको घर दैलोमा पुग्ने अवसर पाएको छु । त्यो चाहे लुभुको सिस्नेरी लगायतका गाउँ क्षेत्र होस् अथवा सानागाउँ वा ललितपुरको नगर क्षेत्र । यी सबै ठाउँमा क. तुलसीलालको जनताप्रति र जनताको क. तुलसीलालप्रति अगाध स्नेह रहेको थियो ।

त्यतिखेरका प्रत्येक चुनावी सभामा नागरिकको एउटै प्रश्न थियो कि कम्युनिस्टको त एउटै उम्मेदवार हुनुपर्ने किनकि तीन लाल छुट्टाछुट्टै कम्युनिस्ट पार्टीबाट उठेका थिए । क्षेत्र नम्बर २ बाट एमालेका क. सिद्धिलाल सिंहले विजय हासिल गर्नुभयो । त्यसको लगत्तै पछी क. तुलसीलाल अमात्य नेकपा एमालेमा प्रवेश गर्नुभयो ।

त्यतिबेला उहाँले भन्नुभयो, “कम्युनिस्ट फुटेर प्रतिक्रियावादी शक्तिलाई फाइदा भयो, त्यसैले जेजस्तो अवस्थामा पनि एकीकृत हुनुपर्छ र यसको परिणाम आगामी दिनमा देखिनेछ।” यसको आवश्यकता आजको दिनमा पनि टड्कारो रूपमा खड्किरहेको छ र यो सन्देश नेकपाका नेताहरुका लागि प्रेरणादायी हुन सक्छ भन्ने आशावादी छु । फुटेर होइन, जुटेर समाजवादी यात्रामा जुटौँ । यही सच्चा श्रद्धाञ्जली क. तुलसीलालप्रति हुनेछ ।

मलाई उहाँको कुरा चित्त नबुझे पनि म क. तुलसीलाल अमात्यको घरमा बाक्लो रूपमा नभए पनि आउने-जाने क्रम छाडिन । मर्निङ वाक आउँदा-जाँदा मेरो डेरामा छिरेर मलाई उठाउनुहुन्थ्यो । कतै कुनै कार्यक्रममा जानुपरे पनि सँगै लिएर जानुहुन्थ्यो । मध्यावधी चुनावको घोषणापछि उहाँ रौतहटबाट संसदीय चुनावी मैदानमा उत्रनुभयो तर त्यहाँ पनि ठूलो धाँधली गरेर काँग्रेसले उहाँलाई हरायो ।

चुनावी परिणाममा कसैको बहुमत नआए पनि तत्कालीन नेकपा एमाले सबैभन्दा ठूलो पार्टीका रूपमा अगाडि आयो । क. तुलसीलाल अमात्य भन्नुहुन्थ्यो “एकीकृत हुँदाको परिणाम हो यो ।” कतिपय भने नेकपा (अमात्य) लगायतका पार्टीहरू एकीकृत भएको कारण नेकपा एमाले ठूलो भएको हो भन्न हिच्किचाउँथे । आखिर धेरै कम्युनिस्ट पार्टी एकीकृत भएकै कारणले तत्कालीन नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो ।

संसदमा ठूलो पार्टी भए पनि बहुमत भने थिएन र क. मनमोहन अधिकारीको नेतृत्वमा मिलिजुली सरकारको गठन भयो । त्यही कार्यकालमा क. तुलसीलाल अमात्य चीनका लागि राजदुत नियुक्त हुनुभयो । एकदिन बिहान मर्निङ वाककै क्रममा मेरो डेरामा छिर्नुभयो र मलाई उठाएर भन्नुभयो “कार्ल म चीनको राजदूत नियुक्त भएको छु, चाँडै नै जानुपर्छ होला” । मैले भनेँ “ओहो कमरेड, हार्दिक वधाई ।” उहाँले मलाई पनि सँगै लिएर जाने ईच्छा व्यक्त गर्नुभएको थियो । तर मैले मेरो घरायसी तथा आर्थिक समस्याका कारण नजाने कुरा उहाँलाई बताएँ र तुल्सीलाल चीनका लागि राजदूतको रूपमा जानुभयो । केही समयपछि नेपाल फर्कनुभयो ।

मैले उहाँमा राजदूत वा नेताको कुनै पनि घमण्ड कहिल्यै पनि देखिनँ । उहाँ वास्तवमै मजदुर, किसान तथा सर्वहारावर्गको चिन्तक हुनुहुन्थ्यो । जतिखेरको भेटमा पनि यिनै मजदुर, किसान र सर्वहारावर्गका उत्थानका बारेमा कुरा गर्नुहुन्थ्यो ।

एकदिन कुरै कुरामा मलाई भन्नुभयोः गरिब जनताको घर दैलोमा गएर मार्क्सवादको शिक्षा दिनुपर्छ, तब मात्र किसान मजदुर तथा सर्वहारावर्गले आफ्नो हक अधिकार चिन्नेछन् र पुँजीपतिसँगको वर्ग संघर्ष सम्भव हुन्छ । तुलसीलालका यी कुराहरु आजपनि उत्तिकै सान्दर्भिक छ, र त्यसैलाइ स्मरण गर्दै मार्क्सवादी पाठशाला मार्फत तुल्सीलाल अमात्यलाई सच्चा श्रद्धाञ्जली दिन सकिन्छ ।

एकदिन क. तुलसीलाल अमात्य बिरामी परेर मेरो डेराको घरपतिको फोनमा बोलाएपछि म उहाँको घरमा गएँ । उहाँ निस्लोट परेर पल्टिरहनु भएको थियो । मैले तुरून्त मंगलबजार गएर कालो ट्याम्पु लिएर आएँ । पाटन हस्पिटल लिएर गएँ र इमर्जेन्सीमा लगेर उपचार गराएँ । उहाँलाई त्यतिखेर मुत्र नलीको समस्या देखिएको थियो । त्यही दिन सामान्य उपचारपछि पट्कोस्थित घरमा लिएर आएँ ।

क. तुलसीलाल अमात्य भन्नुहुन्थ्यो, “कार्यर्ताहरुलाई आर्थिक कार्यक्रम गर्न लगाएर पार्टीको क्रान्तिकारी काम अघि बढाउनु पर्दछ, त्यसो नगर्दा पार्टी र कार्यकर्ता बिच सम्बन्ध विच्छेद हुन पुग्दछ ।” त्यही भनाई ममा लागू भयो । आर्थिक कारणले पलायन हुनुपर्‍यो । उहाँसँगको यही भेट नै अन्तिम हुन पुग्यो । तर पनि उहाँको आदर्शलाई पछ्याउँदै मजदुर, किसान तथा सर्वहारावर्गको उत्थानका लागि निरन्तर संघर्ष गरिरहने प्रण गर्दछु । हार्दिक श्रद्धाञ्जली क. तुलसीलाल अमात्य ।

(लेखक स्वतन्त्र वामपन्थी हुनुहुन्छ ।)