साम्राज्यवाद, पुँजीवाद, टक्कर, संकट
 

पुँजीवादको विकासको मार्क्सवादी विश्लेषण, खासगरी साम्राज्यवादको चरणको रुपमा पुँजीवाद परिपक्क हुने, त्यसभित्र अन्तर्निहित अन्तरविरोधहरु तीव्र हुने तथा त्यसकारणले बारम्बार संकटहरु पैदा हुने मार्क्सवादी-लेनिनवादी विश्लेषणलाई बीसौँ शताब्दीका घटना-विकासका एकपछि अर्को क्रमहरुले जोडदार किसिमले पुष्टि, पुनर्पुष्टि र सही साबित गरिदिएका जीवन्त तथ्यहरु छन् ।

१९१७ को अक्टोबर समाजवादी क्रान्ति, स्वयम्‌ नै साम्राज्यवादको चरणमा विश्व पुँजीवादका अन्तरविरोधहरु परिपक्क भएको तथा लेनिनको नेतृत्वको बोल्सेभिक पार्टीको निर्णायक हस्तक्षेपको परिणाम थियो । त्यस क्रान्तिले यस्ता घटना विकासलाई मुक्त गरेको थियो, जसले इतिहासको अग्रदिशामा गुणात्मक छलाङ्गलाई सूचित गरेका थिए । यसरी अक्टोबर क्रान्तिको त्यस महान् घटनाले आफ्नो मुक्तिका लागिका संघर्षहरुमा विश्वका जनताको विजयमाथि विश्वव्यापी प्रभाव पारेको थियो । विश्वमा पहिलो पटक एउटा यस्तो समाजको स्थापना भएको थियो, जसले वर्गीय शोषणलाई समाप्त पारेको थियो र त्यसले विश्वभरिका जनसमुदायका मुक्तिका संघर्षहरुलाई अझ तीव्रतर गति प्रदान गरेको थियो ।

अनि श्रमजीवी जनताका यस्ता अधिकारहरुलाई सुनिश्चित गरिनाले, त्यसबेलासम्म यस्ता अधिकारहरुका बारेमा पुँजीवाद अन्तर्गत कल्पनासम्म पनि गर्न सकिने थिएन । अनि एक समयको पिछडिएको अर्थव्यवस्था साम्राज्यवादको सामना गर्नसक्ने र गरिरहेको एउटा शक्तिशाली आर्थिक तथा फौजी प्राचीर बन्न जानुले, समाजवादी व्यवस्थाको श्रेष्ठताको राम्रोसँग पुष्टि भएको थियो । यो विश्व इतिहासले अमिटरुपमा स्थापित गरेको एउटा यथार्थ र तथ्य कुरा हो ।

त्यो नयाँ युगनिर्माणकारी अपूर्व क्रान्ति, फाँसीवादमाथिको विजयका निमित्त नवस्थापित सोभियत संघद्वारा खेलिएको निर्णायक र अग्रतम भूमिका तथा त्यसको फलस्वरुप पूर्वीयुरोपमा समाजवादी देशहरुको उदयले विश्व घटना विकासमा अत्यन्तै गहिरो र दूरगामी प्रभाव पारेको थियो । त्यसै क्रममा चिनियाँ नयाँ जनवादी क्रान्तिको ऐतिहासिक विजय भएको हो । ती सबै ऐतिहासिक घटनाहरु त्यसबेलाका महान प्रेरणाका श्रोत बनेका हुन्, जसले आफ्नो मुक्तिका लागि औपनिवेशिक तथा अर्ध औपनिवेशिक देशका जन समुदायहरुको संघर्षमा विद्युतीय तरङ्गले पार्ने जस्तै सशक्त र तरङ्गित असर पारेको थियो । साम्राज्यवादका विरुद्ध भियतनामी जनताको सौर्यपूर्ण संघर्ष, कोरियाली जनताको त्यस्तै संघर्ष तथा क्युवाको क्रान्तिले विश्वभरि नै मजदुर वर्गका एकपछि अर्को बढ्दो संघर्षहरुलाई तीव्रतर गति प्रदान गरेका थिए ।

साम्राज्यवादविरोधी ती विजयहरुले वास्तवमा राष्ट्रिय मुक्ति आन्दोलन तथा समाजवादी विश्व शक्तिहरुलाई अझ सबल बनाएको थियो । ती ऐतिहासिक घटनाहरु र फाँसीवादको पराजयपछि सुरु भएको नि–औपनिवेशीकरणको प्रकृया (Process of decolonialisation) ले विश्व शक्ति सन्तुलनलाई विश्वमा शान्ति, राष्ट्रिय मुक्ति तथा समाजवादी विश्व शक्तिका पक्षमा झुकाएको थियो । यसरी, के समीक्षा सही र प्रष्ट भएको थियो र अहिले पनि प्रष्ट रहेको छ भने विश्वको त्यो कालखण्ड पुँजीवादबाट समाजवादमा संक्रमण र रुपान्तरणको कालखण्ड थियो र, हो ।

त्यसै पृष्ठभूमिमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले समकालीन विश्वको आँकलन गरेको थियो र त्यसै अनुसार रणनीति तथा कार्यनीति अपनाएको थियो । यसरी विश्व समाजवादी शक्तिलाई अघि बढाउन सकिने मूल्यांकन गरेको थियो । १९५७ र १९६० मा सम्पन्न कम्युनिस्ट पार्टीहरुका विश्व सम्मेलनहरुले विश्व शक्तिहरुको सन्तुलन समाजवादको पक्षमा आएको पुष्टि गर्दै त्यसबाट अझ अघि बढेर केसम्म सुत्रीकरण गर्न पुगेका थिए भने ‘समाजवाद विश्व घटनाक्रमलाई आकार र स्वरुप प्रदान गर्ने निर्णायक कारक तत्त्व बन्न गएको छ’ ।

तर यता सोभियत संघमा प्रतिप्रवाहको घटना घटेपछि धेरै कम्युनिस्ट पार्टीहरुबाट त्यो आँकलनको आधारलाई आलोचनात्मक पुनर्परीक्षा गरिन थालियो र के निष्कर्ष निकालियो भने त्यो आँकलन विश्व पुँजीवादका सम्भावनाहरु, उत्पादक शक्तिहरुलाई विकसित गर्नसक्ने त्यसको क्षमता तथा बद्लिएको परिस्थिति अनुरुप त्यसले स्वयम्‌लाई अनुकूलन गर्ने त्यसको सामर्थ्य आदि सबै कुरालाई बहुतै कम गरेर आँकिएको थियो । फलस्वरुप पुँजीवादी समाजिक शोषण र पुँजीवादी व्यवस्थाका विरुद्धको लडाइँ नै कमजोर पर्न जानु स्वाभाविक थियो ।

सन् १९६० को विश्व सम्मेलनमा भाग लिने ८१ देशका कम्युनिस्ट पार्टीहरुद्वारा जारी गरिएको वक्तव्यमा भनिएको थियोः ‘‘यो हाम्रो समयको प्रमुख विशेषता के हो भने विश्व समाजवादी व्यवस्था समाजको विकासमा निर्णायक शक्ति बन्दै गइरहेको छ ।’’ त्यसमा थप भनिएको थियो कि ‘‘विश्व पुँजीवाद बिखराव र क्षयको दिशामा तीव्र प्रकृयाबाट गुज्रिरहेको छ’’ । अझ अगाडि के पनि भनिएको थियो भने “पुँजीवाद सामाजिक उन्नतिका लागि आधुनिक विज्ञान र प्रविधिको बढीभन्दा बढी उपयोगमा वाधक सावित भइरहेको छ’’ र ‘‘त्यो समय टाढा छैन, अब विश्वको उत्पादनमा समाजवादको हिस्सा पुँजीवादको भन्दा बढी हुनेछ । यसरी मानवीय क्रियाकलापहरुका सबै निर्णायक क्षेत्रहरु र भौतिक उत्पादनका क्षेत्रहरुमा पुँजीवाद पराजित हुन जानेछ ।’’ त्यतिबेला ‘‘पुँजीवादको आम संकटमा एउटा नयाँ चरण आरम्भ भइसकेको छ’’ भन्ने कुरा पनि व्यक्त गरिएको थियो र के निष्कर्ष निकालिएको थियो भने ‘‘पुँजीवादको समुच्चै विश्व अर्थप्रणालीमा बढ्दो अस्थिरता’’ नै यसकोे मूल प्रवाह हो ।

यस्तो प्रकारको आँकलनका आधारमा समग्रमा त्यो वक्तव्यमा के अन्तिम निष्कर्ष निकालिएको थियो भनेः ‘‘आज केवल समाजवादी सोभियत संघमा मात्रै होइन, बरु अन्य समाजवादी देशहरुमा पनि पुँजीवादको बहाली असम्भव हुन गएको छ ।’’

त्यसरी समाजवाद सुरक्षित भइसकेको र त्यहाँ प्रतिगमनकारी धक्का लाग्न नसक्ने जुन टुङ्गोमा पुगिएको थियो । वास्तवमा त्यो यथार्थमा आधारित र वस्तुसङ्गत निष्कर्ष थिएन भन्ने कुरा आज प्रष्ट भएको छ ।

वास्तवमा आज आलोचनात्मक किसिमले के कुरा उल्लेख गर्नैपर्ने हुन्छ भने विश्व कम्युनिस्ट आन्दोलनको एउटा दस्ताको रुपमा विभिन्न देशका कम्युनिस्ट पार्टीहरु त्यो सम्मेलनको यस्तो गलत समझदारीहरुबाट प्रभावित भएका थिए । त्यसैले आज के आवश्यक छ भने त्यस्ता प्रकारका आँकलनको आधारमा गरिएका मूल्यांकनको यतिबेला पुनर्समीक्षा, पुनर्परीक्षा गरिनु पर्दछ र सही निष्कर्षमा पुग्नु पर्दछ । यस सम्बन्धमा आजभन्दा ४२ वर्ष पहिला नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालद्वारा प्रस्तुत तथा २०२५ सालमा उहाँको नेतृत्वमा सम्पन्न भएको पार्टीको तेश्रो ऐतिहासिक सम्मेलनद्वारा पारित नयाँ जनवादी कार्यक्रमको दोस्रो संस्करणको पृष्ठ ४ मा भनिएको थियोः ‘‘आज अमेरिकी साम्राज्यवाद विश्वका हर देशमा बजार हत्याउनका लागि एक न एक निहुँ राखी घुस्न पुगेको छ ।

अमेरिकी साम्राज्यवादको यस्तो घुसपैठले विश्व पुँजीवादी गुटभित्रै आपसमा उत्तरोत्तर अन्तरविरोध बढाउन थालेको छ । यसले गर्दा, यसरी आज, स्वतन्त्र संसारको एकताको बन्धन टुट्दो छ । अतः यी सबै अन्तरविरोधहरुले सामान्यतः विश्व पुँजीवादलाई झन्‌झन् कमजोर पार्दै लैजाने छन् । तापनि “अब साम्राज्यवादी देशहरुको एकताको बिन्दु समाप्त भयो”, “साम्राज्यवादी शक्ति विश्व समाजवादी शक्तिको तुलनामा कमजोर छ”, भनी “अब आर्थिक प्रतियोगिताद्वारा साम्राज्यवादी शक्तिलाई परास्त गर्न सकिन्छ र शान्तिपूर्ण तरिकाले समाजवादमा संक्रमण गर्न सकिन्छ भनी सोच्नु ठूलो भड्काउ हुनेछ । यस्तो सोचाइ आधुनिक संशोधनवादीहरुको सोचाइ हो ।

मार्क्सवाद-लेनिनवादले हामीलाई के शिक्षा दिन्छ भने “जबसम्म साम्राज्यवाद कायम रहन्छ, तबसम्म आक्रामक युद्धको सम्भावना रहिनै रहन्छ । आज विश्व शक्तिमा साम्राज्यवाद तुलनात्मक रूपमा कमजोर देखिएता पनि साम्राज्यवादी शक्तिले हार मानेको छैन । उसको आक्रामक चरित्रमा कुनै परिवर्तन आएको छैन । बरु क्षय हुँदै गएको आफ्नो शक्तिलाई बचाई पुनः आफ्नो प्रभुत्व विश्वमा कायम गर्न हर सम्भव षडयन्त्रकारी दौडधुपमा लागिरहेको छ ।’’

यसरी विश्व पुँजीवादको स्थिति र कम्युनिस्ट आन्दोलनभित्र आउने भड्काउले विश्व समाजवादी आन्दोलनमा बिखराव ल्याउन सक्तछ र त्यसबाट जोगिन पर्दछ भन्ने दुरदर्शी दिशाबोध र खबरदारी क. पुष्पलालले नेपालमा उतिबेलै गर्नु भएको थियो ।

यसरी विगतलाई फर्किएर हेर्दा के प्रष्ट हुन्छ भने पुँजीवादको आम संकटको अवधारणालाई त्यसबेला सम्पन्न विश्व कम्युनिस्ट सम्मेलनहरुद्वारा यथार्थलाई निकै सरलीकृत किसिमले बुझेको र अपनाएको देखिन्छ । त्यसबेला पुँजीवाद समाप्त भएर जाने अर्थात प्रभाव हुने ऐतिहासिक अपरिहार्यतालाई एउटा तत्कालिक सम्भवना बनाएर प्रस्तुत गरिएको थियो । वास्तवमा त्यो एउटा गम्भीर गल्ति थियो, जसले पुँजीवादी देशहरुमा आइरहेका परिवर्तनहरुको र खासगरी समाजवादबाट त्यसका सामु उत्पन्न हुने चुनौतिहरुको सामना गर्नका लागि पुँजीवादले स्वयमलाई कसरी ढालिरहेको थियो, त्यसको ठोस, वैज्ञानिक र वस्तुगत अध्ययनको बाटो बन्द गरिदियो या रोकिदियो । त्यस प्रकृयामा वास्तवमा मार्क्स र एंगेल्सको त्यस स्पष्ट चेतावनीलाई पनि ठीक किसिमले बुझिएको देखिएन, जुन चेतावनी उनीहरुले कम्युनिस्ट घोषणापत्रमा नै दिएका थिए कि ‘‘पुँजीपति वर्ग उत्पादनका औजारहरुको लगातार क्रान्तिकारीकरण नगरिकन र त्यसरी उत्पादन सम्बन्धहरु तथा तिनको साथसाथै समुच्चा सामाजिक सम्बन्धहरुको क्रान्तिकारीकरण नगरिकन टिक्न र अघि बढ्न पटक्कै सक्तैन । तर पुँजीवादको प्रभावको अपरिहार्यता स्वयं घटित हुन जाने प्रकृया होइन, पुँजीवादलाई त उखेलरै फाल्नु पर्दछ ।

माथि उल्लेख गरिएको जस्तो यसप्रकारको गलत किसिमको समझदारीले मजदुर वर्गको क्रान्तिकारी वैचारिक संघर्ष तथा मार्क्सवाद-लेनिनवादबाट सुसज्जित एउटा पार्टीको नेतृत्वमा त्यसको निर्णायक हस्तक्षेपको आवश्यकतालाई जुन वास्तवमा मूलभूत भावगत कारण हो, त्यसलाई नै भुत्ते बनाउँदछ र बनायो । जसको अभावमा वास्तवमा कुनै क्रान्तिकारी अग्रगामी र आमूल रुपान्तरण सम्भव नै हुँदैन ।

अझ राम्ररी याद राख्नुपर्ने आवश्यकता के छ भने मार्क्स तथा एंगेल्सले विश्व समाजवादको विजयलाई मानवीय विकासको पुँजीवादोत्तर चरणको रुपमा प्रस्तुत गरेका थिए । त्यस विश्वव्यापी आमूल रुपान्तरणको प्रकृयाको कल्पना आरम्भिक रुपमा कम्तिमा केही पुँजीवादी दृष्टिले विकसित देशहरुमा पुँजीवादी शासनसत्ता पल्टाइने आधारमा गरिएको थियो । फेरि पनि पुँजीवादले साम्राज्यवादको अवस्थामा परिपक्क हुने र त्यसका अन्तरनिहित विश्व अन्तरविरोधहरु तीव्र हुने सम्भावनाको गुञ्जायस पैदा गरेको थियो कि विश्व दासताको साम्राज्यवादी श्रृंखला आफ्नो सबैभन्दा कमजोर कडीमा टुट्न जानेछ ।

लेनिनको नेतृत्वमा रुसी मजदुर वर्गले ‘ठोस अवस्थाको ठोस विश्लेषण’ गर्ने अनुलंघनीय मार्क्सवादी औजारको प्रयोग गर्दै त्यस सम्भावनालाई एउटा सार्थक तथा नयाँ युग निर्माणकारी वास्तविकतामा बदलिदिएका थिए । तथापि मार्क्स तथा एंगेल्सका सोच र अपेक्षाहरुका विपरीत समाजवादी क्रान्तिहरुको विजय त्यस्ता देशमा भएको थियो जुन देशहरु पुँजीवादी दृष्टिले अपेक्षाकृत कम विकसित तथा पिछडिएका थिए । त्यसको अपवादका रुपमा जर्मन जनवादी गणराज्य र चेकोस्लोभाकियालाई छोडेर कुनै पनि विकसित पुँजीवादी देशमा समाजवादको विजय नभएकाले स्वयम्‌ ती कम विकसित देशहरुमा समाजवादको सुदृढीकरणको दृष्टिले कतिपय महत्त्वपूर्ण सीमा र सीमितताहरु रहेका थिए । ती देशहरुले पुँजीवादका चरणहरुलाई नाँघ्दै आफ्ना उत्पादक शक्तिहरुको अपेक्षाकृत तल्लोस्तर तथा त्यससँग जोडिएका उत्पादन तथा सामाजिक सम्बन्धहरूलाई, एउटा खास हदसम्म, त्यो पनि बाङ्गोटिङ्गो बाटो भएर माथि उठाउनु परेको थियो, जसले गर्दा त्यो स्तर हासिल हुन सक्दथ्यो जुन स्तरमा समाजवादको निर्माण हुने आधार तयार हुन्छ र त्यसलाई टिकाउन सकिन्छ ।

त्यो कृषि तथा किसानहरुको सन्दर्भमा विशेष गरी सही थियो । लघु उत्पादनमा आधारित कृषिलाई समाजवादी नीति अनुरुप रुपान्तरित गर्ने गुरुत्तर कार्य गरिनुपर्ने आवश्यकता थियो । त्यो एउटा जटील प्रकृया थियो किनभने त्यस अन्तर्गत पिछडिएको कृषक समाजलाई रुपान्तरण गरिनुपर्ने थियो र त्यो पक्रिया पूर्णरुपले आफ्ना आन्तरिक श्रोत साधनहरुमाथि निर्भर रहँदै पुँजीवादद्वारा विकसित उत्पादनको उच्चतर प्रविधिसम्म कुनै पनि किसिमको पहुँच बिना नै र आफ्नो वरिपरिको त्यस्तो शत्रुतापूर्ण परिवेशमा चलाउनु परेको थियो, जहाँ विश्व पुँजीवादले समाजवादको गला निमोठ्नका लागि सबै संभव उपायहरुलाई प्रयोगमा ल्याइरहेको थियो । वास्तवमा यो समाजवादी व्यवस्थाकै श्रेष्ठताको सबुद प्रमाण हो कि त्यसले यस्तो बिराट काम फत्ते गरेर विश्वलाई छर्लङ्ग देखाइदियो ।

यसकारण जहाँ जहाँ समाजवादी क्रान्तिहरुले विश्व पुँजीवादको बजारका भौतिक आकार तथा त्यसका प्रभावका स्तरहरुलाई कम गरिदिएको या घटाइदिएका थिए । कुनै विकसित पुँजीवादी देशमा क्रान्ति नहुनुका कारण त्यसबाट न त पुँजीवादद्वारा पहिला नै हासिल गरिसकेका उत्पादक शक्तिहरुको स्तरमा आधारभूत रुपमा कुनै असर पर्‍यो, न त्यसका भावी विकासका संभावनाहरुमा नै । यसकारण, विश्व पुँजीवादका लागि के संभव भयो र रहन गयो भने एउटा भौतिकरुपमा घटेको बजारको नयाँ वास्तविकता अनुरुप स्वयंलाई ढाल्न सकिन्छ, र ढाल्न सक्नु पर्दछ । त्यसो गर्दागर्दै पनि उत्पादक शक्तिहरुको स्तरलाई भने माथि उठाउनमा सफल हुनु पर्दछ ।

दोश्रो विश्वयुद्धपछिको समयमा पुँजीवादद्वारा वैज्ञानिक तथा प्राविधिक क्रान्ति व्यापकरुपमा सुरु गर्नु वास्तवमा त्यसैको प्रमाण र परिणाम पनि थियो, र हो । अर्कोतिर यसले विश्व पुँजीवादी बजारको अत्यन्तै व्यापकरुपमा बिस्तार गर्‍यो र आफ्नो विकासका लागि थप आधारहरुको समेत निर्माण गर्‍यो । के कुरामा ध्यान केन्द्रित गरिनै पर्दछ भने पुँजीवादको विकास वैज्ञानिक तथा प्राविधिक क्रान्तिका अतिरिक्त मुख्यतः विकासशील देशहरुको बढ्दो शोषणमा आधारित रहेको हो, र रहेको छ । उपनिवेशहरुको मुक्तिको प्रकृयापछि पुँजीवादी देशहरुले नव उपनिवेशिक शोषणका विभिन्न रुपहरुलाई प्रखरबाट प्रखरतम्‌ बनाउँदै लैजान थाले र बदलिँदो परिस्थिति अनुरुप स्वयंलाई ढाले । पारराष्ट्रिय निगम (Transnational Corporations) र बहुराष्ट्रिय निगम (Multinational Coporations) हरु तिनै प्रखरतम्‌ प्रकृयाकै पछिल्ला उपज र संयन्त्रहरु हुन्‌ ।

यसका साथै विश्व पुँजीवादले अझ भिन्न किसिमले समेत परिवर्तित परिस्थितिहरु अनुकूल अफूलाई ढाल्नु पर्‍यो । एउटा समाजवादी समाजको स्थापना तथा त्यसको व्यवहारको, विश्वभरिकै मजदुर वर्गमाथि आर्थिक, सामाजिक, राजनीतिक अधिकाहरुको क्षेत्रमा गहिरो प्रभाव परेको थियो । पुँजीवादले आफ्नो व्यवस्था बचाउन र चलाउनका लागि तथा उत्पन्न समाजवादी चुनौतिहरुको सामना गर्नका लागि एक हदसम्म कल्याणकारी उपायहरुको अवलम्बन यस्ता यस्ता अधिकारहरु दिएर गर्‍यो, जुन आधिकारहरु उसले त्यसभन्दा पहिला कहिले पनि कामदार वर्गलाई दिएको थिएन र दिनुपर्ने सोचेकोसम्म पनि थिएन ।

अर्को शब्दमा यसरी भन्न सकिन्छ कि पुँजीवादलाई पुँजीको शासन कायम राखिराख्नका लागि आफ्नो मुनाफाको सानो अंश यसरी कामदार वर्गलाई पनि पुँजीपति वर्गले वितरण गर्नुपरेको थियो । त्यसैले कुरा एकदमै प्रष्ट छ, जुन जनतान्त्रिक अधिकारहरुलाई आज मानवीय सभ्यताका अविभाज्य कुरा मानिन्छ, सामाजिक रुपान्तरणका लागि महत्त्वपूर्ण, ती सबै जनताका संघर्षका परिणाम हुन्, न कि पुँजीवादी समाजका दान-दातव्य ।

(लेखक नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।)