रामवृक्ष यादव, Shahid, Ram Briksha Yadav
 

नेपालमा दुई वटा बरमझिया दुई कुरामा चर्चामा हुन्छन् । पहिलो सप्तरीको बरमझिया पेडाका लागि चर्चित, दोस्रो धनुषाको बरमझिया शहीद रामवृक्ष यादव ‘मास्टरसाहेब’को गाउँ । मास्टरसाहेब रामवृक्ष यादवको गाउँ बरमझिया म दुई पटक गएको छु ।

मास्टरसाहेबसँग मेरो सामीप्यता नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौ महाधिवेशन भारतको अयोध्यामा २०४१ साल मङ्सिरमा भएको बेला हामी १९ दिनसम्म सँगै थियौँ । मास्टरसाहेबको खुट्टामा प्लास्टर गरिएको थियो । उहाँ बैशाखीको भरमा हिँड्नुहुन्थ्यो । पञ्चायती सामन्तका लठैतहरूले उहाँलाई सांघातिक हमला गरेका थिए र उहाँको दाहिने खुट्टा भाँचिएको थियो । बिहान सरयू खोलामा नुहाउन प्रायः मैले उहाँलाई लाने गर्थेँ ।

बेलुका महाधिवेशनस्थल अयोध्याको रुसी धर्मशालाको वरिपरि हामी घुम्ने गर्थ्यौं । इलाहावादको अमरूद (अम्बा) र स्थानीय पसलमा फुच्चीमा चिया खान्थ्यौँ । मास्टरसाहेबसँग मेरो मैथिलीमा नै संवाद हुन्थ्यो । शारीरिक रूपले चोटग्रस्त भए पनि मास्टरसाहेब महाधिवेशनको बेला हारमोनियममा नेपाली र मैथिली गीत गाउनु हुन्थ्यो । उहाँ आफै गीत बनाउने, संगीत भर्ने र गाउने पनि गर्नु हुन्थ्यो । उहाँको शालीनतामा सबै सहभागीहरू प्रभावित थिए । लामो समय स्कुलमा पढाउनु भएकाले उहाँलाई सबैले आदरसाथ मास्टरसाहेब सम्बोधन गर्थे ।

Bharat Pokharel, भरत पोखरेल
लेखक

एकदिन अलि फुर्सदमा मास्टरसाहेबले आफ्नो झोलाबाट एउटा पुस्तक निकालेर मलाई देखाउनु भयो, जुन पुस्तकबाट उहाँ निकै प्रभावित हुनुभएको रहेछ । यो पुस्तक पढ्नु भएको छ भनेर उहाँले मलाई सोध्नुभयो मैले विराटनगरमा विद्यार्थी रहँदा पाँच वर्षजति अगाडि नै पढिसकेको भनेपछि उहाँले पुस्तकका केही प्रसंगहरू उठाउनु भयो । त्यो पुस्तक थियो – राहुल सांकृत्यायनको “भागो नहीँ दुनियाँको बदलो” ।

दुःखराम, सन्तोखी र पुस्तकको मुख्यपात्र रजबली भैयाको संवादबाट पुस्तकको सुरुवात हुन्छ । सुरुदेखि अन्तिमसम्म पुस्तक अरु थप केही पात्रहरू समेटिएर अन्तिमसम्म पनि संवादमै टुंगिन्छ । रजबली भैयाको इतिहास, भूगोल, समाज, दर्शन, भाषा, धर्म, कृषि, उद्योग, वर्गसंघर्ष, रुसी क्रान्तिको इतिहासको मार्क्सवादी व्याख्या विस्तृत रूपमा गरिएको निकै रोचक छ । गाउँका सामान्य मानिसहरू दुःखराम र सन्तोखीहरूले बुझ्ने भाषामा संवाद गरिएको साँच्चै रमाइलो छ । मरकस बाबा, लेनिन महात्मा र स्तालिन वीर बारे पुस्तकमा गरिएको वर्णन पढ्नलायक छ । मैले मास्टरसाहेबलाई तपाईं पनि त मधेसको रजबली भैया नै त हो नि भनेपछि उहाँ हाँस्नु भयो ।

अयोध्या महाधिवेशनको बसाइले मास्टरसाहेबसँग मेरो सामीप्यता निकै बढेको थियो । शालीन स्वभावका मास्टरसाहेबलाई ज-जसले भेटेका छन्, उनीहरूको अनुभूति पनि मेरोभन्दा भिन्न होला जस्तो लाग्दैन । देश र जनताका लागि समर्पित शहीद मास्टरसाहेबको सम्झनामा २०६९ सालमा प्रकाशित मेरो पुस्तक “बुद्धिजीवीहरूको दायित्व” मैले उहाँलाई समर्पण गरेको छु, जुन पुस्तकमा एउटा लेख “नेपालको राजनीतिमा क. रामवृक्ष यादवको योगदान” शीर्षकमा छ । मास्टरसाहेबको सम्झनामा मेरा साथी शहीद कृष्ण सेन ‘इच्छुक’ले २०५६ साल भदौ १ गते बरमझिया (बर्मझिया) कविता नै लेख्नु भएको छ ।

मास्टरसाहेब नेपाल कम्युनिस्ट आन्दोलनको मधेसको आदरणीय व्यक्ति हो, जसको शहादत २०५१ साल भदौ २ गते काँग्रेसका कारिन्दाहरूको हातबाट भएको थियो । मास्टरसाहेबको जीवन उहाँका समकालीन भारतका प्रख्यात तेलगु कवि, गायक गुमादी भित्तल राव (प्रचलित नाम ‘गदर’) को जस्तो रह्यो । दुवैले जनक्रान्तिका लागि जनवादी गीत लेखे, गीत गाए । गदर नक्सलवादी र मास्टरसाहेब माओवादीको आरोपमा ६-६ वर्ष जेल बसे, गोली खाए । मास्टरसाहेबको शहादत भयो । संयोग गदर गोली लागेर पनि बाँचे । आज मास्टरसाहेबको स्मृति दिवस हार्दिक श्रद्धाञ्जली ।

२०७७ भदौ २

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । २०७७ भदौ २ गते महान शहीद रामवृक्ष यादव ‘मास्टरसाहेब’को स्मृति दिवसको सन्दर्भमा लेखकले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको यो सामग्री ऐतिहासिक महत्त्वको भएकोले साभार गरी पुनःप्रकाशन गरेका छौँ ।)