कताबाट सुरु गरूँ ? मनले नलेखिरहन मानेन । आजको होइन, कुरो त कुशे औँशीको दिनको फोटोको हो । सबैले बाबुको मुख हेर्ने दिनमा फोटाहरु पोस्ट्याए । अनि आफूले पनि नुवाइधुवाई गरी बुवालाई स्मरण गरेर खाना खाइयो । बाबु हुने-नहुने सबैले आ-आफ्ना भनाइ राखेको फोटो आयो । मसँग त्यस्तो फोटोको पनि अभाव थियो । सँगै बसेर त सायद खिच्न नै पाइएन भने बुवाको एकल फोटो वा समूहमा कसैसँग खिचेको पनि थिएन । फोटा जति कुनै मेरा दाजुको सम्झना भन्दै बुवाको नजिककी मायाकी हकदार फुपूले उहिल्यै, कुनै बुवाको सम्झना भन्दै बहिनीले र अरू आफन्तले पछि एल्बमबाट एक-एक झिक्दाझिक्दै सकिसकेछन् । घरमा भएको एल्बम खोजेको रित्तै भेटियो ।
यो कुरो पनि १० वर्ष अघिको हो, फोटो खोजी गर्दाको, उहिल्यैको कुरो । एउटा फोटो घरमा भित्तामा छ, भान्दाजुसँग पाल्पामा उपचार गर्न जाँदा खिचेको । अर्को नागरिकतामा होला, त्यो पनि भाइसँग छ । कतै धमिराले पो खायो कि सुरक्षित छ ? थाहा छैन । यो बाहेकका फोटा कसैसँग भए खोज्नु पर्छ । नभए पनि कलाको चासो छँदैछ, अनुहार याद छ । स्केच कोरौँला कुनै बेला । आखिर भानुको फोटो पनि त सम (बालकृष्ण सम) को हातको स्केच नै त हो ।
हरेक विषयमा सबैको मन छुनुपर्छ भन्ने केही छैन । जसको मनमा अमीट छाप परेको छ, त्यसैको मन छुने हो । मलाई पनि यो सामाजिक सञ्जालमा पोस्ट्याएको एक फोटोले मन छोयो । मन छुनुको कारण थियो । बाबु एक सामान्य प्रा.वि.का शिक्षक र उनको सबै परिवार संख्या ६ जनाको थियो । मैले त्यसलाई “यो तस्वीर शेयर नगरी मनले मानेन” भनेर फेसबुक नामको चिजका स्टाटसमा केही अक्षर लेखेर पोस्ट गरेँ । मलाई अरु प्रतिक्रियाले खासै प्रभाव पारेन । सामान्यतया प्रतिक्रियाहरू ‘धन्यवाद’, ‘राम्रो’ जस्ता थिए । त्यसै ठाउँमा “त्यस्तो कस्तो फोटो शेयर गर्नुभयो ?” भन्ने एउटा प्रतिक्रिया आयो । मलाई यो सामान्य लागेन । यो व्यङ्ग्य गरिएको हो वा ‘जाबो फोटो न हो, कस्तो लाग्यो होला?’ भन्ने पनि हुन सक्छ । टिकोटालो गरी छोराबुहारीले बुवा र ससुरालाई टीका लगाउँदै गरेको छ । बाबुसँगको आशिर्वचन माग्ने दिन र बाबुको मुख हेर्ने दिनमा बाबुप्रतिको श्रद्धा सामान्य हो । त्यसअनुसार फोटोको सजावटले देखाएको सुन्दरताको बयान यहाँ गौण कुरा हो ।
यहाँ उठान गर्न खोजिएको विषय ती फोटोका मानिसलाई आजको प्रगतिवादी साहित्यको नेतृत्वले किन चिन्दैन त भन्दा उनलाई बाबुको राजनीतिक पृष्ठभूमिका कारण टिपेर कुनै ठाउँको ठूलो नेता बनाइएको छैन । अनि कसरी चिन्नु त उनलाई ?
अनि आफ्ना बालबय समयमा अमरावतीदेखि खैरीफाँटा आधा घण्टा बिहान पूर्वघाम उदाउँदा पनि आँखामा घाम र साँझ सूर्य अस्ताउँदा पनि आँखामा घाम, आठ वर्ष निरन्तर मैले त्यो अरुणोदय मा.वि.मा आउन जान समय बिताएको छु । मलाई आठ वर्ष धेरै लामो लाग्यो । औपचारिक रुपमा २०६० बाट मैले त्यो विद्यालयको चारित्रिक प्रमाणपत्र लिएर विदा भएको हुँ । मलाई अरुणोदयको विद्यार्थी भन्नमा गर्व लाग्छ । आज त्यो विद्यालयका शालीन शिक्षक छन्द कवितामा शब्दलाई नागबेली नचाउने र नदीको कलकल झङ्कारझैँ झङ्कृत पार्ने र हामी छन्दमा रुची राख्नेलाई ‘यमाताराजभानसलगा’ हुदै गण र सूत्र, अनि बढी जान्ने भए छन्दोहार कतै पाइए किनेर पढ्नु भनेर सम्झाएको मुक्तकण्ठले प्रशंसा गर्दछु । त्यति नसुझाएको भए कहाँ ‘यमाताराजभानसलगा’ र गण बनाउन आउँथ्यो भलै छन्दमा कविता नलेखे पनि । उनको एक पङ्ति यस्तो रहेको छः
ढड्डीका चपरी पल्टाई खेतीपाती लाइयो ।
भएको सम्पत्ति जत्ति बेसा किनी खाइयो ।।
यो पंक्ति छन्द चिनाउनका लागि प्रस्तुत गरिएको होइन । कैलालीको त्यसबेलाको जनजीवन चिनाउनका लागि सहयोग पुग्ने भएको र चपरी पल्टाउँदाको साक्षी स्वयं कवि सामेल भएकाले राखिएको हो । २०२२ सालदेखि कैलालीमा जंगल फँडानी गरी आफ्नो जमिन बनाउने होडमा आजको कर्णाली नदीको पश्चिम भङ्गालोमा पाताबाडी (भाताभार) भन्ने ठाउँमा कालीकोट, अछाम, जुम्ला लगायतका ठाउँका जनता आएर जमिन फँडानी गरी आफ्नो बनाउने क्रम चल्यो । दिनमा वनपाले आएर घरहरु जलाउने, राति जनताले मिलेर घर बनाउने दोहेरी चलिरह्यो । माथिको कविता त्यहीबेला नै आफ्नो जमिन नभएपछि, पहाडबाट आउँदा बोकेर ल्याएको सम्पत्तिले बेसाहा किनेर खाँदैमा आफ्नो सम्पत्ति सकिएको उदाहरण दिएका छन् कविले ।
यो सित्तैमा पाइने लोभले भएको हो । धनको कुरा गर्दा हाम्रा बाजेले रु ६००/- मा बर्दियामा तीन बिगाहा जमिन पाउँदा पनि नकिनेर यस्ता जमिन त म १० दिनमा रुख फाँडुला पारि (पाताभार) भनेर नकिनेर भएको सम्पनि बेसाहा किनेर खाएर जमिन फँडानी गर्नैमा मात्रै लागेको मेरा काका जयलाल उपाध्याय बताउँछन् । यी त प्रतिनिधि घटना भए । धेरैको अवस्था यस्तै भयो होला ।
उनको नियुक्ति पनि त्यही अरुणोदयमा भयो, त्यसै विद्यालयबाट सेवानिवृत्त समेत भए । उनको व्यवहार सरल छ । कविता गुनगुनाउने, लेख्न नछोड्ने, अरुलाई प्रेरणा दिइरहने र कसैको आँखामा राखे पनि नबिझाउने कवि हुन् ।
उनका चार सन्तानमा एक छोरी लक्ष्मी थापा र तीन छोराहरूः गृष्म थापा, भीष्म थापा, उष्म थापा हुन् । त्यो तस्वीरमा माइला भीष्मले आशिर्वाद थापिरहेका थिए । आजको सरकारी फर्मान निजामती र सरकारी शिक्षकले बोर्डिङमा सन्तान पढाउन नपाउने जारी गर्ने कुरो गरे पनि लागु गर्न नसकिरहँदा उनले आफै शिक्षण गर्ने अरुणोदय स्कुलमा नै सबै छोराछोरी पढाएका थिए । दिदी लक्ष्मी थापा २०४७-२०४८ को पहिलो व्याचको प्रवेशिका पास भइन् । २०४९ सालमा अरुणोदयले सुदूरपश्चिम प्रथम बनायो मटेराका एकेन्द्र तिमिल्सेनालाई । त्यो साख २०५० मा आउँदा उनका जेठा सुपुत्र गृष्म थापाले कैलाली प्रथममा नै चित्त बुझाउनु परे पनि चानचुने होइन । त्यसबेला निःशुल्क पढ्न पाउने व्यवस्था अनुसार कञ्चनपुर महेन्द्रनगरको शिद्धनाथ विज्ञान क्याम्पसमा आइएस्सी पढे, एकेन्द्रले पनि त्यही विज्ञान क्याम्पसमा पढेका हुन् । गणित शिक्षकले गृष्मलाई गणितमा चोरेर ल्याएको नम्बरको आरोप लगाएपछि क्याम्पसमा पनि उनको विषयमा टपेपछि शिक्षकले नै गृष्मसँग माफी मागेको हामीलाई गणित पढाउँदा हरिहर भट्टराईले भन्थे । उनी हाम्रा गणित शिक्षक थिए मा.वि.का ।
गृष्म दाइ नेपालगञ्जमा हुँदा म २०६४ मा प्रेस इन्स्टिच्युटको पत्रकारिता तालिम गर्न बसेको थिएँ । मलाई इन्टर्नशीप गर्न सुर्खेत जान मन लाग्यो । तर, जाने भाडा थिएन । सम्झेँ नजिकबाट गृष्म थापालाई भनेँ, “मलाई रु ५००/- दिनुस्, फर्केपछि दिऊँला” । दाइले “रुपैयाँको कुरो माग्न सकिँदैन, भाडा भए पुग्यो नि, फिर्ता दिनु पर्दैन” भनेर रु २००/- दिए । यो उनको सद्भाव म कहिल्यै बिर्सने छैन ।
यसरी भीष्म सँधै प्रथम भएर आए, २०५१ मा प्रथम श्रेणीमा केही जना उत्तीर्ण भए । यसमा हेमराज न्यौपाने, लोकेन्द्र शाही लगायत औँलामा गन्न मिल्ने मात्रै छन् । यसरी आएर कान्छा उष्म मेरा साथी हुन पुगे । यिनले पनि दाजुको साख जोगाउँदै लगे । जेठा गृष्म नेपाल सरकारको निजामती सेवामा इन्जिनियरको जिम्मेवारीमा छन् । माइला भीष्म लम्की बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छन् भने कान्छा उष्म गाउँकै कुनै विद्यालयमा अध्यापन गर्छन् । यसरी उनले आफ्ना छोराछोरीलाई कहिल्यै बोर्डिङमा पढाएनन् । बोर्डिङमा गएकाको पनि जोडौँ । उनका भान्जा निकेन्द्र रावलका छोरा (नाम बिर्सिएँ) सँधै भीष्मसँग प्रतिष्पर्धा गर्थे तर प्रथम नभएपछि उनी प्रथम हुन टीकापुर विरेन्द्र विद्यामन्दिर बोर्डिङ सरहको विद्यालयमा पढ्न गए । त्यहाँ उनले प्रथम भएरै छोडे । तर थापा सरले आफ्ना सन्तानलाई कुनै बोर्डिङमा पढाएनन् । आजका सरकारी शिक्षक र निजामतीका जागिरेले यो अनुसरण गरे आजका सरकारी विद्यालय विद्यार्थी नपाएर बन्द हुने र ‘मर्ज’ गर्नुपर्ने अवस्था आउँदैन थियो कि ? मिहेनत गरेमा सरकारीबाट पनि टपर हुन सकिन्छ भन्ने प्रतिनिधि उदाहरण मात्र हो यो ।
उनलाई “मित्र …थापालाई सप्रेम उपहार” लेखिएको ‘सिपाहिकी स्वास्नी’ पुस्तक मैले कैलालीको पालबजारको एक मेडिकलमा देखेँ । पुस्तक भेटाए हेरिहाल्ने बानी थियो । लेखकको नाम महेशविक्रम शाह र सप्रेम हस्ताक्षर देखेँ । अनि लाग्यो महेश दाइले हुलाक लगाएर यहाँ आइपुगेर थापाले नपाएको हो कि थापाले पढ्न दिएको हो र फिर्ता नगरिएको हो ? प्रश्न चिन्ह आयो । यस्ता कुरालाई मेरो दिमागले छिटो प्रश्न गर्दछ । अनि यो त जसरी पनि सुरक्षित राख्नुपर्छ, पछि भेटिदैँन भनेर एक दुई कथा मैले त्यहीँनिर पढेँ । अनि उपाय लगाएँ, “मामा, म यो भोलिपर्सि ल्याइदिउँला, पढ्न दिनुस् है, कथा राम्रा रैछन्, यहाँ पढेर सकिँदैन, घर लगेर पढ्छु” भनेर लगेँ ।
यो कथाभित्रको एक कथा २०६१ मा प्रौढ कक्षाको तालिममा मैले भन्दा “हाम्रो घरको सत्य कथा हो, किन भनेको दाइ ?” भनेर बहिनी भाग्यश्री शाहले रोदनमय गुनासो गरिन् । “यस्तै सत्य कुरालाई नै कला भरेर कथा बनाइन्छ लाटी” भनेर बुझाउनु परेको थियो मैले । त्यसभित्रको ‘गन्हाउने चामलको भात’ शीर्षक कथा भनेको थिएँ मनोरञ्जन गर्नै शून्य समयमा । पछिल्लो समय सुर्खेत बस्ने भएकाले त्यो पुस्तक पनि सुर्खेत पुग्यो । “.. थापा सरले पाएका हुन् कि नाईं” भनेर सोध्न मन लाग्यो घर गएको बेला । थापा सरलाई जिस्क्याएर भनेँ “सरको बाटोमा हराएको चिठी मैले पाएको छु, तर ल्याउन सकिन, सुरक्षित छ,” भनेँ । जवाफमा “राम्रो गर्नुभयो, त्यो त मेरा लागि इतिहास हुन्छ, म त्यसैका आधारमा एक लेख पनि लेख्न सक्छु” भनेर थापा सरले भने । “चिन्ता नलिनु होला थपा सर, मेरो बाकसमा सुरक्षित छ सुर्खेतमा, म अहिले काठमाडौँमा छु”, भनेर जवाफ फर्काएँ ।
यस्तै हस्ताक्षरको कृति नपाएका वासुदेव अधिकारीलाई जोड्न मन लाग्यो । मदन भण्डारी स्मृति प्रतिष्ठान मोरङको प्रकाशनमा अनिल पौडेलले हस्ताक्षर गरेको पुस्तक मैले टेबालबाट सेकेण्ड ह्याण्डमा किनेर लिएँ र मेरो दराजमा सजाएको छु । मदन भण्डारीलाई कवाडखानामा जान दिइएन । यहाँ पनि यस्तै प्रश्न छ । यो किताब बासुदेवले कवाडमा बेचे या अनिल पौडेलले कसैलाई पुराइदिनु भनेर लगाएको हुलाकीले नै किलोमा बेचेर पठायो । यो प्रश्न अनुत्तरित छ । तर मैले वासुदेवलाई राम्रोसँग जान्न पाएँ । अहिलेको सत्ताद्वारा पर राखिएका बासुदेव मदन भण्डारीका कोर टिमका सल्लाहकार रहेछन् । होचो कदका अग्ला मान्छे ।
अब माथिकै थापातिर लागौँ । उनले आफ्नै बगैँचामा फूलको सौन्दर्य दिने काममा कहिल्यै बाँकी राखेनन् । घर नजिकै माछापालन पोखरी र घरमा एक कोठामा चिटिक्कको पुस्तकालय सजाएका छन् । उनी भन्ने गर्थे, “यो फूलबारी सब मैले छोराछोरीका लागि गरेको र बाहिरबाट आउँदा फूल देख्दासाथ मन शान्ति हुन्छ, वातावरण नै उमङ्ग हुन्छ” भनेर । यसरी एकपटक खैरीफाँटामा मा.वि.मा नेपाली पढाउने शिक्षकको खडेरी भयो नेपाली पढाउने शिक्षक चक्रपाणी भट्टराईलाई विद्यालयले नै लामो समय अनुपस्थित भएको आरोप लगाएर पूर्वाग्रही ढंगले हटाइदियो । उनी विद्यालयबाट हटाइसकेपछि पुगेका थिए । विद्यार्थीले अनुनयविनय गर्दा पनि संवेदना नबुझी संस्थाले नै विदाई गरिसकेपछि म आउँदिन भने । एक वर्षजति प्रा.वि.का थापाले त्यो मा.वि. पनि धाने तर अरुका जस्तो प्रा.वि. दरबन्दी भए पनि मा.वि. पढाउन पाउने उनको कागजको प्रमाण स्नातक थिएन । त्यसैले माथिल्लो दरबन्दीमा उक्लन नपाए पनि स्तरमा तिनै मा.वि.का शिक्षक सरह नै थिए प्रा.वि. प्रथम तह ।
उनकोबारे आज यति लेखिसकेपछि अब टुग्याउँनीमा अलिकति उनी को हुन् भन्ने कुरा त प्रगतिवादीलाई पनि चिनाउनै पर्यो । त्यो अमरावतीमा कम्युनिस्टको प्रभाव पार्ने मध्येका एक हुन् र उनलाई २०४६ सालमा पञ्चायतले जसरी पनि समात्ने अभियान थियो । पटक पटक कटासे चौकीले निगरानी राख्ने र दुःख दिने गरेको र अति भएपछि केही दिन अछामसम्म पुगेर लुक्नु परेको र पछि पक्राउ परेका पुराना कम्युनिस्ट हुन् उनी ।
२०४६ मा हाम्रै गाउँ अमरावतीमा हाम्रै घर अगाडिबाट “जिन्दावाद”को नारा लागाउँदै हिँडेका राता झण्डाधारीहरूको लस्करमा उनी पनि थिए । मेरा काका लीलाराज उपाध्यायले मलाई बुझाएको अझै याद छ, “आज बहुदलको जीत भएकाले कटासे चौकीमा भएका बन्दी पनि छुटेका र त्यसैको खुसीयालीमा जिन्दावाद भनेको हो” भनेर । त्यो बेलादेखि नै पंक्तिकारका काकाले राजनीतिक चेतना भरिदिएका थिए ।
त्यसबेला लीला अङ्कलसँग हामी गणित र अंग्रजी पढेका थियौँ । त्यो स्वयंसेवी कक्षा थियो काकाले फुर्सदको समयलाई सदुपयोग गरी सवयंसेवा स्वरुप पढाएका थिए । त्यस्तै काकासँग एक किस्सा छ । काकाले गुँदले किताबको गाता टाल्दै थिए । म भर्खर सुर्खेतको गाउँबाट कैलाली गएको थिएँ । काकाले यसले मेरो मुख टालिदिने भनेपछि म डराएको त्यो बेला २०४४ साल हुनुपर्छ । त्यसबेला घरमा ‘जमरा’ भनेर बोलाइने एकजना खड्का दाइ काकाको प्रवेशिकाको नोट र किताब लिन आएको याद गरेको थिएँ । ती ‘जमरा’सँग सुर्खेत बस्दा जगत खड्काको नाममा धेरै पछि चिनजान भयो । उद्योगपति भएर सुर्खेतमा बसेका रहेछन् । त्यो पनि नचिनेको मान्छेको भिडमा कैलालीको कुरा उनकै मुखबाट फुत्केपछि । यसरी थापाको वाम विचारधाराले गाउँमा जरा हालेको थियो ।
उनी प्रगतिवादी धारका एक सशक्त कवि हुन् । म सुर्खेतमा २०६१ बाट पढ्न गएपछि त्यहाँको “रातो थुँगा”कोबारे थाहा भयो । मैले उनीसँग एक कविता माँगें । उनको जवाफ यस्तो आयो, “ऊ लेख्न मन लाग्दैन, ऊ छापिँदैन ।” मैले नछापिने दोस्रो ‘ऊ’ मागेको थिएँ । “आफ्नो लेखेको विचार छाप्ने आँट गर्ने मान्छे कोही छैनन्”, भनेर उनले गुनासो गरेका थिए । म सुर्खेतमा २०६२ को कार्यकालमा प्रलेसको समितिमा नबसे पनि बाहिरबाट सहयोग गरेको र २०६५ देखि दुई कार्यकाल सचिव भएँ । यसैको प्रकाशन “रातो थुँगा”लाई समितिमा नभए पनि सामग्री खोज्दाको कुरो हो । उनीसँग सामग्री माग्दा शाही शासनको बेला थियो । यस्तो बेलामा पनि छापिन्थ्यो “रातो थुँगा” । उनको पहुँचले केन्द्रको प्रकाशन प्रलेसमा छापिने थिएन ।
उनी मोफसलका जनताका कवि थिए । मोफसलमा नै छापिन्थे । थुप्रै मञ्चले प्रमुख अतिथिकोआसन धारण गराएका छन् र थुप्रै संघ संस्थाले उनलाई सम्मान गरेका छन् । थापा पनि हाम्रा सुर्खेतका महेन्द्र प्रसाद गिरीको जस्तै स्वभाव भएका मान्छे हुन् । आफ्ना सिर्जना कता छापिए खोजी नगर्ने मध्येका । उनी भन्छन्, “मेरा कति रचना ललीजन रावललले लिएर रेडियोबाट वाचन गराएका छन् र कति मधुपर्क र गरिमामा छपाएका छन्, संकलन गर्न पाइएन” ।
उनलाई चिन्छन् त ललीजनले । महेश विक्रमले पनि चिन्छन् । उनीसँगै पूर्व-पश्चिम सँगै हिँडेको वाशिष्ठले चिन्छ । आजका प्रगतिवादीले प्रोत्साहन गरी हात समातेर सँगसँगै हिडाउनुको साटो ‘बुलिङ’ गरी अर्कालाई हियाउने न हो । किन चिनिरहनु पर्यो पुराना मान्छेलाई ?
उनको प्रलेससँगको साइनो पनि पुरानै छ । २०३६ सालमा पारिजातसँगै प्रलेसको सम्मेलनमा गएको भन्दै पारिजातसँगको संस्मरण सुनाउँछन् उनी । त्यसपछि कैलालीको प्रलेस धनगढी केन्द्रित भएर होला गाउँतिरकालाई हेर्दैन र स्रष्टाको खोजी पनि गर्दैन । “खोजी किन गरिएन” भनेर प्रश्न गर्यो भने नेतृत्वमा भएकाहरु “सङ्गठनको त आफै खोजी गरेर आउनुपर्छ” भन्ने प्रश्न उल्टै राख्छन् ।
धन्न दोघरे भएर सुर्खेतको कुनामा घर भए पनि सदरमुकाममा २०६१ देखि बसोबास गरेपछि सबै सदरमुकामसँगको परिचय भएर, साहित्यिक कार्यक्रममा सबैभन्दा पछाडिको बेन्चमा बसेर सुन्दासुन्दै, रचना वाचन गर्दैगर्दा चिनजान भएर, अनि रैथाने बसाई गाउँ दुई दिन टाढा गाइनेकाँडा भएपनि लेख्दा सुर्खेत नै लेख्नुपर्ने भएर सुर्खेती बनेर रैथाने हुनुको बाबजुद नेतृत्वमा पुग्न पाएको हुनसक्छ । नत्र स्थानीयको खोजी हुने भेद प्रयोग हुने ठाउँमा बाहिरबाट आएकालाई किन स्थान दिन्थे होलान् ? आज पनि बाबुको नगरिकता कैलालीबाट भएकाले सनाखत गर्न र नागरिकता लिन सजिलोका लागि “कैलालीको नागरिकता मात्रै हुँदा त सुर्खेतको होइन, कैलालीको” भनिदिन्छन् । कैलालीमा त मेरो पनि गाउँ नै हो । सदरमुकामको गतिविधि थाहा पाउन कि त त्यहीँ धनगढी बस्नुपर्छ, नत्र धनगढीले खोजी नगर्ने ठाउँ न पर्यो – कैलालीको सुदूरपूर्व अमरावती ।
विद्यालयमा कविता प्रतियोगिता र साहित्यिक कार्यक्रम गर्नुपर्दा थापा सर नभई हुँदैन्थ्यो । उनी प्रा.वि.का भए पनि उनमा त्यो कला थियो । उनलाई खालि कवि मात्र भन्दा अन्याय हुन्छ । उनका थुप्रै निबन्ध प्रकाशित भएका छन् । प्राज्ञिक समाज टीकापुरको स्मारिका ‘प्रज्ञा चक्षु’मा र स्थानीय स्तरमा प्रकाशन हुने साहित्यिक पत्रिकामा नछापिएको सिर्जना विरलै होलान् । तर खोजेर संकलन पो गरेनन् ।
गाउँमा त्योबेला एशिका क्यामरा बोक्ने मान्छे तिनै थिए । आजकोजस्तो मोबाइल थिएन । प्रत्यक्ष सञ्चार भने आजभन्दा बढी थियो । थापा सरले नै खैरीफाँटामा पूर्वबाट उँभिदा हाम्रो गाइनेकाँडा आउने गरी फोटो खिचिदिएका थिए । साथमा थिए पूर्णप्रसाद उपाध्याय काका । सुरुमा खैरीफाँटाको स्कुलको प्राङ्गणमा टेक्दा मलाई आकासे रङको स्कुल पोशाकको कमिजमा समातेर आफूतिर तान्दै, “घरमा अलिकता सोडा छैन र, यसलाई पखाले सफा हुन्छ, सफा लगाउनु पर्छ” भनेर मायाले भनेको मैले आजसम्म बिर्सेको छैन । उनले “जुम्ली पाखे” भनेर बुलिङ गरेनन् । त्यतिबेला गाउँबाट आएको मान्छे, उनले सोचेजस्तो सरसफाइ गर्ने बानी थिएन होला । पुरानै टालेको कपडा भएपनि धोएर लगाउन त्यतिबेलादेखिनै सिकेको हो मैले । धुन त पहिले पनि धोइन्थ्यो, अलि छिटोछिटो र मैलो नहुँदै धुन भने उनैको त्यही कुराबाट प्रेरणा पाएको । तर अहिले पनि टिपटप हुने स्वभाव भने छैन मेरो । मेरी घरबेटी दिदी भन्छिन्, “अलि टिपटप हुनु, काठमाडौँमा बसेपछि अलि चिटिक्क पर्नु, ठाँटिएर हिँड्नु ।” सायद त्यसैले ज्ञानु दिदीले काठमाडौँमा पानीको यतिसारो अभावको बाबजुद पनि मेरो ड्रममा खानेपानी र सरसफाइलाई अपुग नहुने गरी सँधै पानीको व्यवस्था गरिदिन्छिन् । आखिर यो पनि एक प्रकारको वर्गीय माया नै होला ।
यही अमरावतीमा रहेर उच्च महत्वाकाङ्क्षा नदेखाई आफ्नै गाउँको विद्यालयमा चक डस्टरसँगै रमाउँदै सिर्जनाका फूलबारीमा रमाउने र हामीलाई भेट हुँदा माया र हौसला प्रदान गर्ने थापा सर, सुर्खेतदेखि भेट्न जाँदा “म उष्मको साथी” भनेपछि आफ्नै छोरा सरह मान्ने र खाना नखुवाई नपठाउने म्याडम र साहित्य तथा शिक्षणको माध्यमबाट समाज रुपान्तरणमा लागेका अभियन्ता कर्ण थापाको सम्मानका खाँतिर यत्ति कोरियो यसपटक । “मलाई चलाएन, धुलोमाटो परेर सास फेर्न नसक्ने बनायो” भनेर धेरै दिनदेखि मालिकसँग रिसाएर बसेको मेरो ल्यापटपले पनि फोहोर पुछाउने मौका पाएकोमा खुसी व्यक्त गर्यो । यत्ति शब्द कोर्नका लागि निभेको मुडालाई ठोसठास पारी हुटहुटी जगाइदिएकोमा वरिष्ठ प्रगतिवादी साहित्यकारको ‘त्यस्तो कस्तो फोटो शेयर गर्नुभयो?’ भन्ने प्रतिक्रियालाई कोटी कोटी नमन् । अन्यथा यो लेख जन्मिने नै थिएन । अस्तु ।
२०७७ भाद्र ११
कीर्तिपुर, काठमाडौँ ।
(लेखक गोरखापत्र राष्ट्रिय दैनिकको नयाँ नेपाल संस्करण अन्तर्गत खस जुम्ली भाषाका पृष्ठ संयोजक तथा प्रगतिशील लेखक हुनुहुन्छ ।)